नेकपा (बहुमत) ले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ।

Political

नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिले दिएको जानकारीअनुसार २६ गते सोमबार १० बजे जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा आयोजना हुने पत्रकार सम्मेलनमा पार्टी संयोजक कञ्चन, नेता सुदर्शनलगायतले भेलाले गरेका निर्णयहरूका विषयमा सञ्चारमाध्यमलाई जानकारी दिनेछन् । करिब एक हजारजना सहभागीबीच आयोजना हुने उक्त पत्रकारसम्मेलनमा नेकपा (बहुमत) का नेताहरूले हाल विप्लवले नेतृत्व गरेको अल्पमत पक्ष, विशेषगरी नेत्रविक्रम चन्द र खड्गबहादुर विश्वकर्माले एकीकृत जनक्रान्तिका नाउँमा गरेका अराजनीतिक क्रियाकलाप र पार्टीलाई क्रान्तिबाट मोड्दै जुझारु संसद्‌वादमा पुर्याउन गरेका षड्यन्त्रहरूको पनि राजनीतिक भण्डाफोर गर्नेछन् ।

नेकपा (बहुमत) ले उक्त पत्रकार सम्मेलनमा सहभागी भइदिन सम्पूर्ण सञ्चारमाध्यमलाई आह्वान गरेको छ । त्यसैगरी नेकपा (बहुमत) ले पार्टीका निर्णय, पार्टीको कार्यदिशा, कार्यक्रम, योजनाका बारेमा जानकारी राख्न इच्छुक देशभक्त, क्रान्तिकारी जनसमुदायलाई पनि सहभागिताका लागि आह्वान गरेको छ ।

चितवनमा सम्पन्न विशेष राष्ट्रिय भेलाले पार्टी नाम नेकपा (बहुमत) तय गरेको थियो । नेकपाको कपिलवस्तु, शिवगढीमा सम्पन्न १२ औँ केन्द्रीय समिति बैठकले तत्कालीन महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ द्वारा प्रस्तुत चुनावपरस्त संसद्‌वादी नीति खारेज गर्ने, बहुमत सदस्यले उठाएको क्रान्तिको झन्डाको रक्षा गर्ने र संसद्‌वादी लाइन खारेज गर्ने निर्णयको सम्मान गर्दै पार्टीको नाम नेकपा (बहुमत) तय गरेको भेलाद्वारा निर्वाचित पार्टी संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले बताएका छन् ।

नेकपा (बहुमत) ले पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गर्नुका साथै महाधिवेशन सम्पन्न गर्नका लागि नेता कञ्चनको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समिति, ईश्वरीप्रसाद दाहाल (असारे काका) अध्यक्ष र चित्रबहादुर आले (पवन) सचिव रहेको ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *