
तत्कालीन नेकपा निकट प्रवासी नेपाली जनसमाज भारत, कर्नाटक राज्य संयोजन समितिले विप्लव समूहबाट विद्रोह गर्दै उक्त समूहलाई कारबाही गरी पुनर्गठित नेकपा (बहुमत) मा आबद्ध भएको घोषणा गरेको छ । समितिका संयोजक तेज तिरुवा र सचिव लक्ष्मण बुढाले विज्ञप्ति जारी गरी विप्लव नेतृत्वको नेकपाबाट क्रान्तिको सम्भावना नभएको निष्कर्ष निकाल्दै प्रवासी नेपाली जनसमाज भारत कर्नाटका राज्य संयोजन समितिको भेलाले आजैको मितिबाट नेकपाप्रति कुनै सहयोग, समर्थन नरहेको र धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नवगठित नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लाई सहयोग र समर्थन गर्ने निर्णय एकमतले गरेको उल्लेख छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रवासी नेपाली जनसमाज भारत कर्नाटका राज्य संयोजन समितिले विगत लामो समयदेखि निरन्तर क्रान्तिका पक्षमा नेकपालाई सहयोग समर्थन गर्दै प्रवास भारतमा रहेका श्रमजीवी नेपाली दाजुभाइ–दिदीबहिनीहरूको हकअधिकारका लागि लड्दै अन्यायमा परेका श्रमिक वर्गलाई न्याय तथा क्षतिपूर्ति दिलाउँदै आइरहेको छ र असङ्गठित रूपमा छरिएका श्रमिक वर्गलाई सङ्गठित गरेर गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य निःशुल्क र स्वदेशमै रोजगारी नारा सङ्गठित गर्दै आएको छ । जहिले पनि नेपालमा हुने क्रान्ति र परिवर्तनका पक्षमा सहयोग र समर्थन गर्दै आइरहेको छ र हुनेछ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पछिल्लो चरणमा नेपालमा विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशालाई सहयोग र समर्थन गर्दै ८ वर्षदेखि काम गरिरहेको थियो । तर पार्टी प्रतिबन्ध फुकुवापछि नेतृत्वमा देखिएको आत्मसुरक्षावाद, अवसरवाद, सुविधाभोगी चरित्र संसद्वादी लाइन र क्रान्तिप्रतिको उदासीनता र पार्टीको केन्द्रीय समितिको १२ औँ पूर्ण बैठकको बहुमतले गरेका निर्णय पार्टी चुनावमा नजाने, दल दर्ता नगर्ने, राष्ट्रवादी, देशभक्त, एमसीसीविरोधी स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने भन्ने निर्णयलाई पार्टी नेतृत्व र प्रवक्ताबाटै उल्लङ्घन गरेर आर्थिक प्रलोभनमा पारेर केन्द्रीय स्तरका नेताहरूलाई उम्मेदवारी दिन लगाउने र सहिद परिवारलाई नेतृत्वले भेटेर उम्मेदवारी दिन लगाउनेखालका गतिविधि गरेकाले अब क्रान्ति विप्लव नेतृत्वको नेकपाबाट सम्भावना नभएको निष्कर्ष निकाल्दै प्रवासी नेपाली जनसमाज भारत कर्नाटका राज्य संयोजन समितिको भेलाले आजैको मितिबाट नेकपाप्रति कुनै सहयोग, समर्थन नरहेको र धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नवगठित नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लाई सहयोग र समर्थन गर्ने भन्ने निर्णय एकमतका साथ पारित गरेको जानकारी गराइन्छ ।’