काठमाडाै । उत्तर कोरियाले सन् २०१७ यता पहिलोपटक लामो रेन्जको मिसाइल परीक्षण गरेको पुष्टि भएको छ ।
उत्तर कोरियाले नयाँ किसिमको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम) परीक्षण गरेपछि अन्तर्राष्ट्रिय जगतमा ठूलो तनाव सिर्जना गर्ने सम्भावना रहेको छ ।साे परीक्षणलाई अमेरिकाको जुनसुकै घातक सैन्य कदमविरुद्ध लड्न सक्षम आणविक शक्ति भनेर उत्तर कोरियाली मिडियाहरूले व्याख्या गरेको छन ।
यो मिसाइल अधिकतम ६ हजार किलोमिटरको उचाइसम्म र १,०९० किलोमिटरको दुरीसम्म पुग्न सक्छ । परीक्षणका क्रममा यो ६८ मिनेटसम्म उडेको थियो र पछि गएर ठिक ठाउँमा अवतरण गरेको बताइएको छ । याे उत्तर कोरियाको अहिलेसम्म रेकर्ड भएका मध्येमै सबैभन्दा उचाइमा र टाढा पुग्न सफल मिसाइल हो ।यसअघि किमले आफ्ना मिसाइलहरूको रेन्ज १५ हजार किलोमिटरसम्मले बढाउन चाहेको र त्यसको सटिकतामा पनि अधिक सुधार ल्याउने योजनाको घोषणा गरेको थियो ।
मिसाइल आणविक हतियार बोक्न सक्नेगरी ठूलो आकारको रहेको बताइएको छ । त्यसैले वारहेडसँगै यसले अन्य हतियारहरू पनि बोक्न सक्नेछ । किम जोङ उनले उत्तर कोरियालाई विश्वसनीय परमाणु शक्ति बनाउन थुप्रै महत्वाकांक्षी योजनाहरू सार्वजनिक गर्दै आएका छन् । यसमा उनको मुख्य लक्ष्य भनेको अमेरिकाबाट हुनसक्ने कुनैपनि किसिमको हमलाबाट आफूलाई बचाउन सक्नु र प्रतिरोध गर्न सक्षम बन्नु रहेको छ ।