आमूल परिवर्तनका पक्षमा निरन्तर क्रान्तिको बाटोमा लाग्नुपर्छ : सुदर्शन

News Political Sports

उद्धव र शोभा यस वर्षका असल छोरा–बुहारी, हित–जून स्मृति भलिबल प्र्रतियोगितामा सोसियल सिटी ‘ए’ विजयी

विनोद सुवेदी/लक्ष्मी श्रेष्ठ,सिर्जनानगर (रामेछाप) : सिर्जनानगरमा सम्पन्न हित–जून स्मृति भलिबल प्रतियोगितामा सिर्जनानगरस्थित सानीमदौ सोसियल सिटी युवा क्लबको ‘ए’ टिमले विजय हासिल गरेको छ । विजयसँगै सोसियल सिटी युवा क्लब एले नगद दस हजार र प्रमाणपत्र पनि प्राप्त गरेको छ । त्यसैगरी दोस्रो स्थान सिर्जनानगरकै सोसियल सिटी युवा क्लब बी ले प्राप्त गरेको छ । उक्त टिमले नगद सात हजारसहित प्रमाणपत्र प्राप्त गरेको छ । तेस्रो स्थान भने मन्थली ३ स्थित कठजोर टिमले हासिल गरेको छ । उक्त टिमले नगद दुई हजारसहित प्रमाणपत्र हातपारेको छ ।

हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले शनिबार सिर्जनानगरस्थित खारखोलाकिनारमा आयोजना गरेको हित–जून स्मृति प्रतियोगितामा मन्थली मावि, मन्थली ब्वाइज, भैँसेश्वर युवा समाज, त्रिशक्ति युवा क्लब, सोसियल सिटी ए र बी गरी सात समूह सहभागी थिए ।

खेलको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले जनताको राजनीतिजस्तै खेल पनि स्वच्छ हुनुपर्ने बताए । दलाल पुँजीवादमा राजनीति पनि अत्यन्त अस्वस्थ, राष्ट्रघाती र जनघाती बन्दै गएको भन्दै उनले कम्युनिस्ट पार्टी र शक्तिले यथास्थितिवादमा नरमाएर आमूल परिवर्तनका पक्षमा निरन्तर क्रान्तिको बाटोमा लाग्नुपर्ने बताए । कम्युनिस्ट पार्टी जे गर्नु हुँदैन भनेर स्थापना भएको थियो, त्यही गलत कार्यमा फस्दै गएकाले अब कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता सचेत भएर दलाल पुँजीवादमा फस्ने हर्कत बन्द गरी वैज्ञानिक समाजवादको बाटो अविचल भएर हिँड्नुपर्ने उनले बताए । नेता सुदर्शनले अन्धविश्वास, रूढि, परम्परा र अवैज्ञानिक संस्कार–संस्कृतिको विकल्प अग्रजहरूको सम्मान र रूपान्तरणका पक्षमा काम गरेर प्रतिष्ठानले देखाएको बाटोमा हिँड्न समाजका सबैलाई आह्वान पनि गरे ।

नेकपाका केन्द्रीय सदस्य एवम् दोलखा–सिन्धुपाल्चोक इन्चार्ज पूर्णबहादुर सिंह ‘प्रवीण’ ले युवाहरूले खेल र अतिरिक्त क्रियाकलापका साथै समाज र जीवन परिवर्तनका लागि निरन्तर क्रान्तिमा लामबद्ध हुनुपर्ने बताए । उनले दलाल पुँजीवादले सबैलाई दलाल बन्नेतिर दुरुत्साहित गरिरहेको भन्दै नेकपाले जारी राखेको दलाल पुाजीवादविरोधी, समाजवादी क्रान्तिमा लामबद्ध हुन पनि आह्वान गरे । दलाल पुँजीवादले गराउने चुनावको भुलभुलैयामा नपर्न र राष्ट्रघातीहरूलाई गाउँबाट लखेट्न पनि उनले आह्वान गरे । वैज्ञानिक र जनपक्षीय संस्कार–संस्कृति सिक्न र आफूलाई निजी स्वार्थहरूबाट मुक्त गराउन सिर्जनानगर र प्रतिष्ठानका क्रियाकलापबाट सिक्नुपर्ने भन्दै उनले प्रतिष्ठानले आयोजना गरेको कार्यको प्रशंसा गरे ।

प्रतिष्ठानले यस वर्षका असल छोरा–बुहारीका रूपमा सिर्जनानगर, सानीमदौकै उद्धवप्रसाद सुवेदी–शोभा सुवेदीलाई चयन गरेको छ । चार सदस्यीय निर्णायक मण्डलका तर्फबाट संयोजक दामोदर सुवेदीले घरपरिवारमा बाबुआमाको रेखदेख, सेवासुश्रुवा गर्ने, पारिवारिक र सामाजिक सन्तुलन मिलाउने र थला परेकी वृद्ध आमाको अत्यन्त राम्रो हेरचाह गर्ने उद्धव–शोभादम्पतीलाई यस वर्षका असल छोरा–बुहारी घोषणा गरिएको सार्वजनिक गरे । प्रमुख अतिथि नेकपाका केन्द्रीय सदचिवालय सदस्य सुदर्शनले प्रतिष्ठानका तर्फबाट असल छोराबुहारीलाई नगद पाँच हजार, दोसल्ला र सम्मानपत्र हस्तान्तरण गर्दै प्रतिष्ठानले नयाँ संस्कार र संस्कृति स्थापित गरेर सराहनीय काम अघि बढाएको बताए ।

जनअधिकार अभियान नेपालकी केन्द्रीय सदस्य सरला रेग्मी, नेकपाका केन्द्रीय सदस्य पूर्णबहादुर सिंह, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलिया, नेकपा रामेछापका सेक्रेटरी इन्द्र श्रेष्ठ, नेकपा दोलखाका सेक्रेटरी माधव गौतम ‘आकाश’, रातो खबरका व्यवस्थापक झनक श्रेष्ठ, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिवालय सदस्यहरू अग्निराज पौडेल ‘अराप’, ढुण्डीराज अधिकारी, नेकपाका युवा नेताहरू विवेक दाहाल, लोकेन्द्र खड्का, माक्र्सवादी स्रष्टा रसुवाली कवि, नेकपा ओखलढुङ्गाका सदस्य प्रकाश ढकाल, नेकपा रामेछापका सदस्य एवम् शिक्षक नेता विनोद सुवेदी, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी रामेछापकी संयोजक सीता गौतम, अखिल क्रान्तिकारी रामेछापकी सचिव लक्ष्मी श्रेष्ठ, विद्यार्थी एवम् स्रष्टा सन्दीपा रेग्मीलगायतले विचार र सिर्जनाका माध्यमबाट वैज्ञानिक समाजवाद स्थापनाका लागि दलाल पुँजीवादविरुद्ध निरन्तर क्रान्तिमा लामबद्ध हुनुपर्ने बताए ।

नेकपा सचिवालय सदस्य सुदर्शनले प्रतिष्ठान प्राङ्गणमा रहेको हित–जून युद्ध–कला सङ्ग्रहालयमा रहेको ललितकला कक्ष र जोर लालबत्तीको उद्घाटन गर्दै सङ्ग्रहालयको अवलोकन पनि गरे ।

प्रतिष्ठानको आयोजनामा नियमित हुँदै आएको कविता प्रतियोगितामा यस वर्ष उत्कृष्ट कविता वाचन गरेर हित–जून सिर्जनशील प्रतिभा पुरस्कार सीता कार्की (आमा को हुन्, प्रथम ?), प्रियङ्का कार्की (छोरी र बुहारी, द्वितीय) र सुप्रिया कार्की (गौँथली, तृतीय) ले तेईस सय राशिको पुरस्कार जितेका छन् । विजयी सबै स्रष्टा–व्यक्तित्व र जूनमाया सौगात प्राप्त गर्ने १५ जना महिलालाई नेकपाका सचिवालय सदस्य सुदर्शन र प्रतिष्ठानकी सञ्चालक इन्दिरा सुवेदी (बराल) ले नगद, प्रमाणपत्र र सम्मानपत्र वितरण गरेका थिए । कार्यक्रमको अध्यक्षता तथा सञ्चालन प्रतिष्ठानका अध्यक्ष अशोक सुवेदीले गरेका थिए । प्रतिष्ठानकै आयोजनामा २४ गते भँगेरीमा नेकपा सचिवालय सदस्य सुदर्शनले सरला रेग्मी, पूर्णबहादुर सिंहलगायतको साथमा ९ वर्षअघि प्रतिष्ठानले निर्माण गरेको पुष्पलाल–गङ्गालालको सालिक अनावरण गरेका थिए । प्रतिष्ठानले १५ वर्षदेखि नायँ संस्कार–संस्कृति निर्माणका पक्षमा विविध सामाजिक–सांस्कृतिक–वैचारिक कामहरू गर्दै आएको छ । युद्ध–कला सङ्ग्रहालय निर्माण सम्पन्न भएपछि नेकपाका महासचिव विप्लव, नेकपाका अन्य शीर्ष नेता र किसानहरूको हातबाट उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी आयोजकले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *