पार्टीसँगै क्रान्तिकारी आन्दोलनको पुनर्गठन

Articles Opinion

नेपाली कम्युनिस्ट आन्दोलनको जीवनमा कैयौँ उतारचढावहरू भए । यो इतिहासको साक्षी म पनि हो । पछिल्लो समय फेरि हामी राजनीतिक जीवनको निकै पेचिलो ठाउँमा अथवा संसदीय संशोधनवादका विरुद्ध लडाइँका बीचबाट पार्टीसँगै क्रान्तिकारी आन्दोलनलाई पुनर्गठित गर्ने अभियानसम्म आइपुगेका छौँ । क्रान्तिकारी आन्दोलनलाई पुनर्गठन गर्ने ऐतिहासिक कार्यभारसहित हामीले निकै महत्वपूर्ण विशेष राष्ट्रिय भेला सम्पन्न गरेका छौँ । यो नेपाली क्रान्तिकारी आन्दोलनको एउटा ऐतिहासिक र आशाको क्षण हो ।

म २६ वर्षको उमेरमा केन्द्रीय सदस्य भएको थिएँ । त्यही बेलादेखि आजसम्म म कहिल्यै पनि दक्षिणपन्थी संशोधनवाद र अवसरवादका पक्षमा लागिनँ । म जहिले पनि क्रान्तिकारी विचारका पक्षमा रहेँ र रहिरहनेछु । म सम्झन चाहन्छु– सिन्धुलीमा बसेको तत्कालीन नेकपाको बैठकमा मैले विप्लवमा प्रचण्ड मात्र होइन, महाप्रचण्ड बन्ने खतराको सङ्केत देखेको थिएँ । पछिल्लो १२ औँ केन्द्रीय समितिको बैठकमा हामीलाई कपिलवस्तुको शिवगढीमा बन्दै गरेको भवनमा लगियो । त्यो भव्य महल देखेपछि मलाई यो क्रान्ति हो कि भ्रान्ति हो भनेर मनमा चिसो पस्यो र मैले सिन्धुलीको बैठकदेखिको कुरा स्मरण गरेँ । बैठक सुरु भयो । प्रतिवेदन पेस भयो । मलाई लाग्यो यो राजनीतिक दस्ताबेज बन्दै गरेको नयाँ महलसँग साटिएछ । मैले सोचेँ– तत्कालीन महासचिवले केही कमजोरी सच्याई केही सुधार गरेर बहुमत साथीहरूको विचारको मतलाई सुरक्षित गरेर महाधिवेशन वा विस्तारित बैठकतिर लानुहुन्छ तर उहाँले त्यतातिर लाने देखिएन । यसको पछाडि उहाँलाई के त्यस्तो दबाब र प्रभाव थियो, त्यो उहाँले जान्ने कुरा हो । अब हामी क्रान्तिकारी आन्दोलन पुनर्गठनको प्रक्रियामा गैसकेपछि उहाँहरूले अब महाधिवेशनमा जाने निर्णय गर्नुहुन्छ होला ।

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा रायमाझीदेखि प्रचण्डसम्म सबै डराएरै क्रान्तिलाई संसद्वादमा पुर्याएका हुन् । विप्लवले पनि त्यही गरेपछि अब मान्छेहरूमा विश्वासको सङ्कट पैदा भएको छ । जनताको दिलदिमागमा हामी बस्न नसकेको र जनता आन्दोलनमा माथि नउठेको हो । जनता यस्तैखाले धोकाधढीबाट विश्वस्त नभएको कारण आज मान्छेहरू भन्छन्– प्रचण्डको पनि हेरियो, विप्लवको क्रान्ति पनि हेरियो । नेताको काम दिशानिर्देश गर्ने हो । लडाइँ, युद्ध वा क्रान्तिमा बलिदान हुन्छ तर त्यसको परिणाम राम्रो आउनुपर्छ ।

नेपालको हरेक कम्युनिस्ट आन्दोलनले दक्षिणपन्थी अवसरवादका विरुद्ध लड्नुपरेको छ । हिजो लेनिन र माओले पनि उग्रवामपन्थी र दक्षिणपन्थी दुवैसँग लड्नुपरेको थियो । आज जति दुःख–कष्ट बेहोरेर भए पनि तपाईंहरू जनता, पार्टी, र आन्दोलनप्रतिको विश्वाससहित आउनुभएको छ । घरभित्रको फोहोर बढारेर सफा पारेजस्तै इतिहासमा पार्टीभित्र रहेका सुधारवादीहरूलाई फालेर पार्टी पुनर्गठनको प्रक्रिया अघि बढेको छ । मैले मेरो जीवनमा १५–२० वटाजति पुनर्गठन बेहोरेको छु । यो पुनर्गठन भनेको घरबाट फोहोर–कचडाहरू निकालेर बाहिर फालेझैँ क्रान्तिकारीहरूले गरेको पुनर्गठन हो । नेपाली क्रान्तिकारी आन्दोलनलाई निर्णायक क्रान्तिमा परिणत गर्नका लागि गरिने सबैखाले तयारीअन्तर्गत यो पुनर्गठन र चितवन भेलादेखि म निकै उत्साहित भएको छु । क्रान्तिको झन्डालाई उचो राखिरहनका लागि कमरेड कञ्चन र सुदर्शनले समयमै जुन आँट गर्नुभयो, उहाँहरूले यो आँट नगरेको भए हामी धेरै वर्षका लागि अलपत्रमा पर्ने थियाैँ । यस्तै माटोको भर ढुङ्गा, ढुङ्गाको भर माटो भनेजस्तै देशैभरि रहेका अत्यधिक बहुमत कमरेडहरूले यो आँट गरेकै कारण नेतृत्वलाई पनि सम्भव भएको हो । हामी महाधिवेशनमा पुग्दा पार्टीलाई स्थापित गरेर लैजानुपर्छ । हामीले बुझ्ने खास कुरा के छ भने हामीले कार्यक्रम र कार्यदिशा जसरी बदल्छौँ, त्यहीअनुसारको आचरण, व्यवहार र संस्कृति बदल्न जरुरी छ । सिद्धान्त क्रान्तिकारी र आचरण पुँजीवादी भयो भने त्यो गलत हुनेछ र हामी पुरानै अवस्थामा पुग्नेछौँ । हामी आलोचना रूपान्तरण र एकतासँगै उचाइमा पुग्नु आवश्यक छ ।

रुसमा लेनिनले चुनाव प्रयोग गरेको विषयलाई लिएर भाग लिने र बहिष्कार गर्ने कार्यनीतिक समस्या भन्यौँ । नेपालमा त्यसलाई कार्यनीतिक विषय भन्दाभन्दै रणनीतिक विषय बनिदियो । यो रणनीतिक विषय बनेको छैन भने के अब एमाले, मोहनविक्रम र प्रचण्ड क्रान्तिमा फर्किन्छन् त ! त्यसकारण संसदीय व्यवस्थामा गएपछि नफर्किने अवस्था भएको कारण नेपालको सन्दर्भमा यो कार्यनीतिक होइन, रणनीतिक कार्यक्रम बन्न गएको छ । आज आर्थिक क्षेत्रमा कम्युनिस्ट सारै गनाए । एमाले र माओवादीको त कुरै छोडौँ, विप्लव सारै गनाए । इमानदार कार्यकर्ताहरू घोटिइरहनुपर्ने र टाठाबाठाहरूको सधैँ हालिमुहाली भयो । सिद्धान्त र व्यवहारका बीचमा जुन फरक परेको छ, त्यसलाई मिलाउनका लागि कमरेडहरूले जुन पहल गर्नुभएको छ मलाई विश्वास छ तपाईंहरू यो उदाउँदो शक्ति हो, बिहानको सूर्योदय हो । यो क्रान्तिकारीहरूको बिउ हो । बिउ राम्रो बनाउनु पर्दछ । बिउ राम्रो भयो भने यो धेरै चाहिँदैन, भोलि यसैबाट फस्टाउँदै जाने हो ।

(नेकपा (बहुमत) केन्द्रीय समितिको बैठकमा केन्द्रीय सल्लाहकार समितिका सचिव चित्रबहादुर आले ‘पवन’ ले दिएको मन्तव्यको सार)

Leave a Reply

Your email address will not be published.