नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव विप्लव र प्रकाण्डलाई कारबाही गरेर पुनर्गठित नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठक काभ्रेको बनेपामा सोमबार सम्पन्न भएको छ ।
महाधिवेशन आयोजक समितिका संयोजक कञ्चनको अध्यक्षतामा बसेको उक्त बैठकले विचारधारात्मक तथा साङ्गठनिक निर्णय गर्नुका साथै अभियानात्मक रूपमा देशव्यापी सङ्गठन विस्तार, भेला र प्रशिक्षणहरू गर्ने निर्णय गरेको छ ।
केन्द्रीय समितिको बैठकपछि नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले मङ्गलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले गरेका निर्णयहरू सार्वजनिक गरेका छन् । प्रवक्ता सुदर्शनको विज्ञप्तिमा उल्लेख भएअनुसार नेकपा (बहुमत) ले अब देशव्यापी रूपमा विचारधारात्मक तथा राजनीतिक कार्यअन्तर्गत मालेमावादी नियमित स्कुलिङ सञ्चालन गर्नेछ भने न्यूनतम् कार्यक्रम तथा राजनीतिक कार्यदिशा जनवादी क्रान्तिको कार्यभारसहितको वैज्ञानिक समाजवाद, कार्यनीति स्वाधीन संयुक्त सरकार, कार्यनीतिक कार्यक्रम संसदीय व्यवस्थाको अन्त्य, राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण, शान्ति, समृद्धि र स्वाधीनतालगायत विषयमा समग्र पार्टीपङ्क्ति तथा जनपङ्क्तिलाई स्पष्ट पार्न ब्युरोस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
तत्कालीन पार्टी नेकपाले अङ्गीकार गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा पदावलीमा गलत नभए पनि विप्लव–प्रकाण्डहरूले व्यावहारिक रूपमा सारसङ्ग्रहवादी बनाएको निष्कर्ष निकाल्दै नेकपा (बहुमत) ले अब आफ्नो पार्टीको क्रान्तिको कार्यदिशा ‘ न्यूनतम् कार्यक्रम तथा राजनीतिक कार्यदिशा जनवादी क्रान्तिको कार्यभारसहितको वैज्ञानिक समाजवाद, कार्यनीति स्वाधीन संयुक्त सरकार, कार्यनीतिक कार्यक्रम संसदीय व्यवस्थाको अन्त्य, राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता’ बनाएको छ ।
यस्तै पार्टीका विचारहरूलाई आमसञ्चार माध्यमहरूबाट प्रसारण गर्ने निर्णय गरिएको प्रवक्ता सुदर्शनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै नेकपा (बहुमत) क्रान्तिकारी कम्युनिस्टहरूको बृहत् कार्यगत एकता, संयुक्त मोर्चा र पार्टी एकताका लागि तीव्र पहल गर्ने निर्णय गरेको छ । सुदर्शनको विज्ञप्तिमा भनिएको छ, ‘सङ्गठनात्मक दृष्टिकोणले केन्द्रीय समितिदेखि प्रारम्भिक तहसम्म व्यापक रूपमा पार्टी, जवस, राष्ट्रिय तथा क्षेत्रीय मोर्चाहरू, पेसागत तथा व्यावसायिक सङ्गठनहरू र सहिद, बेपत्ता, घाइते योद्धा सङ्घ इत्यादिको गठन, पुनर्गठन, शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण गर्ने, बृहत् क्रान्तिकारी कम्युनिस्टहरूको कार्यगत एकता, संयुक्त मोर्चा र पार्टी एकताका लागि तीव्र पहल गर्ने निर्णय गरिएको छ ।’
बैठकले २०७७ साल फागुन २१ गते विघटित नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न एक वार्ता तथा संवाद समिति गठन गरेको छ । उक्त संवाद तथा वार्ता समितिमा हेमन्तप्रकाश ओली ‘सुदर्शन’ संयोजक रहेका छन् भने तत्कालीन वार्ता टोलीका सदस्य उदयबहादुर चलाउने ‘दीपक’, गुणराज लोहनी र देवकला अधिकारी रहेका छन् ।
नेकपा (बहुमत) को केन्द्रीय समिति बैठकले पार्टीका केन्द्रीय सदस्य सुदर्शनलाई पार्टी प्रवक्ता चयन गरेको छ । यस्तै राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी मुद्दाहरूलाई लिएर जनसङ्घर्षका कार्यक्रमहरू अघि बढाउने र पार्टीको नवौँ महाधिवेशन आउँदो फागुन १ गते महान् जनयुद्ध दिवसका अवसरमा उद्घाटन गर्ने निर्णय नेकपा (बहुमत) को बैठकले गरेको छ ।
नेकपा (बहुमत) को बैठकले झूट्टा मुद्दामा फसाइएका सम्पूर्ण राजबन्दीहरूको रिहाइ, सम्पूर्ण नेता तथा कार्यकर्ताहरू र सर्वसाधारण जनतामाथि लगाइएका झूट्टा मुद्दा खारेज गर्न सरकारसँग जोडदार माग गर्ने निर्णय गरेको छ ।
प्रेस विज्ञप्तिः