आठ वर्षको जात्रामय यात्रा !

Articles Opinion

आत्मालोचना

सच्चा कम्युनिस्टले सबैभन्दा पहिला आफ्नो कमजोरीलाई स्वीकार गर्नु पर्दछ र त्यो गल्ती वा कमजोरीलाई पुनः दोहोर्याउनु हुँदैन । त्यसैले म पनि यहाँ पहिला आफ्ना कमजोरीहरूलाई स्वीकार गरेर मात्र आफ्नो आठबर्से यात्रा वर्णन गर्नेछु । त्यो आत्मालोचना भनेको के हो भने विप्लवसँग रहँदा उनीमा रहेका वैचारिक/राजनीतिक कमीकमजोरीलाई सच्याउन सकिन्छ कि भन्ने भ्रम पालियो । सुरुमा मूल रूपमा विप्लवमा रहेको दार्शनिक, आर्थिक र समाजवादी विभ्रमबाट मुक्त गर्ने कोसिस गरियो । तर ३ वर्ष पुग्दै गर्दा पनि सकिएन । त्यसैले मैले आफैँले केन्द्रीय कार्यालय सचिव छाडेको थिएँ । जब कि विप्लवले नछोड्न निकै जोड गरेका थिए । विप्लवको नेतृत्वमा गठन भएको पार्टीको यात्रा जात्रामा परिणत हुन थाल्यो । हामी जात्रा हेर्न जाने यात्रु हुन पुग्यौँ । यो मेरो राजनीतिक जीवनको जात्रामय यात्रा भयो । तर अब विगतप्रति पछुतो गरेर बस्ने बेला छैन । विगतबाट पाठ सिकेर नयाँको खोजी गर्दै अघि बढ्नु पर्दछ । यसका लागि विगतको वस्तुवादी समीक्षा गर्न जरुरी छ ।

यात्रा

२०७१ साल मङ्सिर ८ गते विप्लव, प्रकाण्ड र कञ्चन बुद्धनगर गएर किरणहरूलाई ३ बुँदे दिएर नयाँ पार्टीको पुनर्गठन गरिएको थियो । उक्त ३ बुँदेमा ‘नेपाली क्रान्तिलाई कसरी अगाडि बढाउने र पार्टीलाई सर्वहारा वर्गको अग्रदस्ता कसरी बनाउने भन्ने विषयमा गम्भीर अन्तरहरू देखापरे’ लेखिएको छ । २०६९ असार ५ गते प्रचण्ड—बाबुरामसँग अलग भएर नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी —माओवादी बनाएदेखि नै विप्लव र प्रकाण्डले यी बुढाहरूले पार्टी चलाउन सक्दैनन्, त्यसैले नयाँ तरिकाले सोच्नुपर्छ भन्थे । मूल रूपमा २०७० सालको संविधानसभाको चुनावपछिको मङ्सिरको केन्द्रीय समितिको बैठकमा चुनाव बहिष्कारलाई लिएर भएको समीक्षामा स्पष्ट दुईवटा दृष्टिकोण देखापरेका थिए ः बादलहरूको समूहले किरणजीलाई एक किसिमको घेराबन्दी गरेका थिए जसका कारण किरणजीसँग खुलेर बहस र छलफल हुन पाएन । मुख्य नेतृत्वसँग खुलेर बहस र छलफल गर्न नपाएका कारण अन्तरपार्टी सङ्घर्ष बढ्दै गयो । त्यसको समयमा नै समाधान गर्ने काम नभएका कारण साङ्गठनिक दूरी बढ्दै गयो । यसैको परिणाम २ नम्बर बुँदामा ‘राजनीतिक परिस्थिति निकै जटिल बिन्दुमा पुगेको छ । साम्राज्यवादी, विस्तारवादी दलाल पुँजीवादीहरू देशमा प्रतिक्रान्ति गर्दै पुरानै प्रतिक्रियावादी राज्यसत्ता लाद्ने ठाउँमा पुगेका छन् । माओवादीलाई सम्पूर्ण रूपले बदनाम गर्दै सखाप पार्ने अभियानमा छन् । माओवादी आन्दोलन विकेन्द्रित बन्दै कमजोर अवस्थामा पुग्दैछ । यो अवस्थामा माओवादी आन्दोलन र पार्टीलाई एक गुणात्मक पहलसहित केन्द्रीकृत र ध्रुवीकृत गर्न जरुरी छ । यसका लागि कमरेड किरणलाई यथाशीघ्र वस्तुवादी कदम चाल्न आग्रह गर्दा ग्रहण गर्ने र मनन गर्ने अवस्था रहेन ।’ माथिका यी दुई बुँदामा उल्लेख गरिएका कुराले किरणजीले सक्नुहुन्न भन्ने आरोपका तथ्यहरू तयार पारिएको थियो । सरसर्ती हेर्दा यी बुँदाहरू सही देखिएका थिए । किरणजीहरूको ढिलासुस्ती, सङ्गठनमा बादलजीहरूको षड्यन्त्रमूलक रबैयाको फाइदा लिँदै विप्लवको वाक्छल र वाक्चाटुुताले वैचारिकभन्दा पनि भावनात्मक पक्षले पार्टी फुटाउन उत्प्रेररकको काम गर्यो ।

वैचारिक कमजोरी

विप्लवले २०७१ साल जेठमा तत्कालीन नेकपा—माओवादीको केन्द्रीय समितिको बैठकमा फरक मत पेस गर्दा एकीकृत क्रान्तिको अवधारणा ल्याएका थिए । पुसमा तुलसीपुरमा भएको राष्ट्रिय सम्मेलनमा छलफलका क्रममा ‘एकीकृत जनक्रान्ति’ भनिएको थियो । त्यसका ६ वटा आधार मूर्तीकृत गरिएको थियो । पछि मात्र विज्ञान–प्रविधि थपेर ७ वटा बनाइएको थियो । एकीकृत जनक्रान्तिलाई वैज्ञानिक समाजवादसम्म पुग्ने कार्यदिशा भनियो तर कार्यदिशाका अवयवहरू किटान गरिएन । कार्यनीति र कार्यनीतिक शृङ्खला वा कार्यनीतिक कार्यक्रमका बारेमा निकै नै छलफल भए पनि समावेश गरिएन । विप्लव—प्रकाण्डले एकीकृत जनक्रान्ति नै सबै हो भन्ने सारसङ्ग्रहवादी मुढे तर्क राख्दै आए । यसरी कार्यदिशाको सार सही रहँदारहँदै पनि त्यसलाई समृद्ध गर्न ल्याइएको रोकावटका कारण कामधेनु गाईमा परिणत गरियो ।

२०७१ सालको चैतमा धरानमा भएको विस्तारित भेलामा पार्टी÷सङ्गठनमा देखिने अन्तरसङ्घर्षलाई निषेध गर्ने उद्देश्यका साथ वस्तुको अधिभूतवादी व्याख्या गरियो— भौतिक वस्तुमा लागू हुने पदार्थको एकको दुईमा विभाजनको नियम सजीव वस्तु वा पार्टी/सङ्गठनमा लागू नहुने । यो द्वन्द्वात्मक भौतिकवादी दर्शनमा आएको औपचारिक विचलन थियो । अझ आठौँ महाधिवेशनमा निकालिएको ‘विपरीतको एकत्व अनिवार्य हो तर दुई लाइनको सङ्घर्ष होइन अर्थात् दुई लाइन सङ्घर्ष र विपरीतहरूको एकत्व एउटै नभएर फरकफरक हुन्’ भन्ने निष्कर्ष निकालेर भौतिकवादको खिल्ली उडाइयो । महाधिवेशनको यो निष्कर्षले पार्टीभित्र निषेधात्मक अधिभूतवादको अभ्यास भयो । यसले अन्तरसङ्घर्षको पहिचान र अभ्यासलाई रोकिदियो जसको परिणाम १२ औँ केन्द्रीय समितिको बैठक हो । एकैचोटि केन्द्रीय समितिको ठूलो सङ्ख्याले महासचिवको प्रतिवेदनलाई अस्वीकार गर्यो । एकाएकजस्तो नयाँ पार्टी पुनर्गठन गर्ने अवस्था सिर्जना भयो ।

ठीक यसैगरी महाधिवेशनको दर्शनको विषयको पहिलो बुँदामा ‘…….तसर्थ हामीले बदल्नेसँगै रक्षा र विकास गर्ने दर्शन निर्माण गर्नुपर्छ ।’ यस सन्दर्भमा माक्र्सले भनेका ‘दार्शनिकहरूले दुनियाँको व्याख्या मात्र गरेका छन्, मुख्य कुरा बदल्नु हो’ भन्ने कुरालाई बिनातथ्य बेठीक भनिएको छ र आफूहरूलाई माक्र्सभन्दा ठूला दार्शनिक भनाउन खोजिएको छ । अझ रमाइलो कुरा त हकिङले भन्दै–नभनेको र गर्दै–नगरेको ‘एकीकृत सिद्धान्त’ पत्ता लगाएको भनेर अद्र्धविद्या भयङ्करम् भन्ने नेपाली उखानलाई चरितार्थ गरिएको छ ।

अब कुरा उठ्न सक्छ दृष्टिकोणमा आएको यति ठूलो विचलनको किन प्रतिवाद गरिएन ? यसका बारेमा मैले रातो खबरमै ‘द्वन्द्वात्मक भौतिकवादविरुद्ध द्वन्द्वात्मक भौतिकवादीहरू’, ‘दर्शनमा लेनिनको योगदान, भौतिकवादमा स्टेफेन हकिङको योगदान’ लेखेर पार्टीको दर्शनसम्बन्धी गलत आधिकारिक दृष्टिकोणका बारेमा नियमित लेख्दा पनि महासचिवले कहिल्यै प्रश्न उठाएनन् । प्रतिवाद गरेनन् । यति मात्र होइन, २०७४ सालको सिन्धुलीको बैठकमा पार्टीलाई गोलचक्करवादमा फसाइयो भन्दा विप्लवले कुनै प्रतिक्रिया जनाएनन् । त्यसैगरी २०७५ साउनको केन्द्रीय समितिको बैठकमा स्थायी समितिको काम छैन । मलाई यो पार्टीमा बस्न मन छैन । तर अहिले योभन्दा क्रान्तिकारी पार्टी छैन भनेँ । २०७६ सालको आठौँ पूर्ण बैठकमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा पार्टीका नेताहरूले केही गर्न नसकेको भन्दा प्रकाण्ड गुणराजले निराशाजनक कुरा गरेको भनेर पन्छिएका थिए । तर विप्लवले कुनै प्रतिक्रिया दिएनन् ।

त्यसैगरी शिवगढीमा भएको दसौँ पूर्ण बैठकमा त केन्द्रीय समितिमा मलगायत इनेगिनेका केन्द्रीय सदस्यहरूले स्पष्ट रूपमा नै फरक मत राखेका थियौँ । त्यसमा अनिल शर्मा ‘विरही’ पनि थिए । सायद त्यससँगै विप्लव झस्किएका थिए । बन्दीपुरको ११ औँ केन्द्रीय समितिको बैठकमा मैले पिटर हिक्सको सिङ्गुलारिटीको उत्पत्ति, लेनिनले प्रकाशको प्रकृतिका बारेमा गरेको व्याख्या सच्याउनुपर्ने कुरा र दर्शनमा गर्नुपर्ने कामका बारेमा स्पष्ट कुरा राखेको थिएँ । त्यसको प्रत्युत्तरमा विप्लवले गुणराजले सहयोग गर्नुपर्छ भनेर टारेका थिए । उक्त बैठकमा अनिल शर्माले जनमतसङ्ग्रह जस्तो फन्टुस् कुरामा बहस गर्नुको कुनै तुक छैन भनेका थिए । अहिले उनी संसदीय व्यवस्थाका सबै तहका चुनावमा भाग लिनुपर्छ भन्दैछन् । कमरेड रूपेशले यो कार्यनीति मलाई स्वीकार्य छैन भन्नुभएको थियो । यसरी विप्लव—प्रकाण्डले दर्शनमा माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओको आविष्कारलाई लत्याएका छन्, नयाँ विकास गर्ने नाममा ।

आठौँ महाधिवेशनको दस्ताबेजमा भएका पार्टीको नामबाट माओवादी हटाउने, उत्तरसाम्राज्यवाद, नयाँ जनवादी क्रान्तिका बारेमा बहस भएको थियो ।

लेखकः गुणराज लोहनी

अर्थतन्त्र

साङ्घाई टेक्स्ट बुकको पेज २२२ मा ‘समाजवादी उत्पादन सम्बन्धको उदयका लागि सर्वहारा क्रान्ति र सर्वहारा अधिनायकत्व पूर्वसर्त हुन्’ लेखिएको छ । यो माओवादी अर्थशास्त्रको सपाट अवधारणा हो । माक्र्सवादले अर्थतन्त्र भनेको आधार हो, विचार, राजनीति त्यसका उपरिसंरचना हुन् भनेको छ । यो अवधारणालाई गहिरो गरी आत्मसात नगर्ने कुनै पार्टी कम्युनिस्ट हुन सक्दैन । पार्टी निर्माणदेखि क्रान्तिकाल, समाजवाद हुँदै साम्यवादको स्थापनासम्म यो भनाइ लागू हुन्छ । उत्पादन सम्बन्ध र उत्पादक शक्तिका बीचमा भएको अन्तरविरोध हल गर्न नै क्रान्ति चाहिने भएपछि उही पुरानै उत्पादन सम्बन्धमा गरिने आर्थिक उत्पादन गरेर समाजवाद ल्याउनु भनेको समाजवादलाई विकृतीकरण गर्नु हो ।

विप्लवले तुलसीपुरको राष्ट्रिय सम्मेलनमा बोलेका थिए, ‘हामीले घर बनाउनुपर्छ, उत्पादन गर्नुपर्छ । युवाहरूले अलिकति बढी पैसा खर्च गरे पनि केही हुँदैन । मनोरञ्जनका लागि रेस्टुरेन्ट जानुपर्छ ।’ यो उनको अर्थनीति बोलेको थियो । जति कमाए पनि हुन्छ, पैसा उठाउन सक्नेले जति उठाए पनि हुन्छ । केन्द्रलाई दिने, आफूले पनि लुँड्याउने हिसाबकिताब नबुझाउने, दलाल संसदीय व्यवस्थाभित्र नै समाजवादी उत्पादन गर्ने नाममा पूर्णकालीन कार्यकर्तालाई बिनाज्याला काम लगाएर नाफा कुम्ल्याउने यी ८ वर्षमा भएको राजनीतिक अर्थतन्त्र हो ।

विप्लवको नेतृत्वमा पार्टी बनेसँगै आर्थिक विभाग बनाइयो तर त्यसका प्रमुख, सदस्यहरूलाई कहिल्यै परिवर्तन गरिएन । त्यस्ता मान्छेलाई कारबाही गरेर हटाइन्थ्यो जसले आर्थिक विभागमा भएका अपारदर्शिताको विरोध गर्दथे । आर्थिक विभागद्वारा केन्द्रीय समितिमा आयव्यय सुनाइन्थ्यो । तर एकमुष्ठ आय यति, व्यय यति भनिन्थ्यो । कहिल्यै लिखित बुझाइएन । सबैभन्दा अपारदर्शिता के रहेको छ भने आय कहाँ, कुन स्रोतबाट भयो र कुनकुन शीर्षकमा कति खर्च भयो भन्ने विवरण कहिल्यै बुझाइएन । महासचिवबाहेक कसैलाई पनि यस्ता स्रोतहरूका बारेमा नभन्ने निर्देशन गरिएको रहेछ ।

पार्टीका नाममा आर्थिक स्रोत बढाउनका लागि कारबाहीहरू गरिन्थ्यो । नीतिगत रूपमा स्पष्ट पारेर आर्थिक सङ्कलन गर्नुभन्दा पनि डर र धम्कीको सहारा लिइन्थ्यो । त्यसैले अर्थप्रणालीमा जुझारु अर्थवाद लागू गरियो ।

सबैभन्दा दुःखद् त सर्वहारा मजदुरको पार्टी भन्ने तर आर्थिक सङ्कलनका लागि यी वर्गका मागलाई लात हान्ने गरिएको छ । यसको ज्वलन्त उदाहरण २०७३ सालमा साङ्ग्रिला होटेलमा मजदुरहरूले गरेको आन्दोलन, २०७६—२०७८ सालमा अन्नपूर्ण होटेलमा भएका आन्दोलन र ती आन्दोलनलाई गरिएको तुहाउने काम हो । २०७३ सालमा साङ्ग्रिला होटेलमा अर्थविभागका प्रमुख प्रकाण्डको अनावश्यक हस्तक्षेपको विरोधमा मजदुरका तत्कालीन अध्यक्ष अमर झाँक्रीले केन्द्रीय समितिमा नै आक्रोश व्यक्त गरेका थिए । आखिरमा त्यहाँका मजदुरहरूले खाली हात जागिर छाड्नुपरेको थियो । ठीक त्यही घटना अन्नपूर्ण होटेलमा पनि भएको छ । त्यहाँका ४ सयभन्दा बढी मजदुरहरूले ६३ करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता पाउनका लागि २०७६ सालदेखि लगातार आन्दोलन गर्दै आएका थिए । सरकार र प्रतिपक्षमा रहेका ठूला पार्टीहरूले अन्नपूर्णका मजदुरका बारेमा केही नगरिदिएपछि काङ्ग्रेस, एमाले र माओवादी केन्द्रनिकट अन्नपूर्ण होटेलका मजदुरहरूले पार्टी महासचिव विप्लवका नाममा न्याय दिलाइपाऊँ भनी २०७८ साल वैशाखमा दिएको निवेदन अहिलेसम्म कार्यान्वयन भएको छैन । एक वर्षभन्दा बढी समय हुँदा पनि कुनै चासो देखाइएन । होटेलका मालिकले तिमीहरूले जुन पार्टीलाई मुद्दा दिएका थियौ, उक्त पार्टीलाई हामीले ठीक पारिसक्यौँ, तिमीहरू जागिर छाडेर जाऊ भनी धम्की दिएपछि सबै मजदुर अहिले निष्कासनमा परेका छन् ।

यस्ता घटना अनगिन्ती रहेका छन् । बाहिर मात्र होइन, भित्र पनि यस्ता अन्यायपूर्ण काम भएका छन् । विप्लवको निर्देशनमा मलाई एउटा काम गर्न जिम्मा दिइयो । उक्त काम गरेबापत मैले र अर्को साथीले ऋण खोजेर काम गर्यौँ । त्यो पैसा अहिलेसम्म मैले पाएको छैन । उक्त कुरा मैले तत्कालीन प्रवक्ता, धर्मेन्द्र र सुदर्शनलाई पनि जानकारी गराएँ । प्रवक्ताले हामी मिलाउँछौँ भन्ने तर नमिलाउने गरे । अहिले उक्त ऋण तिर्न मैले पुख्र्यौली सम्पत्ति बेचेको छु । त्यतिले नपुगेर १० लाख ऋण पनि लिएको छु ।

यो ८ वर्षका बीचमा पार्टीका नाममा भौतिक पूर्वाधार, चलअचल सम्पत्ति करोडौँमा जम्मा भएको छ । कपिलवस्तुमा पाँचतले घर बनिराखेको छ । खासमा केन्द्रीय समितिमा समाज घर बनाउने निर्णय गरिएको थियो । कार्यालय सचिव असलले केन्द्रीय समितिको बैठकमा पेस गरेबमोजिम ७७ लाखको खर्चमा महासचिवको निवास बनेको छ । त्यसैगरी ललितपुरको हरिसिद्धिमा पनि बनिराखेको छ । प्रवक्ता र सन्तोष बुढाको घर बनाउने कुरा आएको छ ।

नीतिगत रूपमा उठाउन खोजिएको कुरा के हो भने विगत ८ वर्षमा जे–जति आर्थिक गतिविधि भएका छन् ती माक्र्सवादी त छैनन् नै सामान्य पुँजीवादी पनि छैनन् । यसले समाजवाद निर्माण गर्न गरिने आन्दोलनको ढोका बन्द गरिदिन्छ । पार्टीभित्र जब्बर वर्ग निर्माण भएको छ : सक्ने र नसक्ने । सक्नेले जति उठाए पनि भयो, खर्च गरे पनि भयो । यसबाट नेताको साखुल्ले नबनेका, पहुँचमा नभएका केन्द्रीय सदस्यहरूले आफ्नो सम्पत्ति बेचेर गुजारा चलाउनुपर्ने भएको छ । ठीक त्यसैगरी विद्यार्थी र केही जवसका नेताहरू महँगो बाइकमा चढ्ने, छोराछोरीहरू महँगा बोर्डिङमा पढाउने, सुविधा सम्पन्न घरमा बस्ने गर्दछन् । महिलालगायत अधिकांश नेताहरूले अभावमा बस्नुपर्ने, अरूको मुख ताक्नुपर्ने अवस्था छ जब कि कम्युनिस्ट पार्टीमा केन्द्र बढी सर्वहाराकृत हुनुपर्छ । आदर्श, नमुनाकृत हुनु पर्दछ ।

समाजवादका समस्या

क्रान्ति सम्पन्न नभइराखेको अवस्थामा समाजवादको अभ्यास सङ्गठन र त्यसले गर्ने सङ्घर्षमा प्रतिबिम्बित हुन्छ । विचारअनुसारको राजनीति, राजनीतिले माग गर्ने सङ्गठन र त्यसले गर्ने सङ्घर्षले मात्र समाजवाद स्थापना गर्न सक्छ । अहिलेसम्म लेनिन र माओले मात्र त्यसअनुसारको सङ्गठन निर्माण गरेका थिए । त्यसैले त्यहाँ समाजवाद स्थापना हुन सकेको थियो । तर विगत ८ वर्षमा लेनिनको साङ्गठनिक सिद्धान्तलाई पूर्ण रूपले निषेध गरियो । आत्मसङ्घर्ष, अन्तरसङ्घर्ष र वर्गसङ्घर्षलाई कतै स्विकारिएन । त्यसैले सङ्गठनमा अराजकता र निरङ्कुशता देखापर्यो । कार्यदिशामा मात्र होइन, सामान्य कार्यक्रम, नेताको कार्यशैलीमा विमति राख्नेबित्तिकै पार्टी छाड भन्ने धम्की खुद तत्कालीन महासचिव विप्लवले दिने गरेका छन् । यसैकारण तेजप्रसाद अधिकारीबाट सुरु भएको पार्टी बहिर्गमन श्याम बोहरासम्म गरेर पार्टी छाड्ने १३ जना र शुद्धीकरणका नाममा कारबाही गरिएका १८ गरी ३१ जना साङ्गठनिक नीति र सिद्धान्तविपरीत केन्द्रीय समितिबाट हटेका–हटाइएका छन् । यसको मुख्य कारण अरू केही नभएर विशुद्ध फरक मत राखेको र नेताको कार्यशैलीको विरोध गरेकाले हो । मलाई पनि विप्लवले २०७६ साल साउन १६ गतेका दिन प्रतिबन्ध लागेकै बेलामा पैसाको कुरालाई लिएर पार्टी छाड्न दबाब दिएका थिए । मैले यो पार्टी तपाईंको पेवा होइन, हाम्रो रगत पसिना, त्याग र बलिदानबाट बनेको हो भनी प्रतिवाद गरेको थिएँ । त्यसैको रिसमा उनले २०७६ सालको असोज १४—१८ सम्मको केन्द्रीय समितिको बैठकमा मलाई खुला मोर्चामा जाने निर्णय गराएका थिए जसलाई मैले सहर्ष स्वीकार गरेको थिएँ । मलाई थाहा थियो, प्रतिबन्ध लागेको बेलामा केन्द्रीय सदस्य खुला मोर्चामा भाषण गर्न जानु भनेको दुस्मनको निशानामा पर्नु हो । हुन पनि त्यस्तै भयो । कात्तिक ५, माघ ६ र फागुन ३ गते गरी सरकारले मलाई ३ पटक गिरफ्तार गरेर ३ ठाउँमा घुमायो । त्यस समयमा म निकै बिरामी थिएँ । म छुटेको ८ महिनासम्म पार्टीका कसैले पनि मसँग सम्पर्क गरेनन् । म गिरफ्तार हुँदा परिवार वा मसँग कुनै सम्पर्क राखिएन । त्यस्तै बन्धु चन्द, धीरेन्द्रा उपाध्यायहरूलाई महिनौँ सम्पर्कबाट बाहिर राखियो । अझ बन्धु र धीरेन्द्रालाई त महिलाको जिम्मेवारीबाट हटाएर सविता तामाङलाई संयोजक बनाइयो । तर आफूलाई मन पर्नेलाई शङ्कास्पद रूपमा मुक्त भएका भए पनि तुरुन्तै बोलाएर भव्य स्वागत गरिएका कैयौँ तथ्यहरू रहेका छन् ।

धरान बैठकबाट पार्टी सङ्गठनभित्र आलोचना, आत्मालोचनालाई नीतिगत रूपमा नै हटाइयो । २०७८ सालको वैशाखमा बैठकमा तत्कालीन महासचिवले वितरण गरेको निर्देशनपत्रमा आलोचना नगर्ने लेखिएको छ । सङ्गठनमा कुनै र्याङ्किङ, फाइलिङ पद्धतिलाई पूर्ण रूपले निषेध गरिएको छ । यसले गर्दा सङ्गठनमा पदोन्नतिको आधार पैसा र चाप्लुसीलाई बनाइयो । त्यसैले त्याग, बलिदान, समर्पण गरेका, योग्यता, क्षमता भएकाहरू पाखा लाग्दै गएका छन् ।

सङ्गठनमा सबैभन्दा खराबी आर्थिक अपचलनले प्रश्रय पाउनुका साथै यौन अराजकहरूको संरक्षण रहेको छ । दसौँ बैठकको प्रतिवेदनमा नै विप्लवले यौन अराजकताको किटान गरेका छन् । भेषराज र कृतिले यौन अराजकताका बारेमा ठाडै भनेका थिए । सन्तोष बुढाले आठौँ केन्द्रीय समितिमा बोलेको कुरा त्यत्तिकै ढिसमिस गरियो । कुमार पौडेलको हत्याको विषयलाई लिएर अनिल शर्मा र देवनारायण साहले मान्छेको नामै किटान गरेर बोलेका थिए । तर पार्टीले त्यसको कुनै छानबिन नै गरेन ।

सङ्गठन नै सही तरिकाले निर्माण नगरेपछि त्यसले गर्ने आन्दोलन कस्तो हुन्छ, सहजै अनुमान गर्न सकिन्छ । ८ वर्षका दौरानमा भएका सङ्घर्ष कि त पैसा उठाउन, कि भने जनप्रिय कहलाउन मात्र गरिएका छन् । यसले गर्दा आन्दोलन गोलचक्करवादमा फस्यो । त्यसैले घुमिफिरी रुम्जाटार भनेझैँ आफैँले विरोध गरेको संविधान, खारेज गर्ने भनिएको संसदीय व्यवस्थाको चुनावमा १३ जनाको सहादतपछि भाग लिन पुगेका छन् । पार्टीलाई जनप्रिय भन्दै गर्दा चुनावमा शर्मनाक हार भएको छ ।

निष्कर्ष

विशेष राष्ट्रिय भेला बोलाएर विप्लवलाई कारबाही गरी नयाँ पार्टी बनाउनु, वैज्ञानिक समाजवादी कार्यक्रम, समाजवादी क्रान्तिको कार्यदिशा, स्वाधीन संयुक्त सरकारको कार्यनीति र संसदीय व्यवस्थाको अन्त्य, राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण, शान्ति, समृद्धि र स्वाधीनताको कार्यनीतिक कार्यक्रम तय गर्नुको पछाडि नेपालको समाजवादी क्रान्तिको सपाट बाटो तय गर्नु हो । यसका लागि विप्लव—प्रकाण्डसँगको घोषित–अघोषित वैचारिक, राजनीतिक, साङ्गठनिक सङ्घर्षले आधार बनाएको छ । त्यसैले हामीले पार्टीका लागि पार्टी बनाएका छैनौँ, नयाँ ढङ्गको पार्टी निर्माणको ढोका खोलिदिएका छौँ । केही साथीहरूलाई लाग्न सक्छ अहिले अलि छिटो भयो । १२ औँ पूर्ण बैठकमा विप्लवद्वारा प्रस्तुत चुनाव प्रयोग गर्ने नीतिका विरुद्ध बोल्ने साथीहरूले यस्तो तर्क गर्ने गरेका छन् । उनीहरूलाई थाहा छ– विभाजनको रेखा विप्लवले कोरेका हुन् । उनीहरूलाई यो पनि थाहा छ– विप्लवले क्रान्तिको नेतृत्व गर्दैनन् । त्यो पार्टीका अधिकांश केन्द्रीय सदस्यहरूले अपमान भोग्नुपरेको छ । गत केन्द्रीय समितिको बैठकमा जब विप्लवको प्रतिवेदन पारित हुन सकेन तब उनले यो केन्द्रीय समितिको हैसियत एसीएमबराबर पनि रहेनछ भनेर अपहेलना गरेका थिए । अर्को महत्वपूर्ण कुरा पार्टीभित्र आएको समस्या चुनावी मुद्दा मात्र होइन । वैचारिक, राजनीतिक, साङ्गठनिक र सङ्घर्षको सङ्गतिमा नै हो । यी कुरालाई स्वीकार्ने मान्छेका लागि नयाँ पार्टी पुनर्गठन गर्नु उपयुक्त समय यही थियो भन्ने लाग्छ ।

विभाजन आफैँमा राम्रो कुरा होइन । हामी माक्र्सवादी भएकाले विभाजनलाई पनि माक्र्सवादी दृष्टिकोणबाट हेर्न जरुरी छ । लेनिनले भन्नुभएको छ, ‘सिद्धान्तमा सम्झौता गर्नुभन्दा विभाजन गरेर आन्दोलनलाई सुदृढ गर्नु कैयौँ गुना बेस हुन्छ ।’ हामी अहिले विप्लव—प्रकाण्डसँग सिद्धान्तमा सम्झौता गर्न तयार भएनौँ । अहिले त्यो पार्टीको चुनावमा जुन हविगत भयो, त्यसको आंकलन केन्द्रीय समितिका सबैजसो सदस्यहरूले गरेका थिए । हामी पनि उनीहरूकै पछि लागेको भए नेपाली जनतामा वैचारिक, राजनीतिक रूपमा विकल्प रहने थिएन । अहिले छोटै समयमा भए पनि कार्यक्रम, कार्यदिशा, कार्यनीति र कार्यनीतिक कार्यक्रमलाई सङ्गतिपूर्ण बनाइएको छ ।

१७ जेठ, २०७९

Leave a Reply

Your email address will not be published.