कमरेड सुरेश वाग्ले ‘वासु’ को बलिदान र जनयुद्धको कार्यभार(सन्दर्भ : २४ औँ वासु स्मृति दिवस)

Articles Political

तत्कालीन ने.क.पा. (माओवादी) ले सञ्चालन गरेको जनयुद्ध जसको न्यूनतम लक्ष्य नयाँ जनवादी क्रान्ति र अधिकतम वैज्ञानिक समाजवाद रहेको थियो । जनयुद्धमा नेतृत्व तहमा रहेर प्रत्यक्ष युद्धमैदानमा पार्टी काममा खट्दा–खट्दै तत्कालीन प्रतिक्रियावादी सरकारको निर्देशनमा हत्यारो प्रहरी जत्थाले कब्जामा लिएर कमरेड सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘बैरागी’ को हत्या गरेको आज २३ वर्ष बितिसकेको छ । कमरेड वासुले नेपालको कम्युनिस्ट आन्दोलनमा सहादत नहुँदासम्म महत्वपूर्ण एवम् ऐतिहासिक भूमिका निर्वाह गर्दै आउनुभएको थियो जो आज हाम्रासामु इतिहास बनेर खडा भएको छ ।

वासुलगायत हजारौँले जनयुद्धमा देश र जनताको जीवनमा आमूल परिवर्तनका लागि, नयाँ समाज, देश र जनताको पूर्ण मुक्तिका लागि गरेको बलिदानले सार्थकता पाउन सकिरहेको छैन । खासगरी तत्कालीन ने.क.पा. (माओवादी) को शान्तिप्रक्रियामा प्रवेशसँगै भौतिक लाभसँग बलिदानलाई तुलना गरेर बलिदान, समर्पण र वीरताको उच्चतालाई अवमूल्यन गर्ने नजिर बसाल्न खोजिँदैछ । वासुलगायत सहिदहरूले अघि बढाएको समाज रूपान्तरणको सङ्घर्ष अधुरो र अपूर्ण नै रहेको छ । जनता र देशले मुक्ति र स्वतन्त्रता प्राप्त नगर्दासम्म निरन्तर सङ्घर्षरत रहनु, थप समर्पणभाव, निष्ठा, त्याग, प्रतिबद्धता र बलिदानी भावका साथ अघि बढ्नु नै वास्तविक अर्थमा उहाँहरूप्रतिको सच्चा सम्मान, सम्झना र श्रद्धाञ्जली हुनेछ ।

कमरेड वासुको राजनीतिक जीवनको पृष्ठभूमि

निम्नमध्यम किसान परिवारमा २०१० सालमा गोरखाको आपँपीपलमा जन्मनुभएका कमरेड सुरेश वाग्ले ‘वासु’ परम्परागत पुरोहित परिवारमा जन्मनुभए पनि उहाँका पिताले पुरोहित काम गर्नुभएन । सुरेश वाग्लेको शिक्षारम्भ भने संस्कृतबाटै भयो । प्रारम्भिक शिक्षा उहाँले आफ्नै मावली गाउँ गोरखाको बक्राङमा लिनुभयो । त्यसपछि तीनधारा संस्कृत पाठशालामा भर्ना हुनुभयो । त्यस समय उहाँका सहपाठी दण्डपाणि न्यौपाने (जनयुमा बेपत्ता योद्धा), नरहरि आचार्य, घनश्याम शर्मालगायत रहेछन् । उहाँले काठमाडौँबाटै २०३० सालमा शास्त्री तहको अध्ययन पूरा गर्नुभयो । त्यस समय उहाँ तीनधारा संस्कृत पाठशालाको छात्रावासमा नै बस्नुभएको रहेछ । निम्नमध्यम किसान वर्गबाट उहाँको परिवार तल गिर्दै गएको थियो । परम्परागत कृषि व्यवसायले उहाँको बढ्दो परिवार सङ्ख्याको भरणपोषण खर्च थेग्न नसक्ने हुँदै गयो । पिताले कर्जा लिएर परिवारको बढ्दो खर्च चलाउनुहुन्थ्यो । कमरेड वासुले विभिन्न कठिनाइसँग जुझ्दै बल्लतल्ल शास्त्री तहको अध्ययन पूरा गर्नुभएको रहेछ । उहाँ अध्ययनपछि २०३१ सालमा काठमाडौँबाट गोरखा फर्किनुभएको रहेछ ।

उहाँले लामो सयमसम्म अध्यापन र राजनीतिलाई सँगसँगै लैजानुभएको थियो । उहाँले जनज्योति मावि चिप्लेटी गोरखामा २०३१, किट्नी मावि पाटनमा २०३१–२०३२ सम्म, जनता मावि आँपपीपल गोरखामा २०३२–२०३५ सम्म, ज्ञानज्योति मावि, लप्सीबोट गोरखामा २०३६–२०३७ सम्म र जनता मावि आँपपीपल गोरखामा पुनः २०३७–२०४७ सम्म अध्यापन गर्नुभएको थियो ।

तीक्ष्ण बुद्धि र साहसले भरिपूर्ण विलक्षण प्रतिभाका धनी कमरेड सुरेश वाग्ले सानो उमेरदेखि स्वाभिमानी हुनुहुन्थ्यो । काठमाडौँमा संस्कृतको छात्र रहँदा उहाँले आफूलाई औपचारिक शिक्षामा मात्र सीमित राख्नुभएन । ०२७/०२८ देखि ०३१/०३२ ताकाका देशभक्तिपूर्ण विद्यार्थी आन्दोलनहरूमा सक्रिय रूपमा भाग लिनुभएको उहाँका सहपाठी बताउँछन् । निम्नमध्यम वर्गबाट तल गिर्दै गरेको पारिवारिक आर्थिक वर्गआधार, शोषण, अन्याय, अत्याचारविरोधी भावना, विद्रोही स्वभावले उहाँलाई वामपन्थी विद्यार्थी राजनीतितर्फ आकर्षित गरेको देखिन्छ । यही पृष्ठभूमिमा कमरेड वासु २०२७ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय हुन थाल्नुभएको रहेछ । त्यही आन्दोलनकै सिलसिलामा उहाँले माक्र्सवादको अध्ययन गर्नुभयो र संसार बदल्ने अपराजित माक्र्सवादी हतियारलाई आत्मसात् गर्न पुग्नुभयो ।

लेखक : कृष्ण वाग्ले ‘रूपेश’

उहाँ २०२७/०२८ मा विद्यार्थी आन्दोलनदेखि नै सङ्गठित रूपमा सक्रिय हुँदै अघि बढ्नुभएको थियो । यसै सिलसिलामा २०२७ मा गण्डकी विद्यार्थी परिषद्को सचिव हुनुहुन्थ्यो । उक्त परिषद् गण्डकी अञ्चलका काठमाडौँमा अध्ययनरत प्रगतिशील विद्यार्थीहरूको सङ्गठन थियो । साथै सोही समयदेखि गण्डकी परिषद्को लालुपाते पत्रिकाको सम्पादकमण्डलमा रहेरसमेत उहाँले काम गर्नुभएको थियो । पञ्चायतकालमा कम्युनिस्ट भएर भूमिगत राजनीति गर्नु कम चुनौतीको विषय थिएन तर पनि उहाँ आफ्नो राजनीतिक–वैचारिक पक्षधरताका आधारमा सङ्गठित जिम्मेवारीमा रहेर काम गर्दै अघि बढ्नुभएको थियो । यसै क्रममा २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टी (चौम) को सदस्य हुँदै शिक्षण पेसासँगै राजनीतिक काम गर्दै गर्दा २०३६ सालमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला समिति सदस्य, २०३८ मा सचिव हुँदै अन्ततः २०४७ देखि पार्टीको पूर्णकालीन कार्यकर्ता हुनुभएको थियो । २०४८ मा संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य मात्र हुनुभएन उहाँ २०४८ को संसदीय निर्वाचनमा संयुक्त जनमोर्चा नेपालबाट २ नं. क्षेत्र गोरखाको उम्मेदवार भएर १३,६७८ मत प्राप्त गर्दै नेपाली काङ्ग्रेसको निकटतम प्रतिद्वन्द्वी बन्नुभएको थियो । त्यस समय नेकाकी उम्मेदवार पैसावाल भएको, सत्ता र शक्तिको चरम दुरुपयोग गरेका कारणले मात्र नेपाली काङ्ग्रेस विजयी बनेको थियो । त्यसैगरी उहाँ २०४८ साल कात्तिकमा सम्पन्न तेस्रो एकता जिल्ला सम्मेलनबाट नेपाल कम्युनिस्ट पार्टी (एकताकेन्द्र) गोरखा जिल्ला सचिवमा निर्वाचित हुनुभयो भने २०४८ मा सम्पन्न एकता महाधिवेशनमा गोरखाबाट प्रतिनिधि भएर भाग लिनुभयो । उक्त महाधिवेशनको लामो अन्तरसङ्घर्षमा उहाँले अवसरवादी कार्यदिशाका विरुद्ध दृढतापूर्वक सङ्घर्ष गर्दै क्रान्तिकारी कार्यदिशाका पक्षमा मत दिनुभएको तत्कालीन जिल्ला सहकर्मीहरूको भनाइ रहेको छ । २०५३ सालदेखि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) क्षेत्रीय ब्युरो सदस्य तथा उपक्षेत्रीय ब्युरो इन्चार्ज एवम् २०५४ देखि केन्द्रीय सदस्य हुँदै २०५५ भदौदेखि पार्टीको वैकल्पिक पोलिटब्युरो सदस्यको जिम्मेवारीमा रहेर काम गर्दै गर्दा उहाँको २०५६ भदौ २३ गते गोरखाको तत्कालीन गाँखु गाविसको बाँसपुरमा सहादत भएको थियो ।

कमरेड सुरेश वाग्ले सिद्धान्तनिष्ठ, समर्पित, वर्गप्रति इमानदार, विचारक एवम् एक कुशल सङ्गठक हुनुका साथसाथै मालेमावादी सिद्धान्तकार र लेखक पनि हुनुहुन्थ्यो । उहाँले खासगरी जनयुद्धकै समयमा समसामयिक विषयहरूमा थुप्रै लेख–रचनाहरू लेख्नुभएको थियो । तीमध्ये कतिपय पत्रपत्रिकाहरूमा विभिन्न उपनाममा प्रकाशित भएका थिए । २०५७ सालको भदौमा ने.क.पा. (माओवादी) मध्यमाञ्चल क्षेत्रीय ब्युरोले उहाँका त्यस्तै कतिपय लेख–रचनाहरूको सङ्कलन (प्राप्त भएका) गरी ‘युद्ध र नेपाली जनयुद्ध’ नामक पुस्तक प्रकाशित गरेको थियो । जनयुद्धको समयमा आफ्नो पङ्क्तिको विचार निर्माण र विरोधीहरूको राजनीतिक भण्डाफोर गर्नमा उहाँका रचनाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

दक्षिणपन्थी संशोधनवादविरुद्ध कमरेड वासु

कमरेड वासु नेपालमा नयाँ जनवादी राज्यव्यवस्था स्थापना हुने विषयमा ढुक्क हुनुहुन्थ्यो । नयाँ जनवादी गणतन्त्र स्थापना गर्ने कार्यमा ज्यादै उत्साहित, समर्पित र कृतसङ्कल्पित हुनुहुन्थ्यो । संशोधनवादी गद्दारहरूका विसर्जनवादी भ्रमहरू खासगरी एमालेद्वारा सशस्त्र सङ्घर्ष नेपालमा अहिले अनुकूल छैन र त्यो बाटो आतङ्कवादी गतिविधि हो भन्नेहरूप्रति उहाँ बडो निख्खर रूपमा प्रस्तुत गर्दै खण्डनमा उत्रनुहुन्थ्यो । र नेपालमा जनवादी गणतन्त्र स्थापना हुने कुरामा पूर्ण विश्वस्त हुनुहुन्थ्यो । सोही क्रममा उहाँले भन्नुभएको थियो, ‘आज माक्र्सवादको विकास लेनिनवाद र माओवाद अर्थात् माक्र्सवाद–लेनिनवाद–माओवादमा भएको छ भने संशोधनवाद बर्नस्टिन, काउत्स्की, ख्रुस्चोभ, तेङ हुँदै एल्तसिनमा आइपुगेर नाङ्गो पुँजीवादमा पतन भएको छ । यसका आधारमा नेपालको कम्युनिस्ट आन्दोलनलाई हेर्दा सजिलैसँग बुझ्न सकिने कुरा के हो भने आज एमालेले लिएको बाटो, नीति र व्यवहार हो जसको एल्तसिनका रूपमा पतन भइसकेको छ ।’

‘..पुँजीवादी प्रजातन्त्रको संसदीय चुनावमा भाग लिएर संसद्मा बहुमत ल्याई समाजवाद निर्माण गर्न सकिन्छ भन्ने संशोधनवादीहरूलाई लेनिनले धेरै तथ्यहरूका आधारमा कडा झापड दिनुभयो । लेनिनले के भन्नुभयो भने पुँजीवादले साम्राज्यवादमा विकास गरिसक्यो । साम्राज्यवाद भनेको इतिहासको शोषक, दमनकारी र युद्धको स्रोत हो । यस्तो साम्राज्यवादी विश्वमा पुँजीवादी संसद्मा बहुमत ल्याएर समाजवादको निर्माण गर्ने भन्ने कुरा कुनै पनि सज्जन व्यक्तिले सोच्न सक्तैन । यस्तो तर्क गर्नु माक्र्सवाद र सर्वहारा क्रान्तिप्रति विश्वासघात गर्नु हो र गद्दारी गर्नु हो ।’

–एमालेलाई कम्युनिस्ट मान्ने युवा विद्यार्थीहरूसँग, (साप्ताहिक जनादेश, वर्ष ८, अङ्क ४३, १५ भदौ, २०५६ मा प्रकाशित)

कमरेड सुरेश वाग्लेले नेपाली कम्युनिस्ट आन्दोलनको संशोधनवादी एवम् दक्षिणपन्थी संसद्वादी धाराका विरुद्ध सैद्धान्तिक, वैचारिक, राजनीतिक एवम् व्यावहारिक रूपमै सङ्घर्ष अघि बढाउनुभएको थियो । जिल्ला र गण्डक क्षेत्रकै हकमा समेत खासगरी अघिल्लो समयका वा चौथो महाधिवेशनयताको कम्युनिस्ट पार्टी निर्माणको हिसाबले स्थापित कम्युनिस्ट नेता वाचस्पति देवकोटामा आएको वैचारिक विचलनपछि उनको एमालेमा पतन भएसँगै कमरेड वासुले क्रान्तिकारी उत्तराधिकारीको स्थान लिँदै क्रान्तिकारी कम्युनिस्ट धारको नेतृत्व समाल्नुभयो । जनयुद्ध थालनीको केही अघिदेखि थालनीसम्मको कष्टसाध्य अवधिमा जनयुद्धको तयारी र गोरखामा जनयुद्धको गुणात्मक विकासमा उहाँले असाध्यै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । लामो समयदेखि शान्तिपूर्ण जनसङ्घर्षमा मात्र अभ्यस्त रहेको र मूलतः निम्नपुँजीवादी वर्गीय धरातलमा उभिएको गोरखाको पार्टीलाई बिनाकुनै ठूलो क्षति क्रान्तिकारी ढङ्गले रूपान्तरित गर्न र जनयुद्धको नेतृत्व गर्न लायक संयन्त्रमा बदल्न उहाँले निर्वाह गर्नुभएको निर्णायक भूमिका सम्पूर्ण पार्टीका निम्ति विशेष स्मरणयोग्य बनेको उहाँका सहकर्मीहरू बताउँछन् । अर्कोतिर उहाँले जनयुद्धकै क्रममा सुरुआतमै तत्कालीन केन्द्रीय सदस्य तथा ब्युरो इन्चार्ज देव गुरुङको २०५३ भदौमा गोरखाबाट गिरफ्तारी भएसँगै जिल्लाको सेक्रेटरीमा रहेर पार्टी र क्रान्तिको कार्यभार पूरा गर्दै गर्दा आवश्यकताले थपिएको जिम्मेवारी उपक्षेत्रीय ब्युरो इन्चार्ज भएर काम गर्नुभयो जहाँ उहाँले विचार निर्माण, जनयुद्धको थालनी र विकास एवम् त्यससँग सम्बन्धित वर्गसङ्घर्ष र सशस्त्र सङ्घर्र्षको आवश्यकीय सङ्गठनात्मक संरचना निर्माणसम्मका महत्वपूर्ण कार्यभारहरू फत्ते गर्दै संशोधनवादी धारका विरुद्धसमेत आफूलाई एक क्रान्तिकारी नेतृत्वका रूपमा स्थापित गराउँदै आफ्नो जीवनको अन्त्यसम्म दुस्मनसँग कत्ति पनि नझुकी उच्च सहादत प्राप्त गर्नुभएको थियो ।

आज पनि नेपाली कम्युनिस्ट आन्दोलनमा संसदीय संशोधनवादको बिगबिगी निकै बढेर गएको छ । एक समय चर्को क्रान्तिकारी बनेर उदाएका क्रान्तिकारी नेता अर्को समय उसमा रहेको निम्नपुँजीवादी विरासतका कारण क्रमशः क्रान्तिकारी विचार र सिद्धान्तबाट च्यूत बन्दै अवसरवादको सिकार बन्दै आफैँले खडा गरेका स्थापित मान्यता वा विचार र राजनीतिक कार्यक्रमबाट नै विचलित हुँदै नाम मात्र फेरिएको संसदीय व्यवस्था (हाम्रो सन्दर्भमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र) वा संसदीय गणतन्त्रसहितको दलाल पुँजीवादी राज्यसत्तामा विलीन हुन पुगेका छन् । कमरेड वासुलगायतका हजारौँ योद्धाहरूको बलिदान न्यूनतम नयाँ जनवादी राज्यसत्ता प्राप्तिका लागि थियो । विडम्बना भन्नैपर्छ– आज समाजवाद उन्मुख संविधानको हवाला दिँदै संसदीय संशोधनवादको भद्दा यात्रा तय भइरहेको छ जहाँ इतिहासको प्रहसनजस्तो संयोग वा बाध्यता नयाँ जनवादी राज्यसत्ता प्राप्तिका लागि ४० सूत्रीय माग बुझाउने प्रचण्ड–बाबुरामहरू (माओवादी) र माग बुझ्ने शेरबहादुरहरू (नेपाली काङ्ग्रेस) को सत्ता साझेदारी स्थानीय चुनावदेखि सङ्घ सरकारको गठनसम्म नराम्रोसँग उजागर भएको छ ।

नयाँ जनवादी क्रान्ति सम्पन्न हुन न्यूनतम पनि निम्न ४ पक्षहरूले पूर्णता पाउनुपर्छ : पहिलो, जनता सामन्तवाद, दलाल तथा नोकरशाही पुँजीवादको शोषण र उत्पीडनबाट मुक्त हुनुपर्दछ । दोस्रो, देश र जनता साम्राज्यवादी (हाम्रो सन्दर्भमा भारतीय र अमेरिकी साम्राज्यवाद) उत्पीडनबाट मुक्त हुनुपर्दछ । तेस्रो, जनताको आधारभूत अधिकारको सुनिश्चितता राज्यले गर्नुपर्दछ । चौथो, प्रत्येक नागरिकलाई उसको क्षमता र प्रतिभाअनुसार पुँजी निर्माणको (उत्पादनको) अधिकार राज्यले गर्नुपर्दछ । पाँचौँ, राज्यसत्तामा जनताको जनवादी अधिनायकत्व स्थापित हुनुका साथै सर्वहारा वर्गको अधिनायकत्व कायम हुनुपर्दछ । यी आधारभूत नीतिबाट हेर्दा आज नेपालमा चालु संसदीय गणतन्त्र विगतको भन्दा मात्रात्मक परिवर्तन भएको राज्यव्यवस्था भए पनि जनयुद्धले लक्ष्य राखेको जनता र देशको अधिकार र स्वतन्त्रता सुनिश्चित गर्ने व्यवस्था किमार्थ होइन भन्ने कुराको खण्डन संसदीय गणतन्त्रको करिब १३ वर्षको अनुभव र अभ्यासले पर्याप्त मात्रामा उदाङ्गो पारेको छ ।

विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा फ्रान्सदेखि चिली, इन्डोनेसियालगायत देशका कम्युनिस्टहरूले संसदीय मार्गबाट समाजवादको यात्रा तय गर्न खोज्दा के हालत बेहोर्नुपर्यो जुन शिक्षा निकै महँगो भए पनि कम्युनिस्टहरूले त्यसबाट सिक्नुपर्दछ । साथै नेपाली सन्दर्भमा आज संसदीय अभ्यासबाट हेर्दा २०४६ पछि लगातारको लामो यात्रा गरेको ने.क.पा. एमाले र १२ बुँदे सहमतिपछि शान्तिपूर्ण राजनीतिको संसदीय यात्रा तय गरेको तत्कालीन ने.क.पा. (माओवादी) हालको ने.क.पा. (माओवादी केन्द्र) को करिब १५ वर्षको यात्रा र अभ्यासले के साबित गरिदिएको छ भने उनीहरूको संसद्मा उपस्थिति र सरकारमा सहभागिताले जनताले एकपछि अर्को गुणात्मक सामाजिक परिवर्तन वा रूपान्तरण पाउने छैनन्, उत्पीडनमुक्त हुने छैनन्, बरु नयाँ बहानामा ठगिने र उत्पीडित भइरहनु पर्नेछ । देशमाथि लादिएका विगतका असमान सन्धिसम्झौताहरूको खारेजीको कुरै छाडौँ, झन्पछि झन् थप राष्ट्रघातले निरन्तरता पाउने र राष्ट्र स्वाधीन र स्वतन्त्र नहुने रहेछ । कम्युनिस्टहरूले संसद्मा सहभागी भएर पुँजीवादी सत्तालाई बदल्नुपर्नेमा उल्टै पुँजीवादी सत्ताले कम्युनिस्ट नाम गरेका दललाई बदलिदिएर आफ्नो असली चाकर बनाएको छ । आज नेपालमा कम्युनिस्ट नाममा संसदीय अभ्यासमा रहेका दलहरूको गतिविधि र सरकारकेन्द्रित सिद्धान्त र विचारहीन गठबन्धन कहिले नेपाली काङ्ग्रेससँग त कहिले नेकपा एमालेसँग चुनावी गठबन्धनदेखि एक समय पार्टी एकतासम्म गर्न पुगेका संसदीय आकारका हिसाबले दुई ठूला कम्युनिस्ट नामका पार्टीहरूको गतिविधि र खासगरी तत्कालीन ने.क.पा. (माओवादी) हालको माओवादी केन्द्रले कमरेड सुरेश वाग्ले ‘वासु’ को विचार, सिद्धान्तनिष्ठता, प्रतिबद्धता, वर्गप्रतिको इमानदारी–पक्षधरता र दुस्मनसँग प्राणको भिक नमागीकन बलिदान गर्दै उच्च तहको सहादतको इतिहास लेख्ने एक असल क्रान्तिकारीको बलिदानलाई गिज्याइरहेको छ किनकी कमरेड वासुले संशोधनवादी एमालेका विरुद्ध विचारधारात्मक सङ्घर्ष अघि बढाएर जनयुद्धको धारालाई नेपालमा स्थापित गर्नुभएको थियो । उहाँले काम गरेको पार्टी र बलिदान गरेको पार्टीका नेता प्रचण्डले आफ्नो पार्टीलाई नेकपा एमालेसँग एकता गर्दै संसदीय संशोधनवादमा पतन गराउन पुगेका थिए जुन एकता माओवादी धारले आफ्ना विचार र नीतिहरू परित्याग गरेपछि मात्र सम्भव बनेको थियो किनभने एकता गर्दाको समयसम्म र आज पनि हामी देख्न सक्छौँ, एमालेको विचार–राजनीति र नीतिहरूमा त्यस बेलाको भन्दा कुनै नयाँ परिवर्तन आएको छैन । उसले २०४८ सालवरपरको विचारलाई फेरेको वा क्रान्तिकारी बनाएको छैन, न त राष्ट्र र जनतासम्बन्धी नीतिहरूलाई नै परिवर्तन गरेको छ, बरु एमाले स्वयम् मदन भण्डारीले अगाडि सारेको विचारभन्दा पनि पछि हटेको छ । उसले आफ्ना विचार र नीतिहरूलाई अरू दक्षिणपन्थी दिशामा मोडेको छ र थप सामाजिक दलाल पुँजीवादी शक्तिका रूपमा आफ्नो परिचय बनाउँदै लगेको छ । विगतदेखि कतिपय जनघाती र राष्ट्रघाती निर्णयहरू गर्नमा अघि सर्दै आएको थियो । अर्कोतिर जनयुद्ध थालनीको समय कथित प्रजातन्त्रको आवरणमा फासिवादको अभ्यासमा उत्रेको जनघाती र राष्ट्रघाती कदम अघि बढाउन अब्बल संसदीय ठेकेदार नेपाली काङ्ग्रेससँग स्थानीय निकायको चुनावी तालमेलदेखि सङ्घ सरकारमा तालमेलसम्मको माओवादी केन्द्रको राजनीतिक कदम र गतिविधिले ऊ खास्सा संसद्वादी भएको बुझ्न कुनै कठिनाइ पर्दैन यो वैचारिक–राजनीतिक पतनको अवस्थाले कमरेड वासुको विचार, सिद्धान्त र बलिदानको स्पिरिटलाई रक्षा गर्ने मुख्य चुनौती बनेर सच्चा कम्युनिस्टहरूको अगाडि खडा भएको छ । यसलाई सामना गरेर मात्र कमरेड वासुको बलिदानीको सार्थकता सिद्ध गर्न सकिन्छ र उहाँलाई सम्झनु र सम्मान गर्नुको अर्थ रहनेछ ।

कमरेड वासुको सहादत

२०५६ सालमा गोरखा जिल्ला पार्टीको निकै लामो बैठक भएको थियो जुन बैठक तत्कालीन भुङ्लीचोक गाविसको आग्रीडाँडाको चेपाङ बस्तीमा बसेको थियो । उक्त बैठक निकै पेचिलो अन्तरसङ्घर्षबाट गुज्रेको बुझिन्छ जुन बैठकले मध्यक्षेत्रकै नियमित प्लाटुन पुनर्गठनको निर्णय गरेको थियो । बैठकमा माथिल्लो समितिबाट चन्द्रप्रकाश खनाल ‘बलदेव’ सहभागी थिए । उक्त बैठकमा कमरेड वासुको नेतृत्वमा अन्तरसङ्घर्षमा क्रान्तिकारीहरूले आफ्नो जिम्मेवारी पूरा गरेका थिए । बैठकलगत्तै सैन्य शक्ति प्लाटुनको औपचारिक घोषणा एवम् फर्मेसनको कार्यक्रम छोप्राक गाविसको जौखुरीमा गर्ने निश्चित भएपछि त्यहाँबाट टिम त्यसतर्फ लाग्ने क्रममा वासु, बलेदव, उत्तम, सरु, बैरागीलगायतको टिम त्यसतर्फ हिँडेको थियो । बाटोमा सहजताका निम्ति पुनः बाटोमा सदरमुकाम आसपासबाट यात्रा गर्नुपर्ने भएकाले दुई टिम भएको रहेछ । वासु, सरु र बैरागीको टिम बलदेवसँग छुटेपछि नयाँ साँघुबजार हुँदै साँझ सोही बजारनजिकै बास बसेर भोलिपल्ट अर्थात् २०५६ भदौ २३ गते बिहानै सिरानचोक लेकनजिकको जौखुरी गाउँतर्फ लाग्नुभएको रहेछ किनकि दरौँदी नदी पार गर्नका निम्ति नारेश्वरबाट अर्को बाटो पनि थिएन । सोही क्रममा नयाँ साँघुबजार हुँदै माथितिर जाँदै गर्दा नयाँ साँघुबजारमा टेलिफोन पनि भएकाले विरोधीले सूचना गरेपछि हर्मी गाविसस्थित चौकीको प्रहरी फोर्स छोप्राक हुँदै त्यसतर्फ आएको समयमा गाँखु गाविसको बाँसपुर गाउँ जाने उकालो चढ्दै गर्दा पार्टी पीबीएम सुरेश वाग्ले ‘वासु’, प्लाटुन कमान्डर एवम् पार्टी जिल्ला समिति सदस्य भीमसेन पोखरेल ‘बैरागी’ र चिजा गर्ताैला ‘सरु’ सँग पुलिसको जम्काभेट भयो । कमरेड सरुले तत्कालै गाउँ जानेभन्दा अर्को सहायक बाटो हुँदै घेरा तोड्नुभयो । उहाँ लागेतर्फ प्रहरीको खासै ध्यान गएन । गाउँतिरको बाटोतर्फ गई शिक्षक भएको बयान दिएर फुत्कने भनी गाउँतिर लाग्दै गर्दा सुरेश वाग्ले र भीमसेन पोखरेल भने दुस्मनको निशानामा पर्नुभयो । बर्खाको समय, धमिलो मौसममा कमरेड बैरागी घेरा तोड्नसक्ने अनुकूलता रहँदारहँदै सायद वासुसहित घेरा तोड्न कोसिस गर्दा दुस्मनले घेरा कस्दै दुवैलाई गिरफ्तार गर्न पुगेको थियो । गिरफ्तारीपछि भीमसेनलाई दुस्मनले गोली हानी हत्या गर्यो । वासुलाई आत्मसमर्पण गर्न कमान्डो पुलिसले भन्दै गर्दा कमरेड वासुले ‘हिम्मत भए गोली ठोक्’ भनी प्रतिवाद गर्नुभएको थियो । प्रहरीले सुरेश वाग्ले हो भन्ने जानकारी भएको अवस्थामा नियन्त्रणमा लिएपछि नजिकैको गोठमा उभ्याएर गोली हानी हत्या गरेका थिए । महान् जनयुद्धको सुरुआतपछि वैकल्पिक पोलिटब्युरो स्तरको उच्च बलिदान दिएर जनयुद्धलाई गुणात्मक रूपले नयाँ ऊर्जा थप्ने श्रेय उहाँले प्राप्त गर्नुभयो । दुस्मनको कब्जामा परिसकेपछि कायरतापूर्ण ढङ्गले आत्मसमर्पण गर्नुभन्दा उहाँले अन्तर्राष्ट्रिय सर्वहारावर्गीय साहस र बलिदानको उच्च परम्परालाई नयाँ उचाइमा उठाउनुभयो र आफू मरेर हजाराैँ क्रान्तिकारी उत्तराधिकारीहरू जन्माउने वैचारिक आधार खडा गरेर जानुभयो । साथै उहाँले प्रत्यक्ष युद्धमैदानमा सहादत प्राप्त गरेर ‘माओवादी नेतृत्वले आफू सहर वा विदेशमा लुकेर कार्यकर्ताहरूको मात्र सहिदको खेती गर्दछन्’ भन्ने प्रतिक्रियावादी र संशोधनवादी पाखण्डीहरूको गोयबल्स प्रचारलाई बज्रमुक्का चखाउनुभयो । नेतृत्व, कार्यकर्ता र जनताबीचको विश्वासपूर्ण क्रान्तिकारी सम्बन्धलाई अझै स्पातिलो बनाएर उहाँले बलिदानको बाटो रोज्नुभयो । यो दिन इतिहासमा क्रान्तिकारीहरूका लागि अत्यन्त पीडादायी एवम् दुःखद् दिन बन्न पुग्यो ।

२३ भदौ, २०७९

Leave a Reply

Your email address will not be published.