भ्रम र वास्तविकता

Opinion

” केवल ती व्यक्तिहरुले मात्र आफ्नो अस्तित्व रक्षाका लागि झूट बोल्दछन् , जसको राजनैतिक पतन भइसकेको छ ।” – महान बहस, पृ. ३५

पार्टी पुनर्गठन गरी नेकपा (बहुमत) निर्माण गरेयता हामीमाथि विभिन्न आरोप लगाउने कार्य हुँदै आइरहेको छ । त्यस्ता आरोप असैद्धान्तिक, अराजनैतिक, तथ्यहरुको तोडमोड गर्ने, भ्रामक र चरित्र हत्या गर्ने प्रकृतिका छन् । खासगरी यस्तो कार्य विप्लव र उनका कार्यकर्ताबाट हुँदै आइरहेको छ । प्राविधिक र व्यक्तिगत विषयलाई छाड्ने हो भने उनीहरूले लगाउने गरेका उल्लेख्य आरोपहरुमा –’ चुनाव प्रयोग जस्तो विशुद्ध कार्यनैतिक विषयमा पार्टी विभाजन गरेको ; भिन्न विषय ल्याउन नसकेको र क्रान्ति गर्ने हैसियत नभएको’ भन्ने रहेका छन् । शुरूवाती दिनमा पार्टीको बहुमत हिस्सा गुमाउनु पर्दाको झोंकमा यस्ता आरोपको वर्षा गर्नु स्वभाविक नै थियो । तर त्यो क्रम अहिलेसम्म पनि जारी छ । तसर्थ आम कार्यकर्ता र जनसमुदायलाई सत्यतथ्य सूचित गर्ने उद्देश्यले यो लेख तयार पारिएको छ ।

सर्वप्रथम ‘चुनावी कार्यनीतिक विषय लाई लिएर पार्टी नै विभाजन गरेको’ भन्ने आरोपको विषयमा कुरा गरौं । झट्ट हेर्दा चुनावी कार्यनीतिको विषयमा नै पार्टी विभाजित भएको जस्तो देखिए पनि मुख्य विषय त्यो थिएन । मुख्य विषय त कार्यदिशा, कार्यक्रम र कार्यनीतिको तादात्म्यता नहुँदा अस्पष्टता र अन्यौलता सिर्जना हुँदै आइरहेको थियो । त्यसले मूल नेतृत्व र कार्यदिशाको बारेमा आशंका र असन्तुष्टि बढाउदै लगिरहेको थियो । चुनावी मुद्दा उक्त आशंका र असन्तुष्टि विष्फोटको उत्कर्ष बन्यो ।

केन्द्रीय समितिको १२ औं बैठकमा विप्लवद्वारा पेस गरिएको स्थानीय चुनाव ‘प्रयोग’ गर्ने प्रस्ताव अत्यधिक बहुमतद्वारा अस्वीकृत भयो । नेतृत्वको सुरक्षा गर्न, संगठन व्यापक बनाउन, जनसम्बन्ध विस्तार गर्न, सहिद परिवारको व्यवस्थापन गर्न, मुद्दाहरु खारेज गर्न र जेलमा भएका नेता – कार्यकर्तालाई छुटाउन चुनाव ‘प्रयोग’ गर्नुपर्ने विप्लवको तर्क थियो । त्यसलाई हामीले ठाडै इन्कार गर्‍यौं ।

हामीले अहिलेको अवस्थामा संसदीय व्यवस्था अन्तर्गत हुने जुनसुकै नामधारी चुनाव उपयोग गर्नु कार्यनीतिक मात्र नभई रणनीतिक महत्त्वको हुने भएकोले स्थानीय चुनाव ‘प्रयोग’ गर्ने प्रस्ताव सही नहुने बतायौं । हामीले चुनाव उपयोग गर्ने नीति लिने हो भने सैद्धान्तिक रूपले गल्ती हुन जाने र त्यसले पार्टीलाई अपूरणीय क्षति पुग्ने तर्फ सचेत गरायौं । पार्टीलाई तहसनहस हुनबाट बचाउन प्रस्ताव फिर्ता लिन विप्लवलाई आग्रह गर्‍यौं ।

लामो छलफल पश्चात् निर्वाचन आयोगमा पार्टी दर्ता नगर्ने, नेताहरू उम्मेदवार नबन्ने, राष्ट्रवादी र स्वच्छ छवि भएका कोही व्यक्ति स्वतन्त्र उम्मेदवार बनेको खण्डमा सहयोग गर्न सकिने भन्ने निर्णय भयो । तर स्वयं विप्लवबाटै यो निर्णयको उल्लंघन भयो । केन्द्रीय सदस्यहरुलाई उम्मेदवारी दिन लगाउने, जिल्लाहरुमा आफैं उपस्थित भएर कार्यकर्ताहरुलाई उम्मेदवार बन्न प्रेरित गर्ने, प्रकाण्डलाई निर्वाचन आयोगमा पठाएर चुनावको मिति सार्न लगाउने कार्य विप्लव आफैंले गरे । कमरेड कञ्चनद्वारा पार्टी निर्णय विपरीत उम्मेदवारी दिएका नेता – कार्यकर्तालाई आफ्नो उम्मेदवारी फिर्ता गरी पार्टी निर्णय पालना गर्न विज्ञप्ति मार्फत आग्रह गरियो । त्यसपछि पर्याप्त छलफल बिना नै विप्लवले विज्ञप्ति मार्फत नै कमरेड कञ्चन र कमरेड सुदर्शनलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको घोषणा गरे । पार्टी विभाजन रोक्नका लागि कमरेडहरुमाथि गरिएको उक्त कार्वाही फिर्ता गर्न विभिन्न जिम्मेवार नेताहरू तथा जवस-मोर्चाहरुद्वारा आग्रह गरियो । तर उनले त्यो आग्रह सुनुवाइ गर्ने चासो नै देखाएनन् । अब हाम्रो सामु दुईवटा मात्रै विकल्प थिए – एउटा , विप्लवसितै आत्मसमर्पण गरेर संसदीय मार्गमा लतारिनु ; अर्को , क्रान्तिकारी धाराको रक्षाको निम्ति पार्टी पुनर्गठन गरेर अगाडि बढ्नु । हामीले दोस्रो विकल्प रोज्यौं ।

विप्लवले पहिले आफैंले ‘खारेज’ गरेको चुनावमा आधारभूत परिवर्तन नआउँदै सहभागी हुने लालसा किन देखाए ?, चुनाव बहिस्कार गर्दा जसरी पनि असफल पार्नै पर्ने, यसका लागि विध्वंस मच्चाउन र उम्मेदवारहरुको ‘सफाया’ सम्म पनि गर्न सक्नुपर्ने तर उपयोग गर्दा चाहिँ उम्मेदवारी दिए पनि जित्नै पर्छ भन्ने अनिवार्य नहुने तर्क किन गरे ? पार्टी एकता कायम राख्ने भन्दा चुनावी मोर्चा नै उनको रोजाइमा किन पर्‍यो ? हामीले यसको सूक्ष्म विश्लेषण गर्‍यौं । यसबाट हामीले विप्लवमा निम्नपुँजीवादी रोमान्सवाद व्याप्त भएको निष्कर्ष निकाल्यौं । निम्नपुँजीवादी रोमान्सवादकै कारण उनमा दार्शनिक रुपमा सारसंग्रहवाद, राजनीतिक रुपमा संसदीय संशोधनवाद, संगठनात्मक रुपमा निषेधात्मक अधिभूतवाद, संघर्षमा आत्मसुरक्षावाद तथा आर्थिक रुपमा जुझारु अर्थवाद सवार रहेको निष्कर्ष पनि निकाल्यौं ।

शुरुआती चरणमा उनलाई केही समयको तयारीपछि क्रान्ति थालनी गर्दा चाँडै उभार सृष्टि हुनेछ र त्यसले गर्दा शीघ्र र सहज किसिमले विजय हासिल गर्न सकिनेछ भन्ने लागेको थियो । त्यसै भएर उनले मध्यम दूरीको क्रान्ति भन्ने गरेका थिए । त्यो भनेको रुसको जस्तो १० दिनमा सकिने र चीनको जस्तो दशकौं लाग्ने हुन्न भन्ने थियो । उनी छोटो समयको तयारी पश्चात् क्रान्तिको थालनी गरिहाल्नु पर्छ भन्ने सोचाइ राख्थे । ‘धेरै ढिलो गर्नु हुन्न, ढिलो भयो भने गोलचक्करमा फसिन्छ’ भन्ने गर्थे । तर पछिल्ला दिनहरुमा तयारीका लागि अझै समय आवश्यक भएको बताउन थालेका थिए । यसरी उनले सुरुमा गरेको शीघ्र र सहज विजयको रोमान्सवादी आंकलन र वस्तुगत परिस्थिति बीच तादात्म्यता भएन । उनको नजरमा क्रान्तिको विजय सुदूर भविष्यको कुरा बन्दै जान थाल्यो । यसबाट उनी क्रान्तिको विजय तत्काल सम्भव नभएको निष्कर्षमा पुगे । यो कुरा १२ औं बैठक वरपर उनको चेहरामा झल्केको भाव पढेर सहजै थाहा पाउन सकिन्थ्यो । यसबाट उनी पार्टीलाई संसदवादी बनाएर सुरक्षित अवतरण गर्ने अवसरको खोजीमा लागे । चुनाव ‘प्रयोग’ को प्रस्ताव त्यसैको कडी थियो ।

लेखक: थमनसिंह राई

हामीमाथि लगाइएको अर्को आरोप ‘नयाँ विषयवस्तु प्रस्तुत गर्न नसकेको’ भन्ने छ । यस सवालमा हाम्रो जवाफ यस्तो छ – एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादको कार्यक्रमका विषयमा समान धारणा बनेपछि विप्लवसँगको सहयात्रा सम्भव भएको थियो । पदावलीका हिसाबले ‘एकीकृत जनक्रान्ति’ आफैंमा उपयुक्त नै थियो । तर त्यसलाई स्पष्ट पार्नको निम्ति जुन व्याख्याको आवश्यकता पर्दथ्यो, त्यो विप्लवबाट हुन सकेन । नेतृत्व तहका केही जिम्मेवार कमरेडहरुबाट त्यसलाई पुष्टि गर्ने आधारको खोजी गरी व्याख्या गर्ने कोसिस भयो । तर विप्लवकै कारण त्यो सारसंग्रहवादी बन्ने पुग्यो । ‘एकीकृत जनक्रान्ति’ मार्फत हुने क्रान्तिको श्रृङखला सम्बन्धि अस्पष्टता सधैं कायम रह्यो । रणनीति र कार्यनीति, कार्यनीति र कार्ययोजना, कार्ययोजना र कार्यशैली बीचको तादात्म्यता हुँदैनथ्यो । विप्लवले ‘पार्टीको शक्ति र जनताको शक्ति एकीकृत भएपछि क्रान्ति सम्पन्न हुने’ बताउने गरेपनि त्यो कसरी हुन्छ र त्यसका लागि कुनकुन चरण भएर गुज्रिनुपर्छ भन्ने कुरा कहिल्यै स्पष्ट पारेनन् । क्रान्ति अगाडि बढ्दै जाने क्रममा स्पष्टता पनि हासिल हुँदै जाने सोचाइ राख्दै निसर्त र निस्वार्थ भावका साथ योगदान गरियो । तर तथ्यहरुको विश्लेषण गर्दै जाँदा यसप्रकारको सोचाइ राख्नु भ्रम मात्रै भएको निष्कर्षमा पुगियो । १२ औं बैठकमा प्रस्तुत चुनाव ‘प्रयोग’ को प्रस्ताव उत्कर्ष बन्यो । अब पनि विप्लवको नेतृत्व र एकीकृत जनक्रान्तिको कार्यदिशामा क्रान्तिको विजय देख्नु मूर्खता सिवाय केही नहुने ठहर गरियो । अनि लागियो नयाँ यात्रातिर ।

अहिले हामीले कार्यदिशा, कार्यक्रम, कार्यनीति र कार्यनीतिक कार्यक्रमको सुस्पष्ट श्रृङखला निर्माण गरेका छौं । हामीले वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा, जनवादी क्रान्तिको कार्यभार सहितको वैज्ञानिक समाजवादको कार्यक्रम, स्वाधीन संयुक्त सरकारको कार्यनीति बनाएका छौं । त्यस्तै कार्यनीतिक कार्यक्रम अन्तर्गत संसदीय व्यवस्थाको अन्त्य, राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता बनाएका छौं । त्यत्ति मात्रै होइन, राजनीतिक स्थिरताका लागि कार्यपालिकामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने र निजको नेतृत्वमा विषय विज्ञहरु सम्मिलित मन्त्री मण्डल गठन गर्ने, व्यवस्थापिकामा प्रत्यक्ष निर्वाचित विधायकहरू रहने र निजहरूले कानून बनाउने बाहेकका काम गर्न नपाउने, न्यायपालिकामा प्रत्यक्ष निर्वाचित प्रधान न्यायाधीश रहने तथा जमिनमाथि सम्पूर्ण नागरिकहरुको नैसर्गिक अधिकार कायम गर्ने नीति पनि तय गरेका छौं । त्यस्तै संघर्ष सम्बन्धमा जनसंघर्ष, जनप्रतिरोध र जनविद्रोहको श्रृङखलामा अघि बढ्ने प्रक्षेपण गरेका छौं । यसरी पहिलोपटक नेपाली क्रान्तिको स्पष्ट र श्रृङखलाबद्ध मार्गचित्र तयार भएको छ । अब कुनै पनि क्रान्तिकारीले अस्पष्ट र अन्यौल बन्नु पर्ने स्थिति छैन ।

त्यस्तै हामीमाथि लगाइएको अर्को आरोप क्रान्ति गर्ने हैसियत नभएको भन्ने छ । यसमा हाम्रो जवाफ के छ भने क्रान्ति कुनै अमुक नेताले मात्रै गर्ने होइन । क्रान्तिकारी विचारको मार्गनिर्देशन अनुसार नेताहरुको समूहले नेतृत्व प्रदान गर्ने हो । क्रान्ति भने आम जनसमुदायले गर्ने हो । जनसमुदायको सक्रिय सहभागिता नभएसम्म कुनैपनि क्रान्ति सफल हुँदैन । अनि हैसियत भन्ने कुरा बनिबनाउ हुँदैन । यो आन्दोलनको विकासक्रममा बन्दै जाने कुरा हो । हैसियत कुनै महापुरुषले तोकिदिएर निर्धारण हुने कुरा पनि होइन । विचार, कार्यदिशा, रणनीति, कार्यनीति, कार्यक्रम र कार्ययोजनाको सहिपनाले निर्धारण गर्दै जाने हो । जनताको साथ, सहयोग, समर्थन र सहभागिताले निर्माण गर्दै जाने हो । हैसियतको बारेमा रुसी कम्युनिस्ट पार्टीसँगको महान बहसको क्रममा चीनिया कम्युनिस्ट पार्टीको तर्फबाट गरिएको बहसमा भनिएको छ – ” सबै महान् व्यक्तिहरु कुनै बेला हैसियत नभएका व्यक्तिहरु थिए । तर विजय उनीहरुकै हुन्छ, खाली सत्यता मात्र उनीहरुसँग हुनुपर्दछ र जनसमुदायको समर्थन उनीहरूलाई प्राप्त हुनुपर्दछ ।” ( हेर्नहोस् महान बहस , पृ. २१६)

अहिले हामीले कार्यदिशा, कार्यक्रम, कार्यनीति र कार्यनीतिक कार्यक्रमको स्पष्ट श्रृङखला निर्माण गरेका छौं । त्यसैको आधारमा हामीसँग क्रान्तिकारी आन्दोलनमा आम जनसमुदायको नेतृत्व गर्ने हैसियत भएकोमा हामी ढुक्क छौं ।

उता विप्लव पार्टीका साथीहरू उनीहरूकै भाषामा’ भ्रममा परेर नेकपा (बहुमत) मा सामेल भएका इमानदार नेता – कार्यकर्तालाई घर फर्काउ (?) ‘ अभियानमा जोडतोडका साथ लागिपरेका छन् । जसलाई जे भन्दा र जे गर्दा आफ्नो बसमा पार्न सकिन्छ अथवा भ्रममा पार्न सकिन्छ, त्यही तरिका प्रयोग गरिरहेका छन् । यसका लागि फकाउने, तर्साउने, धम्क्याउने जस्ता विधिहरु प्रयोग गर्ने गरेका छन् । उनीहरूले हाम्रा कार्यकर्ताको घरघरमा पुगेर विभिन्न खाले आश्वासन दिने, कार्यक्रममा जाँदै गरेका कार्यकर्तालाई बाटोमा रोकेर अनावश्यक सास्ती दिने, बैठक स्थल नजिक पुगेर बिथोल्ने मनाशयले हुलहुज्जत गर्ने, बारम्बार फोन गरेर भौतिक हमलाको धम्की दिने कार्य गरेका छन् ।

हामी उनीहरूसँग विनम्रता पूर्वक भन्न चाहन्छौं – साथीहरू ! यस्ता अशिष्ट र अराजक क्रियाकलाप बन्द गर्नुहोस् । भ्रमको खेती बन्द गर्नुहोस् किनकि भ्रमको खेतीमा एकपटक मात्रै फल लाग्छ । बरु वैचारिक र राजनीतिक रुपले आफूलाई श्रेष्ठ सावित गरेर विश्वास जित्ने कोशिस गर्नुहोस्, हाम्रो शुभकामना छ । झूटो कुराको सहारा लिएर आफैंलाई धोका दिने काम बन्द गर्नुहोस् । झूटो कुरा गरेर मानिसहरुलाई केही समय मूर्ख बनाउन सकिन्छ । उद्दण्ड कार्य गरेर हैरानी दिन सकिन्छ । तर यसको पर्दाफास भएको दिन आफ्नो सर्वनाशलाई रोक्न सकिंदैन ।

अन्त्यमा अब्राहम लिङ्कनको एउटा भनाइ उदृत गर्दै यो लेखको बिट मार्न चाहन्छु –’ तिमीले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैंभरि मूर्ख बनाउन सक्दछौ । तर सबैलाई सधैंभरि मूर्ख बनाउन सक्दैनौ ।’

५ श्रावण , २०७९

Leave a Reply

Your email address will not be published.