नेकपा (बहुमत) सँग आज दुई पार्टी/समूहको एकता हुँदै

News

काठमाडौँ : आज दुई पार्टी/समूह नेकपा (बहुमत) मा ध्रुवीकृत हुँदैछन् । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको विद्रोही समूह र नेपाल कम्युनिस्ट पार्टी मालेमा केन्द्र आज नेकपा (बहुमत) मा समाहित हुन लागेका हुन् । आज बुधबार दिउँसो अनामनगरस्थित संवाद डबलीमा ती दुई समूहलाई पार्टीमा सम्मिलन गराउने कार्यक्रम रहेको जानकारी पार्टी प्रवक्ता सुदर्शनले दिएका छन् ।

प्रवक्ता सुदर्शनले मङ्गलबार साँझ सूचना जारी गरी भनेका छन्, ‘संसदीय संशोधनवादीहरूलाई कारबाही गर्दै पुनर्गठन गरिएको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) यतिबेला राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा देशभर राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण अभियानमा सक्रिय रहेको यहाँहरू सबैलाई अवगत नै छ । वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा तय गरेर अघि बढेको चार महिनामै नेकपा (बहुमत) प्रति विभिन्न क्रान्तिकारी पार्टी, समूह र व्यक्तित्वको आकर्षण व्यापक मात्रामा बढिरहेको सन्देश सम्प्रेषण गर्न पाउँदा हामी अत्यन्त हर्षित छौँ । यसै सन्दर्भमा बुधबार विभिन्न राजनीतिक पार्टीहरू परित्याग गरेर नेकपा (बहुमत) मा प्रवेश गर्ने कार्यक्रम रहेको जानकारी गराउँछौँ ।’

स्मरणीय छ, केही महिनाअघि गम्भीर नेतृत्वको जनसमाजवादी मञ्च नेपाल पनि पार्टी सम्मिलन कार्यक्रमकै माध्यमबाट नेकपा (बहुमत) मा समाहित भएको थियो ।

यसै क्रममा नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच पार्टी एकताका लागि पार्टी संयोजन समिति गठन भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *