सबैभन्दा खतरनाक हुन्छ सपनाहरूको मृत्यु… (सन्दर्भ : ‘पिर’ गीति भीडीओ बहस)

Arts-literature
समय समीक्षा

समकालीन यथाथस्थितिवादी धाराका स्रष्टा प्रकाश सपूतले नयाँ गीति भीडीओ सार्वजनिक गरे ‘पिर’ शीर्षकमा । जनयुद्ध र जनयुद्धको विघटनपछि जनयुद्धमा लामबद्ध योद्धाहरूको दुरवस्थाको कथा–व्यथा–पिरमा आधारित रहेर तयार पारिएको गीति भीडीओका शब्दहरूले भन्दा केही दृश्यले सत्तामा रहेका माओवादी केन्द्रका केही व्यक्तिहरूलाई धेरै नै पिरोलेको देखियो । गीतको भाव र मर्म नबुझेर हुनुपर्छ कतिपय क्रान्तिकारी हुँ भन्नेहरूले पनि उक्त भीडीओमाथि अत्यन्त नाकारात्मक टिप्पणी गरे । केपी ओलीको शासनकालमा पशुपछि शर्माको लुट्न सके लूट शीर्षक गीतमाथि जसरी केपीका अरिङ्गाल खनिएका थिए, यतिबेला जनयुद्धका नायक भनिएका तर हाल दलाल पुँजीवादी, संसद्‌वादी व्यवस्थाका बफादार अगुवा प्रचण्डका अरिङ्गालहरू प्रकाश सपूतमाथि त्यसरी नै खनिएका छन् । पशुपति शर्मालाई एमालेविरोधी, काङ्ग्रेस पक्षधरको आरोप लगाइएको थियो भने प्रकाशलाई माओवादी केन्द्र, जनयुद्ध र महिलाविरोधीसम्मका आरोपहरू लगाइएको छ । प्रकाश सपूत माओवादी होइनन् । उनी समसामयिक धाराका व्यावसायिक स्रष्टा हुन् । उनका यसअघिका गीतहरू पनि रुचाइएका थिए । यो पनि रुचाइयो । यो गीत र भीडीओ रुचाइनुको मुख्य कारण जनयुद्धमा समर्पित योद्धाहरूको व्यक्तिगत जीवन तहसनहस भएर विदेश र वेश्यालयसम्मको पलायनको कथा हो । माओवादी केन्द्र सत्तामा भएको समयमा पनि जनयुद्धका योद्धाहरूको यो बेहाल र दर्दनाक कथाले जनयुद्धमा लामबद्ध सबैको हृदय दुखेको छ तर यो अतिशयोक्ति होइन, यथार्थ हो । यथार्थ पचाउन हिम्मतिलो र बलियो मुटु हुनुपर्छ । माओवादी केन्द्रका नेता र कार्यकर्ताहरूलाई आफ्नो पार्टीले गतिछाडा बाटो लिइसकेको र जनयुद्ध लड्ने आधारभूत वर्ग र तहका क्रान्तिकारीहरूको अवस्था दैनिक अत्यन्त दयनीय बन्दै गएको विषय थाहा नभएको होइन, मुटुमोहोरिएको र बुझपचाएर निर्लज्ज बन्दै आवेशमा आएको अवस्था हो । त्यसैले उनीहरू जनयुद्धमा लामबद्ध महिला योद्धाहरू सडकको पनि तल्लो तह शरीर नै बन्धक राख्ने र बिक्री गर्ने अवस्थासम्म पुगिसकेको यथार्थ स्वीकार्दैन् । प्रकाशको गीतका शब्दहरू यसप्रकार रहेका छन् :

लेखक : अशोक सुवेदी

बस्नेलाई पिर परेर हुनुसम्म भा’छ
जानेलाई नजाऊ भन्न नसकिने र’छ
तिम्रो मायाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाती चिर्दियो
आइयाआइयाऽ… आइयाआइयाऽ…

हुँदा तिमी परपर छाती चरचर
फूल टिपेर दिन्थेँ तर यो मन खुसी छ र ?
अभाव–अभावले हाम्रो घाँटी अँठ्यो
परिस्थितिले मलाई परदेश पठायो
पिर बिसाउने ठाउँ नै पाइनँ काँ चौतारी चिनुम्
मुन्छे बन्न मुस्किल भयो के भनेर हिनम् ?
तिम्रो मायाले…
एउटै घटना कोइलाई फाइदा कोइलाई बन्यो हानि
कतै मर्यो आत्मसम्मान कतै स्वाभिमानी
आफ्नै विचार वैरी भयो काँ जुम, कता भागुम् ?
ज्यानकै बाजी थापेको थेँ कल्लाई हिसाब मागूँ
देश भन्नु त के रैछ र चार किल्लाको माटो ?
त्यै माटो नि उनकै मात्रै जो छन् टाठोबाठो
तिम्रो मायाले…

क्रान्तिकारीहरूका लागि सपनाको मृत्यु र हत्या आफ्नो भौतिक शरीरको मृत्युुभन्दा पनि ठूलो कुरा हुन जान्छ । यतिबेला सपनाका हत्याराहरूको बिगबिगी भएको समय छ । बजारभरि सपनाका हत्याराहरू उफ्रिरहेका छन् बुरुकबुरुक । प्रकाश सपूत नामका नवगायकले बनाएको गीतिनाटक शैलीको म्युजिक भीडीओ ‘पिर’ को चर्चा, बहस र आलोचनासँगै स्वप्नहन्ताहरू पनि जमजमाएका छन् । प्रकाशको गीतिनाटक जनयुद्ध विघटन, महान् सपनाहरूको हत्यापछि उत्पन्न समस्या र प्रतिक्रियावादी दलाल सत्ताको उद्देश्यसहित आएको कुरामा बिमति हुन सक्तैन । उनले सचेततापूर्वक वा अन्जानमा जेजसरी भए पनि जनयुद्ध विघटन र मूल नेतृत्वको वैचारिक–राजनीतिक पलायन र गद्दारीपछिको भुक्तमान र पीडा देखाउने चेष्टा गरेका छन् । क्रान्तिकारीहरूले उक्त गीतमाथि टिप्पणी र आलोचना गर्नु स्वाभाविक हुन्छ तर क्रान्तिका भगौडा, जनयुद्धको समयमा जनयुद्धलाई फासिवादी आतङ्क भनेर सत्तालाई दमन गर्न उक्साउने, योद्धाहरूलाई मराउनेहरु पनि रोइकराइ गरिरहेको जस्तो देखिन्छ । सपनाका हत्याराहरूका साक्षी बसेकाहरूको बकबक र रोइलो अलि अस्वाभाविक देखिन्छ । यस्तो तीक्ष्ण समयमा कवि अवतार सिंह पाशको कविताको धेरै सम्झना हुन्छ :

सबैभन्दा खतरनाक कुरा त
मस्तिष्कभरि शान्ति भरिनु हो
बेचैन नहुनु हो, तड्पन नहुनु हो
सबै कुरा सहेर बस्नु,
घरबाट काममा जानु
र कामबाट घरमा फर्किनु
सबैभन्दा खतरनाक कुरा हो ।
सबैभन्दा खतराको कुरा त
हाम्रा सपनाहरूको हत्या हुनु हो !

सपनाको हत्या हुँदा चूँ नबोल्नेहरुले सपनाको शवमाथि शिर निहुर्याएर रुवाबासी गर्नुको कति अर्थ रहला र ? पिर गीतको अन्तरवस्तु र बहसका बारेमा नेकपा केन्द्रीय समिति सचिवालय सदस्य कमरेड सुदर्शन भन्छन्, ‘गीतिनाटक (अपेरा) ‘पिर’ मा प्रकाश सपुतले अलपत्र परेको जनयुद्धका घटनाहरूको वास्तविक चित्रण गरेका छन् । त्यसमा प्रस्तुत नायकनायिकाले जस्तै आफ्नो छातीमा गोली थापेर नै जनयुद्धका धोकेबाज नेताहरूलाई बचाएको कुरा सत्य हो । त्यसका साथै तिनको ज्यान बचाउनेहरू ती धोकेबाजद्वारा संरक्षित दलालहरूबाट ठगिएर वेश्यावृत्ति गर्नसमेत बाध्य भएको र धोकेबाजहरू उच्च सिंहासनमा बसेर पीडितहरूलाई कुल्चँदै हिँडेको तथ्यलाई एक हजार एक तथ्यले पुस्टि गर्न सकिन्छ । सत्यलाई सत्ताको अन्धताले ढाक्न खोज्नेहरू खबरदार । प्रकाश सपूतलाई के कुरामा खोट लगाउन सकिन्छ भने साहित्य भनेको यथार्थको दर्पण मात्र होइन, बरु कुरूप यथार्थलाई सुन्दरतामा बदल्ने मार्गदर्शन पनि हो । आगामी दिनमा उहाँको यही कुरामा अपेक्षा गरौँ ।’

जबजब राज्य कमजोर हुन्छ, व्यवस्थाप्रति जनताको विश्वास कमजोर हुन्छ, ससाना झोक्काले नै सत्ता डगमगाइदिन सक्छ । जनताको विश्वास सबैभन्दा धेरै भएको समयमा ठूल्ठूला आन्दोलन, विद्रोह, सङ्घर्ष, क्रान्ति र युद्धहरू अघि बढ्छन्, उचाइ चुम्छन् र जितिन्छन् तर जबजब जनता र क्रान्ति–नेतृत्वको दूरी बढ्दै जान्छ त्यसपछि आस्था र निष्ठाहरू कमजोर हुँदै जान्छन् र यथास्थितिवादीहरुले हेप्न थाल्छन् । क्रान्तिकारीहरुको शिर निहुुरिने अवस्था उत्पन्न हुन्छ । त्यतिबेला सहिद ध्रुव ज्ञवालीको अजम्मरी गीतको सम्झना हुन्छ :

क्रान्तिकारी, नेपाल मुक्त बनाइदेऊ
आऊ न, जनताको छ आह्वान
निस्क न झट्टै निस्क, बन्दुक बोकेर निस्क ।

नेपालको राजनीतिक आन्दोलनमा अधिकांश आन्दोलनहरु शिखरमा पुग्न लागेपछि, अगुवाहरुले केही शक्ति, विश्वास र धन आर्जन गरिसकेपछि जनतालाई विश्वासघात गरेर धोका दिने गरेकाले पतनको दिशातिर ओरालो लाग्ने गरेका छन् । सात सालपछि नेपाली काङ्ग्रेस, २०४६ सालपछि एमाले, जनयुद्ध र जनआन्दोलनपछि तत्कालीन नेकपा माओवादीको एउटा अंश माओवादी केन्द्रका केही नेताहरुले वर्ग बदलेको देखिन्छ । यस्तो अवस्थामा सहिदनेत्र अभागीको कविताको सम्झना हुन्छ :

आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडीमा
एउटा नर्कट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामा–लामा कुरा गर्न सक्छ
तर मेरा मित्र,
आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडीमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँग पौँठेजोरी खेल्दै
एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।

प्रकाशको गीतमा भएको बहसले नेकपाका केन्द्रीय सदस्य एवम् समीक्षकसमेत रहेका जनयुद्धका सहिद परिवारका सदस्य गुणराज लोहनीलाई पनि तानेको छ । उनले पिर गीतलाई मात्र होइन, जनयुद्धमा भएको भ्रष्टीकरणलाई नै चिरफार गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘महान् जनयुद्धको नेतृत्व जसले गरोस् त्यो अब इतिहासको पानामा सीमित भैसकेको छ । अहिले जसले त्यसका मूल्यमान्यतालाई आत्मसात गरेको छ, ऊ मात्र जनयुद्धप्रति गर्वलायक हुन्छ । जहाँसम्म प्रकाश सपुतको पिर छ, त्यसप्रति यति धेरै क्रिया–प्रतिक्रिया गरिराख्नु पर्दैन । जनयुद्धमा गोलाबारुदसँग खेल्ने बहुसङ्ख्यकको अवस्था एकदमै दयनीय छ । खाडीमा रगतपसिना एक बनाउने हुन् वा अभाव र तनावले आत्महत्या गर्ने, के उनीहरूको जीवन नारकीय छैन ? जहाँसम्म प्रस्तुतिको कुरा हो, प्रकाश सपुतबाट के अपेक्षा नै गर्न सकिन्छ र ? हाम्रै भनाउँदाले बनाएका चलचित्र कुनचाहिँले जनयुद्धलाई न्याय गरेका छन् र ? सबैभन्दा घिनलाग्दो विद्रपीकरण त विचार बेच्नु, सहिदका सपनाको खेलबाड गर्नु र जनता, कार्यकर्ताको त्याग, बलिदान र समर्पणलाई सिँढी बनाएर वर्गउत्थान हुनु होला नि ! हिजोे महिलाले जनयुद्धको विकास गर्न, क्रान्तिकारी विचार निर्माण गर्न र नेताको सुरक्षा गर्न बलात्कृत भएका थिएनन् ? खै कहाँ गए ती आदर्श ? अनि हाम्रो आदर्श एकजना बजारिया गायकले बचाइदिएन भनेर किन रुने ?’

सन्दर्भ प्रकाश सपुतको ‘पिर’ कै । नेकपाका केन्द्रीय सदस्य एवम् अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामाले उक्त गीतप्रति टिप्पणी गर्दै भनेका छन् :

गायक प्रकाश सपुतको हालै आएको नयाँ गीत ‘पिर’ ले व्यापक बहस सिर्जना गराएको छ । गीतलाई हामीले दुई–तीन वटा पाटो/पक्षबाट हेरेर विश्लेषण गरिनुपर्छ भन्ने म ठान्छु । यसलाई सकारात्मक र नकारात्मक दुवै पक्षबाट हेरिनुपर्छ । अझ हामी मार्क्सवादीहरूले त द्वन्द्वात्मक दृष्टिकोणबाटै हेर्नुपर्छ । त्यही आधारमा व्याख्या–विश्लेषण गर्ने र एउटा निष्कर्षमा पुग्नुपर्छ ।

‘पिर’ गीतलाई नकारात्मक पाटोबाट हेर्दा प्रकाशजीले जनयुद्धमा लड्नु गलत थियो । जनयुद्धको यात्रा गलत थियो, सङ्घर्ष गर्नु गलत थियो भन्ने मुख्य भाव त्यसमा अभिव्यक्त गर्न खोज्नुभएको अर्थमा मैले बुझेँ तर त्यो सत्य होइन । जनयुद्ध महान् थियो । यो यात्रा महान् थियो । नेपालमा अहिलेसम्म भएका सङ्घर्ष, क्रान्तिहरूमा एउटा उचाइको क्रान्ति थियो । त्यसैले त्यहाँ जुन बलिदान भए, यो यात्रामा सहभागीहरूले जुन खालको कष्टसाध्य बेहोरे, जति विपत्तिको सामना गरे, त्यो सबै राष्ट्र र जनताको सुखद वा राष्ट्र र जनताको उज्यालो भविष्य, स्वाधीनता र स्वाभिमानका निम्ति थियो र त्यो छ पनि । त्यसैले उहाँले जान वा अन्जानमा यसमा निराशा भर्न खोज्नुभएको छ, त्यो पक्ष गलत छ । म कसैको उक्साहटमा उहाँले यसो गर्नुभयो भनेर आरोपित गर्न चाहन्नँ तर जान वा अन्जानमा लड्नु गलत थियो, सङ्घर्ष गलत थियो भन्ने भाव उहाँले गीतको माध्यमबाट दिन खोज्नुभएको छ, यो पाटोबाट यसको समीक्षा गर्नु जरुरी हुन्छ ।

दोस्रो पक्ष भनेको फेरि समाजमा समस्याहरू छन्, समस्या भनेको दुईवटा कारणले निम्तिएको छ । पहिलो, पुँजीवादले विश्वभर नै सङ्कट थोपरेको छ । त्यो पुँजीवादको समस्या हो । यो नेपालमा आउँदा अझ दलाल पुँजीवादको समस्या हो । नेपालमा मात्र हो र ? यही नजिकको भारत हेर्ने हो भने त्यहाँ झन् भयङ्करको समस्या, भयङ्करका विपत्तिहरूको सामना गरिरहेका युवकयुवती हामी देख्छौँ । त्यसैले यो पुँजीवादको समस्या हो ।

दोस्रो, प्रचण्ड–बाबुरामहरूले जुन एउटा आदर्श, मूल्य–मान्यता खडा गर्दै जनयुद्धको नेतृत्व गर्नुभयो, त्यसलाई बीचमै छोडिदिनुभयो वा उहाँहरूको विश्वासघात भनौँ वा उहाँहरूको गद्दारी भनौँ वा विचलन । त्यसले क्रान्तिमा अगाडि बढेका योद्धाहरूको जीवनमा पनि भयङ्करको सङ्कट वा अप्ठ्यारो ल्यायो । जुन युवकयुवतीहरू उहाँहरूको आदेशमा पूरै जीवन उत्सर्ग गर्न तयार हुन्थे, आफ्नो पूरै युवा अवस्थालाई समर्पित गरेका पनि थिए, तिनीहरूको जीवनमा आज साँच्चिकै सङ्कट छ । उनीहरूले साँच्चिकै भयावह अवस्था सामना गरिरहेका छन् । त्यसो हो भने अब के त ? समस्या समस्यामै रहन दिने हो ? त्यसो होइन । अर्काे पक्ष भनेको नेपालमा क्रान्ति त अझै जारी छ । राज्यव्यवस्था प्राप्तिको जुन एउटा सपना थियो, अभियान थियो, त्यो पूरा भएको छैन । हामी लडिरहेकै छौँ । हामी युवकयुवतीलाई निराश नहुन आग्रह गरिरहेका छौँ । आमनेपाली जनतालाई पनि यस्तो अनुरोध, अपिल गरिरहेका छौँ किनभने क्रान्ति नै त्यस्तो विकल्प हो जसले जीवनमा छाएका सबै निराशाहरूलाई सम्बोधन गर्न सक्छ वा त्यसको अन्त्य गर्न सक्छ । जनता र राष्ट्रको दिशालाई उज्यालो दिशा वा उज्यालो भविष्यतिर प्रेरित गर्न सक्छ ।

अहिले पनि हामीले हेर्यौँ भने कमरेड विप्लवको नेतृत्वमा चलिरहेको एकीकृत जनक्रान्तिको यात्रामा १२ जना योद्धा सहिद भए, घाइतेहरूको सङ्ख्या त्यत्तिकै छ । हामी जेल गयौँ । अझै पनि जेलमा हाम्रा सयौँ कार्यकर्ता हुनुहुन्छ । यो सबै के–का लागि ? भन्दा अखिर जनताको जीवनका लागि परिर्वतन पूर्णतामा पुगेको छैन । परिवर्तन प्राप्तिका निम्ति वा राज्यमा नागरिकको प्रत्यक्ष सहभागिता, त्यसका निम्ति क्रान्ति त जारी नै छ । त्यसैले क्रान्तिकारी आन्दोलनबाट छाएको यो निराशालाई हामीले सम्बोधन गर्न सक्नुपर्छ । यी सबै सवालहरूको जबाफ हामी आन्दोलनको यात्रामा दिन्छौँ । त्यसैले नेपालका कुनै पनि नागरिक, युवकयुवतीहरू निराश हुन जरुरी छैन ।

प्रकाशजीको गीत मैले पनि गहिरिएरै हेरेँ । गीतभित्र जसरी महान् जनयुद्ध, फेरिएको व्यवस्था र नफेरिएको अवस्थाबारे चित्रित गर्न र संवेदनशीलताभित्र खेलेर निराशा बाँडेर देखाउन खोज्नुभएको छ, त्यो पुँजीवादको समस्या हो । यो व्यक्तिविशेषको समस्याभन्दा पनि पुँजीवादले जन्माएको विकराल समस्या हो । अहिले हामीले हेर्यौँ भने नेपालको जनसङ्ख्याको ठूलो हिस्सा विदेशमा छ । त्यसमा पनि युवकयुवतीको सङ्ख्या अधिक विदेशमा दुख गरिरहेका छन् । जहाँ मान्छेहरू संसारभरका सहरहरूमा गुलाम वा दासको जीवन बाँच्छन् । नेपाली युवकयुवतीले भोगेका कारुणिक साँच्चिकै हृदयविदारक घटनाहरू बीबीसीले पनि सार्वजनिक गरेको छ । हामीले सुनेका छौँ, हेरेका छौँ । यसरी हेर्दा कस्तो लाग्छ भने नेपालका युवकयुवती विश्वका धनाढ्य मान्छेहरूका दास र गुलाम बन्न जन्मिएजस्ता, नेपालका छोरीचेली उनीहरूका खेलौना बन्न बाध्य भएजस्तो स्थिति छ । यो राज्य र व्यवस्थाको समस्या हो । प्रकाश सपुत एकजना लोकप्रिय र क्षमतावान् व्यक्ति पनि हुनुहुन्छ । उहाँहरू जस्ता कलाकारहरूले विषयवस्तु प्रस्तुत गर्दा आशावादी हुनु राम्रो हुन्छ । समस्याहरू उजागर गर्नु पनि पर्छ तर बलिदानहरूको अवमूल्यन गर्नु हुन्न, मिल्दैन पनि ।

यस विषयमा साहित्यकार भूपाल राईको मत पनि मननीय नै छ । उनी भन्छन्, ‘त्यसो त औसतभन्दा निम्न स्तरको विचार, सिर्जना र कलाप्रति मेरो उस्तो रुचि रहने गर्दैन । टिप्पणीको लायक पनि म ठान्दिनँ तर दुर्भाग्य, स्तरहीन र सस्तो कलाकारिताले नै समाजमा बढी भ्रम छर्ने गर्छन् । सस्ता र कोरा माल नै बजारमा बेसी बिक्री हुन्छन् । पहिलो आपत्ति मेरो त्यहाँनिर हो । जनयुद्धको पछिल्लो बैठान भ्रष्टीकरण अवश्य भएकै हो । विचार र नेतृत्व स्खलित भएकै हो । त्यसमा दुईमत छैन । त्योमाथि प्रश्नै गर्न मिल्दैन भन्ने पनि हुँदैन । तर कुनै पनि निर्माणाधीन अभिव्यक्तिको भ्रूणमा कुनै न कुनै लेखन मनोविज्ञानले काम गरेको हुन्छ । त्यही भ्रूणको स्वरूपमा तयारी कला निर्माण हुने हो । यस कोणबाट हेर्ने हो भने विवादित गीत/भीडीओले अवैतनिक नश्लवादको चित्र उतारेको छ । गायक (औसतभन्दा तलकै सही) जुनसुकै जातको होस् उसले थाहै नपाई सजातीय नश्लकै अवचैतनिक मोह देखाएको छ (जस्तो कि देहव्यापारको दृश्य) । दोस्रो आपत्ति मेरो त्यहाँनिर हो ।

उता स्रष्टा/अभिनेता/गायक प्रकाश सपुतलाई माओवादी केन्द्रका कार्यकर्ताले धम्की दिएका छन् र उनलाई ‘कसैको आत्मसम्मानमा चोट पुगे क्षमा चाहन्छु’ भनी आत्मालोचना गर्न लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले आफूले देखेका र सङ्गत गरेका व्यक्तिहरूलाई नै आधार बनाएर गीतको विषयवस्तु बनाएको र यसमा सम्बन्धित पक्षको आत्मसम्मानमा चोट पुगेको भए माफी दिन आग्रह गरेका हुन् । उनले कसैले यस विषयलाई नियतवश उक्साएर वा निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई द्विविधामा नपार्न पनि आग्रह गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘विवाद मेरो स्वाभाव र ल्याकतको कुरा होइन । मैले कसैसँग पनि यो विषयमा सहयोग र सल्लाह लिएको छैन । त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौँ तर यसलाई राजनीतीकरण नगर्न सबैसँग अनुरोध गर्दछु । मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु । मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनुहोला । कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष र विपक्षमा एकोहोरो भइन्छ । नेपाली सोसियल मिडियामा यो गलत नजिर स्थापित भएको छ । विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ । गीत र भीडीओको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौँ, समीक्षा गरौँ तर गीतले उठाउन खोजेका मुख्य विषयहरूलाई एकपटक इमानदार भएर विचार गरौँ । समग्र विषय त सत्य हो भन्दै नेतृत्व पङ्क्तिले स्विकारिसक्नुभएको छ । त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो । भिडियो हेरिरहँदा जुन–जुन दृश्यले सन्बन्धित साथीहरूलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यसप्रति म फेरि पनि क्षमा चाहन्छु । यसलाई कलाको दृष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु ।’

तर जनयुद्धका नायक भनिएका प्रचण्डले चाहिँ यो गीतको विषयलाई लिएर धेरै विवाद नगर्न बताएका छन् । जनयुद्धको पहल गर्ने मात्र होइन, जनयुद्धलाई यो हालतमा पुर्याउने नकरात्मक श्रेयसमेत पाएका प्रचण्डले भनेका छन्, ‘मानिसहरूले आफ्नो अनुभव, आफ्नो अनुभूतिअनुसार आफ्नो गीत–कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोका रूपमा कसैले चर्चा ग¥यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ । त्यसको त्यति धेरै विरोध गर्नुपर्ने जस्तो मलाई लाग्दैन ।’

उनले माओवादी जनयुद्धलाई एउटा पाटोबाट मात्र हेरियो भने गलत हुने बताए । ‘एउटा पाटोबाट मात्र माओवादी युद्धलाई, माओवादी नेता–कार्यकर्तालाई हेरियो भने त्यो गलत हुन्छ । त्यसका धेरै आयामहरू छन् । धेरै पक्ष छन्, धेरै मर्महरू छन्’, प्रचण्डले भनेका छन् ।

प्रकाश सपूतको गीत माओवादी जनयुद्धसँग सम्बन्धित भएकाले जनयुद्धमा लामबद्ध पधेरैले चासो, चिन्ता र सूक्ष्मतापूर्वक हेरेर प्रतिक्रिया दिएका छन् ।

नेकपाका नेता ओमप्रकाश पुन सङ्क्षिप्त प्रतिक्रिया लेख्छन्– प्रकाश सपुतको पीर गीतले जनयुद्धको कार्यदिशाले उठाएको महान् बलिदान र संसदीय कार्यदिशाले ढलाएको महापतनको संश्लेषण गरेको छ । सञ्चारकर्मी झनक श्रेष्ठ भन्छन्, ‘कलाकार प्रकाश सपुतको गीति नाटक ‘पिर’ ले महान् जनयुद्धलाइ असफलसिद्ध पार्न प्रचण्ड–बाबुराम वैचारिक विचलन र आत्मसुरक्षावादी चिन्तनका कारण यो गीतिनाटकले थप प्रस्ट पारिदिएको छ । यस्तो हुनु भनेको प्रचण्ड–बाबुराम नै असफल हुनु हो तर यति भनेर मात्र हुँदैन । अब अधुरो जनक्रान्तिलाई पूरा गर्न अब सच्चा क्रान्तिकारी, देशभक्त, वामपन्थी, लोकतान्त्रिक, राष्ट्रवादी शक्तिहरू जागौँ, अधुरो क्रान्ति पूरा गर्न र वैज्ञानिक समाजवाद एक मात्र विकल्प हो ।’

प्रकाश सपूतको ‘पिर’ गीतबारे समर्थन र विरोधमा बहस भइरहेको छ । महान् जनयुद्धले निर्माण गरेका जनमुक्ति सेनाका महिला योद्धाहरूलाई वेश्यासमेत बन्न विवश देखाइएको विषय बढी विवादित बनेको छ । यो सही हो । प्रकाशले हिम्मत गरेर जनयुद्धबाट आएको एउटा शक्तिशाली तप्का जनक्रान्तिमा, जनविद्रोहमा छ भन्ने पनि देखाउन सक्नुपथ्र्यो । सायद उनले त्यति माथि सोच्न सकेनन् । यो उनको सीमा हो । खास समस्या प्रकाशको भन्दा पनि जनमुक्ति सेनाका घाइते योद्धाहरूलाई अरबको खाडीदेखि कोठीसम्म जान बाध्य पार्ने तथाकथित महानायकहरूको वैचारिक वेश्यापनमा छ । जनयुद्धबाट आएको एउटा तप्का सत्तामा, एउटा विद्रोहमा र एउटा खाडीसम्म पुगेको घटना सत्य हो । ठूलो समस्या प्रकाशको गीतमा होइन, यहाँ कयौँ प्रकाशहरू योजनाबद्ध रूपमा जनयुद्धलाई आतङ्क बनाउन मरिमेटेर लागिपरेका छन् । प्रचण्ड स्वयम्ले जनयुद्धलाई द्वन्द्व स्वीकारेर जनयुद्धको अवहेलना गरेका छन् । ठूलो समस्या त भारतीय साम्राज्यवादका विरुद्ध सुरुङ खन्न लगाउने र अमेरिकी साम्राज्यवादको सुरुङभित्र छिरेर एमसीसीजस्तो राष्ट्रघाती सम्झौता पास गरी नेपाललाई साम्राज्यवादको रणमैदान बनाउने चिन्तनमा छ । जनयुद्ध असफल हुनुमा जनताको, कार्यकर्ताको, जनमुक्ति सेनाको कुनै दोष छैन, तथाकथित महानायकहरूको मस्तिष्कमा आएको वैचारिक विचलन, पलायन र आत्मसमर्पणमा छ । जनमुक्ति सेना, जनता र माओवादी नेता–कार्यकर्ताले तथाकथित नायकहरूप्रति आवेश र आक्रोश प्रकट गर्न पाउँछन् । थप्पड हान्न र अरू जनकारबाही गर्न पनि पाउँछन् तर जनयुद्धलाई सामाजिक फासिवाद, फासिवादी आतङ्क र आतङ्कवादी क्रियाकलाप भनेर बदख्वाइँ गर्नेहरूलाई भने जनयुद्धलाई अलोचना गर्ने अधिकार छैन । यो दलाल पुँजीवादी व्यवस्था अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गरौँ । एउटै आन्दोलनबाट आएका कोही सत्तामस्तीमा र कसैले वेश्यालय र अरबको खाडीमा जानै पर्दैन ।

स्रष्टा परशु कोइरालाले पनि गीतबारे मार्मिक टिप्पणी गरेका छन् । उनी लेख्छन्, प्रचण्ड, बाबुराम, बादलहरूकै कारण क्रान्तिले गलत मोड लिएपछि हिजोका जनयुद्धमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान गर्ने असङ्गठित र समर्थकमध्येका अधिकांश र हिजो सङ्गठित, आज असङ्गठितहरू जनयुद्धका अपमान र समाजकै नजरमा समेत चरम तिरस्कार भैसकेपछि आज कतिपय घर न घाट भएर बिदेसिन बाध्य भए त कतिपय देशभित्रै बाँच्न, परिवार, आफन्त बचाउन पैसा कमाउने गलत धन्दा गरेर पनि जीविकोपार्जन गर्न बाध्य भएको साँचो हो । सानाठूला सहरमै पनि केही पात्रहरू पैसाका लागि जे पनि गर्ने र सम्बन्धविच्छेदपछि विभिन्न अशोभनीय पेसामा पनि देखिएकै छन् । यो हुनु गलत थियो । यसका जड राष्ट्र र जनताका हितमा काम नगर्ने र क्रान्तिलाई विसर्जनमा पुर्याउनेहरू नै हुन् । सपुतको गीतमा जनयुद्धका विरोध र अपहेलना गरिएको छ र ? छ भने सपुत पनि गलत हुन् । प्रचण्ड स्कुलिङ र दबदबाले धेरै पतिपत्नीबीच सम्बन्धविच्छेद भएकै हुन् । कैयौँका परिवार भत्केकै हुन् । जनयुद्ध बेठीक थिएन तर प्रचण्ड स्कुलिङका परिणाम सबै गलत थिए र छन् ।

राजनीतिक प्रतिक्रान्ति भएको देशमा सांस्कृतिक प्रतिक्रान्ति हुनु र त्यसका बाछिटा देखिनु अस्वाभाविक होइन । कृष्ण सेन ‘इच्छुक’ हरूको ठाउँ सूव सेन, माधव घिमिरे र व्याकुल माइलाहरूले लिएको समयमा, महान् योद्धाहरूका हत्याराहरूको पदोन्नति र बढुवा भएकै बीभत्स दृश्यहरूका बीच पारपाचुके र विद्रोहहरू अघि बढेका हुन् भन्ने सत्य भुल्नु हूँदैन । प्रतिक्रान्तिलाई आत्मसात गर्ने तर कसैले औँल्याइदियो भने नसहने प्रवृत्ति राम्रो होइन । जनयुद्धमा योद्धाहरुले आफूले गोली थापेर बचाएका नेताहरु आज कहाँ छन् ? प्रकाशको गीतमा मार्मिक ढङ्गले देखाइएको छ । जनयुद्धबाट आएका नेताहरुले जनयुद्धका उपलब्धिहरू किन संस्थागत नगरेको ? बलिदान गर्ने महान् योद्धाहरूलाई किन राष्ट्रिय सहिदसम्म घोषणा नगरेको ? जनमुक्ति सेनालाई किन अयोग्य करार गरी रुवाउँदै घर फर्काएको ? किन क्रान्तिकारी योद्धा, घाइते, अपाङ्ग, बेपत्ता योद्धाका सपना भताभुङ्ग पारेर हिजो आफैँले प्रतिक्रियावादी करार गरेका शक्तिसँग लम्पसार परेको ? यी सबै दोष पनि कुनै सपूत वा कपूतलाई लगाएर उम्किने ? कि जनक्रान्तिमा लामबद्ध बनेर जनयुद्धका अधुरा कार्यभार पूरा गर्ने महाशयहरू हो ! सत्ताको तर मारेर कुनै सपूत वा कपूतलाई गाली गर्न र धम्क्याउनसम्म त ठिकै होला तर आफैँले गरेका गल्तीहरू सुधार गर्नुचाहिँ पर्दैन ?

प्रकाशको गीतका विषयमा पत्रकार खम्बु चन्द लेख्छन्, ‘प्रकाश सपुतको ‘पिर’ ले धेरैलाई पिरेको देखियो । माओवादी वृत्तबाट केहीले दुखेसो पोखिरहेका छन्, केहीले सुझाव पस्किरहेका छन् भने सामाजिक सन्जालमार्फत केहीले प्रकाशमाथि धम्कीसमेत दिइरहेका छन् । प्रकाशको पिरबारे सही दृष्टिकोण बनाउन जरुरी छ । पहिलो, प्रकाशको पिरको अन्तर्वस्तु के हो भन्ने कुरा नै मुख्य हो । प्रस्तुति त्यसको रूप पक्ष हो । यसरी हेर्दा कवि पूर्ण विरामको शब्दमा ‘अलपत्रमा परेको युद्धको नतिजा यस्तै हुन्छ’ झैँ पिरको अन्तर्वस्तु हो जहाँ जनयुद्धका घाइते योद्धाले आज भोगिरहेको दर्दनाक जीवनलाई चित्रण गर्न खोजेको छ र जनयुद्धका योद्धालाई आज यो दर्दनाक हालतमा पुर्याएर वर्गवैरीसामु जीवनको भिक माग्न पुगेका नेताहरूको गद्दारीप्रति प्रश्न तेर्स्याइदिएको छ ।

यो अन्तर्वस्तुको पृष्ठभुमि महान उदेश्य, सुन्दर सपना र उदात्त भावनाद्वारा अभिप्रेरित थियो, जसले संसार बदल्ने उत्कट अभिलाूशाका साथ जीवनलाई युद्धमा होम्न सम्भव बनायो । यसको सौन्दर्यात्मक चेतलाई प्रकाशले बुझ्न सकेनन् । सक्ने कुरा पनि थिएन । यसैको परिणाम हो, उनको प्रस्तुति पक्ष भने कलाविहीन, सौन्दर्यविहीन र भद्दा प्रहसनमा प्रदर्शित हुन पुग्यो जसले जनयोद्धाहरूको जीवनको दुर्दान्त कथालाई प्रस्तुत गर्ने प्रयत्न गर्दागर्दै पनि उनीहरूमाथि न्याय गर्ने सामथ्र्य राख्न सकेन ।

दोस्रो, प्रकाश व्यावसायिक कलाकार हुन् । आजको नवउदारवादी बजारवादले स्रष्टा, कलाकारहरूको विवेक र प्रतिभालाई आफ्नो नियन्त्रणमा कैद गरेर मालको रूपमा परिणत गरिरहेको छ । यस्तो स्थितिमा व्यावसायिक स्रष्टा, कलाकारहरूले आफ्नो गरिमालाई जोगाउन, मानवीय नैतिक मूल्यमा टिक्न थप गम्भीर बन्न जरुरी छ । बजारमा जेजे बिक्छ, त्यही उत्पादन गरेर पस्किने कामले उनीहरूको गरिमा जोगाउन सम्भव हुँदैन । यहाँनेर प्रकाश चुकेको देखिन्छ । यसतर्फ उनले गम्भीर आत्मसमीक्षा गर्दै पिरबाट पर्न गएको पिरप्रति माफी मागेर म्युजिक भिडियो यथाशीघ्र सच्याउनु उपयुक्त हुन्छ ।

तेस्रो, पिरले प्रस्तुत गरेको दर्दनाक हालतका लागि प्रकाशलाई मात्र जिम्मेवार बनाउने कुरा हुँदैन । जनयुद्धको नेतृत्वले धोखा नदिएको भए, जनयुद्धको नेतृत्व जनयोद्धा र जनतालाई अलपत्र पारेर जनयुद्धकै बलिदानलाई भजाएर वर्गोत्थान हुँदै दलाल पुँजीवादको कारिन्दामा पतन नभएको भए आज जनयोद्धाहरूको यस्तो दर्दनाक अवस्था आउने थिएन र प्रकाशहरूका यस्ता पिर पनि जन्मिने थिएनन् । त्यसैले मुख्य समस्या प्रकाश होइन, बरु प्रकाश र प्रकाशका पिरहरू जन्माउने गद्दार नेताहरू नै यसका लागि मुख्य रूपले जिम्मेवार छन् । त्यसैले तिनै गद्दार नेताहरूको लँगौटीमा झुन्डिएर प्रकाशलाई सत्तोसराप गर्ने वा सत्ताको आडमा धम्की दिने बुख्याँचाहरूको कुनै अर्थ छैन । तिनै धोकेबाज नेताहरूप्रति सहानुभूति पालेर प्रकाशको पिरमा पिरोलिनुको पनि कुनै औचित्य छैन । बरु, हामी कम्युनिस्ट हौँ भने कम्युनिस्ट चेत र आचरण प्रदर्शन गरौँ । प्रकाशको गल्तीलाई सच्याउन प्रेरित गरौँ । उनलाई सही बाटो देखाऔँ । उनको प्रतिभा, कला र गलाको पनि सम्मान गरौँ ।

सञ्चारकर्मी एवम् स्रष्टा ध्रुवले ‘पिर’ को ऐनामा प्रचण्ड र उनका अनुयायीको अनुहार’ शीर्षक लेख नै लेखेका छन् । उनले भनेका छन्, प्रकाश सपूतको ‘पिर’ गीतले परिवर्तनका लागि योगदान गरेका भुइँतहका नेपाली युवायुवतीको विगतलाई सम्मान गरेको छ । साथसाथै उक्त गीतको कथाले उनीहरूले भोग्नुपरेको वर्तमानको पीडाप्रति सहनुभूति प्रकट गरेको छ । गीतमा निराशा छ, पीडा छ, चित्कार छ । तर पीडा, कुण्ठा, निराशा र चित्कार व्यक्त गर्न पनि आँट चाहिन्छ– शक्तिशालीका विरुद्ध जाने आँट ।

पीडा, कुण्ठा र निराशा शक्तिशालीले शक्तिहीनमाथि गरेको अन्याय र अत्याचारका प्रमाण हुन् । शक्तिशालीहरूले आफूले गरेको अन्याय र अत्याचारको प्रमाण मेटाउन पीडा, कुण्ठा र निराशाजस्ता शब्दलाई नकारात्मक अर्थ दिने गर्छन् । शक्तिशालीहरूको भाष्यमा अत्याचार र अन्याय गरिरहने उनीहरू आफू सकारात्मकताका चरमचुली हुन् । अन्यायका विरुद्ध कुण्ठा, पीडा र निराशा व्यक्त गर्नेहरू नकारात्मकताका नरककुण्ड हुन् । आज जसले प्रकाश सपूतको ‘पिर’ गीतका पक्षमा उभिनेलाई कुण्ठित र निराश भनेका छन्, उनीहरू माओवादी नेताहरूले नेपाली युवासित गरेको झूटको खेती, विश्वासघात र धोकाको प्रमाण मेटाउन चाहन्छन् । हिजोका वीरहरूको आजको ‘पिर’ नेपाली इतिहासमा युवाहरूमाथि माओवादी नेतृत्वले गरेको गद्दारीको प्रमाण हो । प्रकाश सपूतको यो गीतमा नेपालको माओवादी नेताहरूको अनुहार निकै घिनलाग्दो देखिन्छ । आफ्नो विद्रुप अनुहार देखेपछि माओवादी नेताहरू आतङ्कित भएका छन् र आफ्ना विवेकहीन कार्यकर्तालाई सामाजिक सञ्जालमा प्रकाश सपूतका विरुद्ध उतारेका छन् ।

यो सन्दर्भ अहिले यत्ति नै । यो साता सांस्कृतिक प्रतिरोध दिवस हो । एक दशकअघि अनेकोटमा बलिदान गर्ने महान् सांस्कृतिक योद्धाहरुको स्मृतिमा ‘लालताराहरूसँग’ शीर्षक कविता प्रस्तुत गर्दै यो साताको समय समीक्षा यहीँ टङ्ग्याउने अनुमति माग्छु :

माफ गर
मेरा लालतारा
पारेर मुटुमा गाँठो
रोकेर परेलीका डिलडिलमा डब्डबाएका
नुनिला आँसुका ढिक्काहरू
मैले भन्नैपर्छ
चेतना र सभ्यतालाई ज्यूँदै जलाउने
दाहसंस्कार गर्न कालरात्रीको
१८ वर्ष नलाग्दै तिमीले फायर खोलेको
कमान्डरले गरेको छ आत्मसमर्पण
झुकाएको छ बन्दुक
च्यातेको छ रक्तरञ्जित पोसाक
र उठाएको छ दुवै हात !
माफ गर लालतारा माफ गर !
पश्चाताप गरेको छ उसले
तिम्रो रातो रगत र बलिदानप्रति
तिम्रो बहादुरी र कासनप्रति
तिम्रो ललकार र विस्फोटप्रति
मात्र उसका लागि र उसको स्वार्थका लागि
पारेको छ धुजाधुजा
तिम्रो रगतमा चोबलेर
रातो
गाढा रातो रङ बोकेर फर्फराएको झन्डा !
प्रायश्चित गरेको छ उसले बारम्बार
तिम्रो गौरवशाली बलिदानमाथि र
हजारौँ क्रान्तिकारी बाबाआमाको,
लाखौँ ऊध्र्वगामी नानीबाबुको
अदम्य शौर्य, त्याग र चातुर्यमाथि
थुकेको छ उसले
आफैँले बनाएको रक्तरञ्जित यात्राप्रति र
फर्काएको छ घोडा
ओरालो, सीधै ओरालो
शिखर चुम्न लागिसकेका बाइपङ्खी घोडा
फुकालेको छ काँठी र
उखेलेको छ जगर
भुत्ल्याएर शरीरमा
दलेको छ नुनचुक
मात्र आफ्ना लागि र
आफ्नो निहित स्वार्थका लागि !
आँसु, पीडा र शोकलाई
रूपान्तरित गरेर आक्रोश र बारुदमा
जो विस्फोट भएथे अन्तिम क्षणसम्म
मुक्ति जिन्दावाद, मृत्यु मुर्दावाद भन्दै
खाएथे शपथ र
बचेको एउटा मुट्ठी उचालेर
थर्काउँंदै नारायणहिटी, ह्वाइटहाउस र दिल्ली दरबारलाई
लगाएथे आशावादी नाराहरू
शिर झुकाएर भन्छु–
क्याम्प फेरेको छ कमान्डरले र
सगर्व घोषणा गरेको छ गद्दारीको
नाम जप्दै मालेमाकै
जन्मिएको छ खु्रस्चेभको अर्को संस्करण
उदाएको छ तेङको नयाँ सन्तान र
बनेको छ रायमाझीको असली चेलो !
प्रिय लालतारा
धैर्य, संयम र गम्भीर छौँ प्रिय लालतारा !
कमान्डर बौलाएको यो घडीमा
कमान्डर मरेको यो क्षणमा
फुकीफुकी पाइला चालिरहेछौँ
निर्माण गर्दै नयाँ कमान्डर ।

सूर्यलाई हत्केलाले छेक्न
अब धावा बोल्नै परेन ओबामाले र
तिरङ्गी पठाउनै परेन विस्तारवादले
यहीँ जन्मियो लेन्डुप र
बनायो लालसेनालाई तिरङ्गी
लगाएर बिप्पा, एअरपोर्ट, सुपुर्दगी र जलस्रोमा ल्याप्चे
र गरेर घोषणा लालसेनाको मृत्युको
ढाक्यो रातो झन्डाले !
मनाउँदै गर्दा तिम्रो महान् बलिदानीको १४ औँ वर्षगाँठ
गर्दैछु घोषणा पूर्वकमान्डरको अन्तिम संस्कारको–
नेपाली लेन्डुपको÷महाभारतकालीन विभीषणको
जो आफ्नै सेनालाई बन्धक बनाउन
दिन्छ कासन दुस्मन सेनालाई
त्यही सेना
जसका गोलीले मारिएथे आफ्नै योद्धा
र लुटिएथे चेलीका अस्मिताहरू
म धिक्कार्छु, थुक्छु हजारपटक
वर्गघाती नवलेन्डुपहरूलाई र
कासन गर्छु नवीन विद्रोहको
जहाँ सामेल छन्
सपनामाथि आगो लगाइएका हजारौँ अनेकोटहरू
र सपनाको सुन्दर रङमाथि हिलो छेपिएका ती अयोग्यहरू
जो क्रान्तिका लागि योग्य मात्र होइन, सुयोग्य छन्
र अब्बल छन् वैरीलाई हायलकायल पार्न ।

प्रिय लालतारा !
खोसेर तिम्रो रगतसँग साटिएको हतियार र बारुद
कब्जा गरेर तिम्रा सपना सजिएका सुन्दर पोसाक
चैनको निद्रा सुत्ने तयारीमा छन् छविलालहरू
तर तिनीहरू नझकाउँदै
हुनेछ विस्फोट तिनका सिरानीहरूमा
र बन्नेछ सुन्दर संसार तिनका भग्नावशेषमाथि !

(५ चैत, २०६८, अनेकोट)

source: https://eratokhabar.com/archives/59313

 

Leave a Reply

Your email address will not be published.