विचारले मात्र इतिहासमा मिति पुगिसकेको राजनीतिक तथा आर्थिक व्यवस्थालाई बिदाइ गर्न सकिन्छ: सुदर्शन

Opinion

ऐतिहासिक-जनयुद्धको-स्मृतितमा

नेपालको राजनीतिमा अस्तित्ववान् धेरैजसो राजनीतिक दलहरू सशस्त्र सङ्घर्षबाटै जन्मेर स्थापित भएका हुन् । नेपाली काङ्ग्रेसको नेतृत्वमा नेपाल–भारत सीमा क्षेत्रलाई आधार वनाएर वि.सं. २००३ देखि २००७ सम्म सशस्त्र सङ्घर्ष भएको थियो । त्यसको परिणामस्वरूप राजा, राणा र काङ्ग्रेसबीच तत्कालीन भारतीय प्रधानमन्त्री नेहरूको खटनपटनमा दिल्ली सम्झौता भयो । राणा परिवारको स्थानमा शाह परिवार कार्यकारी राजा बनाउने, स्वयम् राणाहरूका तर्फबाट मोहनशमशेरलाई प्रधानमन्त्री र काङ्ग्रेसका केही नेताहरूलाई पनि मन्त्री बनाउने कबुलनामा गरियो । सारमा नेपाली काङ्ग्रेसको नेतृत्वमा हजारौँ जनताले बलिदान गर्नुको परिणाम राणाहरूबाट शाह राजालाई मुक्त गराउनु हुन पुग्यो । राजा त्रिभुवनले संविधानसभाको चुनाव गर्ने घोषणा त गरे तर त्यो विषयवस्तुमा छलफल नै भएन । २०१५ सालको चुनावमा नेपाली काङ्ग्रेसले बहुमत ल्यायो । करिब दुई वर्षमै यो संसदीय व्यवस्था ‘देशको माटो सुहाउँदो भएन’ भनेर राजा महेन्द्रले सत्ता अपहरण गरे । उनले पञ्चायती व्यवस्थाको घोषणा गरे । राजतन्त्रात्मक संसदीय व्यवस्थाको चुनावमा भाग लिएको नेपाल कम्युनिस्ट पार्टीले पनि चार स्थानमा जितेको थियो । नेपाली काङ्ग्रेसले गुमेको संसदीय व्यवस्था पुनस्र्थापना गर्न भारत सरकार र नेपालको राजासँग पटक–पटक सम्झौता र आन्दोलन गर्ने क्रममा गिरिजाप्रसाद कोइराला र दुर्गा सुवेदीहरूले हवाईजहाजसमेत अपहरण गरेका थिए । वि.सं. २०३६ मा शिक्षक र विद्यार्थीबाट सुरु भएको जनआन्दोलन व्यापक भएपछि राजा वीरेन्द्रले जनमतसङ्ग्रहको घोषणा गरे । त्यसमा बहुदलले हा¥यो र निर्दलीय पञ्चायती व्यवस्थाले जित्यो । राजतन्त्रात्मक संसदीय व्यवस्थाका लागि वि.सं. २०४५/४६ को जनआन्दोलन पर्खनुपर्ने भयो ।

अर्कोतिर नेपाली कम्युनिस्ट आन्दोलन संसद्वाद र सुधारवादमा गोलचक्कर मार्न थालेपछि पूर्वकोसी प्रान्तीय समितिअन्तर्गत झापा जिल्लाका युवाहरूले विद्रोह गरेका थिए । उनीहरू झापापारिको नक्सलबाडी किसान विद्रोह र चीनको सांस्कृतिक क्रान्तिबाट प्रेरित थिए । उनीहरूले नेपालमा पनि क्रान्ति गर्ने सपना देखे । उनीहरूले ‘वर्गशत्रु खतम अभियान’ चलाए । एक इलाका एक एकाइ, एक दल एक कारबाही (अर्थात् वान एरिया वान युनिट, वान स्क्वायड वान एक्सन) उनीहरूको सैन्य कार्यादिशा थियो । ज्यामिरगढीबाट सुरु भयो वर्गशत्रु खतम अभियान । मारिएका थिए क्रान्तिकारीहरूद्वारा कर्णबहादुर गौतम र धर्मप्रसाद ढकालहरू, सहादत प्राप्त गरेका थिए– नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ, रामनाथ दाहाल, रत्नकुमार वान्तवा र हरि नेपालहरूले । काराबासमा कोचिएका थिए– सीपी मैनाली, मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, केपी ओलीलगायत नेताहरू । ‘एउटै झिल्कोले सारा बन डढेलो लगाउँछ’ भन्ने ठानेका युवाहरू राजा वीरेन्द्रको दमनले देशका विभिन्न कुनामा विभिन्न भेषमा भूमिगत भए । सहादत, भूमिगत जीवन, जेलनेल र परिवारको बिल्लीबाठ धेरै दिन सह्य भएन । झापा विद्रोहका नेताहरूले माक्र्सवादको भाष्यमा त्रुटि भएको देख्न थाले । जनपक्षीय उम्मेदवारका रूपमा पञ्चायती चुनाव उपयोग गर्न थाले उनीहरूले । बचेखुचेका क्रान्तिकारीहरूले यो सबै तमासा आखिर मदन भण्डारीको बहुदलीय जनवादमा देख्न थाले । हुँदाहुँदै साथीहरू मन्त्रिमण्डलमा पुगेर मिलेरापन्थी साबित भए । त्यही हो माले हुँदै आएको आजको नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) । यसरी क्रान्तिकारी इतिहासबाट संशोधनवादी दलको जन्म भयो ।

सन् १९७६ मा माओको मृत्युपछि दुनियाँमा साम्यवादी आन्दोलन ओरालो लागेको थियो । सन् १९९१ मा सोभियत समाजवादी गणतन्त्र–सङ्घको विघटनपछि त विश्वव्यापी रूपमा सन्नाटा नै छायो । अर्कोतिर १९८४ मा पेरू कम्युनिस्ट पार्टी (साइनिङपाथ) ले उज्यालो देखाइरहेको थियो । कमरेड अभिमायल गुजमान रेनोसा ‘गोन्जालो’ को नेतृत्वमा एन्डिज पर्वतमा छापामार युद्ध चलिरहेको थियो । यो छापामार युद्ध मोर्चाबद्ध युद्ध अर्थात् रणनीतिक प्रत्याक्रमणमा पुगेको बेला १२ सेप्टेम्बर १९९२ मा नै गोन्जालो गिरफ्तार भए जसबेला नेपालमा हामी जनयुद्धको तयारी गर्दै थियौँ । नजिकै छिमेकी भारतका दुई समूह पिपुल्स वार ग्रुप र माओवादी कम्युनिस्ट केन्द्रले लामो समयदेखि जनयुद्ध अघि बढाइरहेका थिए । यी सबै क्रान्तिकारी आन्दोलनले हामीलाई प्रेरित गरिरहेका थिए । क्रान्तिकारी दियो बलिरहेको र प्रतिक्रान्तिको मशाल दन्किरहेको बेला १३ फेब्रुअरी १९९६ मा हामीले नेपालमा जनयुद्धको पहलकदमी लियौँ । जनयुद्ध सुरु भएको आज २६ वर्ष पूरा भएको छ । १३ फेब्रुअरीको दिन हामीले महान् यात्रा सुरु गरेका थियौँ । रुकुमको मेलचौरमा तयारी गरी वार्खुमा अन्तिम दिनको बास बसेर राडी प्रहरी चौकी कब्जा गरेको, त्यही दिन होलेरी चौकी कब्जा असफल भएको, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी कब्जा गरेको, गोरखाको च्याङ्लीमा साना किसान बैङ्क उठाएको, जाजरकोटमा सामन्ती दीपबहादुर सिंह र काभ्रेमा दौलतबहादुर दोङमाथि कारबाही गरेको आजैजस्तो लाग्छ । यसका साथै देशव्यापी रूपमा लाखौँ पर्चा वितरण, हजारौँ भित्तेलेखनहरू पनि भएका थिए । पेरूमा सल्केको आगो निभाउन गोन्जालोलाई गिरफ्तार गरेर हाइसुक्ख भएको अमेरिकी प्रशासन अर्को कुनाबाट आगो सल्केको देखेपछि थर्कमान भयो । फागुन ६ गते जनपरिषद् नेपालका तर्फबाट पहिले बाबुराम भट्टराई र त्यसपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महामन्त्री प्रचण्डले ऐतिहासिक पहलकदमीको वक्तव्यमार्फत जिम्मा लिए । त्यसपछि दमनप्रक्रिया तीव्र भयो । फागुन १४ गते गोरखाको एउटा विद्यालयमा पढिरहेका बालक दिलबहादुर रम्तेललाई गोली ठोकेको, त्यही दिनमा नै जाजरकोटका मानबहादुर ओली र मानबहादुर रावललाई गेरेनीको भिरबाट प्रहरीले नलगाडमा फ्याँकेर मारेको, रुकुमको मेलगैरीमा छजना किसान खत्री बन्धुहरूको निर्मम हत्या गरेको, गणेशमान पुन र कविराम केसी मेलगैरी हत्याकाण्ड मच्चाउन जाने हत्यारा प्रहरीको बाटोमै पर्ने गोठभित्र रहेकोमा पनि आँखा नपर्दा बचेको र हामी (विश्वेश्वर पोखरेल, बुद्धिप्रसाद शर्मा, मलगायत) स्यालापाखाको एउटा घरमा रहेको बेला त्यसै दिन नै पाँच मिनेटपहिले सूचना पाएकाले हत्यारा प्रहरीको सिकार हुनबाट बचेको आजैजस्तो लाग्छ । यी हत्याकाण्डहरूले केही दिनका लागि जनतामा निराशा छायो तर प्रतिरोध गरेपछि तुरुन्त उत्साह आउन थाल्यो । पूर्वी रुकुमको घुम्लीबाङमा गएको आतङ्ककारी प्रहरीमाथि छापामार टोलीले भरुवा बन्दुकबाट गोली हानेपछि दुईजना प्रहरीको मृत्यु भएको थियो । त्यसपछि गाउँमा पसेर आतङ्क मच्चाउने प्रहरी गाउँमा आउँदा आतङ्कित हुन थाल्यो । २०५३ सालको पुस १ गते डोल्पा र रुकुमको सिमानामा पर्ने त्रिवेणी प्रहरी चौकीमाथिको आक्रमण असफल भयो र जनयुद्धका एकजना महत्वपूर्ण पहलकर्ता दौलतराम घर्ती (विजय घले) को सहादत भयो । तर त्यही महिनाको १९ गते रामेछापको बेथान प्रहरी चौकीमाथिको आक्रमण सफल भयो । तर जनयुद्धका एक महत्वपूर्ण पहलकर्ता तीर्थ गौतम र उहाँको साथमा फत्तबहादुर इस्माली मगर र दिलमाया बम्जनको सहादत भयो । यो कारबाहीबाट हामीले थ्री नट थ्री राइफल र गोलीगट्ठाहरू प्राप्त गरेका थियौ ।

यहाँसम्म हाम्रो छापामार इलाकाको विस्तार भइरहेको थियो । यो अवधि वास्तवमा दीर्घकालीन जनयुद्धको प्रारम्भिक चरण छापामार युद्ध भइरहेको थियो, हान र भाग यसको विधि थियो । पार्टी नेतृत्व, छापामार योद्धा र कार्यकर्ता अनि जनताका लागि कष्टकर जीवन हुने भए पनि त्यो अवस्था ऐतिहासिक रूपमा गौरवशाली थियो । व्यापक छापामार प्रतिरोध हुन थालेपछि जनता व्यापक रूपले जनयुद्धको समर्थनमा आउन थाले । रोल्पा, रुकुुम र जाजरकोटमा आधारइलाकाका भ्रूणहरू देखिन थाले । यसको अर्थ ग्रामीण इलाकाहरूबाट छोटे सामन्तहरू भाग्न थाले भने उनीहरूको सुरक्षार्थ खटिएका प्रहरी चौकी सदरमुकामतिर सर्न थाले । गाउँका सचिवहरू पनि सदरमुकामतिरै केन्द्रित भए । खाली ठाउँहरूमा जनसत्ता चल्न थाल्यो । सदरमुकामतिर श्वेतसत्ता र गाउँहरूमा लालसत्ता चल्न थाल्यो । यो वास्तवमा दोहोरो सत्ता थियो । विसं २०५५ मा पार्टीको चौथो विस्तारित बैठक सम्पन्न भयो । त्यस बैठकले यो स्थितिमा जनयुद्ध आधारइलाका निर्माणको दिशामा अघि बढ्नुपर्ने र नेतृत्व केन्द्रीकरण गर्नुपर्ने निर्णय ग¥यो । यो निर्णयमा क. लालध्वज (बाबुराम भट्टराई) को असहमति रहेको थियो । वास्तवमा यो बैठकबाट दुई लाइन सङ्घर्ष पुनः प्रारम्भ भयो । सर्वहारावर्गीय लाइनको प्रतिनिधित्व प्रचण्डले गरे भने बुर्जुवा लाइनको प्रतिनिधित्व लालध्वजले । प्रचण्ड आधारइलाकासहित नेतृत्व केन्द्रीकरणका पक्षमा थिए भने लालध्वज यसको विपक्षमा । नेतृत्व केन्द्रीकरण भनेको पार्टी, सेना र जनसत्ताको प्रमुख मूल नेतृत्व नै हुने र बाबुरामलाई क्रान्तिकारी सरकारको नेतृत्वबाट पनि हटाउने कुरा थियो । निर्णय त्यही नै भयो, यसमा लालध्वजलाई चित्त बुझ्ने कुरा भने थिएन । हुँदै जाँदा २०५७ माघको अन्तिम र फागुनको सुरुमा दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनले विचारधारात्मक रूपमा प्रचण्डपथ संश्लेषण गर्दै नेतृत्व केन्द्रीकरण गरी महामन्त्रीको पदबाट प्रचण्डलाई अध्यक्षमा बढुवा ग¥यो र प्रचण्डपथ बन्यो । प्रचण्डलाई हामीले जीएसको सट्टा सीएम भन्न थाल्यौँ । मालेमावादको विकास आवश्यक छ भन्ने कुरा क्रान्तिकारीहरूलाई महसुस भएकै थियो । आजका नयाँ अन्तरविरोधहरूको समाधानको उपाय निकाल्ने कुरा भनेको विचारको विकास गर्ने कुरा हो । जनयुद्धका योजनाहरू सफल कार्यान्वयन हुँदै गएकाले हामी विचारको विकास हुन थालेको हो कि भन्ने निष्कर्षमा पुगेका थियौँ । फेरि प्रचण्डपथलाई विचारशृङ्खलाको संश्लेषणका रूपमा लिइएको थियो । यो सम्मेलनमा एकातिर विचारशृङ्खला प्रचण्डपथ विकास भएको धूमधाम प्रचार गरियो भने अर्कोतिर गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको कार्यनीति अघि सारियो । अन्ततः यही नै पुष्पकमल–बाबुरामको रणनीति बन्यो भने प्रचण्डपथ छोडियो । सैन्य रणनीतिमा केन्द्रीय सत्ता कब्जा गर्ने बनाइयो । राजनीतिमा सुधारवाद आएपछि सैन्य नीति त्यसको दबाबमा प¥यो । त्यसपछि बाबुराम भट्टराईले ‘नेपाल’ नामक म्यागेजिनमा ‘लोकतान्त्रिक गणतन्त्रबारे‘ एउटा आलेख प्रकाशन गरे । सञ्चारजगत् हुँदै राजनीतिक जगत्मा यसको चर्चा हुन थाल्यो । यो सुधारवादी संविधानसभाको चुनावनामक कार्यनीतिमा टेकेर आएको थियो । तर लाबाङको पोलिट्ब्युरोबाट उनी अराजकतावादको आरोपमा कारबाहीमा परे । यो कारबाहीपछि बाह्य जगत्मा भारतीय र तिनका नेपाली दलाल सञ्चारमाध्यमबाट व्यापक प्रचारप्रसार के गरियो भने बाबुराम भट्टराईलाई मार्न खोजिँदैछ । वास्तविक रूपमा प्रचण्डद्वारा उनको सुरक्षा व्यवस्था राम्रो मिलाइएको थियो । यो कारबाही एउटा नाटकजस्तो थियो किनभने उनलाई भारतमा गएर बस्न र भारत सरकारसँग सम्बन्ध राम्रो बनाउन खटाइएको थियो । त्यसपछि २०६२ को असोज १८–२२ मा पार्टी केन्द्रीय समितिको चुनबाङ बैठक सम्पन्न भयो । त्यसले लोकतान्त्रिक गणतन्त्रको कार्यनीति पारित ग¥यो । त्यस बैठकको दस्ताबेजमा भनिएको छ ः

‘अहिले पार्टीले सूत्रबद्ध गरेको अन्तरिम सरकार, संविधानसभाको निर्वाचन र लोकतान्त्रिक गणतन्त्रको नारा अन्तर्राष्ट्रिय र घरेलु शक्ति सन्तुलनलाई विचार गरी अघि सारिएको अग्रगामी राजनीतिक निकासको कार्यनीतिक नारा हो । कार्यनीतिले रणनीतिको सेवा गर्ने उद्देश्यबाट स्पष्ट रहँदै पार्टीले लोकतान्त्रिक गणतन्त्रलाई न बुर्जुवा संसदीय गणतन्त्रका रूपमा लिएको छ, न त सोझै नयाँ जनवादी गणतन्त्रका रूपमा । देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक समस्यालाई समाधान गर्ने ढङ्गले राज्यसत्तामा व्यापक पुनर्संरचनासहितको यो गणतन्त्रले सङ्क्रमणकालीन बहुदलीय गणतन्त्रको भूमिका खेल्नेछ । निश्चय नै त्यसमा गणतन्त्रलाई प्रतिक्रियावादी वर्ग र तिनका पार्टीहरूले बुर्जुवा संसदीय गणतन्त्रमा बदल्न बल गर्नेछन् भने सर्वहारा वर्गको हाम्रो पार्टीले त्यसलाई नयाँ जनवादी गणतन्त्रमा बदल्न प्रयत्न गर्नेछ ।’

आज आएर पुस्टि भएको छ, ‘त्यसप्रकारको गणतन्त्रलाई प्रतिक्रियावादी वर्ग र तिनका पार्टीहरूले’ मात्र होइन, बरु स्वयम् कथित सर्वहारा वर्गको पार्टीले समेत बुर्जुवा संसदीय गणतन्त्रमा बदल्न बल ग¥यो । त्यही पुष्पकमल दाहालले नेतृत्व गरेको पार्टी नेकपा (माके) नै बुर्जुवा संसदीय सरकारको प्रमुख घटक रहेको छ । यद्यपि चुनबाङ बैठडले ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ सैन्य रणनीति पारित गरेको थियो । यसलाई रणनीतिक प्रत्याक्रमणको जारी रूप भनिएको थियो । एकातिर लोकतान्त्रिक गणतन्त्रको राजनीतिक कार्यनीति र अर्कोतिर ढाडमा टेकेर टाउकोमा हान्ने फौजी रणनीतिअनुसार पूर्वी कमान्ड पश्चिम फक्र्यो र पश्चिम कमान्ड पूर्व फक्र्यो । हामी त्यता फर्केर घमासान लडाइँ थाल्यौँ तर हाम्रो राजनीतिक कमान लोकतान्त्रिक गणतन्त्रको नारा लगाउँदै दक्षिणतिर फर्कियो । पुष्पकमल दाहाल प्रचण्डकै आवरणमा रोल्पा छँदै लालध्वज आफ्नो लालध्वज हटाएर बाबुराम भट्टराई बनी दिल्ली पुगिसकेका थिए । लोकतन्त्रदाताका मालिकसँग बसेर १२ बुँदेको रूपरेखा तयार भइसकेको थियो । प्रचण्डलाई पुष्पकमलमा बदल्न बाबुरामका गुरु एसडी मुनि लखनऊ आए र दिल्लीमा लगेर सही गराए । त्यहाँबाट फर्केपछि केन्द्रीय प्रशिक्षणका लागि पुष्पकमल दाहाल र बाबुराम भट्टराई कास्की जिल्लाको सिक्लेस पुगे । त्यहाँ गृहमन्त्री सिटौला र अर्का नेपाली काङ्ग्रेसका नेता शेखर कोइराला पुगेर सीधै ती दुईजनालाई बालुवाटार लिएर गए । राजतन्त्रात्मक संसदीय व्यवस्थाको ठाउँमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि सात दल र तात्कालीन विद्रोही नेकपा (माओवादी) बीच सहमति र सम्झौताहरू भए । जनमुक्ति सेनालाई क्यान्टोनमेन्टमा राखियो र त्यसको संरक्षक अनमिन बन्यो । शान्ति सम्झौता भइसकेपछि जनसत्ता, जनमुक्ति सेना, जनमिलिसिया, जनप्रशासन, जनअदालत र जनसुधारगृह औपचारिक रूपमा विघटन भइसकेका थिए । यसरी तेस्रो सशस्त्र विद्रोह पनि उद्देश्यमा नपुगीकनै विसर्जन भयो । बाबुराम भट्टराईले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन सफल हुन नदिने भारतीय तथा पश्चिमा साम्राज्यवादी मिसन पूरा गरे र उनी लगत्तै कम्युनिस्ट आन्दोलन छोडेर गए । भारतीय र पश्चिमा साम्राज्यवादमार्फत व्यक्त हुने घुसपैठ र तोडफोड कति खतरनाक हुन्छ भन्ने कुरा यसबाट स्पष्ट हुन्छ । यसबाट हामीले के सिक्नुपर्दछ भने कागले कान लग्यो भन्दैमा काग उडेतिर दौडने मात्र होइन, बरु आफ्नो कान छाम्नैपर्दछ अर्थात् वर्गसङ्घर्षमा मात्र होइन, अन्तरसङ्घर्ष र दुई लाइन सङ्घर्षमा पनि उत्तिकै ध्यान दिन आवश्यक छ । नेपालमा दसबर्से महान् जनयुद्धजस्तो योजनाबद्ध, अनुशासित र बलिदानीपूर्ण सशस्त्र सङ्घर्ष अरू कुनै पनि थिएन । तर यो पनि सफल हुन सकेन, किन ? यसको उत्तर खोज्न हामी त्यसका नेताहरूप्रति विश्वासघातीको आरोप लगाउँदै मालेमावादको विकास र कार्यदिशा तथा कार्यक्रम विकास गर्ने आँटका साथ अघि बढिरहेका छौँ । फेरि पनि मान्छे खान पल्केको बाघ तगारो बन्न प्रयत्नरत छ ।

जनयुद्धबाट हामीले अब के गर्ने भन्ने निष्कर्ष निकाल्नैपर्दछ । हामीले वर्तमान परिस्थितिको भौतिकवाद अर्थतन्त्रबारे विश्लेषण गर्दै मूल अन्तरविरोधहरूको समाधान खोज्नुपर्दछ । यही विचारधारा विकासको प्रक्रिया हो । विचारले जनताको दिलमा स्थान लिइसकेपछि भौतिक शक्तिमा परिणत हुन्छ । यो शक्तिलाई कसैले पनि ढाल्न सक्दैन । तर यो शक्तिले हतियारको आलोचनालाई हतियारले मात्र ढाल्न सक्दछ । विचारको विकास कार्यदिशा, कार्यक्रम, कार्यनीति र कार्ययोजनामा अभिव्यक्त हुन्छ जुन गतिमा इतिहास अघि बढिरहेको हुन्छ त्यही गतिबाट अघि बढेको विचारले मात्र इतिहासमा मिति पुगिसकेको राजनीतिक तथा आर्थिक व्यवस्थालाई बिदाइ गर्न सकिन्छ । विचारलाई भौैतिक शक्तिमा बदल्ने भनेको वैज्ञानिक विचारधाराद्वारा सुसज्जित मानिसहरूको सङ्गठन निर्माण गर्नु हो । क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी सङ्गठनद्वारा मात्र क्रान्तिकारी आन्दोलन र सङ्घर्ष अघि बढ्न सक्छ । सङ्गठन र सङ्घर्ष एकअर्कासँग द्वन्द्वात्मक रूपले जोडिएका हुन्छन् अनि एकले अर्कोलाई निर्माण गर्दछन् । विचारधारात्मक र सङ्गठनात्मक रूपले को सही हो र को गलत भन्ने कुरा क्रान्तिकारी व्यवहारको कसीले निर्धारण गर्दछ । क्रान्तिकारी सङ्गठनमा गैरक्रान्तिकारी र घुसपैठियाहरूलाई छिर्न नदिने र छिरे पनि निष्कासन गर्नसक्ने क्षमताको हामीले विकास गर्नै पर्दछ । आज झन् घुसपैठको खतरा व्यापक रूपले बढेको छ ।

एउटा साम्यवादी दल र त्यसका नेता–कार्यकर्ताहरूले साम्यवादी सिद्धान्त मालेमावादको व्यापक अध्ययन गर्नैपर्दछ । यसो भएपछि कसैले पनि गैरमालेमावादलाई मालेमावाद भनेर साम्यवादीहरूलाई झुक्याउन सक्दैन । दोस्रो कुरा, साम्यवादी नेता तथा कार्यकर्ताहरूले आफूलाई उत्पादन सङ्घर्ष र वर्गसङ्घर्षमा खार्नुपर्दछ । यसका साथै वैज्ञानिक प्रयोग र आजको विज्ञान तथा प्रविधिमा पनि दुस्मनको हमला रोक्ने अनि त्यसलाई परास्त गर्ने गरी अभ्यस्त हुनुपर्दछ । तेस्रो, साम्यवादी नेता तथा कार्यकर्ताहरूले साम्यवादी दलमा भर्ना भएका नेता तथा कार्यकर्ताहरूको सम्बन्धलाई पनि पढ्नुपर्दछ । भौतिक परिस्थतिले नै चेतनाको निर्धारण गर्ने भएकाले नेता तथा कार्यकर्ताहरूको चेतना पनि वर्गसम्बन्ध र उत्पादन सम्बन्धले निर्धारण गर्दछ । यो सम्बन्धबाट पनि घुसपैठियाको स्थिति थाहा हुन्छ । चौथो, आलोचना र आत्मालोचनाको विधिबाट पनि घुसपैठिया पत्ता लगाउन सकिन्छ । यसमा देखिने असामान्य अभिव्यक्तिबाट पनि पार्टीभित्र घुसेका मानिसहरू पत्ता लगाउन सकिन्छ । पाँचौँ, साम्यवादी दलमा प्रवेश गर्ने मानिसहरू जनवर्गीय सङ्गठनहरू मजदुर, विद्यार्थी, महिला, किसान, बुद्धिजीवी, शिक्षक आदिमा कम्तीमा एक वर्षभन्दा बढी काम गरेको हुनुपर्दछ । कति वर्षसम्म खारिनु पर्दछ भन्ने कुरा उनीहरूको वर्गस्रोतसँग सम्बन्धित हुन्छ । हाम्रो प्रचलित पार्टी सदस्य निर्माण पद्धतिमा यही गल्तीले गर्दा घुसपैठ हुने खतरा हुन्छ । जनवर्गीय सङ्गठनमा खारेर पार्टीमा ल्याउनेभन्दा कहिलेकहीँ हामी सीधै पार्टीमा भर्ना गर्दछौँ र त्यसपछि जवसमा लैजान्छौँ । हाम्रा जवसमा लाखौँ मानिसहरू भर्ना भएको स्थितिमा सयौँ मानिसहरू साम्यवादी पार्टीका सदस्यहरू हुनुपर्दछ । जनवर्गीय सङ्गठनहरूको बीचमा पिरामिड आकारको पार्टी सङ्गठन हुनुपर्दछ । यसको अर्थ साम्यवादी पार्टी व्यापक जनतासँग जोडिएको हुनुपर्दछ । व्यापक जनताले नै पार्टीको रक्षा गरिरहेका हुन्छन् ।

वर्तमान नेपालका प्रमुख संसदीय पार्टीहरू सशस्त्र सङ्घर्षबाट नै स्थापित भएका छन् । त्यसकारण सशस्त्र सङ्घर्ष गर्दैमा कोही क्रान्तिकारी हुँदैन । डाँका–गुण्डाहरूले पनि शस्त्र चलाउँछन् र आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्दछन् । तर वर्गसमाजको उत्पत्ति भएपछिको इतिहास सशस्त्र सङ्घर्षको इतिहास हो । दासयुगमा दास र मालिकबीच, सामन्तवादी युगमा सामन्त र किसानबीच, पुँजीवादी युगमा पुँजीपति र मजदुरबीचको सशस्त्र सङ्घर्षद्वारा तत्–तत् युगको अन्तरविरोध समाधान भएको छ । जनयुद्ध एउटा न्यायपूर्ण युद्ध थियो । नेपालको सामन्ती राजतन्त्रात्मक संसदीय व्यवस्था अर्धसामन्ती तथा अर्धऔपनिवेशिक व्यवस्थाका विरुद्ध मजदुर, किसान सिपाही, सुकुमबासी र राष्ट्रिय पुँजीपतिहरूको न्यायपूर्ण युद्ध थियो । त्यसमा नेपाली इतिहासका धेरै युद्धहरूमध्ये सबभन्दा बढी सर्वसाधारण मानिसहरूले भाग लिएका थिए । यो न्यायपूर्ण र क्रान्तिकारी थियो । तर पार्टीभित्र घुसेका घुसपैठिया, देशी तथा विदेशी प्रतिक्रियावादीहरूले यसलाई असफल बनाए । हामीले यसका विरुद्ध विद्रोह गरेका छौँ र यसलाई जारी राखेका छौँ । हामीले उठाएको शस्त्रास्त्र न्यायपूर्ण थियो, तर त्यसलाई दलाल पुँजीपति वर्गको संसदीय आहालमा डुबाइएको छ । हामी नयाँ कार्यदिशा र कार्यक्रमको विकास गर्दै अघि बढेका छौँ । हामी २७ औँ जनयुद्ध दिवसका अवसरमा ती दस हजारभन्दा बढी नेपाली जनताका छोराछोरीहरूले गरेको बलिदानको मूल्य तथा तिनको वैज्ञानिक समाजवाद र साम्यवादको सपना कहिल्यै नबिर्सने प्रतिबद्धता व्यक्त गर्दछौँ । हामी तिनका परिवारजनहरूसँगै काँधमा काँध मिलाएर त्यो महायात्रामा अघि बढिरहने प्रतिज्ञा गर्दछौँ । हामी बेपत्ता योद्धाहरूलाई विशेष सम्मान व्यक्त गर्दछौँ र तिनका परिवारजनहरूसँगै आवाजमा आवाज मिसाएर अघि बढ्ने प्रतिज्ञा गर्दछौँ । यस अवसरमा हामी घाइते तथा अपाङ्ग योद्धाहरूको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै तिनका परिवारजनहरूसँग मिलेर क्रान्तिमा अघि बढ्ने प्रतिज्ञा गर्दछौँ । ऐतिहासिक जनयुद्धमा देशका कुनाकन्दरामा रहेका नेपाली आमा–दिदी–बहिनी र बुबा–दाजु–भाइले आफू भोकैनाङ्गै बसेर पनि हामीलाई गाँस–बास–कपास दिएर, घरमा पकाएको खाना हाम्रा लागि जङ्गलमा पु¥याएर, हामीले खाने प्रहरी र सेनाको गोली प्रहार र दमन आफ्नो शरीरमा थापेर एउटा महान् योगदान गर्नुभयो । त्यसका लागि यस अवसरमा उहाँहरूलाई विशेष सम्मान व्यक्त गर्न चाहन्छौँ । यसका साथै महान् जनसमुदायलाई धोका दिने, सहिद–बेपत्ता–घाइते योद्धाहरूको रगतमाथि होली खेल्ने गद्दारहरूप्रति असीम घृणा प्रकट गर्दछौँ । महान् जनयुद्धलाई सदा स्मृतिमा राखेर यसको लक्ष्यमा पुग्न यसको नयाँ उचाइमा विकास गर्दै अघि बढ्ने दृढ सङ्कल्प गर्दछौँ । जन बिहानी राष्ट्रिय मासिक–५ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *