साम्राज्यवाद, अवसरवाद, संशोधनवाद र कायरतावादसँग निरन्तर लडेर नै वैज्ञानिक समाजवाद स्थापना गर्न सकिन्छ : सुदर्शन
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले साम्राज्यवादसँगको प्रतिरोध, राष्ट्रियताको रक्षा र समाजवाद स्थापनाका लागि जनगणतन्त्र कोरियाबाट सबै कम्युनिस्टले सिक्नुपर्ने बताएका छन् । जनगणतन्त्र कोरियाका संस्थापक नेता किम इल सुङको एक सय दसौँ जन्मदिवसका अवसरमा नेपाल–कोरिया लेखक/पत्रकार मञ्चले आयोजना गरेको ‘साम्राज्यवाद र समाजवादी क्रान्ति’ विषयक विचारगोष्ठीमा प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै नेकपा नेता कञ्चनले साम्राज्यवादी मुलुकहरू जापान र अमेरिकालाई जुछे विचार र जनताको शक्तिको भरमा हराउने र समाजवाद स्थापना गर्ने अग्रज कम्युनिस्ट नेता किम इल सुङको जन्मदिवस मनाउनुको तात्पर्य साम्राज्यवादसँगको लडाइँ जारी रहेको र समाजवादी क्रान्ति सफल पार्न साम्राज्यवाद र सबैखाले अवसरवाद, संशोधनवादलाई परास्त गर्नुपर्छ भन्ने रहेको धारणा पनि व्यक्त गरे ।
साम्राज्यवादले कम्युनिस्ट र देशभक्तहरूको नरसंहार गरेर सिध्याउने शैली प्रत्युत्पादक र कमजोर हुँदै गएपछि त्यसलाई परिवर्तन गरी कम्युनिस्ट क्रान्तिकारीहरूलाई भ्रष्ट बनाएर जनतामाझ बदनाम गरी सिध्याउने नीति अख्तियार गरेका उदाहरणहरू प्रस्तुत गर्दै नेकपा नेता कञ्चनले पेरिस कम्युनका कम्युनार्डहरूले जीवनको भीक्षा होइन, बरु मृत्यु स्वीकार्छौं तर पराजय स्विकार्दैनौँ भनेर विश्व–कम्युनिस्ट आन्दोलनलाई बलिदानाट ऊर्जा थपेझैँ नेपालका कम्युनिस्ट क्रान्तिकारीहरूले पनि दलाल पुँजीवादसामु आत्मसमर्पण नगरी क्रान्तिमार्ग अवलम्बन गर्नुपर्ने धारणा राखे ।
कार्यक्रमका विशिष्ट अतिथि नेकपा केन्द्रीय सचिवालय सदस्य एवम् स्कुलिङ विभागका प्रमुख सुदर्शनले कम्युनिस्ट क्रान्तिकारीहरूले अन्धराष्ट्रवादी र डरपोक नभएर अन्तर्राष्ट्रियतावादी र हिम्मती हुनुपर्ने बताए । कोरियाली नेता किम इल सुङको व्यक्तित्व अन्तर्राष्ट्रिय स्तरको रहेको र उनले प्रतिपादन गरेको जुछे विचारले जापानी, अमेरिकी साम्राज्यवादलाई परास्त गर्दै कोरियालाई समाजवादसम्म पु¥याएको सन्दर्भ राख्दै नेकपा नेता सुदर्शनले साम्राज्यवाद, अवसरवाद, संशोधनवाद र कायरतावादसँग निरन्तर लडेर नै वैज्ञानिक समाजवाद स्थापना गर्न सकिने प्रस्ट पारे ।
जनगणतन्त्र कोरियासँग नेपालका क्रान्तिकारी कम्युनिस्टहरूले धेरै विषय सिक्नुपर्ने र विशेषतः उसले राष्ट्रियताको भावना, कम्युनिस्ट विचार, विज्ञानप्रविधि र भौतिक रूपमा गरेको विकास नेपाली क्रान्तिका लागि पनि उदाहरणीय बनेको नेता सुदर्शनको भनाइ थियो । कोरियाले जस्तै साम्राज्यवादलाई चुनौती दिन र आत्मनिर्भर बन्नका लागि दलाल पुँजीवाद अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने र त्यसका लागि विचार र आन्दोलनको विकास गरी कागजी बाघका विरुद्ध निरन्तर लड्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू गुणराज लोहनी, उदयबहादुर चलाउने ‘दीपक’, पूर्णबहादुर सिंह, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलिया, नेकपा दोलखाका सेक्रेटरी माधव गौतम, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका सचिवालय सदस्यहरू अग्निराज पौडेल ‘अराप’, विवेक सापकोटा, ढुण्डीराज अधिकारी, अन्तर्राष्ट्रिय विभाग सदस्य नारायण न्यौपाने, विशेष समिति सदस्य भीष्म शाही, अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घका अध्यक्ष हरि श्रेष्ठ, मञ्चका सहकोषाध्यक्ष देवीप्रसाद तिम्सिनालगायतले किम इल सुङको विचार रक्षामा जोड दिँदै कोरियाली जनतालाई शुभकामना प्रदान गरेका थिए । कविहरू अशोक सुवेदी, अग्निराज पौडेल ‘अराप’, रणबहादुर विक, ढुण्डीराज अधिकारी, नकुल चौलागाईंलगायतले क्रान्तिकारी कविता वाचन गरेका थिए ।
कार्यक्रम मञ्चका अध्यक्ष अशोक सुवेदीको अध्यक्षता र सञ्चालनमा सम्पन्न भएको थियो । सात वर्षअघि स्थापित मञ्चले वैचारिक, राजनीतिक, सांस्कृतिक, साहित्यिक र प्रकाशनका कामहरूका माध्यमबाट जनगणतन्त्र कोरिया र नेपालका क्रान्तिकारी कम्युनिस्ट बौद्धिकहरूका बीच सम्बन्ध विकास र विस्तारको काम गर्दै आएको छ ।