फौजी कार्यदिशाबिनाको राजनीतिक कार्यदिशा सुधारवादी हुन्छ : कञ्चन, संयाेजक, नेकपा(बहुमत)

News Political
धर्मेन्द्र बास्तोला ‘कञ्चन’

संयोजक कमरेडलाई रातो खबरमा स्वागत छ ।

धन्यवाद ।

छोटो समयको दुई लाइन सङ्घर्षपछि नै विप्लवहरूलाई कारबाही गरी छुट्टै पार्टी बनाएर अगाडि बढ्नुको कारण के हो ?

हाम्रो पार्टीको बाह्रौँ केन्द्रीय समितिको बैठकमा विप्लवले जसरी संसद्वादपरस्त कार्यनीति लिएर आए, त्यो कायनीतिका विरुद्ध त्यतिबेलाको केन्द्रीय समितिले सशक्त प्रकारले बहस ग¥यो । त्यो बहसमा हाम्रा पक्षमा व्यापक बहुमत पैदा भयो । आफ्नाविरुद्ध बहुमत प्रकट भएपछि विप्लव पछि हटेर त्यसलाई मान्ने निर्णय त गरे तर तुरुन्तै पछि उनी सम्पूर्ण रूपमा संसदीय राजनीतिमा प्रवेश गरेका कारण हामीले पार्टी निर्माण गर्नुपर्यो ।

उनीहरूले त तपाईंहरूलाई आरोप लगाएका छन् नि पार्टीमा आर्थिक हिसाब–किताब देखाउन थालेपछि उनीहरू भागेर गए भनेर । वैचारिक रूपमा कुनै बहस पनि भएन, कहिल्यै कुनै छलफल पनि भएन । आर्थिकलगायत विषयमा कारबाही गर्छु भनेपछि एकाएक उनीहरू निस्किएर गए भन्ने उनीहरूको आरोप छ नि ! यसको खण्डन कसरी गर्नुहुन्छ ?

पहिलो कुरा उनीहरूले जुन आर्थिक कुरा हामीमाथि उठाइरहेका छन्, त्यो उनीहरूले जुन आर्थिक दुराचार गरिरहेका छन्, त्यही कुरा बारम्बार हामीमाथि उठाइरहेका छन् । उनीहरूले पार्टीभित्र गरेका आर्थिक अव्यवस्था, भ्रष्टाचार, विकृतिहरूबाट बच्नका लागि हाम्रा कमरेडहरूमाथि आरोप लगाइरहेका छन् । त्यसबारेमा उनीहरूलाई पनि र दुनियाँलाई पनि थाहा छ । जहाँसम्म बहसको कुरा छ, नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा कार्यदिशा, कार्यनीतिका विषयमा बाह्रौँ केन्द्रीय समितिमा सबैभन्दा ठूलो बहस भयो । त्यो बहसमा उनीहरू पराजित पनि भए । उनीहरू पछाडि पनि हटे । तर उनीहरू पार्टीको नीतिभन्दा बाहिर गइसकेपछि हामीले उनीहरूलाई कारबाही गर्नुप¥यो । त्यसकारणले उनीहरूले जुन बहस नै भएन भनेर भन्ने गरेका छन्, त्यो कुरा पनि उनीहरूले झूट्टो बोलिराखेका छन् ।

कम्युनिस्ट पार्टीले संसदीय चुनावलाई कार्यनीतिक प्रश्नका रूपमा लिन्छ । त्यो कार्यदिशासँग मिल्दैन भन्ने छलफल चलिरहन्छ । एउटा सामान्य कार्यनीतिसँग जोडेर पार्टी नै अलग बनाउनुपर्ने जुन माहोल बन्यो, विशुद्ध चुनावी कुरामा मात्र तपाईंहरूको विमति हो कि अरू पनि कार्यदिशा, कार्यनीति, कार्यक्रमसँग पनि जोडेर तपाईंहरूको विमति थियो ?

पहिलो कुरा चुनाव भनेको नितान्त कार्यनीति हो भन्नेजसरी उनीहरूले पेस गरे, त्यो पूरै गलत कुरा छ । हुनत यो कार्यनीति हो किनभने यसलाई लेनिनले कार्यनीति भन्नुभयो । अरू कम्युनिस्ट पार्टीहरूले, खासगरी २०४८ सालमा हाम्रै पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी (त्यतिबेला एकताकेन्द्र थियो), ले पनि कार्यनीतिक हिसाबले नै त्यसको प्रयोग गर्यो । तर त्यसलाई अति सरलीकरण गरेर विप्लवले जसरी आवश्यक पर्दा प्रयोग गर्न सकिने, आवश्यक पर्दा बहिष्कार गर्न सकिने भन्ने जुन कार्यनीतिको कुरा गरे, त्यो अत्यन्त अवसरवादी कोण हो । दोस्रो कुरा, अहिले कार्यनीतिका नाममा चुनावमा जानु भनेको संसदीय व्यवस्थाभित्र आत्मसमर्पण गर्नु हो । त्यो कुनै कार्यनीतिक प्रश्नको उपयोग गरेको भन्ने हुँदैन । कार्यनीतिक उपयोग त त्यतिबेला हुन्छ, त्यो उपयोगले क्रान्तिका निम्ति फाइदा गर्यो भने मात्र । जनतालाई क्रान्तिप्रति जागरुक गर्यो भनेदेखि मात्र । जनतालाई क्रान्तिप्रति प्रोत्साहित गर्यो भने त्यो उपयोग भन्ने हुन्छ । जब क्रान्तिप्रति जनतालाई दुरुत्साहित गर्छ, प्रतिक्रियावादी सत्ताप्रति लाचार हुनका लागि विवश गर्छ भने त्यो कार्यनीति हुँदैन । त्यो आत्मसमर्पण हुन्छ र विप्लवले अहिले चुनावको उपयोगको जुन कुरा गरे त्यो वास्तवमा चुनावप्रति, संसदीय व्यवस्थाप्रति आत्मसमर्पण हो ।

चुनावमा विप्लव पार्टीका प्रतिनिधिहरू नराम्रोसँग हारे । यसको पछाडि तपाईंहरूलई दोष दिएका छन् । अप्ठ्यारो बेलामा उनीहरू गएका कारण हारिएको हो भनिरहेका छन् । यसमा तपाईंहरूको धारणा के छ ?

यसमा दुईवटा कुरा छन् ः पहिलो कुरा, हामीले छोडेर गएको कारणले हारेको भन्ने उनीहरूको कुरा सही हो । त्यसमा केही सत्यता पनि छ भन्ने मलाई लाग्छ किनभने नेपाल कम्युनिस्ट पार्टीको बहुमतले यो चुनाव प्रतिक्रियावादी चुनाव हो । यो चुनावमा प्रवेश गर्नु भनेको आत्मसमर्पण गर्नु हो भनेर स्पष्ट गरेपछि देशैभरिका कार्यकर्ता कसैले पनि भोट हालेनन् र त्यसप्रति कुनै चासो पनि देखाएनन् । क्रान्तिकारीहरू त्यो चुनावमा गएनन् । जसको कारणले विप्लवले दाबी गरेको पार्टीले पाएको मत भनेको मुस्किलले आठ हजार ६ सय चालीसभन्दा बढी छैन (हुनत पुतली चुनावचिह्नबाट पाएको मत त पन्ध्र–बीस हजार भएको बुझिन्छ देशैभरिको गन्दाखेरि तर त्यो सबै उनीहरूको होइन) तर पनि हाम्रो विचारमा कति मत प्राप्त भयो र कति मत प्राप्त भएन भन्ने कुरा प्रधान होइन । मत धेरै पनि आउन सक्छ, थोरै पनि आउन सक्छ । मुख्य कुरा चुनावमा जानु सही थियो कि थिएन भन्ने हो । हाम्रो दृष्टिोणमा चुनावमा जानु गलत थियो । चुनावमा जानु भनेको संसदीय व्यवस्थामा आत्मसमर्पण गर्नु थियो जुन काम विप्लवले गरे ।

तपाईंहरूले पार्टीको नाउँ नेपाल कम्युनिस्ट पार्टी (बहुमत) राखेपछि विप्लवहरूले अलि बढी यसप्रति खिसीट्युरी गरेको देखिन्छ । तपाईंहरूले पार्टीको नाउँ बहुमत नै किन राख्नुभएको हो ?

बाह्रौँ केन्द्रीय समितिमा हाम्रो पार्टीमा विप्लवले प्रस्ताव गरेको चुनावपरस्त प्रस्तावका विरुद्ध हामीले जुन छलफल चलायौँ, त्यो छलफलमा हाम्रो ठूलो बहुमत रह्यो । जस्तो उदाहरणका लागि ७२ जना केन्द्रीय सदस्य र सल्लाहकारले बहस गरेकोमा ४५ मत विप्लवको कार्यनीति गलत छ भन्नेमा रह्यो । हामीले प्रस्ताव गरेको कार्यनीति मौखिक थियो, लिखित थिएन । त्यसमा ४५ मत रह्यो । १५ मत विप्लवको प्रस्ताव गलत छ तर विप्लवलाई समर्थन गर्नुपर्छ भन्नेमा रह्यो । विप्लवका पक्षमा उनीसहित १२ मत मात्र रह्यो । यसरी विप्लवका विरुद्ध, हाम्रा पक्षमा जुन बहुमत बन्यो, त्यसलाई हामीले विचारको बहुमत भनेका छौँ । टाउकाको बहुमत पनि भनेका छैनौँ । विचारको बहुमत हामीसँग रह्यो । त्यही विचारको बहुमतमा टेकेर हामीले पार्टी बनाउँदा त्यो बहुमत उल्टिएको पनि थिएन । बैठक पनि भएको थिएन । त्यसैमा टेकेर हामीले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बनायौँ र त्यो सही छ ।

बाह्रौँ केन्द्रीय समितिको बैठकमा विप्लवको कार्यनीतिविरुद्ध मत राखेर पनि कतिपय केन्द्रीय सदस्य यता आएनन् । उनीहरू यता नआउनाको कारणचाहिँ के होला ?

यसका पछाडि २–३ वटा कुराहरू हुनसक्छ तर त्यसको खास महत्वचाहिँ हुँदैन । महत्व केमा हुन्छ भने उहाँहरूको मत त्यतिबेला कहाँ थियो भन्ने कुराको महत्व हुन्छ । किनभने त्यो मत दिइसकेपछि कुनै मान्छे मर्यो भने त्यो मतको गन्ती हुन्छ कि हुँदैन भन्दा गन्ती हन्छ । कोही मान्छेलाई अपहरण गरेर थाइल्यान्ड पुर्याइएला, कसैलाई हङकङ पुर्याइएला, त्यसको मतको पनि गन्ती हुन्छ । त्यसो भएकाले हामीले मतको गन्ती गरेको त्यतिबेला हो जतिबेला बहस चलेको थियो । त्यो बेलाको बहसमा जसले सही दृष्टिकोणको प्रतिनिधित्व गर्ने गरी मत व्यक्त गर्यो, त्यो मतलाई हामीले मान्यता दिने कुरा हो । व्यक्तिको मान्यता दिने कुरा भएन । व्यक्ति त कति के भए होलान्, कसैले पैसा दियो होला, कोही ढुलमुल भयो होला । कसैले पछि विचार परिवर्तन गर्यो होला । जेसुकै भएको पनि हुनसक्छ तर जतिबेलासम्म केन्द्रीय समितिको बैठकको मान्यता थियो, त्यो मान्यता रहँदासम्म बहुमत हामीसँग थियो । त्यसकारण उनीहरू कहाँ गए, के गरे भन्ने कुरासँग हामीलाई टिप्पणी गर्नु त्यति धेरै जरुरी छैन । ती साथीहरू अहिले पनि हाम्रो केन्द्रीय समितिमा आए भने उनीहरूको सिट खाली नै छ । उनीहरू आउन सक्छन् । सिटमा बस्न सक्छन् । उनीहरूले हस्ताक्षर गर्न सक्छन् वा आफ्नो उपस्थिति जनाउन सक्छन् र छलफल, बहसमा भाग लिन सक्छन् । हाम्रो अर्को बैठक नहोउन्जेल वा महाधिवेशन नहुँदासम्म त्यो कायम रहिरहन्छ । हामी अहिले यति मात्र भन्छौँ र बाँकी के भयो भन्ने कुरालाई त्यति महत्व दिन सक्तैनौँ ।

विप्लवजीहरूसँग छुट्टिइसकेपछि तपाईंहरूले नेपालको क्रान्तिको खाका वा कार्यदिशा नै नयाँ बनायौँ भन्नुभएको छ । त्यो के मानेमा नयाँ छ ? केके हो त्यो ? कस्तो बनाउनुभएको छ ?

हामीले क्रान्तिको नयाँ खाका वा कार्यदिशा बनाएको कुरा सही हो । नेपालको क्रान्तिको कार्यदिशा पहिलोचाटि हामीले निर्माण गरेका छौँ भन्छु म । हामीले किन त्यस्तो दाबी गरेका छौँ भने नेपाली इतिहासमा कम्युनिस्ट पार्टीको स्थापना भएदेखि अहिलेसम्म आउँदाखेरि जति पनि कार्यदिशा बने, ती सबै कि राजनीतिक कार्यदिशा भएका छन् कि भने फौजी कार्यदिशा बनेका छन् । हाम्रो संश्लेषण के हो भने फौजी कार्यदिशाबिनाको राजनीतिक कार्यदिशा सुधारवादी हुन्छ । राजनीतिक कार्यदिशाले निर्देशित नगरेको फौजी कार्यदिशा आतङ्कवाद हुन्छ । नेपालको राजनीतिक इतिहासमा कम्युनिस्ट पार्टीको स्थापना भएदेखि यहाँसम्म आउँदा फौजी कार्यदिशा बन्दैबनेनन् । राजनीतिक कार्यदिशा मात्र बने र ती कार्यदिशाहरू सुधारवादतिर फसे । जो क्रान्तिकारी कार्यदिशा प्रयोग भयो, त्यो गणतन्त्रसम्म आउने कार्यदिशा प्रयोग भयो । त्यो पनि नेपालमा बनाइएको कार्यदिशा थिएन । त्यो चीनमा माओ त्सेतुङले बनाएको कार्यदिशा थियो । त्यसैले हामीले अहिले जुन कर्यदिशा बनाएका छौँ, यो पूरै दुईवटा खुट्टामा उभिएको कार्यदिशा छ– राजनीतिक कार्यदिशा र सैन्य कार्यदिशा । राजनीतिक कार्यनीति र सैन्य कार्यनीति । राजनीतिक कार्यक्रम र सैन्य कार्यक्रम । यसको शृङ्खलामा हामीले बनाएका छौँ । राजनीतिक कार्यदिशाका हिसाबले नयाँ जनवादसहितको वैज्ञानिक समाजवादी क्रान्ति, स्वाधीन संयुक्त सरकारको स्थापना अहिले तत्कालको राजनीतिक कार्यनीति, त्यो राजनीतिक कार्यनीति लागू गर्नका लागि तत्कालिक राजनीतिक कार्यक्रम संसदीय प्रणालीको अन्त्य, राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता । यी ६ वटा विषय पूरा गरेर कार्यक्रम हुनुपर्छ । त्यसैगरी हामीले सैन्य कार्यदिशा पनि स्पष्ट गरेका छौँ– समग्र जनयुद्ध । यसलाई हामीले एकीकृत जनयुद्ध भनेका छौँ । सैन्य कार्यनीतिमा चाहिँ जनदबाब र राजनीतिक सहमति छ । जनसङ्घर्ष, जनप्रतिरोध, जनविद्रोह हाम्रो सैन्य कार्यक्रम हो । हाम्रो कार्यदिशा यो सेट वा शृङ्खलामा छ । हरेक सङ्घर्ष राजनीतिक सहमतिसँग जोडिएको हुन्छ । जस्तै जनसङ्घर्ष हुन्छ, राजनीतिक सहमति हुन्छ । जनप्रतिरोध हुन्छ, त्यसछि फेरि राजनीतिक सहमति हुन्छ । त्यसपछि जनविद्रोह हुन्छ, त्यसपछि फेरि राजनीतिक सहमति जोडिएको हुन्छ । यसप्रकारको कार्यक्रम हामीसँग भएको सैन्य कार्यक्रम हो । जनताको शक्तिले एकातिर जनताले दबाब दिँदै गर्ने, अर्कातिर राजनीतिक सहमति पनि गर्दै अघि बढ्दा हामीले नेपालमा नयाँ जनवादी क्रान्तिसहितको वैज्ञानिक समाजवादी क्रान्ति पनि सम्पन्न गर्न सकिन्छ भन्ने सुपस्ष्ट प्रकारको शृङ्खलाबद्ध र एकले अर्कोसँग मिल्ने, एउटा र अर्कोको बीच मिल्ने, तालमेल खाने, राजनीतिसँग सैन्य कार्यदिशा र सैन्य कार्यदिशालाई राजनीतिक कार्यदिशाले नेतृत्व गर्ने यस्तो किसमको शृङ्खला हामीले तयार गरेका छौँ । यो कार्यदिशा नयाँ पनि बनेको छ ।

गएको वैशाखको २१, २२ र २३ गते जुन विशेष राष्ट्रिय भेला गर्नुभयो, यसबीचको तपाईंहरूको साङ्गठनिक अवस्था कस्तो छ ?

साङ्गठनिक हिसाबले पनि हामी बहुमतमा थियौँ, अहिले पनि हामी बहुमतमै छौँ केन्द्रीय समिति । अहिलेसम्म ६२ जिल्लमा जिल्ला सङ्गठन समिति बनेको छ । ८–९ वटा जिल्लमा सम्पर्क बनेको छ । पहिला विप्लवसँगै हुँदा सम्पर्क नभएका, सङ्गठन नभएका जिल्लामा पनि सम्पर्क बनेको छ । सङ्गठन बन्दै गएको छ । राम्रो तरिकाले पार्टी बनेको छ । सबैतिरबाट नेकपा (बहुमत) ले नयाँ राजनीतिक सोच, विचार र नयाँ भविष्य देखायो भनेर जनता, बुद्धिजीवी, राजनीतिक क्षेत्र र कार्यकर्ताले भनिरहेका छन् ।

अन्य कम्युनिस्ट पार्टीहरूसँग आफ्नो पार्टीको कार्यदिशा, कार्यनीतिलाई लिएर छलफल, बहस भएको छ कि छैन ?

भएको छ । पहिलो कुरा हाम्रो पार्टी नेपाल कम्युनिस्ट (बहुमत) ले बृहत् कम्युनिस्ट एकताको कुरा गरेको छ । त्यो बृहत् कम्युनिस्ट एकता भनेको संसद्मा जित्न संसद्वादका निम्ति होइन, नयाँ जनवादसहितको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि हो । त्यो बृहत् कम्युनितस्ट एकताले लक्षित गरेको भनेको नेपालमा समाजवादका नाममा ६५ देखि ७० प्रतिशत मत जनताले दिने गरेको छ । जनसङ्ख्याको हिसाबले ७० देखि ८० प्रतिशत जनता समाजवादी छ । त्यो समाजवादी मतलाई लक्षित गरेर बृहत् कम्युनिस्ट एकता गर्ने भनेका छौँ । यही सिलसिलामा हामीले जनसमाजवादी मञ्चसँग एकता पनि गरिसकेका छौँ । अन्य क्रान्तिकारी पार्टीसँग एकता गर्दै जानुपर्छ भन्ने हाम्रो नीति पनि छ र हामी त्यसप्रकारका पार्टीहरूसँग प्रयत्न पनि गरिरहेका छौँ । साथसाथै हामीले दस्ताबेजमै तीनप्रकारका पार्टी रहेको– हाम्रो पार्टीसहित क्रान्तिकारी पार्टीहरू रहेको, अर्को संसद्वादी तर ढुलमुल प्रकारको र अर्को संसद्वादी तर प्रतिक्रियावादी प्रकारको भनेर व्याख्या गरेका छौँ । त्यसमा संसद्वादी प्रतिक्रियावादीहरूलाई एक्ल्याउने (आइसोलेट गर्ने), ढुलमुल प्रकारका संसद्वादीहरूलाई सहकार्य गर्दै लगेर समाजमा एकता गर्दै लैजाने र क्रान्तिकारीहरूसँग एकता, कार्यगत एकता गर्दै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने नीति हामीले बनाएका छौँ । त्यो नीतिभित्र हामी कम्युनिस्टहरूलाई एताबद्ध गर्दै जाने तयारीमा छौँ । बृहत् कम्युनिस्ट एकता भने पनि त्यो एकैचोटि हुने त होइन । तुरुन्त मिल्न सक्ने शक्तिसँग मिल्दै जाने, एकता गर्न सकिने शक्तिसँग एकता गर्दै जाने र बृहत् किसिमको एकताका लागि वातावरण बनाउँदै त्यो स्थिति ल्याउँदै जाने भन्ने हाम्रो नीति छ । हामी त्यसैअनुसार अगाडि बढिरहेका छौँ ।

त्यस्तो कुनै कुनै छलफल चलेको छ ?

होइन, त्यस्तो अहिले तत्कालै भन्नुपर्ने कुरा त छैन । त्यसको केही सम्भावनाचाहिँ छ ।

अब अर्को कुरा, पछिल्लो प्रतिबन्धको कालमा नेपाल कम्युनिस्ट पार्टी हुँदा नै जति कार्यकर्ता जेल परे, मुदा लगाइए तिनको अवस्था झन्झन् नाजुक छ । यता बहुमतले पनि नहेरेको भन्ने र उता विप्लवहरूले झन् वास्तै नगरेको भन्ने कुरा छ । राजनीतिक बन्दीहरूका विषयमा तपाईंहरूको के छ ?

हामीले धेरै गरेका छौँ । हामीले प्रधानमन्त्रीसँग भेटेर ज्ञापनपत्र पनि दियौँ । हामीले गृहमन्त्रीसँग पनि भेटेर कुरा गर्यौँ र ज्ञापनपत्र दियौँ । हामीले सत्तारूढ पार्टीको अध्यक्षसँग भेटेर कुरा गर्यौँ । प्रतिपक्षसँग पनि भेटेर कुरा गर्ने कुरा छ । सबैलाई भेटेर कुरा गर्ने, जुन सहमति थियो त्यो पालना गर्न र रिहाइका लागि दबाब दिने काम गरिरहेका छौँ । विप्लवहरूले पनि प्रयत्न गरिरहेका होलान् भन्ने ठानेका छौँ । तर के सुन्छु भने उनीहरुले जेलभित्रका साथीहरूको फोन उठाउने, भेटघाट गर्ने काम बन्द गरे रे । तर मलाई के लाग्छ भने उनीहरूले त्यसो त नगरिहाल्लान् । हाम्रो साझा प्रयत्न के हुनुपर्दछ भने दुवैतिरबाट गर्नुपर्दछ । हामी हाम्रातर्फबाट भरपूर कोसिस गर्नेछौँ ।

आठ ठ्याक्कै १८ महिना भएछ ३ बुँदे सहमति भएको तर साथीहरू ४ वर्षदेखि जेलमा हुनुहुन्छ ?

हामी साथीहरूको रिहाइका लागि भरपूर कोसिस गर्दछौँ । सरकारले सहज तरिकाले छोडेन भने हामी सडक सङ्घर्षमा जानेबाहेक अरू उपाय हुँदैन । हामीले अस्ति जेलहरूको प्रवेशद्वारमा जुलुुस गरेर प्रशासनलाई आवाज सुनाएर हामीले साङ्केतिक सङ्घर्ष गर्यौँ । जेल प्रशासनको गेटबाट हामीले सरकारलाई आवाज सुनाएका हौँ । आज गैरकानुनी तरिकाले थुन्ने सरकारी कदमका विरुद्धमा हामी देशैभरि सङ्घर्ष लैजान्छौँ । आवश्यक परे फेरि हजारौँ मान्छे जेलमा जानका लागि पनि हामी तयार छौँ । त्यो अभियान सञ्चालन गर्दछाैँ ।
सरकारले तत्काल बन्दीहरू मुक्त गरिहाल्नेजस्तो त देखिँदैन !

केही साथीहरू अदालती प्रक्रियाबाट पनि रिहा भइरहनुभएको छ तर सरकारसँग फागुन २१ मा भएको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्दछ भन्ने हाम्रो भनाइ हो ।

अब विप्लवहरूसँग कतै सहकार्य हुने सम्भावना छ कि छैन ?

सम्भावना त छ ।

कसरी ?

उनीहरूलाई हामीले संसदीय संशोधनवादी भनेका छौँ, निषेधात्मक अधिभूतवादी भनेका छाैँ, जुझारु अर्थवादी भनेका छौँ । उनीहरूको प्रवृत्तिलाई पेटी बुर्जुवा रोमान्टिसिज्म भनेका छौँ । एकीकृत जनक्रान्तिको कार्यदिशालाई सारसङ्ग्रहवादी भनेका छौँ । प्रवृत्ति पनि संसदीय संशोधनवादी भनेका छौँ । त्यसलाई आत्मालोचना गरीकन जनताले बुझ्ने गरी सच्चिएर आएको खण्डमा एकता हुन्छ । हाम्रोबाट त यस्तो सम्भावना छ तर उनीहरूबाट के छ भन्ने कुरा उनीहरूले भन्ने कुरा हो ।

कार्यकर्ताले र आमजनताले एउटा गजबको प्रश्न गर्ने गरेका छन्– पार्टी एउटै हुँदा केही नहुने, जब पार्टी फुट्यो अनि राजनीतिक–वैचारिकभन्दा पनि आर्थिक आरोप लाग्ने गरेको छ । तपाईंले भर्खरै भन्नुभयो विप्लवजीहरूले पैसा उठाएर अथवा आर्थिक रूपले स्पष्ट हुनुभएन । आर्थिक दुरुपयोग गर्नुभयो भन्नुभयो । उहाँहरूले तपाईंहरूलाई आर्थिक अनिमितता गरेको भनेका छन् । खास भएको के हो ? उहाँहरू त मिडियामा बोलेको बोल्यै हुनुहुन्छ त ?

मान्छे जब वैचारिक रूपले टाट पल्टिन्छ, व्यक्तिगत आक्षेप लगाउन सुरु गर्दछ । खास भएको यही हो । यो नितान्त गलत छ । यो कुरा किन गलत छ भने उहाँहरूले गरेका आर्थिक घोटालाका आरोप र व्यभिचारहरू छोप्नका लागि लगाइएको तथाकथित आरोप हो । केके भएको छ भन्ने कुरा त दुनियाँले जानेकै–बुझेकै छ नि ! उनीहरूले कति पैसा खाए, कति घरहरू बनाए, कति गाडीहरू किने ! ती कुरा हामीले भन्दै हिँडेका छैनौँ किनकि कसले के गर्यो भन्ने कुरा त आममान्छेले, कार्यकर्ताले, मिडियाले बुझेको कुरा हो नि । खासमा विप्लवको राजनीति संसदीय संशोधनवादी भयो । कार्यदिशा सारसङ्ग्रहवादी भयो । यद्यपि हामी सँगै हुँदा हामीले त्यसलाई सुस्पष्ट गर्ने प्रयत्न गरेका हौँ । मुख्य नेता नै सारसङ्ग्रहवादी भएपछि हामीले गरेको प्रयत्नको कुनै अर्थ रहेन ।

अर्को कुरा हामीले के भनेका छौँ भने क्रान्तिकारी खोलभित्र दक्षिणपन्थी अवसरवादी प्रवृत्ति विप्लवसँग छ । यो प्रमाणित विषय हो । राजनीतिक कुराको प्रतिवाद गर्न सकेनन् । वैचारिक कुरालाई उनले कहीँ–कतै पनि प्रतिवाद गर्न सकेनन् । किन होइन भन्नसकेनन् त ? त्यसो गर्न नसकेपछि पैसा यति उठाए, यति पाउनुपर्नेमा पाइएन… यस्ता कुरा उठाए ।

देश अब आर्थिक रूपले टाट पल्टिँदैछ । जनता निकै समस्यामा परेका छन् । राष्ट्रियताको सवाल पनि निकै गम्भीर बन्दै छ । तपाईंहरूले पनि केही कार्यक्रम ल्याइरहनुभएको छैन । यससम्बन्धी के सोच्नुभएको छ ?

अहिले हामी सङ्गठन सृदृढीकरण गर्ने अभियानमा छौँ । राजनीतिक रूपले प्रस्ट गर्ने काममा छौँ । सङ्गठन गर्ने, प्रशिक्षण गर्ने, जनतालाई बुझाउने काममा छौँ । देशैभरि पुग्ने चरणमा छौँ । हामीलाइ के विश्वास छ भने ट्रेड युनियनवादी सङ्घर्षले केही हुनेवाला छैन । जति राष्ट्रघाती विकृतिहरू छन्, ती कसैलाई केही फरक पार्दैन । त्यसैले हाम्रो आन्दोलन सीधै सत्ताकेन्द्रित हुन्छ । जस्तो हाम्रो तत्कालीन कार्यनीति भनेको स्वाधीन संयुक्त सरकार भनेका छौँ । हाम्रो सङ्घर्ष यता केन्द्रित हुन्छ । हामी अर्को चरणमा जाँदा ट्रेड युनियनवादी सङ्घर्ष नभई सीधै सत्ताकेन्द्रित आन्दोलनमा जान्छौँ । हामी विप्लवहरूको जस्तो जुझारु अर्थवादी प्रकारको सङ्घर्ष गर्दैनौँ, सीधै सत्तामा प्रहार गर्नेखालका आन्दोलनमा जान्छौँ ।

नयाँ पार्टी बनेपछि पहिलोपटक रातो खबरलाई अन्तर्वार्ता दिनुभएको छ । हामीलाई केही भन्नु छ कि ?

रातो खबर प्रकाशन जसरी क्रान्तिकारी लाइनमा उभिइरहेको छ, पार्टीभित्र दुई लाइन सङ्घर्ष चल्दा पार्टीभित्र क्रान्तिकारी नीति र आदर्शका पक्षमा उभियो, त्यसका लागि पार्टीका तर्फबाट धेरैधेरै धन्यवाद दिन चाहन्छु । यसले आफ्नो आदर्श बचाइराखोस् भन्ने रातो खबर परिवारलाई शुभकामना !

एउटा प्रसङ्ग जोडौँ, विप्लवहरूले ‘इस्क्रा’ मेन्सेबिकहरूले कब्जा गरे भनेछन् नि ?

बोल्सेबिक हामी नै हौँ । उनीहरू मेन्सेबिक हुन् । प्रस्टै भएको विषय हो– उनीहरू १२ जना हुँदा हामी ६० जना थियौँ । केही ढुलमुल गरेका व्यक्तिलाई छोडेर पनि प्रस्टसँग केन्द्रीय समितिमा ४५ जना हामी हौँ । कार्यनीतिका हिसाबले पनि उनीहरू मेन्सेबिक हुन्, हामी बोल्सेबिक हाँै । सबै हिसाबले विप्लवहरू मेन्सेबिक नै हुन् । उनीहरूले त्यो बकबास गर्नुको कुनै अर्थ छैन ।

प्रस्तुति : गुणराज लोहनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *