एमसीसी परियोजनाविरुद्ध बुटवलमा जातीय तथा श्रमिक मोर्चाद्वारा विरोधसभा

News

काठमाडौँ : बुटवलमा ६ कम्युनिस्ट पार्टी र २ मोर्चा सम्बद्ध राष्ट्रिय मुक्ति मोर्चा (जातीय/क्षेत्रीय), श्रमिक/दलित जनजातिको संयुक्त संघर्ष समितिले एमसीसी परियोजनाविरुद्ध विरोध प्रदर्शनका साथै कोणसभा सम्पन्न गरेको छ ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा निकट जातीय क्षेत्रीय राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रतिनिधित्व गर्दै मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय महासचिव इन्द्र घर्ती मगरले एमसीसी परियोजना नेपाली जनताले अस्वीकृत गरेको भन्दै संसद भवनभन्दा बाहिर यो परियोजना कार्यान्वयन हुन नसक्ने बताए । उनले एमसीसी परियोजना साम्राज्यवादको बल्छी भएको भन्दै संसदले नेपाली जनतालाई गड्यौलाजस्तै बनाएको बताए । महासचिव मगरले एमसीसी परियोजना कुनै हालतमा कार्यान्वयन नहुने भन्दै एमसीएको नाउँमा खडा गरिएको कार्यालयहरू बन्द गर्नुपर्ने बताए ।

यसैगरी अखिल नेपाल आदिबासी जनजाति संघको तर्फबाट राजु भुजेलले एमसीसी परियोजनालाई कार्यान्वयन हुन नदिन सम्पूर्ण देशभक्त नेपालीहरू एक हुनुपर्ने बताए । यस्तै अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर पुनले एमसीसी भर्खर संसदबाट पारित गरेर कार्यान्वयन हुन लागेको भन्दै यसलाई रोक्न आन्दोलनको विकल्प नभएको बताए । त्यस्तै कार्यक्रममा उत्पीडित राष्ट्रिय मुक्ति मोर्चा नेपालका जिल्ला प्रतिनिधि प्रेम कार्कीले एमसीसी परियोजना खारेज गर्नका लागि निरन्तर संघर्षको विकल्प नभएको बताए ।

ट्राफिकचोकबाट एमसीसीविरूद्व नाराबाजीसहित सुरु भएको जुलुस संगमपथ, राममन्दिरलाइन, अमरपथ हुँदै विपीचोक नजिकै बरपिपल चौपारीमा पुगेर कोणसभा सम्पन्न भएको थियो । कोणसभामा रक्तिम परिवारको नाँच प्रस्तुत गरिएको थियो भने सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध मोर्चाका तेजकुमारी थापाले गरेका थिए ।

एमसीसी संसदबाट पास भएपछि यसलाई कार्यान्वयन हुन नदिने नेकपा सहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले देशव्यापी सङ्घर्ष गर्दै आएको छ । केन्द्रीय कार्यक्रम अन्तर्गत रूपन्देहीमा संयुक्त मोर्चाले लगातार संघर्ष गर्दै आएको छ ।

source: eratokhabar.com/archives/59454

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *