
अमेरिकन लोकगायक पिट सिगरको बहुचर्चित लोकलयमा आधारित गीत हो, ‘हामी जित्नेछौँ एक दिन ।’ प्रस्तुत गीतिशीर्षकले विषयगत आयामलाई गम्भीरताका साथ अभिव्यक्त गरेको छ । तर, नेपालमा लोकगीत वा लोकलयमा आधारित गीत भन्नेबित्तिकै छाडा र अश्लील बुझ्नुपर्ने परिवेश छ । सार्वजनिक यातायात-स्थलहरूमा लोकगीत वा लोकलयमा आधारित गीत सुनिसक्नुका हुँदैनन् । अझ आजभोलि भ्युअर्स बढाउन लोकगीतका नाममा लोकगीतकै हुर्मत लिइएको छ । ‘पोइला जान पाम’, ‘मै बिग्रेँ बैंसले’ देखि ‘कोकाकोला’ सम्मका लोकगीतलाई हाम्रो समाजले व्यहोर्नुपरिरहेको छ । फ्र्याक्फर्ट स्कुलका थिङ्कट्याङ्क ‘थियो डोर अडोर्नो’ र म्याक्स होर्खामरद्वारा ‘कल्चर इन्डस्ट्री’ शब्दावली प्रयोग गरेर सांस्कृतिक अवयव कसरी व्यापारिक वस्तु बन्दैछन् भन्ने सम्बन्धमा गरिएका गहन व्याख्या यहीँनेर सान्दर्भिक हुन आउँछ । लोकगीत वा लोकलयमा आधारित गीतका दृश्याङ्कन पनि अत्यन्त भद्दा, नग्नता र चरम विकृतिजन्य हुँदै गएका छन् । लोकदोहोरी र नाइट क्लबहरू विकृति-विसङ्गतिको अखडा बन्दैछन् । ‘कवि बिग्रे समालोचक, गीत बिग्रे लोकगीत’ भने जस्तो परिवेश बनाइएको छ । लोकगीत वा लोकलयमा आधारित गीतहरू चरम अनुशासनहीन र अमर्यादित बन्दै गएका छन् ! गीत-सङ्गीतमा शुन्यवादी-उत्तरआधुनिकतावाद कस्तो हुन्छ भन्ने कुरा नेपाली लोकगीत वा लोकलयमा आधारित गीतलाई हेरे हुन्छ । यसको मौलिक जनशैली, जनभावना, जनउद्देश्य र जनआदर्शलाई पूरै ओझेलमा पारिँदैछ । यसमा सिर्जनहीनता, अन्धानुकरण र अराजकता मौलाउँदो छ । अझ यो धार्मिक र रुढीवादको जडताको गर्तमा चुर्लुम्म डुबेको छ । कैयौँ गीतिरचना मरणशील यथार्थको फेरो समाएर रमाइरहेका छन् । यसैले यसको प्रतिरोधी आदर्श, परिवर्तन र जनमुखी चरित्रको रक्षा गर्ने जिम्मेवारी आज हाम्रो काँधमा आइपुगेको छ । वैज्ञानिक समाजवादको स्थापनार्थ यसको स्वत्वको रक्षा गर्नु अपरिहार्य छ । यसर्थ, लोकगीत वा लोकलयमा आधारित गीतलाई जनगीतको पहिचान दिन तथा यसलाई महान् राजनीतिक परिवर्तनको दिशामा निरन्तर डोहोरयाउन यसको ऐतिहासिकता, विधागत अवस्थिति एवम् उदात्तता थाहा पाउन जरुरी छ । सारतः यतिबेला लोकगीत वा लोकलयमा आधारित गीतहरू यथार्थवाद, आलोचनात्मक यथार्थवाद हुँदै समाजवादी यथार्थवादतर्फ लम्किरहेका छन् । यसको सांस्कृतिक तथा सौन्दर्यात्मक मूल्य छ । प्रस्तुत लेखोट यसैतर्फको सङ्क्षिप्त जमर्को हो ।
मानवजातिले आफ्ना सुखदुःख र मनोकाङ्क्षालाई भाषिक कलाका माध्यमबाट सुन्दर प्रस्तुति दिँदै आएका छन् । तिनैमध्ये एक हो– लोकगीत । मौखिक परम्परामा आधारित यसलाई आदिम उल्लासमय सङ्गीत पनि भनिन्छ । भावविनिमय भाषाको माध्यमबाट हुन थालेपछि कला-अनुभूतिजन्य अभिव्यक्तमा तीव्रता आउन थालेको हो । मानिस सामाजिक-सांस्कृतिक चेतनशील प्राणी हो । गीतिचेतनाले मानिसका चेतन-अवचेतन मनोभावनालाई छिटो प्रभावित गर्दछ । मनोभावनाको लयात्मक अभिव्यक्तिका माध्यमबाट लोकगीत जन्मिएको थियो । यसको सम्बन्ध आदिम लोकभावनासित छ । सामवेदलाई गीतिचेतनाको आदिम स्रोत मानिन्छ । श्रुतिपरम्परामा आधारित लोकगीतहरू थप सिर्जनशील र कलात्मक हुँदै अघि बढेका हुन्, जो विभिन्न चरण पार गरेर आजसम्म आइपुगेको छ । यसलाई प्राकृतिक कविता र जनसमुदायको गीत पनि भनिन्छ । यसलाई समाजले गाउँछ, बँचाउँछ र पुस्तान्तरण गर्दछ । यो लोकजीवनको रागात्मक-लयात्मक अभिव्यक्ति हो । यसका भाका, भाषा, कथ्य, लय, तालजस्ता तत्त्व हुन्छन् । गाउने शैलीलाई भाका भनिन्छ । शैली नै यसको गायन हो । भाकाहरू फरक-फरक हुन सक्छन् । यसमा लोकले प्रयोग गर्ने भाषा हुन्छ । यो भाषिक अभिव्यक्तिको कला हो । यसमा भनिने विषय कथ्य हो । यसमा लय अनिवार्य हुन्छ । समयको समान चाललाई लय भनिन्छ । समयको नापलाई ताल भनिन्छ, जुन विभिन्न प्रकारका हुन्छन् । ताली पिट्नु पनि एउटा ताल हो । एकै समयमा उठाउनु र छाड्नु तालको नियम हो । यसका अभिधा, लक्षणा र व्यञ्जनात्मक अर्थ हुन्छन् । यो मूलतः जनसमुदायद्वारा आर्जित, नवीनीकृत र विस्तारित हुँदै समकालीनतासम्म हस्तान्तरण हुँदै आइपुगेको हो । कतिपय सन्दर्भमा यसलाई ग्राम्यगीत भनिएको पनि पाइन्छ । सूचना-सञ्चार र प्रविधिको विकासमानमा यसलाई ग्राम्यगीत भनिरहनु उपयुक्त हुँदैन । आज गाउँ-सहरको दुरी कम हुँदैछ । हाम्रा मनमस्तिष्कमा सजिएका गाउँहरू अब प्रायः छैनन् ।
लोकगीत वा लोकलयमा आधारित गीतमा वर्गसङ्घर्ष-प्रतिरोध हुन्छ कि हुँदैन भन्नेमा बहस छ । माक्र्सले आदिम साम्यवादी समाजबाहेक आजसम्मको इतिहास वर्गसङ्घर्ष इतिहास हो भन्नुभएको छ । खासमा लोकगीत वा लोकलयमा आधारित गीत जनताका प्रतिरोधी चेतना हुन् । दुःखको कुरा यो छ कि आजका लोकगीत वा लोकलयमा आधारित गीत जनअधीनस्त छैनन् । मानवसभ्यताको अनेकन् चरणमा अन्याय, असमानता, विभेदसम्बन्धी चेतनाप्रवाहको लामो इतिहास छ । वर्गसङ्घर्षकै माध्यमबाट चेतनाप्रवाह हुने हो । प्रतिरोध सङ्घर्षबाटै नवीनताको अन्वेषण हुने हो । जसरी घर्षणबिना रापताप पैदा हुँदैन; त्यसैगरी प्रतिरोधी सङ्घर्षबिना चेतनधाराको विकास हुँदैन । जनभावना, जनसङ्घर्ष, दमन, परिवर्तन, अग्रगमन, पश्चगमनसम्बन्धी दार्शनिक-बौद्धिक बहसहरू अभिलेखीकृत छन् । थोमस, जोन लक, रुसोजस्ता दार्शनिकहरूले सामाजिक असमानताबारे विचारधारात्मक बहस गरेका थिए । प्रारम्भिक तहका तिनै विचारधारात्मक बहसलाई कार्ल माक्र्सले दार्शनीकृत गर्नुभयो । उहाँले प्रसिद्ध कृति ‘पुँजी’ मार्फत वर्गविभेद र वर्गसङ्घर्षको अजेय शास्त्र तयार पार्नुभयो । सन् १८४८ मा जारी भएको कम्युनिस्ट घोषणापत्र दुनियाँ बदल्ने राँकोमा परिणत भइदियो, जसले एक समय विश्वका करिब दुईतिहाइ भूभागलाई लपेटिदियो । यसबाट विश्वभर समाजवादी क्रान्तिको आँधीहुरी सिर्जना भयो । माक्र्सले पुँजीपतिवर्ग र श्रमजीवीवर्गको आर्थिक तथा वर्गीय चरित्रको वैज्ञानिक संश्लेषण गर्नुभयो । माक्र्सकृत यो यस्तो सिद्धान्त बन्यो, जसलाई आजसम्म कोही कसैले पनि काट्न, रोक्न वा खण्डन गर्न सकेका छैनन् । समाजका अन्याय, असमानता, विभेदका विरुद्ध लोकगीत वा लोकलयमा आधारित गीतका माध्यमबाट स्रष्टाहरूले आवाज बुलन्द गर्दै आएका छन् । हामीले लोकगीत एवम् लोकलयमा आधारित गीतलाई माक्र्सवाद, वर्गसङ्घर्ष र वर्गपक्षधरताका आलोकमा बुझ्नुपर्दछ । हेरौँ केही साक्ष्य :
बसाइँ हिंड्नेको ताँतीले बस्नेको मन रुवाउँछ,
लाखौँको लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ
… … …
आमा दिदी बहिनी हो, कति बस्छौ दासी भै
सुखको सधैँ प्यासी बनेर
आफ्नै पौरख खान्छन् आफ्नै सीपमा बाँच्छन्
दुःख कष्ट सहेर सृष्टि यिनले थाम्छन्
असल महान् व्यक्तिहरू यिनैले जन्माउँछन्
ज्ञानगुन बुद्धिहरू यिनैले सिकाउँछन्
तर पनि अँध्यारोमा जीवन बिताउँछन् । (जेबी टुहुरे)
… … …
म लडिरहन्छु मुक्तियुद्धमा
लड्दा लड्दै मेरो यो ज्यान गए गैजाला
मेरो प्यारो लालकिल्ला प्यारो जलजला
तिमीसँग गहिरो माया बस्यो जलजला । (चुनु गुरुङ)
कलालाई आर्थिक सम्बन्धले गहिरो पार्दै आएको छ । लोकगीत वा लोकलयमा आधारित गीत जनसमुदायको महत्त्वपूर्ण कला हो । माक्र्सवादकै आधारमा विश्वमा साम्यवादी र पुँजीवादी शिविर खडा भए, जसका बिचमा चर्को सङ्घर्ष हुँदै आएको छ । दुनियाँमा दुई ध्रुव, दुई विचार, दुई सत्ता, दुई वर्ग अस्तित्वशील छन् । नेपालमा आर्थिक असमानतासम्बन्धी सघन बहस हुँदै आएको छ । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । संस्थापक महासचिव पुष्पलालले राजनीतिक कोणबाट सामाजिक-आर्थिक जीवनको मूल्यलाई उठाउने जमर्को गर्नुभयो । उहाँले कम्युनिस्ट घोषणापत्रलाई अनुवाददेखि नेकपाको पहिलो पर्चा प्रकाशन पनि गर्नुभयो । नेपालमा माक्र्सवादी राजनीतिक-आर्थिक बहसको थालनी गर्ने पहिलो व्यक्ति नै पुष्पलाल हुनुहुन्थ्यो । नेपाल कम्युनिस्ट पार्टीको स्थापना र राणाविरोधी आन्दोलन र त्यसको एक चरणको सफलताले नेपाली समाजमा व्याप्त आर्थिक असमानता र वर्गचेतना थप मुखरित हुँदै गयो । आर्थिक असमानता एवम् सामाजिक अन्यायका विरुद्ध अन्तर्राष्ट्रिय गीतसङ्गीतको क्षेत्रबाट आवाज उठ्न थालेको उहिल्यैदेखि नै हो । माक्र्सवादी धाराका इटालियन कम्पोजर लुइजी नोनोहरूले गीतसङ्गीतमार्फत् असमानताविरुद्ध आवाज उठाएका थिए । अन्तर्राष्ट्रियस्तरमा यस्ता जनमुखी आवाज उठाउनेहरूको सूची निकै लामो छ । स्वभावै मानिस अन्याय र विभेदका विरुद्ध प्रतिरोध गर्ने हुन्छन्, प्रस्तुतिका शैली मात्र फरक हुन् । नेपालमा असङ्ख्यले राजनीतिक भाकामा अन्याय र असमानता विरुद्धको गीत घन्काएका छन् । जनयुद्धले त्यसमा अझ निख्खारता ल्याइदिएको थियो । नेपाली कलाकारहरूले गीतसङ्गीतमार्फत सामाजिक विभेद, अन्याय र अत्याचारका विरुद्ध सशक्त आवाज दिँदै आएका छन् । यी आवाज विद्रोही र प्रतिरोधी चेतनाका प्रतीक हुन्, वर्गसङ्घर्षका पर्याय हुन् । हेरौँ केही साक्ष्य :
कोही त भने जहाजमा हरर
कोही त भने पसिना तरर, हाम्रो नेपालमा
कोहीको घरमा डाक्टरको चाकरी
कोही त मर्छन् अस्पताल नहेरी, हाम्रो नेपालमा । (रामेश-मञ्जुल)
… … …
गाई त बाँध्यो ढुङ्ग्र्रोमा मही छैन
गरिबको चमेली बोल्दिने कोही छैन
रातो भाले धुरीमा करायो, करायो
गरिबको चमेली निसाफै हरायो
धनीलाई धनमाथि धनै छ, धनै छ
गरिबलाई चमेली रिनमाथि रिनै छ । (मञ्जुल)
… … …
मान्छे मान्छे एउटै हो नि फरक किन भो
श्रम चल्छ, सीप चल्छ, पानी नचल्ने भो
बनाउँछौँ हामीले सुन्दर मूर्ति सजिन्छन् मन्दिर महलहरू
बजाउँछौँ हामीले बाजागाजा गुञ्जिन्छन् पाखा पर्वतहरू
कुन्नि किन आज हामीलाई दलित भनी हेंला गर्ने
कुकुरसमेत भित्र पस्दा हामीलाई किन बाहिर रोक्ने ! (पुनित पुन)
कतिपय मान्छेहरू गीतसङ्गीतमा राजनीति हुनुहुँदैन भन्छन्, जुन बिल्कुल बेतुका कुरा हन् । परिवर्तनकारी खेमाबाट आएका गीतलाई कतिपयले सामाजिक असमानता र वर्गविभेदको आबरणमा राजनीतिक उद्देश्यबाट प्रेरित भन्छन् । आखिर सबै राजनीति त हुन् । माओले यसै राजनीतिलाई शीर्षासनमा राख भन्नुभएको थिएन । गीतमा पनि राजनीतिक मिसन अत्यन्त स्वाभाविक कुरा हो । यस्ता गीतलाई लोकगीत वा लोकलयमा आधारित गीत नमान्नेहरू पनि देखिएका छन् । यिनले जनस्तरमा व्यापक लोकप्रियता हासिल गरेका छन् । नेपालको जनयुद्धले लोकजीवनमा वर्गचेतनाको उभार ल्याइदिएको कुरा सही हो । वैचारिक नियोजन गरिएको समाजलाई जनयुद्धले रुढीवाद, भाग्यवादमाथि प्रहार गरेकै हो । झन्डै दशहजार वर्षदेखि नेपाली समाजले ‘भाग्यवाद’ को प्रताडना खेपिरहेको छ । ग्राम्सीदेखि लुइस अल्थ्युजरले पनि सामाजिक र धार्मिक उत्पीडनबारे गम्भीर चिन्तन गरेका छन् । राज्यले धार्मिक-सांस्कृतिक जडताका माध्यमबाट नागरिकहरूलाई कुवाको भ्यागुतो बनाइरहेको छ । यद्यपि हरेक कुवाबाटै विद्रोह-प्रतिरोधको बीउ जन्मने गरेको छ । विद्रोहको बीउ उम्रनु भनेको दमनकारी शासकका लागि शूल बन्नु पनि हो । नेपाली समाज पनि लामो समयदेखि धार्मिक तथा सांस्कृतिक जडतामा रहनाले नेपाली लोकजीवनको आलोचनात्मक चेत तुलनात्मक रूपमा तिखो नदेखिएको कुरा साँचो हो । जनयुद्धले त्यसलाई एकहदसम्म तिखो पार्न ठूलो काम गरेको कुरामा कुनै शङ्का छैन । नेपाली समाजमा वर्गीय र सांस्कृतिक विभेदका विरुद्ध लोकलयमा आधारित गीतका माध्यमबाट सशक्त आवाज उठ्न थालेको छ । यसलाई जनयुद्ध र सबै किसिमका वर्गसङ्घर्षको उच्चता मान्नुपर्दछ । यद्यपि नेपाली लोकगीत वा लोकलयमा आधारित गीतमा साङ्केतिक अलि बढी र आक्रामकता अलि कम रहँदै आएको छ । आजकल लोकलयमा आधारित गीतमा सामाजिक असन्तुष्टि र वर्गविभेदको प्रसङ्ग अलि बढी मुखर हुन थालेका छन् । हेरौँ केही साक्ष्य :
डाँडामाथि जुन झुल्किँदा सम्झन्छु म उनलाई
गर्जेर मेघ चट्याङ पर्दा सम्झन्छु बेथानलाई
उडेर आउने चरीको हुल लाग्छ बेथानतिर उड्दैछ
सुसाउँदै खोला बगेको देख्दा लाग्छ चौंरी रुँदैछ
ऐंय्या नि बाबा भनेको सुन्दा लाग्छ बेथानमा कोही ढल्दैछ
दन्किँदै आगो बलेको देख्दा लाग्छ बेथान जल्दैछ । (माइला लामा)
… … …
पूर्व बग्ने गण्डकी, पश्चिम बग्ने भेरी
सङ्घर्ष अपूरो भयो, लड्नुपर्छ फेरि
जुम्लाकी जुम्लेली आमै, काम्ली बन्देऊ चौक्या
देशको दुर्दशा हेर्दै, बस्न सक्या छौक्या । (मनोहर लामिछाने)
लोकगीत एवम् लोकलयमा आधारित गीत जनगीतका आधार हुन् । जनगीत जनसंस्कृतिका शक्ति हुन् । यसको शक्ति अथाह हुन्छ । जब यो ज्वालामुखी भई विष्फोट हुन्छ, तब हुन्छ उथलपुथल । यसमा उथलपुथल ल्याउने तागत हुन्छ, जसलाई आवाजविहीनहरूको आवाज पनि भनिन्छ । यसकै कारण कैयौँ शासक सत्ताबाट झारिएका छन् । आन्दोलन-क्रान्तिका उभार ल्याउन गीतले धेरै महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । समाजमा जनताका गायक र जनगीतको स्थान निकै माथि छ । प्रतिरोध माक्र्सवादी शिविरको कुरा मात्रै होइन, यो बुर्जुवाहरूको आफ्नै शिविरभित्र पनि हुँदै आएको देखिन्छ । कहिलेकाहीँ शासकीय मूलधारकै गीतकारहरूले पनि शासकविरुद्ध गीतका माध्यमबाट प्रतिरोध गर्ने गरेका छन् । त्यस्ता गीतले शासकहरूलाई हैरानी बनाउने पनि गरेको छ । नेपालमा लोकलयमा आधारित एउटा यस्तो गीत यति चर्चित भयो कि यसलाई ओली सरकारले प्रतिबन्ध नै लगाएको थियो । पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ गीतले ओली सरकारलाई बेस्सरी हल्लाइदिएको थियो । राष्ट्रघाती तथा जनघाती शासकका विरुद्धका त्यस्ता गीतिआवाज प्रतिरोधी चेतनाको राँको हुन् । हेरौँ एक साक्ष्य :
लुट्न सके लुट् कान्छा, लुट्न सके लुट्
अरू देशमा पाइँदैन, नेपालमै हो छुट्
डाक्टरले नि जागिर यहाँ सरकारी कोटामा खान्छ
बिरामी जाँच्न फेरि क्लिनिकतिर तान्छ
हाम्रा गामको अर्को भाइले सुब्बामा जागिर खायो
दुईवर्षमै घर ठड्यायो, कहाँबाट पैसो आयो ?
… … …
गणतन्त्र ल्यायौँ भन्छन्, फाल्यौँ भन्छन् राजा
त्यै फालेका राजाजस्ता कैयौँ निस्के आज
जनताको मुटुभित्र काँडा कति कति
डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति ।
पिट सिगर जनसरोकारका गायक थिए । उनका अधिकांश गीतहरू शोषित, उत्पीडित, श्रमजीवी तथा मुक्तिकामी जनताका पक्षमा थिए । अमेरिकामा सिगरको गीत रेकर्डिङ कम्पनी पनि दुश्मन बन्यो । प्रतिक्रियावादी सत्ताले उनलाई कम्युनिस्टको आरोप लगाएर खोरमा थुनिदियो । उनको ‘हामी जित्नेछौँ एक दिन’ गीतले जनतालाई एक न एक दिन जित्ने आशा, आत्मविश्वास र ऊर्जा दिएको छ । यो गीत चियादोकान, कारखाना, भान्साकोठा, बाटाघाटा, जनसभा र युद्धमैदानसम्म पुगेको छ । सिगरको सो प्रतिरोधी गीतिआवाज जनतालाई पीड़ाको कारण खोज्ने, जनविरोधी व्यवस्थाविरुद्ध हाँकाहाँकी प्रश्न गर्ने, जनतालाई दुःख दिनेको कठालो समात्ने, शोषण-दमनविरुद्ध प्रतिरोधको आवाज घन्काइदिने जनताका प्रिय हतियार बन्यो । गीतमा मन जित्ने, विचार फेर्ने र अन्यायी शासन पल्टाइदिने शक्ति हुन्छ । सिगरले आफ्ना विश्व थर्काउने गीतलाई सिर्फ बेन्जोमार्फत गाउँथे, जुन आवाज सुनेर श्रमजीवी जनता आनन्दले निदाउँथे । तर, प्रतिक्रियावादी शासकहरूको निंद्रा गायब हुन्थ्यो । वास्तवमा असली लोकगायकहरू भविष्यद्रष्टा, स्वप्नद्रष्टा र जनसैनिक हुन् । झरिला गीतिरचनाहरूले असल सांस्कृतिक पीठिकाको काम गरिरहेको हुन्छ । यस्ता गीतले नयाँ भावना, विचार र मान्छेलाई जन्माउँछ । तत्कालीन अमेरिकन राष्ट्रपति बील क्लिन्टनले भनेका थिए, “सिगरसँग राज्यलाई डर हुन्छ । किनभने तिनी जे देख्छन्, त्यही सोझै गाइदिन्छन् ।” अन्त्यमा प्रस्तुत छ, सिगरको लोकलयमा आधारित चर्चित गीतांश :
we shall over come, we shall overcome
we shall overcome some day
oh deep in my heart, i do believe
We shall over come some day
(हामी जित्नेछौँ, हामी जित्नेछौँ
हामी जित्नेछौँ एक दिन
हो हो हृदयदेखि विश्वास गर्छौं
हामी जित्नेछौँ एक दिन) ।
०७ साउन, २०७९