दोरम्बा शैलुङ्ग गाउँपालिका अध्यक्ष मोक्तान अख्तियारको छानबिनमा

News

काठमाडौं : रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तान विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेको आरोपमा मोक्तान विरुद्ध उजुरी परको हो । मोक्तान विरुद्ध अख्तियारमा सी ००१८८४ नम्बरमा दर्ता भएको उजुरी उपर छानबिन सुरु भएको छ ।

अध्यक्ष मोक्तानले आर्थिक वर्ष सकिने बेला गत असार ३ गते अन्य सिनियर कर्मचारी हुँदा हुँदै स्वास्थ्यका कर्मचारी नरेश महतोलाई कायममुकायम प्रमुख प्रशासकीय अधिकृत बनाउनुभएको थियो । महतोलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर आर्थिक वर्षको अन्तिममा गैर कानुनी तरिकाले हतार हतार दोरम्बा हस्पिटलको नाममा स्वास्थ्य सामाग्री खरिद गरिएको थियो ।

गाउँपालिकाले अन्य करोडौँका सामान पनि विना टेण्डर खरिद गरी अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको हो ।

अध्यक्ष मोक्तान र कामु प्रमुख प्रशासकीय अधिकृत नरेश महतोको मिलेमतोमा ४२ लाख रुपैँया बराबरको स्वास्थ्य सामाग्री खरिदमा घोटाला गरिएको उजुरीमा उल्लेख छ । गाउँपालिकाले ई–विडिङ नगरेको, राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशित नगरी स्थानीय पत्रिकामा सूचना निकाली पत्रिका लुकाएर अनियमितता गरेको तथा बजार मूल्यभन्दा सामानको चार गुणा बढी मूल्याङ्कन गरी मिलेमतोमा सूचना जारी गरेको अध्यक्ष माथि आरोप छ ।

सो विषयमा अख्तियारमा उजुर परेको गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत असलीमाया तामाङले स्विकार्नुभयो । तर आफू भरखरै प्रमुख प्रशासकीय अधिकृत भएर आएकोले त्यस विषयमा थप जानकारी नभएको उहाँले बताउनुभयो । ‘त्यो म आउनुभन्दा पहिलाकै कुरा रहेछ, म भर्खरै आएको हुँ, मलाई त्यति थाहा छैन’, उहाँले भन्नुभयो ।

सनराइज खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *