हाम्रो कार्यदिशा वैज्ञानिक समाजवाद नै हाे।

Opinion

हामी तत्कालीन महासचिव विप्लवको नेतृत्वमा एउटा क्रान्तिकारी पार्टी निर्माण गरेर दस वर्षको जनयुद्धपछि पूरा हुन नसकेको नेपाली क्रान्तिको आगामी कार्यभार पूरा गर्ने प्रक्रियामा अघि बढेका थियौँ । पार्टीको जीवनमा खासगरी पछिल्लो चरणमा ठूलो अन्तरविरोध देखापरेपछि अथवा चुनावमा जाने र संसद्वादमा पतन हुने समस्या हाम्रो पार्टीमा पनि देखापर्यो । सैद्धान्तिक रूपले चुनावमा भाग लिने कि नलिने भन्ने विषय संसारभरिका कम्युनिस्टहरूले उठाउँदै आएका छन् । लेनिनले १९०६ तिर डुमामा भाग लिएको कुरालाई आधार बनाएर संसारभरिका कम्युनिस्टहरूले चुनावलाई कार्यनीतिको विषय बनाउने गरेको पाइन्छ । हाम्रो पछिल्लो बहसमा पनि चुनावमा जाने विषय कार्यनीतिक प्रश्न मात्र भएको कुरा विप्लवजीहरूले भन्नुभयो । हामीले भन्यौँ चुनावको प्रश्न रणनीतिक प्रश्न भएकाले चुनावमा भाग लिने कुराले पार्टीलाई विसर्जन गर्दछ र पार्टीलाई संसदीय घेरामा लैजान्छ । त्यसबाट व्यवस्थालाई बदलेर समाजवादमा जाने नैतिक अधिकार सकिन्छ । यो व्यवस्थाभित्र पसेर यो व्यवस्थालाई बलियो त बनाउन सकिन्छ तर परिवर्तन गर्न सकिँदैन । यो बहस हाम्रो कार्यदिशामा थियो । यो बहस दुई लाइन सङ्घर्षमा विभाजन भयो । बहस भयो । हाम्रो कार्यदिशा वैज्ञानिक समाजवाद नै थियो । कार्यदिशा एकीकृत जनक्रान्ति भनिएको थियो । तर राजनीतिक रूपले विप्लवमा संसद्‌वाद, अत्यन्त सङ्कीर्ण प्रकारको रोमान्टिसिज्म, पेटी बुर्जुवा प्रवृत्ति देखापर्यो । उग्रवामपन्थी खोलभित्र दक्षिणपन्थी अवसरवाद देखापर्यो । विप्लवमा जुन खालको विचलन देखियो । पछिल्लो समयमा हामीले छलफल र बहस गर्यौँ । केन्द्रीय समितिमा बहस गर्यौँ । हामीले उनीसँग बसेर छलफल गर्नु भनेको समय खेर फाल्नु हो भन्ने ठान्यौँ ।

पार्टी केन्द्रीय समितिको बाह्रौँ बैठकमा विप्लवले पेस गरेको प्रस्ताव चुनावको उपयोग गर्ने भन्ने थियो तर हामीले चुनाव बहिष्कार र उपयोग दुवै गलत हुन्छ भनेका थियौँ । चुनावमा गएपछि हामी संसदीय व्यवस्थालाई बलियो बनाउन त सक्छौँ तर परिवर्तन गर्न सक्दैनौँ भनेका थियाैँ । उनले ठूलाठूला सङ्घर्षका कुरा गरे तर सङ्घर्षलाई कहाँ लैजाने भनेर प्रस्ट पारेनन् । सङ्घर्षले त जनताको जीवन परिवर्तन गर्न मद्दत गर्नुपर्दछ तर उनले सङ्घर्ष कस्तो हुने, त्यसपछिको कार्यक्रम कस्तो हुने भन्नेबारेमा सोचेका रहेनछन् । त्यो भनेको वितण्डतावाद हो । उनीहरू चुनावपछि फेरि फर्किएलान् तर उनीहरू संसद्वादी भैसकेका छन् ।

केन्द्रीय समितिमा अधिकतम साथीहरूले बहस गर्नुभयो । त्यसपछि चुनावको उपयोग गर्ने विप्लवको प्रस्ताव खारेज भयो । चुनावमा भाग लिनु र खारेज गर्नु एक सिक्काका दुई पाटाजस्तै थिए । तुलनात्मक हिसाबले बहिष्कार गर्नु नै सही हुन्छ भन्ने थियो तर हामीले बीचको बाटो अपनाएका थियौँ । चुनावमा जानु र बहिष्कारमा जानु दुवै गलत हुन्छ भन्ने निष्कर्षसहित हामीले चुनावमा पार्टी नजाने, निर्वाचन आयोगमा दल दर्ता नगर्ने तर खासखास ठाउँमा स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्न सकिने, देशभक्तहरूलाई सहयोग गर्न सकिने निर्णय गरेका थियौँ । चैत १८ गते चितवनको एक प्रशिक्षणमा विप्लवले नै पार्टी निर्णयविपरीत अभिव्यक्ति दिए र निर्णयको उल्लङ्घन गरे । मेरो निर्णय त ६ हजार ठाउँमै उम्मेदवार उठाउने र चुनावमा जाने योजना थियो तर केन्द्रीय समितिले मानेन भने । पार्टी निर्णयविरुद्ध केन्द्रीय समिति सदस्यहरूलाई उम्मेदवार बनाए । तत्कालीन प्रवक्ता स्वयम् निर्वाचन आयोगमा गएर पार्टी दर्ताप्रक्रियाको सुरुआत गरे । कहाँसम्म भने हामी जाँदैनाँै भन्दाभन्दै पनि केन्द्रीय सदस्यहरूलाई उम्मेदवार बनाउनतिर लागे ।

पार्टीभित्र छलफल र बहस गर्ने वातावरण नै समाप्त भएपछि हामीले राष्ट्रिय भेला गर्यौँ । क्रान्तिकारी धारालाई बचाउनका लागि हामी राष्ट्रिय भेला गर्नुपर्ने अवस्थामा आइपुग्यौँ । हामीले विचारको बहस चलाउँदा हामीमाथि जुन आरोपहरू लगाइएको छ, ती कुनै पनि कुरा हामीसँग सम्बन्धित छैनन् । उनीहरुले यो विषयतिर धेरै जाने र हामीलाई आरोप लगाउने कोसिस गरिरहे भने नेपाली उखान ‘गोबरमा हान्दा खप्परमा छिटा’ भनेजस्तै हुनेछ ।

हामीले शान्ति, समृद्धि, वैज्ञानिक समाजवाद, स्वाधीन संयुक्त सरकार, राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण, समृद्धि र स्वाधीनताको कार्यक्रम बनाएका छौँ । यो कार्यक्रम हामी देशभरि लिएर जानेछौँ । यसको थप व्याख्या हामी लेखहरू र विभिन्न कार्यक्रमहरूमार्फत गर्नेछौँ । हामीले राजनीतिक स्थिरता किन भनेका हौँ भने जहिलेसम्म संसदीय व्यवस्था रहन्छ, त्यतिबेलासम्म देशमा राजनीतिक स्थिरता रहँदैन किनकि संसदीय व्यवस्थाको आन्तरिक चरित्र भनेको अस्थिरता हो । त्यसकारण हामीले समाजवादी व्यवस्थाको न्यायपालिका, कार्यपालिका सबै निर्वाचित हुनुपर्छ भनेका छौँ । देशमा राजनीतिक स्थिरता भएको खण्डमा सबै प्रकारका चोरी, डकैती, भ्रष्टाचार, अन्याय–अत्याचारको अन्त्य हुन्छ । न्यायपालिका सस्तो र सुलभ बन्छ । निर्वाचित न्यायपालिकामा पैसाको चलखेल हुनेछैन । अर्को कुरा नेपालमा जन्मने हरेक नागरिक देशको ऋण बोक्न बाध्य छ । तर हरेक नागरिक जन्मनेबित्तिकै जमिनको मालिक बन्नुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ।

अर्को कुरा एमसीसी देशबाट खारेज गर्नुपर्दछ भन्ने हाम्रो कार्यक्रम रहेको छ । नेपालको रूपान्तरण गर्ने क्रान्तिकारी अग्रदस्ता निर्माण गर्ने हाम्रो उद्देश्य रहेको छ । तत्कालीन रूपमा हामी एमसीसीविरुद्धको आन्दोलन र सामाजिक रूपान्तरणको आन्दोलन अघि बढाउनेछौँ । क्रान्ति गर्नु भनेको कुनै युद्ध होइन, परिवर्तन हो । हामीले हाम्रो कार्यक्रममा तत्कालिक विषयहरू समावेश गरेका छाैँ । क्रान्तिकारीहरूको एकताको शृङ्खला सुरु गर्ने अभियानमा पनि लाग्नेछौँ । क्रान्तिकारी बृहत् एकतामार्फत क्रान्तिकारी आन्दोलन अघि बढाउनेछौँ । तीनबुँदे सहमति लागू गर्नका लागि हामी वार्तामार्फत सरकारसँग छलफल अघि बढाउनेछाैँ किनकि वार्ता टोलीकै सदस्य हामीसँग भएको अवस्थामा बन्दीहरूको रिहाइ र तीनबुँदे सहमति लागू गर्नका लागि हामी सरकारसँगको संवाद अघि बढाउनेछौँ र यसको अपनत्व पनि हामी लिनेछौँ ।

(नेकपा (बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले वैशाख २६ गते सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा आयोजित पत्रकार सम्मेलनमा व्यक्त गरेको विचारमा आधारित ।)

Leave a Reply

Your email address will not be published.