एकीकृत जनयुद्ध : नेपाली क्रान्तिको कार्यभार

Articles Opinion

१. पृष्ठभूमि

उदयमहान् जनयुद्धको एघारौँ योजना (२०६१) प्रत्याक्रमणमा प्रवेशको पहिलो योजना थियो । त्यसको एक वर्षपछि २०६२ मा बाह्रौँ योजना लागू भयो । यसलाई प्रत्याक्रमणको दोस्रो योजना प्रस्ताव गरियो । प्रत्याक्रमणको दोस्रो योजना अर्थात् जनयुद्धको बाह्रौँ योजना जनयुद्धको अन्तिम कार्ययोजना हुनसक्ने प्रक्षेपण भैरहेको थियो । अतः यो योजनालाई अधिकाधिक ‘विद्रोह’ को योजनाका रूपमा संश्लेषण गरिएको थियो । बाह्रौँ योजनालाई विद्रोहको योजना परिभाषित गर्नुमा यसको सैद्धान्तिक आाधार थियो– ‘नेपालको सापेक्षतामा विकासको एउटा निश्चित चरणपश्चात् दीर्घकालीन जनयुद्ध विद्रोहमा रूपान्तरण हुन्छ जब कि प्रारम्भमा जनविद्रोह दीर्घकालीन जनयुद्धका रूपमा लागू भैरहेको हुन्छ’ भन्ने थियो । यो मान्यताकै आधारमा माओवादी पार्टीले आफ्ना सम्पूर्ण सैन्य राजनीतिक कार्यक्रमहरू अघि बढाइरहेको थियो । त्यसअन्तर्गतको एउटा विशिष्ट योजना बाह्रौँ योजना थियो । बाह्रौँ योजनाको विशेष कार्यभार भनेकै दीर्घकालीन जनयुद्धलाई विद्रोहमा रूपान्तरण गर्नु थियो ।

संविधानसभा चुनाव र लोकतान्त्रिक गणतन्त्रको राजनीतिक कार्यक्रम तथा ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने फौजी कार्यक्रम बाह्रौँ योजनाको फौजी–राजनीतिक समुच्चय थियो । यही आधारमा एकातिर सात राजनीतिक दलसँग संविधानसभा चुनाव र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि कार्यगत एकता बन्यो र अर्कोतिर माओवादी पार्टीले आफ्नो सैन्य संरचनालाई तीन डिभिजनबाट सात डिभिजनमा विकास गर्यो । माओवादी पार्टीले संविधानसभा चुनाव र लोकतान्त्रिक गणतन्त्रलाई आफूले सके ‘नौलो जनवादी गणतन्त्रमा रूपान्तरण गर्ने’ र संसद्वादीहरूले सके ‘पुँजीवादी गणतन्त्रमै सीमित गर्ने’ सम्भावना रहेको समेत बिश्लेषण गरिएको थियो । प्रक्षेपित विद्रोहलाई जनताको संविधान निर्माणका रूपमा यसरी संश्लेषण गरिएको थियो– ‘हामी जनसंविधान लेख्न बल गर्नेछौँ, उनीहरू (संसद्‌वादी दलहरू) ले त्यसमा अवरोध गर्नेछन् । उनीहरूले लेख्न चाहने बुर्जुवा संविधान हामी लेख्न दिनेछैनौँ । हाम्रो संविधान उनीहरूले लेख्न दिने छैनन् । हो, त्यो बेला विद्रोह एक अनिवार्य सर्त बन्नेछ ।’

२०६४ मा सम्पन्न प्रथम संविधानसभा निर्वाचनबाट निर्धारित समयसीमाभित्र संविधान बन्न नसकेको भन्ने बनाएर जब संविधानसभाबाट संविधान बन्न नसक्ने परिस्थिति निर्माण गरियो र त्यहीबीचमा सात डिभिजन अर्थात् १९,६०२ जनाको सङ्ख्यामा रहेको जनमुक्ति सेनाको समेत विघटन (२०६८ चैत २८) गरियो । लगत्तै संविधानसभा विघटन (२०६९ जेठ १४) गरीयो । एउटा रहस्यमय कुरा के भयो भने जनमुक्ति सेना र संविधानसभा चुनाव विघटनको दुवै कार्य माओवादी पार्टीकै नेतृत्वमा हुन गए ! त्यो बेला सरकारको नेतृत्व माओवादी नेता बाबुराम भट्टराईले गरेका थिए । यसखाले घटनाशृङ्खला र परिणामले माओवादी पार्टीको राजनीतिक अस्तित्वमाथि निकै ठूलो प्रश्नचिह्न खडा भयो ! पार्टीको कार्यनीति, कार्यदिशा, कार्यक्रमबारे स्वाभाविक प्रश्नहरू सुरु भए– संविधानसभा चुनाव र लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिले विद्रोह पैदा गर्ने भनिएको थियो, किन भएन ? बरु उल्टो यही कार्यनीतिमा टेकेर जनयुद्धकै विघटन गरियो ! सर्वहारावर्गीय सैन्य कार्यदिशाको तेस्रो मोडल परिभाषित ‘फ्युजन’ को कार्यदिशाले निर्देश गरेको गन्तव्य के लोकतान्त्रिक गणतन्त्र मात्रै थियो ? वा मूलभूत रूपमा जनवादी गणतन्त्र थियो ?

घटनाशृङ्खला यहाँसम्म आइपुग्दा क्रान्तिको भाष्यमा समेत नै निकै ठूला हेरफेरहरू सुरु भैसकेका थिए । सुरुआती समयमा ‘जनयुद्धको नयाँ उचाइ’, ‘क्रान्तिको नयाँ मोडल’ परिभाषित संविधानसभा अन्तिममा गएर ‘युद्ध लड्न नसकेर फर्किएको सिपाहीको कथा’ बन्न पुग्यो । शीर्ष नेता तथा कमान्डरहरूले नै ‘अब लड्न सकिँदैन’, ‘लड्न नसकेरै शान्तिप्रक्रियामा आएको हो’ भन्न सुरु गरे ।

२. दृष्टान्त

जनमुक्ति सेना र प्रथम संविधानसभाको विघटनपश्चात् जनयुद्धको बाह्रौँ योजनाले संश्लेषण गरेको ‘विद्रोह’ अर्थात् ‘जनसंविधान निर्माण’ अब सम्भव रहेन । प्रथम संविधानसभा विघटनपश्चात् दोस्रो संविधानसभा चुनावले स्वतः पुँजीवादी गणतन्त्रतिर घिसार्ने सुनिश्चित भएपछि जनयुद्धको मूल्य रक्षार्थ पार्टी र आन्दोलनको पुनर्गठन एउटा अनिवार्य आवश्यकता बन्न गयो । परिणामतः माओवादी पार्टीको विभाजन र पुनर्गठन भयो । जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशासहित २०६९ मा नेकपा–माओवादीको गठन भयो ।

लेखक : उदयबहादुर चलाउने

‘जनयुद्धको जगमा जनविद्रोह’ आधारभूत रूपले माओवादी आन्दोलनको पुनर्गठन थियो । यो पुनर्गठनका दुई वटा आयाम थिए । एउटा थियो– जनयुद्धको निरन्तरतासहितको पुनर्गठन र अर्को थियो– जनयुद्धको विकाससहितको पुनर्गठन । जनयुद्धको पुनर्गठनसहितको निरन्तरता यसर्थ कि ‘प्रत्याक्रमणको चरणमा प्रवेश गरेको जनयुद्धले प्रत्याक्रमणलाई विद्रोहद्वारा पूरा गर्नुपर्छ, त्यो सम्भव नभए रक्षा वा सन्तुलनमा फर्कनुपर्छ ।’ जनयुद्धको विकाससहितको पुनर्गठन यसर्थ कि ‘जनयुद्धका सामु जुन प्रकृति र स्तरका सैन्य–राजनीतिक चुनौतीहरू खडा भएका थिए तिनको विकसित सैन्य–राजनीतिक रणनीतिद्वारा सामना गर्नु ।’

संविधानसभाको पहिलो चुनाव र विघटन तथा दोस्रो संविधानसभाको चुनावसम्म आइपुग्दा वस्तुगत परिस्थितिमा धेरै हेरफेर भैसकेको थियो । माओवादी पार्टी विभाजित भएको थियो । जनमुक्ति सेना विघटित भएको थियो । नेता र कार्यकर्ताको ठूलो हिस्सा बुर्जुवा संसदीय व्यवस्थामै फर्किएको थियो । त्यो बेला क्रान्ति कसरी सम्भव छ ? यसबारे पार्टीमा स्वाभाविक बहस सुरु भयो । बहसलाई पार्टीभित्रको एउटा पङ्क्तिले विद्रोह (प्रत्याक्रमण) मात्र होइन, जनविद्रोहकै रणनीति बताएर क्रान्ति र आन्दोलनलाई सुदूर भविष्यको विषय बनाउने प्रयत्न सुरु गर्यो । पार्टी विभाजित भएको मात्र नभएर जनमुक्ति सेना छिन्नभिन्न भैसकेको अवस्थामा जनविद्रोहको रणनीति अवस्तुवादी संश्लेषण हुन जान्थ्यो । यो अवस्थामा जसरी लोकतान्त्रिक गणतन्त्रका नाममा ‘लड्न नसकेर शान्तिप्रक्रियामा आएको हो’ भन्ने निष्कर्ष आत्मसमर्पणवादी थियो त्यसरी नै ‘जनयुद्ध एउटा अनुभव मात्र हो, मूलभूत रूपमा गर्नुपर्ने कार्य विद्रोह नै हो । ४० वर्ष पर्खेर भए पनि विद्रोह गर्नुपर्छ’ भन्ने तर्क सुधार र विसर्जनकै बाटो हुन जान्थ्यो ।

सुधार वा क्रान्ति ? विसर्जन वा विद्रोह ? फेरि अर्कोपटक अग्निपरीक्षा सुरु भयो । त्यसकै जबाफस्वरूप सुधारवादका विरुद्ध क्रान्ति र विद्रोहको मशाल बालेर ‘एकीकृत जनक्रान्ति’ को नयाँ कार्यदिशा संश्लेषणसहित २०७१ मा दोस्रोपटक पार्टीको पुनर्गठन भयो ।

तर बिडम्बना के भयो भने झन्डै आठ वर्षको समयावधि बित्दा पनि एकीकृत जनक्रान्तिले कुनै मूर्त आकार ग्रहण गर्न सकेन । यो एउटा यस्तो ‘मनचिन्ते झोली’ वा ‘रबरको टोपी’ जस्तो बन्न गयो । सीमाहीन व्याख्या, सीमाहीन फैलावट, सीमाहीन प्रयोगले एकीकृत जनक्रान्तिलाई एकपछि अर्को भद्दा र कुरूप बनाउन थाल्यो । समय–सीमा, व्याख्या र प्रयोगको यही अमूर्तताले एकीकृत जनक्रान्तिलाई सारसङ्ग्रहको थुप्रोमा परिणत गरिदियो । सम्भवतः यही सीमाहीन प्रयोग, व्याख्या र फैलावटकै सबभन्दा खराब परिणाम अन्ततः संसदीय व्यवस्थाभित्रको निर्वाचन उपयोगमा बदलियो । चुनावको कार्यनीतिक उपयोगका नाममा एकीकृत जनक्रान्ति जब संसदीय किच्चडमा हिलाम्मे भयो, दुर्गन्धित भयो तब त्यसका विरुद्धको अर्को विद्रोह आवश्यक भयो जसलाई हामीले ‘एकीकृत जनयुद्ध’ को फौजी कार्यदिशाअन्तर्गत संश्लेषण गरेका छौँ ।

३. सन्दर्भ

आज हामी जुन सन्दर्भमा नेपाली क्रान्तिको कार्यदिशाबारे बहस गरिरहेका छौँ यसको ऐतिहासिक शृङ्खलाबारे माथि केही चर्चा गरियो । दीर्घकालन जनयुद्ध, फ्युजन, जनयुद्धको जगमा जनविद्रोह, एकीकृत जनक्रान्ति हुँदै आज हामी एकीकृत जनयुद्धको संश्लेषणसम्म आइपुगेका छौँ ।

फ्युजन, जनयुद्धको जगमा जनविद्रोह वा एकीकृत जनक्रान्ति जे भने पनि मालेमावादी वैचारिक मान्यताबाट यसलाई अलग गर्नु नै असफलताको प्रमुख कारण हो । फ्युजनको कार्यदिशा माक्र्सवादी मान्यताबाट बिचलित हुँदैनथ्यो भने पहिलो संविधानसभाको षड्यन्त्रपूर्ण विघटन हुँदैनथ्यो । विघटन हुँदा त्यो विद्रोहमा रूपान्तरित भैसकेको हुन्थ्यो । समायोजनका नाममा जनमुक्ति सेनाको बिघटन हुँदैनथ्यो, विघटन हुनुपूर्व नै त्यो प्रत्याक्रमणमा परिणत भैसकेको हुन्थ्यो । त्यसरी नै ‘जनयुद्धको जगमा जनविद्रोह’ को कार्यदिशा माक्र्सवादी मान्यताबाट विचलित नभएको भए त्यो सुस्पष्ट विद्रोहको कार्ययोजनामा परिणत हुन्थ्यो कि त रक्षा अथवा सन्तुलनको कार्ययोजनामा परिणत हुन्थ्यो । त्यसरी नै एकीकृत जनक्रान्ति माक्र्सवादी मूल्यमा उभिन सकेको भए त्यो अकर्मण्यता, सारसङ्ग्रह र गोलचक्करमा फनफनी घुम्न पर्दैनथ्यो । शिवगढीबाट शिवगढी, कालोमोसोबाट कालोमोसो र चुनाव बहिष्कारबाट चुनाव उपयोगसम्मको नियतिमा बदलिँदैनथ्यो ।

४. परिभाषा

उत्पीडित जाति, समुदाय, क्षेत्र, राष्ट्र वा वर्गले आफ्नो मुक्तिका लागि लड्ने युद्धहरू सबै जनयुद्ध नै हुन् । कम्युनिस्ट पार्टीले त्यसखाले न्यायपूर्ण युद्धहरूको समर्थन गर्दछ र नेतृत्व गर्दछ । मानव जाति यसखाले युद्धका थुप्रै अनुभव र प्रयोगहरूका बीचबाट अघि बढेको छ । जब कम्युनिस्ट सिद्धान्तको प्रतिपादन भयो ती सम्पूर्ण अनुभवहरूलाई संश्लेषण गर्दै त्यसले एउटा मार्गदर्शन प्रदान गर्यो । आधारभूत रूपले त्यसलाई वर्गयुद्धको नेतृत्वअन्तर्गत सञ्चालनको नीति प्रदान गर्यो । जब कम्युनिस्ट सिद्धान्तले न्यायपूर्ण युद्धको नेतृत्व गर्न सुरु गर्यो त्यहाँदेखि यताका अनुभवहरूलाई आधारभूत रूपले दुईखाले विशेषता र मोडलमा वर्गीकृत गर्न सकिन्छ । पहिलो, दीर्घकालीन जनयुद्ध र दोस्रो अल्पकालीन सशस्त्र विद्रोह (यसलाई अल्पकालीन जनयुद्ध पनि भन्न सकिन्छ) को मोडल । मजदुर वर्गको बाहुल्य देश रुस जसले साम्राज्यवादी युद्ध लडिरहेको थियो त्यहाँ अल्पकालीन जनयुद्ध सञ्चालन गरियो भने किसान बाहुल्य देश चीन जसले साम्राज्यवादका विरुद्ध युद्ध लडिरहेको थियो, लगायत मुलुकहरूमा दीर्घकालीन जनयुद्ध सञ्चालन गरियो ।

तर आजको विश्वमा न त प्रत्यक्ष विश्वयुद्धको स्थिति छ, न मजदुर र किसानको अवस्था रुसकालीन र चीनकालीन छ । हाम्रो नेपालकै अवस्थालाई हेर्ने हो भने ७० लाखभन्दा बढी युवा जनशक्ति विदेशमा गएर श्रम बेच्न बाध्य छ । पुँजीवादी श्रमबजारका उनीहरू मजदुर हुन् तर देशमा फर्कंदा उनीहरू अर्धकिसान, अर्धमजदुर भएर रहन बाध्य छन् । अझ त उनीहरू अधिकांश बेरोजगार भएर रहन्छन् । यो स्थिति नेपालको मात्र नभएर विश्वभरका विकासोन्मुख देशहरूमा समान रूपले बढिरहेको छ । अतः एकातिर समाजको वर्गआधार विगतको भन्दा निकै फेरिएको छ भने अर्कोतिर प्रत्यक्ष साम्राज्यवादी युद्ध छैन । यो अवस्थामा क्रान्तिको रणनीतिवारे नयाँ संश्लेषण आवश्यक छ ।

५. प्रक्षेपण

सैन्य रणनीतिका दृष्टिले ‘फ्युजन’, ‘जनयुद्धको जगमा जनविद्रोह’ वा ‘एकीकृत जनक्रान्ति’ जे भने पनि दीर्घकालीन जनयुद्ध (Protracted people’s war) र अल्पकालीन सशस्त्र जनविद्रोह (Armed insurrection) लाई एक–अर्काको परिपूरक बनाएर जानुपर्छ भन्ने यसको आधारभूत र साझा मान्यता थियो । तर यसरी परिपूरक बनाउँदा एउटा निश्चित अवस्थामा एउटा प्रधान र अर्को सहायकको भूमिकामा रहन्छ । कुनै पनि हालतमा दुवैलाई बराबरी स्थानमा राख्नु, एउटालाई मात्र लिएर हिँड्नु वा दुवैलाई जोडेर नयाँ बनाउनुपर्छ भन्नु अवस्तुवादी र गैरमाक्र्सवादी कार्य हुन्छ किनकि, दुबैलाई बराबरी बनाउँदा त्यो अकर्मण्यतामा फस्न पुग्छ । एउटालाई मात्र बोकेर हिँड्दा त्यो एकाङ्की बन्छ । दुवैलाई जोडेर नयाँ बनाउनुपर्छ भन्दा त्यो सारसङ्ग्रह हुन्छ । अतः सही, वस्तुवादी र वैज्ञानिक विषय भनेको एउटा अवस्थामा एउटालाई मुख्य र अर्कोलाई सहायक बनाएर कार्यनीतिक शृङ्खलाहरू तयार गरेर अघि बढ्नु आजको आवश्यकता हो ।

उदाहरणका रूपमा भन्ने हो भने दसबर्से जनयुद्धको अघिल्लो चरणमा दीर्घकालीन जनयुद्ध प्रधान थियो र आमसशस्त्र विद्रोह सहायक थियो । पछिल्लो चरणमा आमसशस्त्र विद्रोह प्रधान र दीर्घकालीन जनयुद्ध सहायक बन्दै थियो । कार्यनीतिक शृङ्खलाहरू पनि त्यसैअनुरूप सञ्चालित र विकसित हुँदै थिए । जनयुद्धको जगमा जनविद्रोह तथा एकीकृत जनक्रान्तिको संश्लेषण गर्दा पनि आधारभूत रूपले हुनुपर्ने कुरा यही थियो । त्यो भएन । अतः त्यो अपूर्णतालाई सच्याउनु नै नेपाली क्रान्तिको वर्तमानको अहम् कार्यभार हो । जनयुद्धको जगमा जनविद्रोहको संश्लेषण गरेर त्यसलाई सच्याउन कोसिस नभएको होइन तर त्यो सम्भव भएन । त्यहाँ दीर्घकालीन जनयुद्धबाट आम सशस्त्र जनविद्रोहलाई अलग गर्ने मनोगतवादी गल्ति भयो । एकीकृत जनक्रान्तिको संश्लेषणपछि पनि जनयुद्ध र जनविद्रोहलाई घालमेल गर्ने अर्को सारसङ्ग्रहवादी गल्ती भयो । यसर्थ फ्युजनका नाममा गरिएको विसर्जनवादी गल्ती, जनयुद्धको जगमा जनविद्रोहका नाममा गरिएको मनोगतवादी गल्ती र एकीकृत जनक्रान्तिका नाममा गरिएको सारसङ्ग्रहवादी गल्तीबाट जोगाएर नेपाली क्रान्तिको विजयलाई सुनिश्चित गर्ने दायित्वलाई हामीले एकीकृत जनयुद्धका रूपमा संश्लेषण गरेका छौँ ।

७ भदौ, २०७९

Leave a Reply

Your email address will not be published.