सन्दर्भ : नेकपा (बहुमत) को पुनर्गठन

Opinion Political

माओले भन्नुभएको छ, ‘क्रान्ति सम्पन्न गर्नका निम्ति क्रान्तिकारी पार्टी हुनु अनिवार्य छ । क्रान्तिकारी पार्टीबिना, मार्क्सवादी–लेनिनवादी सिद्धान्त र विधिमा आधारित पार्टीबिना, साम्राज्यवाद र त्यसका पाल्तु कुकुरलाई पराजित गर्नका निम्ति श्रमजीवी वर्ग र व्यापक जनसमुदायलाई नेतृत्व गर्न असम्भव छ ।’ क्रान्तिकारी पार्टी निर्माण गर्न र क्रान्तिकारी कार्यभार पूरा गर्न माओको भनाइ सही छ । यद्यपि क्रान्ति र क्रान्तिकारी पार्टी निर्माणको प्रश्न कठिन, अनिवार्य र महत्वपूर्ण विषय हो । सामान्यतः शाब्दिक अर्थमा पार्टीले राजनीतिक सङ्गठनलाई बुझाए पनि यथार्थतः यो विचार, राजनीतिक कार्यदिशा, कार्यनीति, कार्ययोजना तथा सङ्गठनको समुच्चता हो । वर्गविभाजित समाजमा जुनसुकै राजनीतिक पार्टी पनि वर्गसापेक्ष हुन्छ । कुनै पनि राजनीतिक पार्टीले सबै वर्गको प्रतिनिधित्व गर्दैन । त्यसले एक मात्र वर्गको प्रतिनिधित्व गर्दछ । कम्युनिस्ट पार्टी कम्युनिस्ट–सर्वहारा वर्गको राजनीतिक अग्रदस्ता हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको वैचारिक निर्देशनमा उत्पीडित राष्ट्र र जनताका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सङ्घ–संस्था एवम् अन्तर्विरोधको पहिचान गर्ने, तिनको समाधानका निम्ति कार्यदिशा, नीति, कार्यक्रम तथा वैज्ञानिक योजनाको विकास गर्ने, मानवजातिलाई वैज्ञानिक समाजवाद हुँदै विश्व–साम्यवादसम्म पुर्याउन वर्गसङ्घर्षको नेतृत्व गर्ने, जनदिशा पक्रने, आलोचना–आत्मालोचनाबाट परिष्कृत एवम् लौह–अनुशासनमा बाँधिएको लेनिनवादी सङ्गठनात्मक सिद्धान्तमा आधारित अग्रदस्ता मात्र क्रान्तिकारी कम्युनिस्ट पार्टी बन्न सक्तछ । भर्खरै पुनर्गठित नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लाई यही भाव र गतिमा क्रान्तिकारी अग्रदस्ताका रूपमा बुझ्नुपर्दछ ।

सन् १८४२ मा प्रवासी जर्मनहरूद्वारा स्थापित न्यायिक लिग मार्क्स–एङ्गेल्सको पहलकदमीमा सन् १८४७ मा कम्युनिस्ट लिगमा रूपान्तरित भएपछि विश्वमा विधिवत् र सङ्गठित रूपमा कम्युनिस्ट आन्दोलनको प्रारम्भ भएको मानिन्छ । मार्क्स–एङ्गेल्सद्वारा स्थापित उक्त कम्युनिस्ट लिग नै विश्वमा कम्युनिस्ट पार्टीको पहिलो सङ्गठन बन्न पुग्यो । सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र प्रकाशनपछि यसको सैद्धान्तिक, कार्यक्रमिक रणनीति, कार्यनीति र सङ्घर्षका रूपरेखा अगाडि बढे जसको उत्प्रेरणाले सन् १८७१ मा पेरिस कम्युनको स्थापना भयो । सन् १९१७ मा रुसी महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भई विश्वमा पहिलो समाजवादी शिविर खडा भएपछि विश्वभर कम्युनिस्ट पार्टीहरू मात्र गठन भएनन्; समाजवादी क्रान्तिको लहर नै फैलियो । चीनमा माओको नेतृत्वमा सन् १९४९ मा क्रान्ति सम्पन्न भयो । नेपालमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो जुन आज विभिन्न चिरामा विभक्त छन् । नेपाली कम्युनिस्ट आन्दोलनको ७३ बर्से अवधिमा वर्गसङ्घर्ष र अन्तरसङ्घर्षका अनेकौँ जटिल अनुभव सँगालेको छ । अनेकौँ समूह–उपसमूहमा विभाजित नेपाली कम्युनिस्ट आन्दोलनभित्र खासगरी क्रान्तिकारी र संशोधनवादी धाराका बीचमा तीव्र अन्तरविरोध रहँदै आएको छ । समकालीन नेपाली कम्युनिस्ट आन्दोलन दक्षिणपन्थी संशोधनवाद, आधुनिक संशोधनवाद, नवसंशोधनवाद, छद्म संशोधानवाद एवम् संसदीय संशोधनवादसँग कठोर सङ्घर्ष गरिरहेको छ । विप्लवको नेतृत्वमा रहेको नेकपा संसदीय संशोधनवादमा फस्न पुगेपछि ऐतिहासिक कार्यभारसहित नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धाराको प्रतिनिधित्व पुनर्गठित नेकपा (बहुमत) ले गर्न पुगेको छ ।

नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अनेकन् भुमरीका बीचबाट अघि बढिरहेको छ । पछिल्लो चरणमा संसदीय सत्ताको स्थानीय निकायको निर्वाचनको भुमरीमा विप्लव नेतृत्वको नेकपा नराम्ररी फस्न पुग्यो । एकतातिर डरलाग्दो भुमरी र अर्कोतिर विशाल चट्टानका बीचबाट नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई अघि बढाउनुपर्ने अवस्था सिर्जना भयो । पार्टीको ठूलो पङ्क्तिले त्यसलाई बचाउने प्रयास पनि गर्यो तर सारा मेहनत खेर जाने स्थिति बनेपछि क्रान्तिकारी पङ्क्तिका सामु विचार, राजनीति र क्रान्तिको रातो झन्डालाई उठाउनुपर्ने ऐतिहासिक आवश्यकता खडा भयो । एकातिर क्रान्तिकारी पङ्क्ति सतिसाल बनेर विचारको रक्षार्थ उभियो भने अर्कोतिर विप्लवसहितको एउटा पङ्क्तिले जसरी पनि संसदीय निर्वाचनमा भाग लिइछाड्ने अड्डी लियो । क्रान्ति, पार्टी, आमजनसमुदायको परिवर्तनको आकाङ्क्षा एवम् महान् सहिदहरूका सपनाका विरुद्ध स्थानीय निर्वाचनलाई विप्लवले जीवन–मरणको सवाल बनाउनुभयो । इतिहासको यस घडीमा संसदीय निर्वाचनमा भाग लिने कुरा नितान्त प्रहसनात्मक प्रस्तुतिसिवाय अरू केही हुँदैनथ्यो, हुन पनि त्यही भयो । मार्क्सले भन्नुभएको छ, ‘इतिहास दुईपटक दोहोरिन्छ : पहिलो त्रासदीका रूपमा र दोस्रो प्रहसनका रूपमा ।’ अन्ततः मूल नेतृत्वसहितको एउटा समूह संसदीय निर्वाचनमा होमियो र लज्जाजनक पराजयको भुमरीमा फस्न पुग्यो । यो नेपाली कम्युनिस्ट आन्दोलनमा एउटा भद्दा, निर्लज्ज र कायर इतिहासका रूपमा दर्ज हुने नै भयो । स्टालिनले भन्नुभएको छ, ‘संसदीय चुनावमा भाग लिनु भनेको नजानिँदो ढङ्गले प्रतिक्रियावादी संसद्को सेवा गर्नु, जनसमुदायको क्रान्तिकारी भावनालाई कमजोर पार्नु, जनताको क्रान्तिकारी चेतनालाई धमिलो बनाउनु, कुनै पनि क्रान्तिकारी सङ्गठन निर्माण गर्न असमर्थ हुनु र सामाजिक जीवनको विकासका विरुद्ध जानु हो ।’ विश्वभर कोरोना कहर र अफगानिस्तानमा तालीबानीको सत्तापलट, पछिल्लो समयमा युक्रेन युद्ध तथा नेपालमाथि अमेरिकी रणनीतिक परियोजना ‘एमसीसी’ बलात् लादिएको अवस्थामा दलाल संसदीय निर्वाचनमा भाग लिनु सर्वथा अनैतिक र बेइमान कार्य हो । रगत–पसिनाबाट सिँचित क्रान्तिकारी पार्टीलाई दलाल संसदीय बाढीले बगाउँदै गर्दा किनारबाट टुलुटुलु हेरेर बस्नु पनि झन् जायज हुँदैनथ्यो । परिणामतः नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को पुनर्गठन अनिवार्य बन्न पुग्यो ।

नेपालमा श्रमजीवी तथा उत्पीडित जनताले लामो समयदेखि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका् पक्षमा कठोर सङ्घर्ष गर्दै आएका छन् । यद्यपि राष्ट्रियता, जनतन्त्र, जनजीविकाजस्ता आधारभूत सङ्घर्षलाई संसदीय दलाल सत्ताले पटक–पटक चुनावको नौटङ्कीमार्फत जनतामा व्यापक भ्रम उत्पन्न गर्दै आइरहेको छ । नेपालमा उहिल्यैदेखि संसदीय चुनावमा भाग लिने कि नलिने भन्ने विषयमा विभिन्न स्तरमा व्यापक बहस र विवाद हुँदै नआएको पनि होइन । यथार्थतः दलाल संसदीय चुनावमा भाग नलिने विषय जनपक्षीय, क्रान्तिकारी एवम् जनतान्त्रिक विचारसित सम्बन्धित छ । यो भौतिकवादी चेतना अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणले निर्धारण गर्ने कुरा हो । नेपालमा अहिलेसम्म उत्पीडित तथा श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने चुनाव भएकै छैन, यही अवस्थामा हुनेवाला पनि छैन । नेपालमा सङ्घर्षशील जनशक्तिको दावानल वैकल्पिक राजनीतिक विचारको अङ्ग बने पनि त्यसले मूर्तता प्राप्त गरिनसकेको कुरा सही हो । यसर्थ संसदीय व्यवस्थाको खारेजी र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना नै आजको अहम् प्रश्न हो । कुनै बेला ‘पैतालाको धुलो’ ठानिने उत्पीडित तथा श्रमजीवी जनता यतिबेला शासकका लागि आँखाको कसिङ्गर र निर्मम तारो बनिरहेका छन् । शासकहरू यस्तै–यस्तै चुनावका माध्यमबाट जनताको तारो हुनबाट आफूलाई सुरक्षित गर्न चाहन्छन् । खासमा चुनावमा सहभागी नहुने कुरा सङ्ख्याले होइन, राजनीति–विचार–चेतनाले निर्धारण गर्ने कुरा हो । एमसीसीवादी देशी–विदेशी शक्तिकेन्द्रद्वारा प्रायोजित स्थानीय चुनावले प्रजातन्त्र वा लोकतन्त्र वा गणतन्त्र वा कुनै पनि नामको सफलताको मापन गर्दै–गर्दैन । भोट खसाल्दैमा झन् देश र जनताका आधारभूत समस्या हल हुँदै–हुँदैनन् । सबैखाले भ्रमबाट मुक्त हुँदै वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनार्थ सम्पूूर्ण शक्ति र ध्यान केन्द्रित गर्नु आजको आवश्यकता हो । यो वीरता, शौर्य र साहसको कुरा पनि हो । यतिबेला स्थानीय निर्वाचनका नाममा संसदीय आँधी सिर्जना गरिँदैछ जुन संसदीय आँधी–हुरीले नेकपाका महासचिव विप्लवलाई नराम्ररी हल्लाइदियो । नेत्रलाल अभागीले एक सन्दर्भमा भनेका थिए, ‘वातावरण जब स्तब्ध भएको हुन्छ, एउटा कायरले पनि बहादुरीका ठूला–ठूला गफ हाँकेको हुन्छ । एउटा नर्कट पनि ठिङ्ग उभिन सक्छ तर जब आँधी–हुरी चलेको हुन्छ, वातावरण प्रतिकूल हुन्छ, एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।’ यतिबेला नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका सतिसालहरू विशाल सङ्ख्याका साथ नेकपा (बहुमत) किल्ला खडा गर्दै ठिङ्ग उभिएका छन् । समकालीन नेपाली राजनीतिको यस विशिष्ट परिस्थितिमा क्रान्तिकारी चौकी खडा हुनु गौरव र ऐतिहासिक कुरा हो ।

नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अर्थात् माओवादी आन्दोलनको अन्तिम चौकीका रूपमा रहेको पार्टी विप्लव नेतृत्वको नेकपा किन धर्मरायो ? मुख्य चौकीदार विप्लवले आफ्नै चौकीको रक्षा किन गर्न सक्नुभएन ? जनताको आशाको केन्द्र (चौकी) मा दिनदहाडै आगो झोसिँदै गर्दा उहाँमा किन निरो–चिन्तन हाबी भयो ? उहाँमा विचार, राजनीति र जनता अर्थात् भौतिकवादमा भन्दा आदर्शवादमा किन बढी भरोसा जाग्यो ? एउटा गति र दिशामा सगरमाथातिर हुइँकिरहेको पार्टी किन एक्कासि हिन्दमहासागरतर्फ मोडियो ? नेपालको राजनीतिक पर्दापछाडि अनेक कारण हुन सक्छन्, यद्यपि यी समकालीन नेपाली क्रान्तिकारी कम्युनिस्ट राजनीतिका अहम् प्रश्न हुन् । यसलाई अनेक कोणबाट विश्लेषण गर्न सकिन्छ र गर्नु पनि पर्दछ । सारतः यसलाई सङ्क्षिप्तमा बुझ्न नेपाल कम्युनिस्ट पार्टी (बहुमत) द्वारा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा वितरित विज्ञप्ति काफी नै छ । उक्त विज्ञप्तिमा भनिएको छ, ‘संसदीय व्यवस्थाको स्थानीय चुनाव प्रयोग गर्ने प्रस्ताव तत्कालीन महासचिव विप्लवको नाङ्गिने बिन्दु भए पनि उनको वैचारिक तथा राजनीतिक विचलनका सङ्केतहरू आठौँ महाधिवेशनदेखि नै देखिन थालेका थिए । मूलतः कणिकाहरूदेखि ब्रह्माण्डसम्म लागू हुने भौतिकवादी द्वन्द्ववादको नियम ‘विपरीतहरूको एकत्व’ लाई पार्टीभित्र लागू गर्न नचाहनु, पार्टीभित्र विकास हुने दुई लाइन सङ्घर्षलाई हटाएर अन्तरसङ्घर्ष मात्र भन्नु, पार्टीभित्र आलोचना तथा आत्मालोचनाको पद्धतिलाई हटाउनु, समाजवादीहरू संसद्मा पुगेर संसदीय व्यवस्थालाई निलेपछि वैज्ञानिक समाजवाद शान्तिपूर्ण तरिकाले ल्याउन सकिन्छ भनी दस्ताबेजीकरण गर्नु, एकीकृत जनक्रान्तिलाई मनचिन्ते झोली बनाउनु र यसको ठोस विश्लेषण नगर्नु, निजी स्वामित्व र सामूहिक स्वामित्वको आर्थिक समायोजन गर्ने समन्वयवादी नीति लिनुजस्ता सैद्धान्तिक गल्तीहरू स्पष्ट रूपमा देखिँदै आएका थिए । पार्टीभित्र निरन्तर चल्ने मात्रात्मक सङ्घर्ष संसदीय चुनाव उपयोगको नीतिमा आएर गुणात्मक विस्फोट भयो । यहाँ आइपुग्दा विप्लव प्रवृत्ति दार्शनिक रूपले सारसङ्ग्रहवाद, राजनीतिक रूपले संसदीय संशोधनवाद, सङ्गठनात्मक रूपले निषेधात्मक अधिभूतवाद तथा विसर्जनवाद, सङ्घर्षका दृष्टिले आत्मसुरक्षावाद र आर्थिक दृष्टिले जुझारु अर्थवादका रूपमा देखापर्यो । आखिर उग्र वामपन्थी अवसरवादले उग्र दक्षिणपन्थी अवसरवादमा छलाङ मार्यो । यही कारणले गर्दा हाम्रो अगाडि क्रान्तिकारी सिद्धान्तमा आधारित क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्ने चुनौती खडा भयो । हामीले यी चुनौतीको सामना गर्यौँ ।’

लेखक: खेम थपलिया

सिद्धान्तहीन लफडाबाजीको गर्तमा नेकपाका महासचिव विप्लव नराम्ररी फसेपछि २०७९, वैशाख (२१–२३) मा चितवनमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको विशेष राष्ट्रिय भेलाले नेपाली शोषित–उत्पीडित श्रमजीवी जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) घोषणा गरेको थियो । विप्लव आफैँले आफैँलाई गम्भीर घाइते बनाउने गरी उही पुरातन र जीर्ण मार्गमा टीठलाग्दो यात्रामा लम्किनु भयानक पीडादायी विषय हो । मुखौटोमा विरोधजस्तो तर सारतः बहुराष्ट्रिय कम्पनी र दलाल पुँजीपति घराना (अझ कथित राष्ट्रवादी) का साखुल्ले बन्दै एवम् क्रान्तिकारी मूल्यबाट स्खलित हुँदै गएपछि पार्टीमा नेताहरूका ससाना गुटहरूको माकुरी जालो बन्नु अस्वाभाविक थिएन । नेतृत्वमा म, म र केवल म हाबी हुन थालेपछि विगतको सिंहावलोकन र भविष्यबारे चिन्तनको मार्ग नै गम्भीर रूपमा अवरुद्ध हुन पुग्यो । पार्टीमा विचारधारात्मक पक्षको अन्त्यसँगै बुर्जुवा जीवनशैलीले जनताको आँखाबाट कट्दै जाने स्थिति बन्यो । फगत एउटा संसदीय चुनावी पार्टी बनाउने विप्लवको डरलाग्दो हुटहुटीजन्य असफल नेतृत्वको डफ्फामुनि किचिएका क्रान्तिकारी नेताहरूको सचेतन पहलकदमी र क्रान्तिको युगीन उत्तरसहितको ऊर्जाशील र ऊध्र्वशील नयाँ झिल्को हो– नेपाल कम्युनिस्ट पार्टी (बहुमत) । पार्टी जीवनमा असफलता सगरमाथाजति अग्लो तर सम्पूर्ण प्राधिकार एक व्यक्ति (विप्लव) माथि हुन थालेपछि पार्टीमा विचारधारात्मक सङ्कुचन ह्वात्तै बढ्यो । दलाल पुँजीवादी संसदीय व्यवस्थाको सेवा गर्ने कार्यनीति (रणनीति) अँगाल्दै जाने तर नितान्त वैज्ञानिक समाजवादको ओठेरटानले अन्ततः मदन भण्डारीकृत ‘जनताको बहुदलीय जनवाद’ को गुदीतर्फ नै इङ्गित गर्दैन र ! खासमा पुँजीपति वर्गसँग प्रतिस्पर्धात्मक चुनाव जितेर वैज्ञानिक समाजवादतिर जाने संसद्‌वादी कार्यदिशा हो जसले पार्टीका नेताहरूलाई जसरी पनि पार्टीको माथिल्लो पदमा पुग्ने र चुनावमा विजयी भएर शासक बन्नेतिर उत्प्रेरित गर्दछ । यस्तो विषम परिस्थितिमा निम्छरो कार्यकर्ता (उहाँहरूकै भाषामा) क्रान्तिकारी विचार र दिशा खोज्न थाल्नु सर्वथा जायज हुन्छ । त्यही अनिवार्य खोजको परिणाम हो– नेकपा (बहुमत) ।

माओले भन्नुभएको छ, ‘पार्टीभित्र विभिन्न किसिमका विचारहरूका बीच विरोध र सङ्घर्ष निरन्तर चलिरहन्छ । यो समाजमा भएका वर्ग–अन्तरविरोध र नयाँ तथा पुरानाका बीचको अन्तरविरोधको पार्टीभित्र पर्ने प्रतिबिम्ब हो । पार्टीभित्र अन्तरविरोध रहेनन् भने र तिनलाई समाधान गर्न विचारधारात्मक सङ्घर्ष भएनन् भने पार्टीको जीवनको अन्त्य हुनेछ ।’ पार्टी–जीवनमा माओको उक्त उक्तिको विशेष महत्व रहेको छ । विश्वमा पुँजीवादी सैन्य–केन्द्रीकरणका विरुद्ध कम्युनिस्ट आन्दोलनले वैचारिक केन्द्रीकरणलाई हतियार बनाउँदै आएको सन्दर्भमा साम्राज्यवादीहरूले पछिल्लो चरणमा भूमण्डलीकृत र नवऔपनिवेशीकृत हतियार उजिल्याइरहेको यथार्थलाई विशेष ध्यान दिन आवश्यक छ । अझ प्रकाशयुद्ध अर्थात् उच्च–प्रविधिजन्य युद्धले विश्वमा क्रान्तिकारी संवेदनशीलता बढाइदिएकै छ । अबको क्रान्ति कुनै एक व्यक्तिमा वैचारिक, सैद्धान्तिक, सामथ्र्यगत एवम् भौतिकी केन्द्रीकरणले मात्र असम्भव छ । नेतृत्वको देवत्वकरण गर्ने, नेतालाई सर्वज्ञाता र सर्वश्रेष्ठ ठान्ने प्रवृत्तिले कम्युनिस्ट आन्दोलन ‘भक्तहरू’ जन्माउने कारखानामा परिणत हुँदैछ जहाँ आलोचनात्मक चेतनाको हलालसिवाय अरू केही हुँदैन । समकालीन नेपाली समाजसित अनेकौँ प्रश्न छन्, जनता प्रश्न उठाउन चाहन्छन् तर राजनीतिक नेतृत्व प्रश्नबाट भागिरहेछ । मार्क्स, लेनिन, स्टालिन, माओमाथि पनि त प्रश्न थिए । उहाँहरूले क्रान्तिमार्फत तमाम प्रश्नको उत्तर दिनुभयो । हामीले समकालीन दुनियाँमा सबैका सामु सबैका प्रश्न छन् भन्ने कुरा बुझ्नुपर्दछ । जसले समकालीन प्रश्नहरूको उत्तर दिने साहस गर्दछ, सामथ्र्य राख्दछ, उसैले अबको समयको नेतृत्व गर्दछ । विप्लवहरूले बुझ्नुपर्दछ– आज गुटकेन्द्रित दस्ताबेजमा ताली ठोक्ने जमाना छैन । चिम्म आँखा चिम्लेर र कानमा ठेडी कोचेर ताली ठोक्दा–ठोक्दै पार्टी, क्रान्ति र विचार चिहानमा पुगेको पत्तै हुन्न । नक्कलीहरूसितको सङ्घर्ष निकै पेचिलो हुन्छ । नेपाली क्रान्तिकारी कम्युनिस्ट राजनीति पनि नक्कली कम्युनिस्टहरूविरुद्ध कठोर सङ्घर्ष गरिरहेको छ । एङ्गेल्सले भन्नुभएको छ, ‘सर्वहाराको विकास जहाँकहीँ पनि आन्तरिक सङ्घर्षको बीचबाटै नै अगाडि बढ्छ जस्तो कि माक्र्स र म आफैँले पनि अरू कसैसँगभन्दा बढी नक्कली समाजवादीहरूविरुद्ध जीवनमा कठिन लडाइँ लडेका थियौँ ।’ आज विप्लवहरू नक्कली कम्युनिस्टमा दरिनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नक्कलीहरूसितको कठोर सङ्घर्षका बीचबाट पुनर्गठित क्रान्तिकारी पार्टी बन्न पुगेको छ ।

लेनिनले भन्नुभएको छ, ‘तपाईंले राजनीतिमा हस्तक्षेप गर्नुहुन्न भने अन्ततः राजनीतिले नै तपाईंको जीवनमा हस्तक्षेप गर्नेछ ।’ राजनीतिमा लेनिनको यो रणनीतिक भनाइ निकै मननीय छ । पार्टीलाई सधैँ क्रान्तिकारी बनाइराख्नका लागि पार्टीभित्रका क्रान्तिकारीहरूले भीषण वर्गसङ्घर्ष र अन्तरसङ्घर्ष वा दुई लाइन सङ्घर्षलाई पद्धतिसङ्गत ढङ्गले निरन्तर रूपमा सञ्चालन गरिरहनुपर्दछ । पार्टीलाई क्रान्तिकारी बनाइराख्ने र पार्टीभित्र घुसेका अवसरवादी, दक्षिणपन्थी संशोधनवादी तथा संसदीय संशोधनवादीहरूलाई परास्त गर्ने एक मात्र हतियार दुई लाइन सङ्घर्ष, अन्तरसङ्घर्ष र वर्गसङ्घर्ष नै हो । साथै आदतको सत्ता भत्काउन सांस्कृतिक क्रान्ति अनिवार्य छ । मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओहरूले गर्नुभएको विचारधारात्मक सङ्घर्ष हाम्रा लागि महत्वपूर्ण शिक्षा हुन् । विचारधारात्मक सङ्घर्षमा सैद्धान्तिक, वैचारिक र राजनीतिक सवाललाई केन्द्रबिन्दुमा राख्नुपर्दछ । बुर्किना फासोका माक्र्सवादी विचारक एवम् राजनीतिज्ञ थोमस सङ्कराले गम्भीर कुरा उठाएका छन्, ‘हामी क्रान्तिकारीहरूलाई व्याख्या गर्न थाक्ने अधिकार छैन । हामीले व्याख्या गर्न कहिल्यै छाड्नु हुँदैन । हामीलाई थाहा छ जब मानिसले बुझ्छन् तब हाम्रो बाटोमा हिँड्छन् ।’

३ जेठ, २०७९

Leave a Reply

Your email address will not be published. Required fields are marked *