एमालेद्वारा पक्राउ पुर्जीको विरोध, विप्लवलाई दल दर्ता गर्न देऊ : भट्टराई

News

काठमाडौँ : देउवा–प्रचण्ड–नेपाल गठबन्धन सरकारले विप्लवलगायत नेतालाई कारबाही गर्ने पत्र काटेको भन्दै संसद्को प्रमुख प्रतिपक्षी दल एमालेले मङ्गलबारको प्रतिनिधिसभा बैठकमा विरोध गरेको छ । बैठकको विशेष समयमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले सरकारले काटेको पत्र फिर्ता लिन आग्रह गरेका हुन् ।

उनले एमाले सरकारले विप्लव समूहलाई शान्तिप्रक्रियामा ल्याइसकेको दाबी गर्दै विभिन्न बाहानमा सरकारले विप्लव समूहलाई पत्र काट्ने र उनीहरूलाई फेरि त्यही बाटो रोज्न विवश बनाउन उद्यत भएको बताए ।

भट्टराईले भने, ‘म प्रतिपक्षी दलका तर्फबाट सरकारलाई के भन्न चाहन्छु भने उहाँहरूलाई काटेको त्यो पत्र तत्काल फिर्ता लिन र उहाँहरूले जुन शान्तिपूर्ण रूपमा राजनीति गर्न दल दर्ता गरेर अगाडि बढ्ने जुन बाटो रोज्नुभएको छ त्यसलाई प्रोत्साहन गर्न पनि नेपाल सरकारलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले हालै सकारले विप्लव समूह भनेर चिनिने नेकपा समूहलाई फेरि थप कारबाहीका लागि पत्र पठाएको सुनेको बताउँदै कुनै बेला हिंसाको बाटो रोजेको र हतियार बोकेर सशस्त्र युद्धमा होमिएको समूहलाई तत्कालीन केपी ओली नेतृत्वको नेकपा एमालेको सरकारले ३ बुँदे सम्झौता गरेर शान्तिपूर्ण बाटोमा ल्याएको पनि स्मरण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *