काठमाडाै : राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध दाङको भालुबाङमा प्रदर्शनसहित कोणसभा सम्पन्न भएको छ ।
नेकपा निकट श्रमिक समुदाय मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा निकट जातीय समता समाज र नेकपा (क्रान्तिकारी माओवादी) निकट दलित मुक्ति मोर्चा नेपालको संयुक्त आयोजनामा राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध बिरोध प्रदर्शन शनिबार सम्पन्न भएको हो । प्रदर्शन र्यालीसहित भालुबाङ बजार परिक्रमा पश्चात कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य सुरजले उत्पीडित जातीले अधिकार प्राप्तिका लागि दलाल पुँजीवादी राज्यसत्तालाई ध्वस्त गर्नैपर्ने तथा आफ्नो राज्यसत्ता स्थापना नगर्दासम्म सबैखाले बिभेदबाट मुक्त हुन नसक्ने स्पष्ट पारे । उनले राष्ट्रघाती एमसीसी सम्झौता कुनैपनि हालतमा लागू हुन नदिने बताए । अमेरिकी साम्राज्यवादका नेपाली दलालहरूले नेपाली जनतालाई थुप्रै भ्रम फिजाएर जबर्जस्त एमसीसी पास गरेको नेता सुरजको भनाइ थियो । नेपालमा बढ्दो कम्युनिस्ट प्रभाव, विश्वमा उदयीमान महाशक्ति राष्ट्र चीन लक्षित आक्रमण लगायत नेपालका बहुमूल्य धातु, खनिज र स्रोत साधनहरूलाई कब्जा गर्ने रणनीतिसहित अमेरिकी साम्राज्यवादले नेपालमा गिद्देनजर लगाएको नेता सुरजको धारणा थियो ।
त्यस्तै जातीय समता समाजका केन्द्रीय सल्लाहकार एवम् लुम्बिनी प्रदेश कमिटी सदस्य चन्द्रबहादुर नेपालीले एमसीसी पास गरेर राष्ट्रघात गरेका बिदेशी दलालहरूलाई गाउँमा भोट माग्न आए भाटे कारवाही गर्नुपर्ने बताए । उनले व्याख्यात्मक टिप्पणीको नाममा राष्ट्रघात गरेका शासकहरू गाउँमा आए राम्रोसँग हिसाबकिताब गरिने चेतावनीसमेत दिए ।
कोणसभालाई सम्बोधन गर्दै दलित मुक्ति मोर्चा नेपालका दाङ जिल्ला अध्यक्ष तिलक बिकले जहाँजहाँ एमसीसी लागू भयो त्यहाँ विकास होइन, बिनाश भएको बताए । उनले ६५ प्रतिशत कम्युनिस्ट प्रभावलाई रोक्न, चीनलाई घेर्न र युरेनियम लगायत बहुमूल्य धातु कब्जा गर्ने मुख्य रणनीतिसहित अमेरिका नेपालमा आएको स्पष्ट पारे ।
कोणसभाको सहजीकरण जातीय समता समाजका जिल्ला सचिव बलदेब बिश्वकर्माले गरेका थिए ।