विप्लव–प्रकाण्ड पतनको अन्तरकथा

Articles Opinion

नेपालमा २००६ सालमा कमरेड पुष्पलालको नेतृत्वमा कम्युनिस्ट पार्टीको स्थापना भयो र नयाँ जनवादी क्रान्तिको कार्यदिशा तय गर्यो । त्यसपछि मनमोहन, केशरजंग रायमाझीको नेतृत्वले कम्युनिस्ट आन्दोलनमाथि गद्दारी गरेकै अवस्थामा झापाली क्रान्तिकारहिरूको नेतृत्वमा पूर्वमा नक्सलबाडी विद्रोह र उत्तरमा चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको प्रभावमा झापाको ज्यामिरगढीमा धर्मप्रसाद ढकाल, कर्णबहादुर गौतमलगायत मानिसहरूमाथि कारबाी गरियो । उनीहरूको एउटा सूत्र थियो वन एरिया वन युनिट, वन युनिट वन एक्सन । वन युनिट साथीहरू वन एरियामा गएर वन एक्सन गरे । पारिपट्टि चारु मजुमदारहरूले आगो दन्काइरहेका थिए र किसान आन्दोलन चलिरहेको थियो भने उत्तरतिर सांस्कृतिक क्रान्तिको आगो दन्किरहेको थियो । त्यसले ठूलो उथलपुथल ल्याएको थियो । त्यस सन्दर्भमा उहाँहरूले झापा विद्रोह गर्नुभयो । त्यो झापा विद्रोह अघि बढिरहेको बेलामा त्यतिखेरका परिपक्व नेताहरू मोहनविक्रम सिंहहरूले झापा आन्दोलन उग्रवामपन्थी भड्काव भनेर निन्दा गरे । त्यसका विरुद्ध किताब नै तयार गर्ने काम भित्रबाटै भयो भने बाहिरबाट पनि दबाउन खोजियो । सायद त्यतिबेला महेन्द्र गएर वीरेन्द्र राजगद्दीमा बसिसकेका थिए । तर क्रान्तिकारी आन्दोलन दबाउन खोजिएपछि केपी वली, सिपी मैनाली र मोहनचन्द्र अधिकारीहरू पक्राउ परे । नेताहरू भूमिगत हुन बाध्य भए । केपी ओली १४ वर्ष जेल बसे भने सीपी मैनालीलगायत केही मान्छे पछि हामी बसेको नख्खु जेलबाटै सुरुङ खनेर बागमतीमा छिरेर भागेका थिए । पछि केही कोही त पक्राउ पनि परे । जेलबाट निस्केपछि उनले कोअर्डिनेसन केन्द्र पनि बनाए । पछि बिस्तारै गएर सबै साथीहरू भुमिगत भए । झलनाथ खनालहरू त सङ्गठन विस्तारका लागि बागलुङसम्म पुगेका थिए । क्रान्तिकारीहरूको बिउ देशैभरि फैलिएको थियो । तर २०३९ सालमा गएपछि सीपी मैनालीले

मार्क्सवादको भाष्यमा त्रुटि भयो भने र त्यतिबेलादेखि नै उनीहरूले जनपक्षीय उम्मेदवारहरू उठाउन सुरु गरे । जस्तो जागृत भेटवाल, द्रोणप्रसाद आचार्य, पदमरत्न तुलाधर, सोमनाथ अधिकारी, परशुराम खापुङहरूलाई उनीहरूले संसद्मा पठाए । त्यसबाट अघि बढ्दै जाँदा त्यसको नेतृत्व मदन भण्डारीको हातमा आइपुग्यो । मदन भण्डारी असाध्यै चतुर थिए र बोल्नमा निकै सिपालु थिए । उनी नेतृत्वमा पुगेपछि उनले बहुदलीय जनवाद ल्याए र त्यहाँबाट संशोधनवादको सुरुआत भयो ।

यसैगरी २०२८ सालमा अर्को धारा बन्यो । त्यो धारा भनेको मोहनविक्रम सिंह, मनमोहन अधिकारी, मोहन वैद्यहरू भक्तबहादुर श्रेष्ठलगायतले कम्युनिस्ट न्युक्लियस केन्द्र बनाए । त्यसबाट अगाडि आएपछि उनीहरूले ३१ सालमा चौथो महाधिवेशन गरे भक्तबहादुर श्रेष्ठ निर्मल लामाहरू त्यहाँ हुनुहुन्थ्यो । उहाँहरूले त्यो पार्र्टीलाई अघि बढाउनुभयो । त्यहीँ जाँदा पनि क्रान्ति अघि बढिरहेको बेला ४० सालतिर फेरि फुट भयो । मशाल २ वटा भए । चौथो महाधिवेशन एउटा र मशाल दुईवटा बने । फेरि २०४२ सालमा मोहन वैद्यको मोटो मशाल र मोहनविक्रमको पातलो मसाल भयो । त्यसपछि फेरि प्रचण्ड नेतृत्वमा आए र ४ वटा पार्टीलाई एउटै पार्टी बनाए । ४७ सालमा आएर ४ वटा पार्टी एक ठाउँमा आए । पहिले मोहन वैद्य र पछि पुष्पकमलले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (मशाल), मोहनविक्रमले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (मसाल) बाट विद्रोह गरेको शीतलकुमारको नेतृत्वको मसाल, निर्मल लामाले नेतृत्व गरेको नेकपा (चौम) र रूपलाल विश्वकर्माले नेतृत्व गरेको सर्वहारावादी श्रमिक सङ्गठन यसमा मोहनविक्रमबाट भने उनी सिधै आएनन र बाबुराम भटराई र हरिबोल गजुरेलहरू आए । अर्को रूपचन्द्र बिष्टहरूको नेकपा जनमुखी भन्ने थियो । ४७ सालमा पार्टी एकता भयो र ४८ सालमा महाधिवेशन भयो । त्यसले क्रान्तिकारी लाइन पास गर्यो। नेपालमा दीर्घकालीन जनयुद्धद्वारा क्रान्ति सम्पन्न गर्ने कार्यनीति तय गर्यो । त्यस कार्यदिशाअनुसार हामी अघि बढ्यौँ । त्यो प्रक्रियामा हामीले ४८ सालमा चुनावमा भाग लियौँ तर सीधैँ पार्टीले भाग लिएन । संयुक्त जनमोर्चा नेपाल बनाएर त्यसमार्फत भाग लियौँ । त्यसबाट हामी नेपालमा तेस्रो पार्टी बन्यौँ । त्यो समयमा चुनावमा भाग लिएकामध्ये ९ जना चुनिएर आए र २ जना माथिल्लो सभामा गए । हामीले ५२ सालमा जनयुद्धमा जाँदा १ जना कृष्णबहादुर महरा मात्र जनयुद्धमा आउनुभयो, अरू कोही पनि आएनन् तर पनि हामीले ५२ सालमा नेपालमा जनयुद्ध सुरु गर्यौँ र त्यसमध्येका धेरै साथीहरू आज यहाँ छौँ ।

जनयुद्ध हामीले १० वर्षसम्म लड्यौँ । तपाईंहरूलाई स्मरण गराउन चाहन्छु पछिल्लो पिँढीकालाई बुझाउन र भाग लिएका साथीहरूलाई स्मरण गराउन चाहन्छु, हामीसँग यस्तो सेना थियो आफू मरेपछि बोक्ने स्टे«चर र सहिद भएपछि पुर्ने कुटोकोदालो बोकेर युद्धमा जाने गर्दथ्यो । यसमध्ये कैयौँ साथीहरू यहाँ हुनुहुन्छ होला । त्यो सेनाले कैयौँ कामहरू गर्यो र जनयुद्धले नेपाललाई विश्वसामु चिनायो । जनयुद्धले पृथ्वीनारायण शाहले भन्दा ठूलो जनपरिचालन गर्यो । डोल्पा, हुम्ला, जुम्ला, मुगुका कैयौँ गाउँहरू सरकारलाई थाहा थिएन यो सब थाहा पाउने काम जनयुद्धले गर्यो । ठूलो आन्दोलन र जनपरिचालन गर्यो । यसको नेतृत्व त्यसबेलाको नेकपा (माओवादी) ले गर्यो । त्यसको सुप्रिम कमान्डर प्रचण्ड थिए । जब प्रचण्ड आफैँले नेतृत्व गरेको खाराको लडाइँ हारियो र प्रचण्ड स्वयम् बस्ने घरमा हेलिकोप्टरले लन्चर खसायो । त्यसपछि नेताहरूले योभन्दा अघि बढ्न सकिन्न भन्ने सोचेर १२ बुँदे सम्झौता भयो । यो सम्झौता हुने समयमा बाबुराममाथि कारबाही भएको थियो र त्यही बेला माओवादी र ७ दलबीच १२ बँुदे सम्झौता भयो । बाबुरामले भारतमा गएर १२ बुँदा तयार गरे । अन्ततः रोल्पामा भएका प्रचण्डलाई पहिले लखनउ बोलाइयो जहाँ बाबुरामका गुरु एसडी मुनि त्यहाँ आइपुगे । प्रचण्डलाई लिनका लागि भारतीय सेनाको कमान्डो फोर्स त्यहाँ आयो । त्यहाँ बाबुरामले तयार पारेको १२ बुँदे सम्झौतामा प्रचण्डले सही गर्नुपर्यो । यसरी कम्युनिस्ट आन्दोलनले धोका खायो र हामी फेरि चुनावमा जानुपर्ने अवस्था आयो । ६९ मा गएपछि हाम्रा साथीहरू, वैद्य र विप्लवहरूले बुझ्दै र बुझाउँदै विद्रोह गर्नुभयो । त्यसमा मुख्य भूमिका विप्लवकै थियो । उहाँहरूले त्यतिबेला प्रचण्डहरू संसदीय व्यवस्थामा गए तर हामी त्योभन्दा नयाँ, समाजवादी व्यवस्थामा जानसक्छौँ भन्ने योजना बनाउनुभयो ।

तर प्रकारान्तरले विप्लवको दिमागमा समाजवाद होइन, प्रधानमन्त्रीको कुर्सी थियो । सैनिक कु गर्ने र सेरेमोनियल राजा राखेर आफू प्रधानमन्त्री बन्ने सपना उहाँमा पलायो । यो वास्तवमा क्रान्तिका पक्षमा थिएन । एकीकृत जनक्रान्तिको कार्यदिशा बनाएपछि उहाँले कहिल्यै पनि एकीकृत जनक्रान्तिको व्याख्या गर्नुभएन । एकीकृत जनक्रान्तिको प्रस्तावकले नै जनक्रान्तिको व्याख्या अरू पाटीहरूसँग गर्न सक्नुभएन । अनि उहाँले नीति र नेतृत्वमा छलफल हुँदैन, अरू हुनसक्छ भन्नेतिर जानुभयो । बिचरा किरणजी (जो दमको बिरामी पनि हुनुहुन्छ), ऋषि कट्टेल, आहुतीलगायत साथीहरू प्रतिबन्धका बीच पहाडको कुनै कुनासम्म विप्लवलाई भेट्न जानुभयो । तर विप्लवजीले एकीकृत जनक्रान्तिको औचित्य पुष्टि गर्न सक्नुभएन । हामीले यसलाई कसरी हुन्छ वैज्ञानिक बनाउने भन्ने कोसिस गरिरहेका थियौँ । हाम्रो सूत्रीकरणलाई उहाँले स्वीकृत वा अस्वीकृत केही पनि गर्नुभएन ।

एकीकृत जनक्रान्तिको पदावली नराम्रो होइन, राम्रो छ तर कार्यदिशालाई उहाँहरूले सारसङ्ग्रहवादी बनाउनु्भयो । हामीबीच बहसहरू हुन थाले । उहाँहरूले पहिले एकीकृत क्रान्ति बनाउनुभएको थियो र हामीले न्युक्लियस बनाउँदाखेरि वैज्ञानिक समाजवाद बनाएका थियाैँ । पछि हामीले लामो बहस गरेपछि एकीकृत जनक्रान्ति गरेपछि पुग्ने ठाउँ वैज्ञानिक समाजवाद हुुन्छ भन्ने निष्कर्षमा हामी पुगेपछि पार्टी एकता गरेका थियौँ । यही निष्कर्षबाट हामी एकतामा पुगेका थियौँ । यो विषय कञ्चन कमरेडले पहिलेदेखि नै बहस गरिरहनुभएको थियो तर कञ्चन कमरेडसँग यस विषयमा सैद्धान्तिक बहस गर्न नसकेपछि उहाँहरूले कञ्चन कमरेडको कुरा उडाउने गर्नुहुन्थ्यो ।

हरेक मान्छेलाई हन्डर र ठक्करले धेरै कुरा बुझाउँछ । म जेलपरेको हुँदैनथेँ भने आज मैले पनि यी कुरा सबै कुरा बुझ्ने थिइनँ । खासगरी मध्यकेन्द्रीय कमान्डमा म आएपछि सडकमा फालिएका धेरै कमरेडहरूलाई समेटेको थिएँ । उहाँहरूले प्रयोग गरेर सडकमा फालिदिनुभएको थियो । तलसम्म सङ्गठन थिएन । हामी सङ्गठन बनाउनतिर लाग्याैँ । स्वयम् म नै सेल बनाउन पुगेको थिएँ । त्यसपछि उहाँहरू अत्तालिनुभयो । सीसीएमहरूलाई लाम लगाएर मेराविरुद्ध बोल्न लगाउनुभयो । कमै साथीहरू मेरा पक्षमा बोल्नुहुन्थ्यो । तलसम्म सङ्गठन बनाएपछि उहाँहरूको खाने भाग हराएको थियो । मैले एकीकृत जनक्रान्ति बुझाएपछि खुसीले मानिसहरू सहयोग गर्न तयार हुन्थे र वैज्ञानिक समाजवाद बुझाउँथे र मान्छे कन्भिन्स हुन्थे । मैले त्यसो गर्दा पेस्तोल तेस्र्याएर चन्दा उठाउन पाउने चलन अन्त्य भएपछि मैले टिम लिएर सेलसम्म पुगेपछि उहाँहरूलाई सह्य नभएकै कारण मलाई जेलमा पठाउने षड्यन्त्र भयो । मेरो र कञ्चन कमरेडको पछिल्लो गिरफ्तारी एउटै प्रकृतिको छ । पछिल्लो समय कमरेड कञ्चन बन्दी साथीहरूको रिहाइका लागि कोसिस गरिरहनुभएको थियो ।

पछिल्लो समयमा उहाँहरूले चुनावलाई प्रयोगको कार्यनीतिमा आएपछि हाम्रो बहस अलि बढी भयो । हामीले चुनावमा जाने यो विषय सैद्धान्तिक रूपमा गल्ती हुनछ भनेका थियौँ । हामीले भनेका थियौँ– चुनावमा जाने भनेको आजको अवस्थामा लेनिनको समयको जस्तो होइन । लेनिनको समयमा के थियो भने जारशाहीको शासन थियो र त्यतिबेलाको समयमा भाग लिनु स्वाभाविक थियो तर आज यसको औचित्य समाप्त भएको छ किनभने नेपालमा संसदीय व्यवस्था कस्तो हुन्छ भन्ने कुरा दुनियाँलाई सोध्नै पर्दैन । यो भ्रष्टाचारी व्यवस्था हो । यहाँ संसद्मा जेठ १५ गते पेस भएको बजेट भदौसम्म छलफल हुन्छ तर एक अक्षर फेरबदल नभईकन यो पास हुन्छ । यो व्यवस्थामा बोल्न त जति पनि पाइन्छ तर खाने अधिकार हुँदैन । यो संसदीय व्यवस्था भनेको गुन्डाहरूको व्यवस्था हो । अमेरिकामा देखेका छौँ नि गुन्डाहरूले माउन्टेन हिल कब्जा गरे । डोनाल्ड ट्रम्प चुनाव हारेर पनि हारेको छैन भन्छन् । सबभन्दा प्रजातन्त्र भएको भनिएको देशमा कालाहरू गोरा पुलिसहरूबाट घाँटी थिचिथिची मारिन्छन् । यही हो संसदीय व्यवस्था र यस्तो खालको संसदीय व्यवस्थामा जानु हुँदैन भनेर हामीले भन्यौँ । यसो गर्नु सैद्धान्तिक रूपमा गल्ती हुन्छ भनेका हौँ । कपिलवस्तु शिवगढीमा बाह्रौँ बैठकसम्म आउँदा हामीले ४५ भन्दा बढी साथीहरूको वैचारिक सुप्रिमेसी प्राप्त गर्यौँ । अन्ततः हामीले त्यो बैठकबाट यो संसदीय व्यवस्थाको चुनावमा भाग नलिने निर्णय गर्यौँ । पार्टी सीधै चुनावमा नजाने केन्द्रीय सदस्य वा कुनै तहका व्यक्तिलाई चुनावमा नपठाउने पार्टी दर्ता नगर्ने प्रधान पहलु थियो भने कुनै स्वतन्त्र खालका उम्मेदवारलाई समर्थन गर्न सकिने कुरा सहायक पहलु थियो । तर बैठकको निर्णयको मसी सुक्न नपाउँदै पार्टीको निर्णयविपरीत केन्द्रीय सदस्यहरूलाई चुनावमा पठाइयो । परिणामतः विप्लवजीको गृहजिल्लामै वरिष्ठ केन्द्रीय सदस्य जो चुनावमा उम्मेदवार बने । उनको जमानत जफत भयो । कालीकोटमा पनि केन्द्रीय सदस्यको जमानत जफत भयो । प्रकाण्डको गाउँमा पनि हार भयो । स्थिति धेरै टाढा पुगिसकेपछि हामीलाई वैशाख ३० गतेको चुनाव पर्खने मध्यमार्गी साथीहरूको सुझाव थियो । तर हामीले त्यति समय पर्खिएको भए त्यसको अपजस हामीलाई हुने थियो । आज हामीले क्रान्तिकारी आन्दोलनलाई पुनर्गठित गर्दै अघि बढिरहँदा यिनीहरूले कसरी क्रान्तिकारी आन्दोलनलाई अघि बढाउन सक्छन् भन्ने लाग्न सक्छ तर जसले इतिहासमा आएका अन्तरविरोधहरूलाई हल गर्न सक्छ त्यसैले गर्ने हो । हामीले नै गर्दछौँ भन्ने पनि केही छैन । तपाईंहरूको यति धेरै ठूलो दस्ता छ । यसबाट पनि भोलि कसैले नेतृत्व गर्न सक्छ । आज हाम्रो कार्यक्रमबाट हाम्रो पार्टीमा प्रवेश गर्ने साथीहरूले पनि भन्नुभएको छ । तपाईंहरू पनि उनीहरूजस्तै नबिग्रनुहोला, जुरो नहाल्नुहोला भनेर । यो कुरा हामी मनन गर्दछौँ ।

अर्को कुरा उहाँहरूले जसरी नमिल्ने चीज चुनावलाई पनि उहाँहरूले जसरी मिलाउनुभयो नि, यो अमिल्दो चीजलाई पनि मिलाउने तरिका भनेको सारसङ्ग्रहरवाद हो । यो जीवनदर्शन भनेको सारसङ्ग्रहवादले हरेक कुरामा गर्ने भन्छ । यसले सहायकलाई प्रधान र प्रधानलाई सहायक बनाउँछ भने यसलाई पनि सारसङ्ग्रहवाद भनिन्छ । राजनीतिक रूपले उहाँहरू संशोधनवादी हो । यसलाई हामीले छद्म अथवा नव भनेका छैनौँ । यो सीधासीधा संसदीय संशोधनवाद हो । कारबाही गरेपछि भोलिको कदम के हो भन्ने कुरा थाहा हुँदैन ।

अर्थले मान्छेलाई लोभ्याउने तरिका पनि संशोधनवाद हो । पार्टी विपरीतहरूको एकत्व हो भनेपछि हो भन्ने कुरा हिजो यान्त्रिक रूपमा हेरियो । हिजो विप्लवजीले नै भन्नुभयो पार्टी विपरितहरूको एकत्व भनेपछि एकातिर सर्वहाराको विपरीत बाबुराम र सर्वहाराको पक्ष प्रचण्ड भइराख्ने भयो । यो तरिका भएन । आज नयाँ तरिका अपनाऊँ भनेर उहाँले भन्नुभयो । मैले भनेँ– अन्तरविरोधका दुई पक्ष हुन्छन् । एउटा शत्रुतापूर्ण हुन्छ र अर्को मित्रतापूर्ण हुन्छ । त्यसकारण हामीले पार्टी सजातीय विपरीतहरूको एकत्व भनौँ न भनेर प्रस्ताव गरेपछि उहाँले लः लः ठीक छ भन्नुभयो । त्यसलाई फेरबदल नगरीकन त्यही राखियो । तर त्यहाँ के भएछ भने पार्टी विपरीतहरूको एकत्व भन्ने कुरालाई पार्टी सजातीय विपरीतहरूको एकत्व हो भनिसकेपछि उहाहरूलाई फाइदा भएछ, खुँदो पल्टिएछ । यो पदावली राम्रो हो, यो पदावलीले पार्टीभित्र मैत्रीपूर्ण अन्तरविरोध हुन्छ भन्ने कुरा बताउँछ । तर प्रकाण्डले सजातीय भनेपछि के अर्थ लगाउनुभएछ भने खासगरी प्रकाण्डले मेरो विरोध गर्नेहरू विजातीय र मेरो समर्थन गर्नेहरू सजातीय हुन् भन्ने प्रयोग गर्न थाल्नुभयो । उहाँले विद्यार्थी सङ्गठनबाट सुरु गर्नुभयो र उमेरहद लगाएरै भए पनि मन नपर्नेजतिलाई हटाइदिनुभयो । त्यसपछि पत्रकारहरूमा, सम्पर्क मञ्चमा, पार्टीका विभिन्न सङ्गठनहरूमा समेत गर्नुभयो र थबाङ महाधिवेशनबाट चुनिएका ६५ जना केन्द्रीय सदस्यमध्ये ३४ जनालाई पार्टीबाट हटाउनुभयो । सङ्गठनात्मक रूपमा यो दर्शनको नियमलाई दुरूपयोग गर्नुभयो । यसलाई हामीले दर्शनमा के भन्यौँ भने यो निषेधात्मक अधिभूतवाद हो । निषेधात्मक अभिधूतवाद मनोगत रूपमा आउँछ ।

पछिल्लो समय हामीले त्यहीँ कपिलवस्तु आउँछौँ र बहस गरौँ भनेर भन्दाभन्दै हाम्रो कुरै नसुनीकन फोन काटेर कारबाहीको विज्ञप्ति फाल्नुभयो । यो पनि त्यही निषेधात्मक अभिधूतवाद हो । सङ्घर्षको दृष्टिले विप्लव–प्रकाण्ड आत्मसुरक्षावादी हो । ७० को चुनाव बहिष्कार गर्दा प्रकाण्डको औँला भाँच्चियो । ७४ को चुनाव बहिष्कार गर्दा खुट्टा मर्कियो । सङ्घीय चुनावमा घाँटी क्यारक्यार गर्यो । यसरी डराउने भए, उही संसदीय चुनावमा जाने भए किन विद्रोह गरेको ? किन १२ जना साथीको ज्यान लिएको ? त्यहीँ, प्रचण्डसँगै बसेको भए राम्रो हुने थियो । त्यसपछि हामीले भन्यौँ, हामी हाम्रो तरिकाले लड्छौँ, तपाईं तपाईंको तरिकाले लड्नुहोस् । इतिहासले को सही र को गलत भन्ने कुरा आगामी दिनमा पुष्टि गर्दै जानेछ ।

(नेकपा (बहुमत) का प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले पार्टीको बागमती ब्युरोको प्रशिक्षणमा व्यक्त गरेको धारणाको सम्पादित अंश ।)

Leave a Reply

Your email address will not be published.