उत्पीडित वर्गको सैन्य रणनीति

Articles Opinion

‘हरेक पुरानो समाजको गर्भबाट नयाँ समाज जन्माउन बलले सुँडेनीको काम गर्दछ ।’
– मार्क्स, पुँजी– भाग १, १८६७, पृष्ठ ७९०, हिन्दी ।
‘उत्पीडित वर्ग जसले हतियार चलाउन र हतियार प्राप्त गर्न सिक्दैन भने ऊ दासको व्यवहार गरिन लायक छ ।’
– लेनिन, सर्वहारा क्रान्तिको सैन्य कार्यक्रम, १९१६, ग्रन्थ २३– पृष्ठ ८०, अङ्ग्रेजी संस्करण ।
‘… बन्दुकबाट छुट्टी पाउन बन्दुक उठाउनैपर्छ ।’
– माओ, युद्ध र रणनीतिका समस्याहरू, १९३८, चुनिएका रचना– ग्रन्थ २, पृष्ठ २२५, अङ्ग्रेजी संस्करण ।

१) भूमिका

नेपालमा हामीले दस वर्षको महान् जनयुद्धबाट जन्माएको जनमुक्ति सेना गुमाएका छौँ । गद्दार प्रचण्ड र बाबुरामले गर्दा नेपाली श्रमजीवी तथा उत्पीडित जनताले प्राप्त गरेका उपलब्धिहरू सबै गुमेका छन् । हामीले यो धोका र गद्दारीको भण्डाफोर गर्दै उत्पीडित वर्गको नयाँ समाज जन्माउने ‘सुँडेनी’ सङ्गठित गरिरहेका छौँ । बच्चा त आमाको गर्भमा छट्पटाइरहेको छ । हामीलाई त्यो बच्चा जन्माउने सिपालु र अनुभवी सुँडेनीको आवश्यकता परेको छ । त्यसलाई खतराबाट बचाउँदै क्रान्तिकारी कार्यदिशाबाट दीक्षित सुँडेनी हामीलाई चाहिएको छ । यहाँ हामी उत्पीडित वर्गको सैन्य कार्यदिशाबारे केन्द्रित भएर यो आलेखमा विश्लेषण र संश्लेषण गर्ने कोसिस गर्दैछौँ ।

२) समस्याहरू

पहिलो कुरा, हाम्रो कार्यदिशा लेनिनले विकास गरेको सशस्त्र जनविद्रोह हो वा माओले विकास गरेको जनयुद्ध भन्ने कुरामा धेरै मानिसहरू अलमलमा छन् । हामीले यी दुवै कार्यदिशाको विकासका अर्थमा जनक्रान्तिको कार्यदिशा संश्लेषण गरेका छौँ । दोस्रो कुरा, कतिपय मानिसहरूले के प्रश्न उठाइरहेका छन् भने आजको युगमा सशस्त्र क्रान्तिद्वारा सत्ता कब्जा गर्ने कुरा कति सम्भव हुनसक्छ ? सशस्त्र क्रान्ति सम्भव भए त प्रचण्ड र बाबुराम जनयुद्धबाट फर्केर संसदीय व्यवस्थामा आउने थिएनन् । वैभवशाली साम्राज्यवादी देशहरूले निःशस्त्रीकरणको नारा लगाइरहेका छन् । लड्नै थालेका अमेरिका र जनगणतन्त्र कोरिया (उत्तरकोरिया) त सिङ्गापुर वार्तामा पुगे । बरु नेपाल कम्युनिस्ट पार्टी र सरकारले वार्ताबाट समस्याको समाधान गर्नुपर्छ । यस्ता कुराहरू पनि चलिरहेका छन् । संंशोधनवादीहरू जो नवप्रतिक्रियावादमा पतन भइसकेका छन्, उनीहरूले के हल्ला फैलाइरहेका छन् भने आजको विज्ञान र प्रविधिको युगमा सशस्त्र क्रान्ति गर्न असम्भव छ । हामीले संविधानमै ‘समाजवाद’ उल्लेख गरेका छौँ । त्यसकारण संवैधानिक प्रक्रियाबाटै समाजवाद ल्याउन सकिन्छ । तेस्रो कुरा, नेपालजस्तो दुई हात्ती देशका बीचमा रहेको सानो र भूपरिवेष्ठित देशमा क्रान्ति सम्पन्न गर्न सकिँदैन । यहाँको राज्यसत्ता ढाले पनि वरिपरिका विशाल देशहरू क्रान्तिका विरुद्ध छन् । अनि कसरी क्रान्ति सफल हुन्छ ? यी समस्याहरू नै उत्पीडित वर्गको सैन्य कार्यदिशाका समस्याहरू हुन् ।

३) समस्याको विश्लेषण

३.१) हाम्रो पार्टीले अघि सारेको नेपाली क्रान्तिको कार्यदिशा भनेको जनक्रान्तिको कार्यदिशा हो । यसलाई विशुद्ध सैन्य हिसाबले एकीकृत सैन्य कार्यदिशा पनि भन्न सकिन्छ । लेनिनले रुसमा केन्द्रीय राज्यसत्ता कब्जा गरेर समग्र देश कब्जा गरेको सशस्त्र जनविद्रोह र माओले गाउँगाउँमा लालसेनाद्वारा लालसत्ता निर्माण गर्दै केन्द्रीय राज्यसत्ता कब्जा गरेको दीर्घकालीन जनयुद्धको विकासका रूपमा हामीले जनक्रान्तिलाई लिएका छौँ । उहाँहरू दुवैले विकास गरेको कार्यदिशाको उद्देश्य अथवा गन्तव्य वैज्ञानिक समाजवाद हुँदै साम्यवाद हो भने हाम्रो पनि त्यही हो । हरेक देशका कम्युनिस्टहरू त्यस देशको समय, परिस्थिति र विशेषताहरूअनुसार बन्ने भिन्नाभिन्नै बाटोबाट वैज्ञानिक समाजवादमै पुग्नेछन् ।

हामीले जनक्रान्ति संश्लेषण गर्नुका कारणहरू केके हुन् ? हामीले यसलाई सामान्यतः आठौँ महाधिवेशनमा विश्लेषण गरेका छौँ । त्यसको सारसङ्क्षेपका रूपमा यहाँ विश्लेषण गर्ने कोसिस गरिएको छ । कार्यदिशा विकासको पहिलो स्रोत भनेको आफ्नो समयको अर्थतन्त्र हुन्छ किनभने लेनिनले संश्लेषण गर्नुभएको छ, ‘राजनीति भनेको अर्थतन्त्रको केन्द्रीय अभिव्यक्ति हो ।’ आजको विश्व–अर्थतन्त्रका चारवटा विशेषता रहेका छन्—

क) आजको पुँजीवाद अति एकाधिकारवादी तथा अति केन्द्रीकृत रहेको छ । यसैलाई हामीले थबाङ महाधिवेशनमा उत्तरसाम्राज्यवाद भनेका छौँ । आज ९९ प्रतिशत र १ प्रतिशतको सम्पत्ति बराबर छ । १ प्रतिशतमा पर्नेहरूमध्ये जेफ बेजोस (९८.२ बिलियन डलर), बिल गेट्स (९०.८ बिलियन डलर), वारेन बफेट (८४.८ बिलियन डलर), अनान्सियो ओर्टेगा (७६.१ बिलियन डलर), मार्क जुकरबर्ग (७१.५ बिलियन डलर), बर्नडी अर्नाउल्ट (६५.२ बिलियन डलर), कार्लोस स्लिम हेलु (६३.८ बिलियन डलर), लारी एलिसन (५८ बिलियन डलर), चाल्र्स कोच (५०.४ बिलियन डलर) र डेबिड कोच (५०.४ बिलियन डलर) हुन् । ९९ प्रतिशतलाई चुसेर नै उनीहरूसँग यो अथाह सम्पत्ति जम्मा भएको छ । नेपालमा पनि त्यसरी नै १ प्रतिशत दलाल पुँजीपतिहरूले जनतामाथि ब्रह्मलुट मच्चाइरहेका छन् । त्यसमध्ये शीर्ष १० जनालाई लिँदा विनोद चौधरी (१.६ बिलियन डलर), शेष घले (४१० मिलियन डलर), उपेन्द्र महतो (३६० मिलियन डलर), अजेय सुमार्गी (२०० मिलियन डलर), आदित्य झा (१०० मिलियन डलर), जीवा लामिछाने (९२ मिलियन डलर), पशुपतिशमसेर राणा (८४ मिलियन डलर), बलराम चेनराई (७० मिलियन डलर), राजेन्द्र खेतान (६२ मिलियन डलर) र ज्ञानेन्द्र शाह (५० मिलियन डलर) हुन् । उनीहरूको यो सम्पत्ति वैधानिकतामा देखाइएको हो । कर नतिर्ने कालो सम्पत्तिको समेत हामीले हेक्का राख्नैपर्छ । अन्तर्राष्ट्रिय रूपमा अति एकाधिकारवादी र अति केन्द्रीकृत पुँजीवादीहरूले जसरी एकीकृत र केन्द्रीकृत भएर विश्व–जनसमुदायमाथि लुटखसौट मच्चाइरहेका छन्, जसरी नेपालका दलाल पुँजीवादीहरूले नेपाली श्रमजीवी तथा उत्पीडित जनताको शोषण–दमन गरिरहेका छन्, त्यसका विरुद्ध संसारका श्रमजीवी तथा उत्पीडित जनता एकीकृत र केन्द्रीकृत भएर लड्न जरुरी छ । अब मजदुर, किसान, सिपाही, मध्यम वर्ग र राष्ट्रिय पुँजीपति तथा देशभक्तहरू काँधमा काँध मिलाएर जनक्रान्ति लड्न जरुरी छ । हाम्रो क्रान्तिकारी दस्तालाई बन्दुकले सुसज्जित पार्नैपर्छ ।

ख) मार्क्स, लेनिन र माओको पालाभन्दा अहिलेको अर्थतन्त्रको अर्को विशेषता भनेको विकेन्द्रित उत्पादन र केन्द्रीकृत वितरण हो । उत्तरसाम्राज्यवादी पुँजीपतिहरूले मजदुरहरूलाई सङ्गठित हुन नदिन विकेन्द्रित उत्पादनप्रणाली र आफ्नो एकाधिकार कायम गर्न केन्द्रीकृत वितरणको नीति अख्तियार गरेका छन् । एउटा गाडी निर्माण गर्न त्यसका विभिन्न अङ्ग र पुर्जाहरू अलग स्थान र अलग देशहरूमा बन्दछन् भने वितरणका लागि एउटै दुकानमा ल्याइएको हुन्छ । त्यसैगरी अलगअलग स्थान र देशमा बनेका नुनदेखि सुनसम्मका वस्तुहरू एउटै सुपरमार्केटबाट वितरण भएको त हामीले नेपालमा पनि प्रसस्तै देखिरहेका छौँ । निगम गृह, मल र सुपर मार्केट भनेका मध्यम वर्ग र राष्ट्रिय पुँजीपतिलाई समेत चुस्ने अति एकाधिकारवादीहरू हुन् । यसले गर्दा मध्यमवर्गीय व्यापारी र उद्योगपतिहरू सुक्दै जन्छन् ।

ग) आजको अर्थतन्त्रको तेस्रो विशेषता भनेको उत्पादक शक्तिमा विज्ञान र प्रविधि जोडिएर उत्पादन तीव्र हुनु हो । पहिले जनश्रम र उत्पादनका साधन मिलेर उत्पादक शक्ति बन्थ्यो भने आज यसमा विज्ञान र प्रविधि जोडिएको छ । विज्ञानको आविष्कार जनताका छोराछोरीले गरे पनि उत्पादन सम्बन्ध अति एकाधिकार पुँजीवादी हुने भएकाले विज्ञान र प्रविधिको स्वामित्व पनि उसकै हुन्छ । अर्थात् विज्ञान र प्रविधिको आविष्कार पुँजीवादी व्यवस्थामा माल बन्न जान्छ । विज्ञानको आविष्कार उसको नाफाको स्वार्थसँग जोडिन पुग्छ । तर विज्ञान र प्रविधि उत्पादक शक्तिमा जोडिएर हुने तीव्र उत्पादनले साम्यवादलाई नजिक ल्याउनैपर्छ । एउटा यस्तो चरण आइपुग्छ जहाँ पुगेपछि उत्पादक शक्तिले उत्पादन सम्बन्धविरुद्ध विद्रोह गर्न अनिवार्य बन्न जान्छ । उत्पादक शक्तिको विद्रोहलाई सजिलो बनाउन ‘सुँडेनी’ ले त्यतिबेलै पूरै बल लगाउनुपर्छ ।

घ) रूपमा राजनीतिले अर्थतन्त्रलाई निर्देशन गर्ने भनिए पनि सारमा अर्थतन्त्रले राजनीतिलाई निर्देशन गर्नु आजको अर्थतन्त्रको चौथो विशेषता हो । यही कारणले अमेरिकी राष्ट्रपतिको चुनावमा हिलारी क्लिन्टनले होइन, बरु जग्गा दलाल डोनाल्ड ट्रम्पले जितेको छ भने नेपालको गत स्थानीय, प्रादेशिक र संसदीय चुनावमा ८० प्रतिशत ठेकेदार र दलाल पुँजीपतिहरूले जितेका छन् । जब राजनीतिमाथि पुँजीवाद हाबी हुन्छ तब राजनीतिक नेताहरू किनिन्छन् जस्तो कि नेपालमा पुष्पकमल दाहाल, केपी वली र बाबुरामहरू भर्खरै किनिएका छन् । यसबाट क्रान्तिकारी कम्युनिस्टहरू अति सतर्क हुन आवश्यक छ । यसलाई ध्वस्त पार्ने भनेकै जनताको सैन्य दस्ता हो । जनताको र जनताको पार्टीको सैन्य दस्ता भएर मात्र हुँदैन, बरु बन्दुकको म्यागेजिनमा सांस्कृतिक क्रान्तिका गोलीहरू पनि भरेर राख्नुपर्दछ । मुख्यतः चार विशेषता रहेको आजको यो अर्थतन्त्र नेपाली जनक्रान्तिको कार्यदिशाको पहिलो स्रोत तथा आधार हो ।

जनक्रान्तिको दोस्रो आधार भनेको सूचना–सञ्चार, यातायात र वित्तीय भूमण्डलीकरणका कारण गाउँ र सहरका बीचको सामीप्य हो । त्यसकारण आजको क्रान्तिमा सहर र गाउँको आन्दोलनलाई एकीकृत गर्नुपर्ने आवश्यकता छ । यसलाई हामीले जनक्रान्ति भनेका छौँ । क्रान्तिको छिनोफानो हुने स्थितिमा त राज्यसत्ताको केन्द्रबिन्दु नै आक्रमणको केन्द्रबिन्दु हुन पुग्छ ।

जनक्रान्तिको तेस्रो स्रोत भनेको यतिबेला वैज्ञानिक स्टेफन हकिङले विकास गरेको एकीकृत भौतिकशास्त्र हो । उहाँले अलबल्र्ट आइन्स्टाइनले सुरु गरी म्याक्स प्लाँकहरूलगायत वैज्ञानिकहरूले विकास गर्दै अघि बढाएको क्वान्टम यान्त्रिकी अथवा अनिश्चयताको सिद्धान्तलाई समायोजन गरेर एकीकृत भौतिक शास्त्र आविष्कार गर्नुभएको छ । सबैलाई थाहा छ, माक्र्सदेखि माओसम्मका समाज वैज्ञानिकहरूले प्रकृति विज्ञानको आविष्कारलाई समाज विज्ञानमा संश्लेषण गर्नुभएको छ । हाम्रो जमानाका पछिल्ला प्रमुख वैज्ञानिक भनेका स्टेफन हकिङ नै हुनुुहुन्छ । उहाँको सिद्धान्त प्रविधिमा अभिव्यक्त भएको छ । उदाहरणका रूपमा हामी स्मार्ट फोनलाई लिन सक्छौँ । यो यन्त्रबाट कुराकानी मात्र गरिँदैन, बरु यसबाट एक सेकेन्डमै अमेरिका चिठी पठाउन सकिन्छ । क्यामेरा, घडी, रेडियो, टर्चलाइटको काम पनि लिन सकिन्छ । यसबाट भिडियो कल, बैङ्किङ कारोबार, सामानको खरिदबिक्री आदि गर्न सकिन्छ । यसरी स्मार्ट फोन एकीकृत विज्ञानको एउटा अभिव्यक्ति बन्न पुगेको छ । विकास निर्माणका औजारहरू पनि बहुप्राविधिक नै बनेका छन् । यसलाई समाज विज्ञानमा ल्याउँदा जनक्रान्तिको आधार बन्न गएको छ ।

जनक्रान्तिको चौथो आधार भनेको आजको युद्धको चरित्र हो । आजको युद्ध साइबरसँग अनिवार्य रूपले जोडिन पुगेको छ । आजको बन्दुकमा साइबर जोड्न आवश्यक छ । निम्न प्रविधि र उच्च प्रविधिको समायोजन पनि यसलाई भन्न सकिन्छ । युुद्धको यस्तो उचाइ पनि देखिएको छ– अमेरिकाले सिरियामाथि प्रहार गरेका क्षेप्यास्त्रहरू रुसले आकाशमै निष्काम पारिदिएको छ । त्यसकारण साइबरको विकासलाई नजोड्दा बन्दुक अपाङ्ग बन्दछ । त्यसैले सैन्ययुद्ध र साइबर युद्धको जोडफल नै जनक्रान्ति हो ।

३.२) श्रमजीवी तथा उत्पीडित वर्गले संसदीय पुँजीवादी राज्यसत्ता ढालेर वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्न चाहन्छ भने हतियार प्राप्त गर्न, हतियार चलाउन र हतियार बनाउन जान्नै पर्दछ । यस वर्गका लागि अर्को विकल्प छैन । स्टालिनले भनेका थिए, ‘हतियार, हतियार, फेरि पनि हतियार !’ कम्युनिस्टका नाममा कसैले शान्तिपूर्ण सङ्क्रमणको बाटो खोज्दछ भने त्यो संशोधनवाद हो । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा जजसले शान्तिपूर्ण सङ्क्रमणको बाटो लिए उनीहरू सबैले मालेमावाद र जनताप्रति गद्दारी गरेका छन् । मनमोहन, मदन भण्डारी, केपी वली र प्रचण्ड यसका उदाहरण हुन् । दस वर्षको महान् जनयुद्धको नेतृत्व गरेका प्रचण्ड र बाबुरामले निच प्रकारले क्रान्तिकारी पार्टी, जनमुक्ति सेना, जनसत्ता, जनप्रशासन, जनअदालत र जनसुधारगृह विघटन गरेका छन् । जनमुक्ति सेनाको विघटन साम्राज्यवादी निःशस्त्रीकरणको कार्यान्वयन र जनताका १७ हजार छोराछोरीको रगतमाथि होली खेल्ने दुष्कार्य हो । आज प्रचण्डले २०२८ सालमा उठाएका बन्दुकहरू कोसीमा बगायौँ भनेर गर्व गर्ने केपी वलीसँग एकता गर्दै नेपाली जनताको मुक्तिको बाटो छेक्ने दुस्साहस गरिरहेका छन् । इतिहासको बलवान् हातले एक दिन गद्दारहरूलाई घोडाबाट ओरालेर चिहानमा पुर्याउनेछ ।

उत्पीडित राष्ट्रहरू र जनताको निःशस्त्रीकरण तथा आफ्नो सशस्त्रीकरण गर्दै जाने अमेरिकी साम्राज्यवादलाई उत्तरकोरिया र त्यसका राष्ट्रपति किम जोङ उनले हाइड्रोजन बमको परीक्षणद्वारा जबाफ दिनु हार्दिक स्वागतयोग्य कार्य थियो । तर आफ्नो देशलाई ६७ वर्षदेखि लगाइएको आर्थिक नाकाबन्दी नखोलीकन कसैको स्वार्थमा सिङ्गापुर वार्ता गर्नुले अन्ततः त्यति शुभसङ्केत दिएको छैन ।

१९१४ देखि १९१९ सम्म प्रथम विश्वयुद्ध चलिरहेको थियो । स्क्यान्डेनेभियन समाजवादीहरूले साम्राज्यवादीहरूको स्वरमा स्वर मिलाउँदै ‘निःशस्त्रीकरण’ को नारा लगाएका थिए । कतिसम्मभने रोजा लक्जेम्बर्गले आफ्नो गुप्त नाम जुनियस बनाएर राष्ट्रिय युद्ध पनि अन्ततः साम्राज्यवादी युद्धमा बदलिन्छ भन्दै एउटा पर्चा लेख्नुभयो । जान वा अन्जान रूपमा यसले पनि निःशस्त्रीकरणकै पक्षपोषण गरेको थियो । १९१६ मा लेनिनले ‘सर्वहारा क्रान्तिको सैन्य कार्यक्रम’ शीर्षकको आलेख रचना गर्नुभएको थियो । उहाँले सबै युद्धहरूको विरोध गर्नेहरूको धज्जी उडाउँदै लेख्नुभएको छ, ‘समाजवादीहरू समाजवादी हुन छोडेर सबै युद्धको विरोध गर्दैनन् ।’– ग्रन्थ २३, पृष्ठ ७०, अङ्ग्रेजी संस्करण ।

अझ अगाडि बढेर उहाँले भन्नुभएको छ, ‘जसले वर्गसङ्घर्ष स्वीकार गर्छ उसले गृहयुद्ध स्वीकार गर्न नमान्ने कुरै हुन सक्दैन जुन हरेक वर्गसमाजमा स्वाभाविक हुन्छ र खास परिस्थितिमा वर्गसङ्घर्षको अपरिहार्यता, निरन्तरता र विकास तीव्र हुन्छ । त्यो हरेक महान् क्रान्तिबाट सुनिश्चित हुन्छ । गृहयुद्ध अस्वीकार गर्नु अथवा यसलाई भुल्नु चरम अवसरवादमा फस्नु हो र समाजवादी क्रान्ति परित्याग गर्नु हो ।’ – उही, पृष्ठ ७८–७९ ।

लेनिनले न्यायपूर्ण युुद्धको समर्थन र अन्यायपूर्ण युद्धको विरोध गर्नुभएको छ । यहाँ उत्पीडित वर्गले के गर्नुपर्छ भन्ने सवालको जबाफमा लेनिनका दुई अनुच्छेद उद्धृत गर्नैपर्ने ठानी निम्नानुसार उद्धृत गरिएको छ :

‘पेरिस कम्युनको एकजना पुँजीवादी पर्यवेक्षकले मे १८७१ को अङ्ग्रेजी प्रत्रिकामा लेख्दै भनेका छन्– फ्रान्स महिलैमहिलाले बनेको भए कति भयानक राष्ट्र हुन्थ्यो होला ! महिला र केटाकेटीहरूले पेरिस कम्युनका लागि पुरुषहरूसँगै काँधमा काँध मिलाएर लडेका थिए । पुँजीवादलाई ढाल्ने आउँदो लडाइँ योभन्दा भिन्न हुनेछैन । सर्वहारा महिलाहरू असल हतियारले सुसज्जित पुँजीवादी वर्गको सेनाद्वारा कमसल हतियार लिएका अथवा निःशस्त्र मजदुरलाई गोली हानेर ढालिएको दृश्य टुलुटुलु हेरेर बस्ने छैनन् । उनीहरूले १८७१ मा जस्तै हतियार उठाउनेछन् र आजका डरपोक राष्ट्रहरूबाट अझ ठीक ढङ्गले भन्ने हो भने वर्तमान मजदुर आन्दोलनमा सरकारद्वाराभन्दा अवसरवादीहरूद्वारा विघटित निःसन्देह रूपले ढिलो वा चाँडो तर सुनिश्चित रूपमा क्रान्तिकारी सर्वहारावर्गको ‘भयभीत राष्ट्रहरूमा’ एउटा अन्तर्राष्ट्रिय सङ्घ उदाउनेछ ।’

‘आज सम्पूर्ण सामाजिक जीवन सैन्यीकृत हुँदैछ । साम्राज्यवाद भनेको विश्वको विभाजन र पुनर्विभाजनका लागि महाशक्तिहरूको तीव्र सङ्घर्ष हो । त्यसकारण यसले साना होऊन् अथवा असंलग्न सबै देशहरूलाई अझ सैनिकीकरणतिर लैजान्छ । यसलाई सर्वहारा महिलाहरूले कसरी सामना गर्लान् ? के उनीहरू सबै प्रकारका युद्ध र सेनालाई दुत्कार्दै केवल निःशस्त्रीकरणको माग गर्लान् ? उत्पीडित र वास्तविक रूपमा क्रान्तिकारी वर्गका महिलाहरूले त्यस्तो लाजमर्दो भूमिका कहिल्यै स्वीकार्ने छैनन् । उनीहरूले आफ्ना छोराछोरीलाई भन्नेछन्– तिमीहरू छिट्टै हुर्कनेछौ । तिमीहरूलाई बन्दुक दिइनेछ । यसलाई उठाऊ र राम्रोसँग सैन्यकला सिक । सर्वहारा वर्गलाई यो ज्ञान वर्तमान युद्धमा जस्तै र समाजवादका धोकेबाजहरूले भनेजस्तै आफ्नै दाजुभाइलाई गोली ठोक्न र अर्को देशका श्रमिकहरूमाथि गोली चलाउन आवश्यक छैन । उनीहरूलाई आफ्नै देशका पुँजीपतिहरूसँग लड्न, धार्मिक कामनाले होइन, बरु पुँजीपति वर्गलाई पराजित र निःशस्त्र पारेर शोषण, गरिबी र युद्धको अन्त्य गर्न यो ज्ञान आवश्यक हुन्छ ।’

– उही, पृष्ठ ८२–८३ ।

लेनिनका यी मार्मिक संश्लेषणहरूले पुरानै प्रतिक्रियावादी राज्यसत्ताको सरकारमा रहेर समाजवादी क्रान्तिको सपना देख्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’, खड्गप्रसाद वली र बाबुराम भट्टराईहरूलाई सिस्नुपानी लगाएका छन् । यी संश्लेषणहरूले निःशस्त्रीकरणको राग अलाप्ने साम्राज्यवादी डाँकाहरूमाथि क्षेप्यास्त्र प्रहार गरेका छन् ।

आफूले बन्दुक बोकेर जनतालाई बन्दुक बोक्नु हुन्न भन्ने प्रतिक्रियावादी, साम्राज्यवादी र तिनका अवैध सन्तान संशोधनवादीहरूको सातो लिँदै माओले आफ्नो सुप्रसिद्ध रचना ‘युद्ध र रणनीतिका समस्याहरू’ नामक आलेखमा भन्नुभएको छ :

‘साम्यवादीहरू व्यक्तिगत सैन्यशक्तिका लागि लड्दैनन् (उनीहरूले कुनै हालतमा पनि त्यसो गर्दैनन्; उनीहरूलाई पुनः चाङ क्वो थाओका पिछलग्गु बन्न दिनु हुँदैन) । तर उनीहरू पार्टीको सैन्यशक्तिका लागि र जनताको सैन्यशक्तिका लागि लड्नैपर्छ । ‘राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ’ यो सत्यलाई हरेक साम्यवादीले ग्रहण गर्नुपर्छ । हाम्रो सिद्धान्तअनुसार पार्टीले बन्दुक चलाउँछ, बन्दुकलाई कहिल्यै पनि पार्टी चलाउन दिनु हुँदैन । हामीसँग बन्दुक छ भने उत्तरी चीनमा चौथो मार्ग सेनाले बनाएको शक्तिशाली पार्टीजस्तै पार्टी सङ्गठन बनाउन सक्छौँ । हामी कार्यकर्ता, विद्यालय, संस्कृति र जनआन्दोलन सिर्जना गर्न सक्छौँ । येनानका सम्पूर्ण कुराहरू बन्दुकद्वारा सिर्जना गरिएका हुन् । सबै कुराहरू बन्दुकको नालबाटै जन्मन्छन् । राज्यसम्बन्धी माक्र्सवादी सिद्धान्तअनुसार सेना राज्यसत्ताको प्रमुख सङ्घटक हो । जसले राज्यसत्ता कब्जा गर्न र टिकाउन चाहन्छ ऊससँग बलियो सेना हुनैपर्छ । युद्ध सर्वशक्तिमानताको वकालत गरेकोमा केही मानिसहरू हामीप्रति हाँस्छन् । हो, हामी क्रान्तिकारी युद्धका पक्षपाती हौँ । यो राम्रो कुरा हो, नराम्रो कुरा होइन । रुसी बन्दुकहरूले समाजवादको सिर्जना गरे । हामी जनतान्त्रिक गणतन्त्र सिर्जना गर्नेछौँ । साम्राज्यवादी युगमा वर्गसङ्घर्षको अनुभवले हामीलाई के सिकाउँछ भने बन्दुकको बलले मात्र श्रमिक जनसमुदायले सशस्त्र पुँजीपति र भूमिपतिलाई हराउन सक्छन् । यही अर्थमा हामी के भन्न सक्छौँ भने केवल बन्दुकले नै विश्वलाई रूपान्तरण गर्न सकिन्छ । हामी युद्धको अन्त्यका पक्षपाती हौँ । तदनुरूप बन्दुकबाट छुट्टी पाउन बन्दुक उठाउनैपर्छ ।’

— ग्रन्थ २, अङ्ग्रेजी संस्करण, पृ. २२५ ।

आफूलाई माक्र्सवादी–लेनिनवादी–माओवादी भन्न पनि पछि नपर्ने पीके दाहाल र केपी वलीजस्ता नवप्रतिक्रियावादीहरूलाई माओले यसरी भत्र्सना गर्नुभएको छ । यी हाल सामाजिक दलाल पुँजीवादी देखिए पनि सामाजिक फासिवादमै पुग्छन् भन्ने कुरा क्रान्तिकारीहरूमाथिको दमनले प्रकाश पार्दै गएको छ ।

प्रिय पाठकवृन्द ! तपाईंहरूले मालेमावादको दोसल्ला ओढेर मालेमावादकै मुटुमा छुरी धस्ने धोकेबाज प्रचण्ड, बाबुराम र केपी वलीहरूलाई त निगरानीमा राखेर हेरिरहनुभएको छ नि ? पहिलो कुरा, यी कम्युनिस्टहरू होइनन् । आदरणीय जनसमुदाय, जसलाई तपाईंहरूले कम्युनिस्ट ठानेर चुनावमा मतदान गर्नुभयो, ती कम्युनिस्ट होइनन् । उनीहरू भेडाको छाला ओढेका ब्वाँसाहरू हुन् जो साधारण ब्वाँसाहरूभन्दा दस गुणा खतरनाक छन् । जनतालाई कन्याउँदै जाँदा मुटु–कलेजो झिकेर खाएको थाहा हुँदैन । जनताकै करबाट भरिएको ढुकुटी विकास निर्माणकै मीठा कुरामा रित्तिन्छ । यति मात्र होइन, उनीहरू देशभित्रका दलाल पुँजीवादी र साम्राज्यवादीहरूद्वारा अर्बौं रुपैयाँमा किनिएका छन् । त्यसकारण उनीहरू दलाल पुँजीवादका चाकर भएका छन् र साम्राज्यवादका दलाल बनेका छन् । कम्युनिस्ट भनेको निजी सम्पत्तिको अन्त्य गर्नु र सामूहिक एवम् साझा सम्पत्तिको विकास गर्नु हो । आफू अर्बपति बनेर जनतालाई कङ्गाल बनाउने उनीहरू कम्युनिस्ट कसरी हुन सक्छन् ? उनीहरूले निजी सम्पत्तिका लागि हजारौँ सहिदहरूको रगत बेचेका छन् । यी गद्दारहरूको स्वर्ग बनेको राज्यसत्तालाई ढाल्न र सहिदको सपना वैज्ञानिक समाजवाद ल्याउन जनसेनाको विकास इतिहासको अपरिहार्य आवश्यकता बनेको छ ।

लेखक : हेमन्तप्रकाश ओली ‘सुदर्शन’

दोस्रो कुरा, उत्पीडित वर्गले आफ्नो मुक्ति चाहन्छ भने उसले बन्दुक सङ्गठित गर्नुको विकल्प छैन । माओले समग्र प्रक्रियाको विश्लेषण गरेर नै ‘सेना नभएको जनतासँग आफ्नो भन्ने केही हुँदैन’ भन्नुभएको हो । कतिपय इमानदार मानिसहरूलाई कस्तो लाग्न सक्छ भने कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी पनि यही संसदीय व्यवस्थाको चुनावमा भाग लिएर सरकारमा पुगे त जनताको समस्या समाधान भइहाल्थ्यो होला । किन बेकारमा फेरि बन्दुक बोकेर रगत वगाउन खोजेका होलान् ? प्रिय साथीहरू र आदरणीय जनसमुदाय, यो एउटा भोलाभाला प्रश्न हो । यो बाघको अघिल्तिर बाख्राले बिन्ती बिसाउनुपर्छ भनेजस्तै भोलाभाला कुरा हो । तपाईंहरूले स्थानीय, प्रादेशिक र केन्द्रीय चुनावको स्थिति आफ्नै आँखाले देख्नुभयो नि ? गाउँपालिकाको वडा सदस्य जित्न कम्तीमा २० लाख, गाउँपालिका जित्न ५० लाख, नगरपालिकाको वडा जित्न अर्बौं पैसा चाहिन्छ । पैसाले मात्र भोट सुनिश्चित हुँदैन, सुनिश्चितताका लागि प्रहरी, सेना, गुण्डा र कर्मचारी किनेर राख्नुपर्छ । नत्र भने कुनै उम्मेदवारले प्राप्त भोट जसले पैसा बढी दिएको छ त्यसकै मतपेटिकामा जान सक्छ । पैसा प्राप्त भएमा मतपेटिकामा मत नपरेको भए पनि मतपत्र भरिन सक्छ । चुनावमा जनतालाई मतदान गरेर इमानदार र योग्य उम्मेदवारलाई जिताउनुहोस् भन्ने कुरा खोक्रो बकबास हो । पैसा र बन्दुक कसको हातमा छ, उसैले चुनावमा विजय सुनिश्चित गर्दछ । किसान, मजदुर, सिपाही र सुकुमबासीका छोराछोरीले यसबाट सत्ता प्राप्त गर्ने कुरा दिवासपना मात्र हो । चुनाव खर्च कति महँगो भएको छ भने मध्यमवर्ग र राष्ट्रिय पुँजीपतिले पनि यसबाट हात धुनुपर्ने स्थिति आइसक्यो । नेपालजस्तो देशमा त आफ्ना दलालहरूलाई उम्मेदवार बनाएर साम्राज्यवादीहरूले ठूलो लगानी गरिरहेका हुन्छन् । त्यसकारण उत्पीडित वर्गले आफ्नो सेना नबनाईकन मुक्ति प्राप्त हुन सक्दैन । जसले गरिबी, अन्याय, भ्रष्टाचार र उत्पीडनबाट मुक्ति चाहन्छ, उसले बन्दुक प्राप्त गर्न र बन्दुक चलाउन सिक्नैपर्छ ।

तेस्रो कुरा, मानिसहरूलाई के भ्रम परेको छ भने सरकारमा पुग्नु नै राज्यसत्ता प्राप्त गर्नु हो । राज्यसत्ता र सरकार पर्यायवाची शब्द होइनन् । सबैलाई थाहा हुनुपर्छ– सरकार राज्यसत्ताको एउटा अङ्ग हो । सेना, प्रहरी, प्रशासन, अदालत र कारागारसहित पाँचवटा सङ्घटकलाई बिर्सेर सरकारलाई मात्र राज्यसत्ता ठान्नु कुकुरले पुच्छर होइन, पुच्छरले कुकुर हल्लाउन खोज्नु हो । सरकार राज्यसत्ताको एउटा मञ्च मात्र हो । प्रधानमन्त्री र मन्त्रीहरू आउँछन् र जान्छन् । स्थायी सरकार त पर्दापछाडि हुन्छ । त्यसकारण सरकार ढाल्नु भनेको राज्यसत्ता ढाल्नु होइन, बरु त्यस मञ्चका पात्र फेरिनु हो । त्यसमा पनि वर्ग फेरिएको छैन । उत्पीडित वर्गको त कुरै छोडौँ, उत्पीडित वर्गको प्रतिनिधि थियो भने पनि त्यसलाई उत्पीडकमा रूपान्तरण गरेर मात्र पुरानो राज्यसत्ताको सरकारमा पुर्याइएको छ । त्यसकारण उत्पीडित वर्गले यो पूरै राज्यसत्ता पल्टाएर नयाँ सत्ता स्थापना गर्न बन्दुकको दर्शन गहिरो गरी बुझ्न जरुरी छ । अतिरिक्त सम्पत्तिको रक्षा गर्न इतिहासमा सेना र बन्दुकको जन्म भएको हो । कसैले बन्दुकको अन्त्य चाहन्छ भने न्यायपूर्ण युद्धका लागि बन्दुक बोक्नैपर्छ । यही सारतŒवलाई बुझेर नै माओले राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ भन्नुभएको हो ।

३.३) जनक्रान्ति तथा एकीकृत सैन्य कार्यदिशाको प्रमुख निशाना दलाल पुँजीवाद हो । यसलाई अर्को शब्दमा ऐँजेरु पुँजीवाद पनि भन्न सकिन्छ । यसको अर्थ यो आफैँ जमिनमा उम्रेको होइन, बरु अरू रूखको हाँगोमा आएर पलाउँछ र रूखै सुकाइदिन्छ । यसले राष्ट्रिय पुँजीलाई त्यो रूख सुकाएझैँ सुकाउँछ । नेपालमा राष्ट्रिय पुँजीको विकास नहुनुको कारण ऐँजेरु पुँजीवाद नै हो । यसैको राजनीतिक अभिव्यक्तिका रूपमा दलाल संसदीय व्यवस्था बन्न गएको छ । कथित नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, कतिपय मधेसवादी दलहरूको दलालीकरण भएको छ । राप्रपाका गुटहरू पनि दलाल पुँजीवादबाट प्रभावित छन् ।

अर्को निशाना नोकरशाही पुँजीवाद हो । बहालवाला र गैरबहालवाला भ्रष्ट अधिकृत तहका कर्मचारी नै नोकरशाही पुँजीवादका प्रतिनिधिहरू हुन् । उनीहरूले सीधै साम्राज्यवादको पृष्ठपोषण पाएका हुन्छन् । संसदीय राजनीतिक दलहरूलाई दलाल पुँजीवादको स्वार्थमा घुमाउन उनीहरूको महŒवपूर्ण भूमिका हुन्छ । उनीहरूमाथिको कारबाहीले जनसेवा नै हुन पुग्छ । स्थायी रूपमा उनीहरूले राज्यसत्ता सञ्चालन पनि गरिरहेका हुन्छन् ।

तेस्रो निशाना, सामन्तवाद राज्यसत्ताको नेतृत्वबाट हारे पनि उसको दीर्घ शासनसत्ताको दीर्घ प्रभाव रहेको हुन्छ । धेरैजसो सामन्तको जमिन दलाल पुँजीपतिहरूले लिइसकेको भए पनि स्वयम् सामन्त तथा जमिनदारहरू दलाल पुँजीपति भइसकेका छन् । सामन्तवादको संस्कृति पनि जरा गाडेर बसेको छ ।

आज हामी के कुरामा स्पष्ट हुन जरुरी छ भने नेपाली जनताका यी तीन निशानामध्ये दलाल पुँजीवाद नै अरूमाथि निरपेक्ष रूपले हाबी छ र नेतृत्व गरिरहेको छ । राज्यसत्तामा राजनीतिक अभिव्यक्ति पनि नेतृत्वमै हाबी छ ।

अब हामीले दलाल पुँजीवाद, नोकरशाही पुँजीवाद र सामन्तवादका विरुद्ध लड्ने क्रान्तिका मित्रहरू कोको हुन् भनी पहिचान गर्नुपर्छ । यसको विश्लेषण नगरी हामी अघि बढ्न सक्तैनौँ । हामीले सामान्यतः किसान, मजदुर, सिपाही, सुकुमबासी, मध्यमवर्ग, राष्ट्रिय पुँजीपति र देशभक्तहरूलाई क्रान्तिका मित्र शक्ति मानेका छौँ । हिजो मध्यमवर्ग पुँजीपति बन्ने सपनाका साथ सानो सम्पत्तिको लोभले ढुलमूल थियो तर त्यसको ठूलो भाग क्रान्तिमा आउन बाध्य हुन्थ्यो तर आज अति केन्द्रीकृत र अति एकाधिकारवादी पुँजीका कारण उसको ढुलमूल रहने चरित्र सकिँदै गएको छ । अति एकाधिकारवादी पुँजीवादको बढी रस चुस्ने स्रोत भनेको मध्यमवर्ग नै बनेको छ । आजको किसान नेपालमा सम्भव आधुनिक औजारहरूसहित कृषिको फार्मिङ प्रणालीमा गइरहेको छ । उसका लागि मल, बिउ, उत्पादित वस्तुहरूको बजार र उचित मूल्य प्राप्त गर्ने समस्या छ । दलाल पुँजीपतिहरूले र साम्राज्यवादीहरूले उनीहरूको माल बिक्रीमा बाधा पारिरहेका हुन्छन् । आज सामन्ती साहूहरूको सट्टा उनीहरूले सहकारी र कृषि बैङ्कबाट ऋण लिनुपर्ने स्थिति छ । ती बैङ्क नामका साहूहरू घरखेतबाट ऋण असुली गर्न पछि पर्दैनन् ।

मजदुरवर्ग मार्क्स, लेनिन र माओको पालाको भन्दा स्वरूपमा भिन्न छ । अहिले त्यतिबेलाको जस्तो विशुद्ध औद्योगिक मजदुर होइन, बरु कम्प्युटरबाट काम गर्ने र कारबाट काममा जाने मजदुरहरू आइसकेका छन् । माथि भनिएकै छ– आज लाखौँ मजदुरहरू एउटै कारखानामा काम गर्दैनन् । उनीहरूलाई विकेन्द्रित उत्पादन प्रणालीमा अलगथलग पारिएको छ । त्यसकारण उत्पादन केन्द्रहरूमा मात्र होइनन्, बरु विकेन्द्रित वितरण केन्द्रहरूमा पनि मजदुर खोज्नुपर्छ । विचारधारात्मक हिसाबले पनि केन्द्रित गर्नुपर्छ ।

आज हामीले सिपाही भन्नाले बहालवाला र गैरबहालवाला सरकारी सिपाही र प्रहरी नेपालका गाउँगाउँ र सहरसहरदेखि, अरेबियन देशहरूदेखि युरोपसम्म पुगेका पूर्वजनमुक्ति सेना, गोरखा भर्तीकेन्द्रका नाममा बेलायत र भारतीय सेनामा रहेका नेपालीहरू, सेक्युरिटी गार्डहरू सबैलाई बुझ्नुपर्दछ । उनीहरू पनि हिजोको सिपाहीजस्तो एकहोरो मात्र छैनन् । अरू केही नभए पनि फेसबुकबाट सुसूचित हुन्छन् । कहीँ न कहीँ जनतातिर फर्कनुपर्ने र संसारतिर फर्कनुपर्ने बाध्यता छ । त्यसमा मालेमावादको चेतना पुर्याउनुपर्ने आवश्यकता छ ।

हाम्रो देशका सुकुमबासीहरूभित्र हुकुमबासीहरू मिसिएर उनीहरूलाई प्रदूषित बनाइरहेका छन् । त्यसमा जग्गा दलालहरूले नाफा कमाइरहेका छन् । वास्तविक सुकुमबासीहरूलाई विचारधारात्मक र सङ्गठनात्मक रूपमा सङ्गठित गर्न जरुरी छ ।

जनक्रान्तिको कार्यनीतिक लक्ष्य भनेको वैज्ञानिक समाजवाद हो । यो हाम्रो न्यूनतम् कार्यक्रम हो । हाम्रो अधिकतम् कार्यक्रम भनेको साम्यवाद हो । मालेमावादलाई आत्मसात गर्ने क्रान्तिकारी कम्युनिस्टहरू र हाम्रो पार्टीबीच न्यूनतम् कार्यक्रम नयाँ जनवाद बनाउने वा वैज्ञानिक समाजवाद भन्ने सवालमा बहस जारी छ भनेका छौँ ।

हाम्रो पार्टीले आठौँ महाधिवेशनबाट न्यूनतम् कार्यक्रम वैज्ञानिक समाजवाद हो र नयाँ जनवाद क्रान्तिका क्रममै पूरा गर्न सकिने यसको पूरक कार्यक्रम हो भन्ने पारित गरेको छ । हामीले यसलाई एउटा चरणका रूपमा मान्यता दिने परम्परामा क्रमभङ्ग गरेका छौँ । दलाल पुँजीवादका विरुद्ध लड्दै हामीले दुवैतिर (गाउँ र सहर) लालसत्ताको अभ्यास गर्ने र त्यसलाई लालसेनाले संरक्षण गर्दै अघि बढ्नुपर्छ । क्रान्तिकारी कम्युनिस्टहरू र देशभक्तहरूको संयुक्त मोर्चाले नै लालसत्ता सञ्चालन गर्नुपर्दछ । यसमा मध्यमवर्ग र राष्ट्रिय पुँजीपतिहरू पनि सामेल हुनेछन् । पार्टीले लालसेना र लालसत्ताको नेतृत्व गरिरहेको हुन्छ । दलाल संसदीय व्यवस्थाको विकल्प नयाँ जनवाद होइन, वैज्ञानिक समाजवाद हुनुपर्दछ । क्रान्ति सम्पन्न हुनेबित्तिकै वैज्ञानिक समाजवादी गणतन्त्र नेपालको घोषणा गर्नुपर्दछ । चीनमा जस्तै ल्यु साओ ची र तेङ स्याओपिङलाई अझै पुँजीवादको विकास नगरी समाजवादमा पुग्न सकिन्न भन्ने ठाउँ दिन हुँदैन । निश्चय नै साम्राज्यवादीहरूले यो क्रान्ति सजिलै सम्पन्न गर्न दिने छैनन् । यसका लागि अन्तर्राष्ट्रिय जनसम्बन्ध, भाइचारा सम्बन्ध र कूटनीतिक सम्बन्धलाई पनि विकास गरेर जानुपर्दछ । पुँजीवादी विचारधाराको भूमण्डलीकरणका विरुद्ध साम्यवादी विचारधाराको भूमण्डलीकरण गर्न जरुरी छ ।

यो क्रान्ति सम्पन्न गर्न हामीले तयारी, रिहर्सल र आक्रमणको प्रक्रिया पूरा गर्नुपर्दछ । आक्रमण गरिसकेपछि सासै फेर्न नदिईकन निरन्तर दुस्मनमाथि हमला गर्नुपर्दछ । विजय र पराजयको प्रक्रियाबाट विजयमा पुग्नुपर्नेछ ।

राजनीतिप्रति जागरुक र क्रान्तिकारी आन्दोलनबाट अनुभवी जनता, विगतको जनयुद्ध र जनआन्दोलनबाट अनुभव प्राप्त नेता तथा कार्यकर्ता, सङ्कटैसङ्कटमा फस्दै गएको र भयानक अन्तरविरोधले जेलिएको राज्यसत्ता, साम्राज्यवादले पूर्ण रूपमा विश्वास नगरेका पार्टीहरू, देशभक्तहरूको सकारात्मक हेराइ आदिले क्रान्ति नजिकै रहेको छ । तीन जादुगरी हतियारको तयारी नै हाम्रो युद्धस्तरीय कार्य हुनुपर्दछ ।

आज वैज्ञानिक समाजवादले गाँस, बास र कपासको समस्या मात्र पूरा गरेर पुग्दैन । यसले शिक्षा, स्वास्थ्य, रोजगार र सञ्चारको समस्या पनि समाधान गर्नैपर्दछ । प्रत्येकले वैज्ञानिक समाजवादी राज्यव्यवस्थालाई आफ्नो योग्यताअनुसार दिने र प्रत्येकले उसको आवश्यकता अनुसार लिने स्थिति वैज्ञानिक समाजवादमै प्राप्त गर्ने अवस्था कम्युनिस्टहरूले बनाउनुपर्छ । यस्तो व्यवस्था गृहयुद्ध नलडीकन प्राप्त गर्न सकिँदैन । माक्र्स–एङ्गेल्सले जर्मनीमा क्रान्ति र प्रतिक्रान्तिको विश्लेषण गर्दै संश्लेषण गरेको सिद्धान्तलाई हामीले मार्गदर्शक बनाउनुपर्छ :

‘युद्ध र अरू कलाजस्तै विद्रोह पनि एउटा कला हो । यसमा अघि बढ्ने खास नियमहरू हुन्छन् । जुन पार्टीले यी नियमहरू उल्लङ्घन गर्नेछन्, ती पतन भएर जानेछन् । पार्टीको प्रकृति र परिस्थितिबाट आएका तार्किक चिन्तन नै ती नियमहरू हुन् । यस्तो मामला जोकसैले सामना गर्नुपर्दछ जुन कति सादा र सरल छन् भने १८४८ को छोटो अनुभवले जर्मनेलीहरूलाई तिनीहरूसँग राम्ररी घुलमिल बनाएको थियो । प्रथमतः आफ्नो खेलको परिणामसँग सामना गर्ने पूर्ण तयारीबिना विद्रोहसँग कहिल्यै खेलबाड गर्नु हुँदैन । विद्रोह अति नै अनिश्चित महŒवको हिसाबकिताब हो जसको मूल्य दैनिक परिवर्तन हुन्छ । तपाईंको विरोधी शक्तिलाई सङ्गठन, अनुशासन, परम्परागत प्राधिकारलगायत सम्पूर्ण सुविधाहरू रहेका छन्; उनीहरूविरुद्ध शक्तिशाली तयारी नगरीकन लडेमा तपाईंको पराजय र विनास हुनेछ । द्वितीयतः विद्रोही शक्तिले एकपटक अघि बढिसकेपछि दृढ निश्चयका साथ हमला गर्नुपर्दछ । प्रतिरक्षा हरेक सशस्त्र विद्रोहको मृत्यु हो जसले गर्दा आफ्नो दुस्मनलाई छरिएको बेला अचानक हमला गर्नुपर्दछ, सानै भए पनि दैनिक नयाँ सफलताको तयारी गर्नुपर्छ । पहिलो विद्रोहबाट प्राप्त नैतिक बल कायम राख्नुपर्छ । आफ्नो नजिकै ती ढुलमूल तŒवहरूलाई भेला गर्नुहोस् जो सधैँ सबभन्दा बलियो शक्तिको पछि लाग्न बाध्य हुन्छन् र जो सधैँ आफ्नो रक्षाको खोजीमा हुन्छन् । तपाईंका विरुद्ध आफ्नो शक्ति सञ्चय गर्नुभन्दा पहिले नै दमनलाई पछिल्तिर धकेल्नुहोस्; अहिलेसम्म ज्ञात क्रान्तिकारी नीतिका महानतम् गुरु दाँतेका शब्दमा ः साहस ! साहस ! फेरि पनि साहस !’

— मार्क्स–एङ्गेल्स, विद्रोह, १८५२, ग्रन्थ ११, अङ्ग्रेजी संस्करण, पृष्ठ ८३ ।

३.४) हामी शक्तिशाली माक्र्सवाद–लेनिनवाद–माओवादका सार्वभौम वैज्ञानिक नियमद्वारा निर्देशित भएकाले क्रान्ति सानो देशमा हुँदैछ वा ठूलो देशमा भन्ने कुरा विजयको प्रमुख कारक होइन । हामीलाई थाहा छ, वैज्ञानिक समाजवादी क्रान्ति विशाल भूगोल र जनसङ्ख्या भएका देशहरू रुस र चीनमा पनि भयो अनि साना देशहरू भियतनाम, कोरिया र कम्बोडियामा पनि भयो । तीन करोड नेपालीले गर्ने मालेमावादबाट निर्देशित क्रान्ति संसारका अर्बौं श्रमजीवी र उत्पीडित जनताको पनि आफ्नै लडाइँ हो । वरिपरि चीन र भारतजस्ता विशाल जनसङ्ख्या र विशाल भूगोलमा रहेका साढेदुई अर्बभन्दा बढी जनताहरूको बीचमा हुने क्रान्ति र सहयोग पनि आजको दुनियाँमा विजयका लागि महŒवपूर्ण तŒव हो । मुख्यतः हाम्रै देशका जनताको बल नै विजयको प्रमुख तŒव हो । त्यसकारण द्वन्द्ववादले विषयलाई कहिल्यै पनि एकपक्षीय रूपमा हेर्दैन । हामीले सानो र पिछडिएको देशमा क्रान्ति गर्दा संसारका ठूला र विकसित देशका शासकहरूलाई मात्र होइन, त्यहाँका उत्पीडित जनताहरूलाई पनि हेर्नुपर्दछ । कुनै एउटा देशका कम्युनिस्टहरू जनताका लागि लड्ने भनेको विश्वका उत्पीडित र श्रमजीवी जनताका लागि लड्नु हो । एउटा देशमा हुने क्रान्तिले विश्व जनसमुदायको मुक्तिको ढोका खोलिदिनेछ । कुनै पनि देशमा हुने क्रान्ति ढिलो वा चाँडो विजयी हुन्छ ।

४) निष्कर्ष

अतः माक्र्सले भनेझैँ पुरानो समाजबाट नयाँ समाज जन्माउन सुँडेनी तयार पार्नु आजको प्रमुख कार्यभार हो । आजको सुँडेनी भनेको सिपालु चिकित्सक नै हो जसले बच्चालाई सुरक्षित जन्माउनुपर्छ । हामी उत्पीडित वर्गका मानिसहरूले हतियार चलाउन र प्राप्त गर्न सिक्दैनौँ भने लेनिनले भनेझैँ दासको व्यवहार गरिन लायक हुन्छौँ । हामी दासबाट उठेर आजको स्पार्टाकस बन्नुपर्छ । इतिहासको कर्तव्यबोधका साथ बन्दुकबाट छुट्टी पाउन बन्दुक उठाउन हामी तयार हुनुपर्छ । माओले हामीलाई यही कुरा सिकाउनुभएको छ । हाम्रो पार्टीको निर्देशनअनुसार बन्दुकमा कम्प्युटर जोड्न आवश्यक छ । विज्ञानको विरोध गरेर होइन, बरु त्यसको विकास गरेर नै इतिहासमा आएका समस्याहरू समाधान गर्न सकिन्छ । हामीले पृथ्वीको झन्डै आधाभन्दा बढी जनसङ्ख्या र भूगोलमा रगतपसिनाको बलिदान गरेर वैज्ञानिक समाजवाद स्थापना गरेका थियौँ । त्यहाँ हामीले पराजय र प्रतिक्रान्ति बेहोर्नुपर्यो । दर्जनौँ देशमा क्रान्ति विजयको सन्निकट पुगेको थियो । त्यहाँ हामीले पराजय बेहोर्यौँ । यी सबै घटनाको प्रमुख कारण आन्तरिक थियो, बाह्य होइन । नेपालमा सैन्य हिसाबले दुस्मनको काँडेतार तोड्न नसकिएको बहानाबाजी प्रचण्ड–बाबुरामले गरे र उनीहरू एक सय असी डिग्री फन्को मारेर दलाल पुँजीवादी संसदीय व्यवस्थामा पतन भए । नतोडिएको भौतिक रूपमा दुस्मनको काँडेतार थिएन, बरु मानसिक काँडेतार थियो, विज्ञानको विकासमा काँडेतार थियो । एकीकृत सैन्य रणनीति र वैज्ञानिक समाजवादको राजनीतिक कार्यक्रमले त्यो काँडेतार भत्काएको छ । एक्काईसौँ शताब्दीको दोस्रो दशकका किसान, मजदुर, सिपाही, सुकुमबासी, मध्यम वर्ग, राष्ट्रिय पुँजीपति र देशभक्तहरू, आउनुहोस् ! वैज्ञानिक समाजवादी रणनीतिमा पुग्ने भरपर्दो उत्पीडित जनताको सैन्य दस्ताको रक्षा र विकास गरौँ । हाम्रा लागि अर्को कुनै विकल्प छैन ।

(नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता एवम् केन्द्रीय कार्यालय सदस्य सुदर्शनको यो रचना हामीले उनको पुरानो कृति ‘विश्वदृष्टिकोणमा रूपान्तरण’ २०७…बाट साभार गरेका हौँ । कार्यदिशासम्बन्धी लेखकको दृष्टिकोण पुरानै सन्दर्भको हो । यसलाई हामीले इतिहासको एउटा कालखण्डका रूपमा अध्ययन गर्न आवश्यक ठानेर साभार गरी प्रकाशन गरेका हौँ– सम्पादक ।)

Leave a Reply

Your email address will not be published.