नेकपा (बहुमत) र क्रान्तिकारी माओवादीले दोरम्बामै मनाए स्मृति दिवस

News

सन्दर्भ : २० औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस

रामेछाप : आज साउन ३१ गते चर्चित दोरम्बा हत्याकाण्ड भएको १९ वर्ष पुगेर २० वर्ष लागेको छ । २०६० साल साउन ३२ गते रामेछापको दोरम्बा– डाँडाकटेरीमा जनयुद्धका २१ जना योद्धाहरूलाई तत्कालीन शाहीसेनाले हत्या गरेको थियो ।

सहिदको बलिदानका आदर्शहरू कमजोर बन्दै गएको समयमा जनयुद्धबाटै आएका दुईवटा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू– नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) ले संयुक्त रूपमा बलिदान स्थलमा पुगेर स्मृति दिवस मनाइरहेका छन् । दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाउन नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल ‘गौरव’ दोरम्बा– डाँडाकटेरी पुगिसकेका छन् ।

तत्कालीन सरकार–माओवादीबीच दाङको हापुरेमा संविधानसभालाई केन्द्र बनाएर वार्ता भइरहेको बेला वार्ता भङ्ग गर्ने र देशलाई पुनः गृहयुद्धमा धकेल्ने योजना, षड्यन्त्र र उद्देश्यले शाही सेनाले निहत्था माओवादी नेता–कार्यकर्तालाई नियन्त्रणमा लिएर आँखामा पट्टी बाँधी हात बाँधेर घिस्याउँदै लाम लगाएर बीभत्स र क्रूर तरिकाले नृशंस हत्या गरेको थियो ।

दोरम्बा हत्याकाण्डमा तत्कालीन शाही अमेरिकी सेनाले रामेछाप जिल्ला जनसरकार प्रमुख बाबुराम लामा पुष्प, प्रदीप दोङ ‘रक्तिम’, अम्बिका दाहाल ‘ललिका’, सङ्गीता, हर्कबहादुर तामाङ यथार्थ, रवि चौहान ‘समीर’, उमा कार्की ‘सहारा’, श्याम तामाङ ‘इन्क्लाब’, पदमराज गिरी ‘असल’, विष्णुमाया थापामगर ‘बिमा’, ठूलोराम तामाङ ‘छोक्पा’, सानोराम तामाङ ‘तारा’, लक्ष्मण तामाङ ‘छाया’, जमिन, सोम, विमला, युवराज मोक्तान, लीला मोक्तान, टेकबहादुर थापामगर ‘विवेक’, चतुरमान थामी ‘समर’, उषासहित २१ जना क्रान्तिकारी नेता, कार्यकर्ता र माओवादी शुभेच्छुकहरूको बीभत्स हत्या गर्यो । सोही घटनापछि द्विपक्षीय वार्ता भङ्ग भएर माओवादी पुनः जनयुद्धमा गएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *