काठमाडाै। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघमा शिलान्यास गरेका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य २०७९ मा आएर मात्र सम्पन्न भएको छ। विमानस्थलको सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ। सोमबार बिहान नै जजिरा एयरको विमान उक्त विमानस्थलमा अवतरण गर्नेछ।
२०२३फागुन१७ गते तत्कालीन युवराज वीरेन्द्र शाहबाट उद्घाटन भएको भैरहवा विमानघाट ५६ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा परिणत भएको छ। तत्कालीन सरकार र भारतीय सहयोग मिसनद्वारा संयुक्त रूपमा भारतीय सहायता कार्यक्रमअन्तर्गत निर्माण भएको थियाे ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा विमानस्थल निर्माण कार्य चिनिया कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले गरेकाे हाे। कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा उक्त ठेक्का लिएको थियो।
आइसिपी–१ र आइसिपी–२ गरि विमानस्थल दुई चरणमा बनेको छ।
आइसिपी–१ अन्तर्गत धावनमार्ग, ट्याक्सी–वे, टर्मिनललगायतका संरचना निर्माण भएका छन्।
आइसिपी–२ अन्तर्गत हवाइजहाज, पाइलट र विमानस्थल बिचको समन्वयको लागी प्रविधिक काम भएको छ।
गौतमबुद्ध अन्तर्राष्टि विमानस्थल उद्घाटन हुने भएसँगै पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्। भारतीय सीमासँग जोडिएको नगर भएकाले विमानस्थल खुलेसँगै नेपाल–भारत सीमानाका पनि २४सै घन्टा खोल्ने वातावरण बनाउनुपर्ने होटेल व्यवसायीले बताए। गौतम बुद्ध विमानस्थलबाट धार्मिक पर्यटनका लागि लुम्बिनी, मुक्तिनाथ, स्वर्गद्वारी , रेसुंगालगायतका धार्मिक स्थानसम्म जान सकिने भएकाले पनि यो उपयुक्त विमानस्थल बन्ने व्यवसायीहरूको अनुमान छ।