६ दलले भन्याे- ‘सरकार र तत्कालीन नेकपाबीच भएका तीनबुँदे सहमति तत्काल कार्यान्वयन गर’

News Political

काठमाडौँ : ललितपुर जिल्ला अदालतले साउन १६ गतेका दिन तीनबुँदे सहमतिविपरीत विभिन्न नेताहरूको नाउँमा कथित पक्राउ पुर्जी जारी गरेपछि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सहित पाँच पार्टी र एक मोर्चाले तत्कालै तीनबुँदे सहमति कार्यान्वयन गर्न, सबै नेता÷कार्यकर्तामाथि लगाइएका सबै मुद्दा खारेज गर्न र बन्दीहरूलाई तत्काल रिहाइ गर्न सरकारसँग जोडदार माग गरेको छ ।

ने.क.पा.(बहुमत) का संयोजक कञ्चन, ने.क.पा.(क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सी.पी. गजुरेल, ने.क.पा.(मसाल) राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक सन्तबहादुर नेपाली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी, माओवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव रामनारायण पाल र संयुक्त क्रान्तिकारी मोर्चा, नेपालका प्रतिनिधि नारायण शर्माले शुक्रबार संयुक्त प्रेस विज्ञप्तिमार्फत नेकपा र सरकारका बीचमा भएको तीनबुँदे सहमतिलाई उल्लङ्घन गर्दै सरकारले उक्त पार्टीका नेता र कार्यकर्ताहरूका विरुद्ध पक्राउ पुर्जी जारी गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । साथै उक्त तीनबुँदे सहमतिका बुँदाहरूलाई कार्यान्वयन गर्न सरकारले खासै चासो नदेखाएको आरोपसमेत लगाएका छन् ।

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यही साउन १६ गतेका दिन ललितपुर जिल्ला अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र सरकारका बीचमा भएको तीनबुँदे सहमतिलाई उल्लङ्घन गर्दै उक्त पार्टीका नेता र कार्यकर्ताहरूका विरुद्ध पक्राउ पुर्जी जारी गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सहमतिका बुँदाहरूलाई कार्यान्वयन गर्न सरकारले खासै चासो देखाएको छैन । सरकारको यस्तो क्रियाकलापबाट सरकार झनै फाँसीवादी बन्दै गएको प्रतित हुन्छ । सरकारले तत्कालै उक्त तीनबुँदे सहमति कार्यान्वयन गर्न, सबै नेता/कार्यकर्तामाथि लगाइएका सबै मुद्दा खारेज गर्न र बन्दीहरूलाई तत्काल रिहाइ गर्न तपसिलका पाँच पार्टी र एक मोर्चा जोडदार माग गर्दछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *