राष्ट्रघात र जनघातका विरुद्ध नेकपा (बहुमत)सहित ६ वाम घटकले गरे संघर्षकाे कार्यक्रम घाेषणा

News

काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा मसाल विशेष महाधिवेशन आयोजक समिति, नेपाल कम्युनिस्ट पार्टी, माओवादी कम्युनिस्ट पार्टी नेपाल र संयुक्त क्रान्तिकारी मोर्चाकोले राष्ट्रघात र जनघातका विरुद्ध देशव्यापी रुपमा संयुक्त संघर्षको घाेषणा गरेका छन् । शुक्रबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे घाेषणा गरेका हुन् ।

आज शुक्रबार बसेको आन्दोलनरत ६ राजनीतिक दलको संयुक्त बैठकले संसद्मा प्रस्तुत र पारित राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी, एसपीपी, असंलग्न परराष्ट्र नीतिका विपरीत नेपाली सेनाको भूमिका, भ्रष्टाचार तथा महँगी र मलको अभावका विरुद्ध देशव्यापी विरोेध कार्यक्रम गर्ने निर्णय गरेको हाे ।

संघर्षका कमर्यक्रम अनुसार नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिलाई ज्ञापनपत्र दिने, अमेरिकी उपविदेशमन्त्री डोनाल्ड लुको विरोध जनाउने, अन्तरक्रिया गर्ने, विरोध सभा गर्ने लगायत रहेका छन् । साउन २० गते काठमाडौंमा र साउन २६ गते इटहरी, जनकपुर, हेटौंडा, चितवन, पोखरा, बुटवल, धनगढी, सिमरा, सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा र आवश्यकताअनुसार स्थानीयस्तरमा संयुक्त कार्यक्रम गर्न सक्ने निर्णय गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

वक्तव्यमा राष्ट्रिय समस्यालाई लिएर संयुक्त आन्दोलनमा क्रियाशील ६ राजनीतिक दलको सदासयता र प्रयत्नका बावजुद सङ्कीर्ण मानसिकताले ग्रसित प्रवृत्तिका कारण यसले साकार रुप लिन नसकेकोप्रति यथार्थ जनाउँदै आन्दोलनलाई अझ व्यापक र बृहत् बनाउँदै लैजाने पनि उल्लेख गरिएकाे छ ।

प्रेस विज्ञप्तिमा २०७९ साउन १३ गते ६ राजनीतिक दलको बैठक ने.क.पा. (क्रान्तिकारी माओवादी) को तर्फबाट क. रामसिंह श्रीस, क. चन्द्रहरि सुवेदी, ने.क.पा. (बहुमत) का तर्फबाट क. गुणराज लोहनी र क. कृष्ण धमला, ने.क.पा. मसाल विशेष महाधिवेशन आयोजक समितिको तर्फबाट क. सन्तबहादुर नेपाली र क. चिन्तामणि पौडेल, नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट क. लोकनारायण सुवेदी, माओवादी कम्युनिस्ट पार्टी नेपालको तर्फबाट क. पासाङ्ग मोक्तान र नारायणप्रसाद धिमाल तथा संयुक्त क्रान्तिकारी मोर्चाको तर्फबाट क. माधव दाहालको उपस्थितिमा बसेकाे समेत उल्लेख गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *