काठमाडाै। खडेरी सुरु भएसँगै रुकुुमपूर्वको सिस्ने गाउँपालिका–५ मा खानेपानीको चरम समस्या देखिएको छ । सदरमुकामसमेत रहेको गाउँ यहाँको बढ्दो जनसंख्या र पानीको अन्य स्रोत नहुँदा खानेपानीको समस्या बढ्दै जान थालेको हो ।
यसै समयमा सधै सिस्ने–५ को टाकुरा र बाहुनठानामा खानेपानीको समस्या देखिने गरेको छ । कहिले धारामा पानी नझर्ने र कहिले एक–आधा घण्टामात्र धारामा पानी झर्दा पिउन तथा पानीसँग जोडिएका दैनिक कामकाज गर्न समस्या भइरहेको स्थानियकाे गुनासो रहेकाे छ । धारामा पानी नझर्दा गाग्रीमा पिउने पानीसमेत नहुने बिसीले बताए । एक सातायता धारामा पानी अनियमित हुँदा हाहाकार मच्चिएको छ।
अहिले सिस्ने–५ मा तीनवटा मुहानबाट पानी आइरहेको छ । मुहानमा पानी सुकेकै कारण धारामा पानी अनियमित हुने गरेको रुकुमकोट खानेपानीका प्राविधिक सुन्दर शाहले बताए । उनका अनुसार अहिले सिस्ने–५ मा रासु छहरा, तुरतुरे धारा र ठाराखोलाको मुहानबाट पानी आइरहेको छ । मुहानमा पानी सुकेको तथा प्राविधिकले पनि फिल्टर सफा नगरेको र पालो नमिलाएका कारण यो समस्या आएको उनले बताए । अब भने समस्या समाधानका लागि पालो मिलाएर पानी वितरण गरिने भएको छ । समस्याको दीर्घकालीन समाधान भने थाक्नाखोलाको खानेपानी आयोजना निर्माण भयो भने हुने छ । थाक्नाखोला खानेपानी आयोजना करिब रु पाँच करोडको लागतमा निर्माण हुन लागेको छ ।