४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाका सबै काम सम्पन्न

Economic National

काठमाडौं । स्वदेशी लगानीको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सबै काम सम्पन्न भएको छ ।

विसं २०६८ भदौ १७ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले माथिल्लो तामाकोसी जलविधुत आयोजनाको शिलान्याश गरेका थिए ।  ११ वर्ष लगाएरआयोजनाको निर्माण कार्य सम्पन्न भएको हो ।

काम पूर्णरूपमा सम्पन्न नहुँदै गत असार २१ गते आयोजनाको उद्घाटन गरिएको थियो । उद्घाटनको दिन आयोजनाले ७६ मेगावाट बिजुली उत्पादन गरेको भनिए तापनि खासमा ७ मेगावाट मात्रै बिजुली उत्पादन गरेको आयोजनाका अधिकारीहरु बताउँछन् ।आयोजनासँग जोडिएको र देशकै दोस्रो ठूलो नयाँ खिम्ती २२०/१३२ केभी क्षमताको सबस्टेशन शनिबार उद्घाटन भएपछि एउटा परियोजना पूर्णरूपमा सकिएको छ ।

अनेकौँ हण्डर ठक्कर व्यहोर्दै आयोजनाको निर्माण सकिएको नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान  घिसिङले  प्रतिक्रिया दिएका छन् । उनले यसबाट जलविधुत र समग्र आर्थिक क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि हासिल भएको भनाइ राखेका छन ।आयोजनाको सञ्चालनपछि साँझ–बिहानको समयमा भारतबाट आयात गरिने विधुतकाे परिमाणमा करिब आधाभन्दा बढी घटेको घिसिङको भनाइ छ ।

आयोजनाको सफलताले आगामी दिनमा यस्तै ठूला परियोजना स्वदेशी लगानी र व्यवस्थापनमा निर्माण गर्न सकिन्छ भन्ने अनुभव र आत्मविश्वाससमेत बढेको प्राधिकरणको भनाइ छ ।

नेपाली लगानीमा निर्माण गरिएको यो आयोजनाको सुरूआती लागत ब्याजबाहेक ३५ अर्ब रुपैयाँ लाग्ने भनिए पनि कूल ८४ अर्ब रुपैयाँ लागेको छ । आयोजनाबाट उत्पादित बिजुली ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका–१३ स्थित साँखेमा नवनिर्मित २२०/१३२ केभी क्षमताको नयाँ खिम्ती सबस्टेशनमा जोडिएको छ । सो सबस्टेशन हुँदै बिजुली ढल्केबरस्थित नेपाल विद्युत् प्राधिकरणको ४०० केभी क्षमताको सबस्टेशनमा लगिएको छ ।

अत्यन्तै सस्तो र आकर्षक देखिएपछि प्रधिकरणले विसं २०५७ देखि २०६० सम्म आफ्नै आर्थिक, भौतिक र मानवीय स्रोतको प्रयोग गरेर आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो ।

आयोजनामा प्राधिकरणको ४१ प्रतिशत शेयर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *