साम्राज्यवादी आगोमा युक्रेन

International

 

साम्राज्यवादी आगोमा युक्रेन

साम्राज्यवादीहरू विश्वबजार कब्जा गर्न र पहुँच विस्तार गर्न साना तर रणनीतिक रूपमा महत्वपूर्ण देशहरूमा फौजी हमला गर्ने वा गराउने गर्दछन् । आज विश्व–मानचित्रमा सानो तर युरोपको महत्वपूर्ण देश युक्रेन रुसी आक्रमणको चपेटामा परेको छ । विगतमा कम्युनिस्ट समाजवाद स्थापनापछि सोभियत सङ्घको घटक तर पुँजीवादी साम्राज्यवादीहरूको आक्रमण थेग्न नसकेर सोभियत सङ्घको विघटनपछि टुक्राटुक्रा भएको अवस्थामा थियो भने कतिपय देशहरू पुनः रुसमा सामेलसमेत भएका छन् तर युक्रेन पछिल्लो समयमा साम्राज्यवादी अमेरिकाले आफ्नो पोल्टामा लिन सबैखालका हर्कतहरू गरेको कुराले रुसलाई झस्काएको हुनसक्छ । परिणामतः रुसको आक्रमणमा युक्रेन पर्न गएको छ ।

लेखक : असल क्षेत्री

दोस्रो विश्वयुद्ध बजार विस्तार र आर्थिक लाभका कारण हुन गयो । आज अर्कोपटक युद्धका कारण विश्व मानव जातिले ठूलो सङ्कट बेहोर्नुपर्ने पो हो कि भन्ने स्थानमा छ । यही विषयलाई लिएर भएका समर्थन र विरोधका ध्रुवीकरणहरूले यो स्थानमा पुर्याएका हुन् । मानव जातिको इतिहास युद्ध र क्रान्तिको इतिहास हो । मानव जातिले युद्धका कारण ठूलाठूला दुर्घटनाहरू पनि बेहोर्ने गरेको छ र यसले देशहरूका मानचित्रहरू प्नि फेरबदल गरिदिन सक्छ । दोस्रो विश्वयुद्धमा विश्वका कयौँ देशका मानचित्रहरू बदलिए । कयौँ नयाँ देशहरू स्थापना भए भने कयौँ देशहरूका नामनिशानासमेत मेटिए । दोस्रो विश्वयुद्धको झल्को दिने गरी रुसले युक्रेनमा आक्रमण गरेको छ । निर्दोष युक्रेनी जनताले त्यसको मार खेप्नुपरेको छ हजारौँ–लाखौँ मान्छेहरू मृत्यु कुर्दै भयावह र कारुणिक जीवन व्यतित गरिरहेका छन् । यो आक्रमणको मूल जिम्मेवार भनेको अमेरिकी साम्राज्यवाद हो । अप्रत्यक्ष रूपमा साम्राज्यवादले युक्रेनका तर्फबाट यो लडाइँको नेतृत्व गरिरहेको छ र साम्राज्यवादी सैन्य संस्था नेटो, पश्चिमा शक्ति र युरोप लडिरहेका छन् । विश्वको आधाभन्दा बेसी शक्ति युक्रेनलाई अप्रत्यक्ष र परोक्ष रूपमा खराब सहयोगीका रूपमा सहयोग गरिरहेका छन् । युक्रेनलाई आफ्नो पहुँचमा ल्याउने, पछिल्लो चरणमा चलिरहेको विश्व–व्यवस्थालाई चुनौती दिँदै उदाइरहेको रसियालाई एक्ल्याउने, युरोपमा रसियन प्रभावलाई कमजोर तुल्याई आफ्नो बजार विस्तार गर्ने उद्देश्यसहित अमेरिकी कुटिलताको परिणाम युक्रेन युद्ध गराइएको कुरा प्रस्ट हुँदै गएको छ । रसियाको इतिहास लेनिन–स्टालिनहरूको मेहनत र उहाँहरूकै अपार सफलताले निर्माण भएको हो । रसिया आज आइपुग्दा विगतको समाजवादी मुलुक त हैन तर हिङ नभए पनि हिङ बाँधेको टालो भनेझैँ त्यो बेलाको त्यसको सुगन्ध रहेको हुनु पर्दछ । ठूलो क्रान्तिको आगोबाट निर्माण भएको रसियालाई एक्ल्याउने धम्क्याउने र नजिकै पुगेर युक्रेनमा आफ्ना सेना र हतियार राख्नेजस्ता कार्य अमेरिकी साम्राज्यवाद र त्यसको संरक्षणमा रहेको नेटोले गर्न थालेपछि लडाइँ रसियाका निम्ति बाध्यात्मक र अनिवार्य कुरा भएको हुनुपर्छ ।

कतिपय लडाइँहरू चाहेरभन्दा पनि लड्नैपर्ने बाध्यताहरू आइपर्ने गर्दछन् । सायद रसियालाई साम्राज्यवादले त्यही स्थानमा पुर्याएको छ । रसिया समर्थक युक्रेनी सरकारलाई जबर्जस्ती बर्खास्त गरी आफ्नो कठपुतली सरकार बनाएको अमेरिकी साम्राज्यवाद त्यत्ति कुराले सन्तुष्ट हुने कुरा थिएन । पछिल्लो चरणमा राजनीतिक स्थिरता रहेको, विकासको नयाँ ढोका खोल्दै विकास गर्दै, विश्वभर इन्धन व्यापार गर्दै गएको, अझ युरोपभर इन्धन बेचिरहेको रसियालाई कमजोर बनाउने र आफ्नो अधीनमा राखिरहनेजस्ता खराब मनसायले साम्राज्यवादले रसियालाई कमजोर बनाउन र युरोपको इनधनको ब्यापार कब्जा गर्न गराएको लडाइँ हो ।

युद्धहरू मानवीय जीवनका अप्रिय घटना हुन् । मानवले मानवमाथि अन्यायपूर्ण ढङ्गले शासन गर्ने तरिकाहरूका कारण प्रायः युद्धहरू निम्तिने गर्छन् । रसिया–युक्रेन युद्ध पनि युक्रेनी राष्ट्रपतिको अमेरिकाप्रति उत्तरदायी बन्ने प्रवृत्तिका कारण भएको हो । यसले धेरै ठूलो जनधनको क्षति हुन पुगेको छ । यसको मूल जिम्मेवार अमेरिकि साम्राज्यवाद, त्यसको संरक्षक सोभियत रुसका विरुद्धमा खडा भएको साम्राज्यवादी सैन्य सङ्गठन नेटो हो भने त्यसको कठपुतली युक्रेनी सरकार र त्यसको मूल नेतृत्व जेलेन्स्की पनि त्यही हदको जिम्मेवार छ । जेलेन्स्की सरकारले क्षेत्रीय र युक्रेनी जनताको भावनालाई सही रूपमा ग्रहण गर्न नसक्दा र साम्राज्यवादी कठपुतली बन्न खोज्दा युद्धको सामना गर्नुपरेको छ । जबसम्म युद्ध थिएन, युद्धको त्रास मात्र थियो, त्यो बेलासम्म युक्रेनलाई साम्राज्यवाद र नेटोले युद्धमा धकेलिरहे । जब युद्धको घोषणा भयो सबैले जेलेन्स्कीलाई एक्लै छोडे । जेलेन्स्कीले युद्धमा सबैको साथ चाहेका थिए । अन्ततः त्यो कुरा असम्भव नै देखियो । वास्तविक युद्धवाट रसियाको अगाडि नेटो र साम्राज्यवादी देशहरू आउन चाहेनन् । नेटो यो युद्धमा प्रत्यक्ष आएको भए ठूलो विश्वयुद्ध हुने खतरा थियो । विश्वयुद्धतिर आजको विश्व पुगेको भए मानव जगत्मा नै ठूलो सङ्कट आउनेवाला थियो । तत्काललाई यो सङ्कट टरेको छ तर यसको दीर्घकालीन समाधान हुनसकेको छैन । छिमेकी देशहरूलाई बेवास्ता गर्नुको परिणाम नै आजको युक्रेन सङ्कटको एउटा तथ्य हो ।

युक्रेन अहिले पनि साम्राज्यवादी हावा भरेर लडिरहेको छ । आफ्नो लक्ष्यसम्म नपुगुन्जेल लडाइँ नरोक्ने भनी रसियाले खुलमखुल्ला भनिरहेको छ । विश्व–साम्राज्यवादलाई नै चुनौती दिएर लडिरहेको रसिया अहिले चलिरहेको विश्वव्यवस्थाको विरुद्धमा हो वा क्षेत्रीय सन्तुलन कायम राख्न मात्र हो, त्यो भने अन्योलमै छ । तर एकछत्र राज गरिरहेको र एकध्रुवीय विश्वव्यवस्थाको ढोङ फुकिरहेको पुँजीवादी व्यवस्थाका विरुद्ध खडा भयो र सोभियत रुसबाट नै साम्यवाद समाप्त भयो भनेर कराइरहेका पुँजीवादीहरूका विरुद्ध समाजवाद खडा गर्न सकेमा रसियाले लडेको युद्धको वैधानिकता र सार्थकता नयाँ रूपमा कायम हुनेछ । पुनः नयाँ रूपको सोभियत खडा हुने सम्भावना छ । यही व्यवस्थालाई सुदृढ गर्न मात्र हो भने पनि पुँजीवादीहरूले फिँजाएको एकध्रु्रवीय विश्वव्यवस्थाको हावा केवल कोरा साबित भएको छ । अमेरिकी साम्राज्य समाप्त हुँदै गएको मान्न सकिन्छ । युरोप र केही पश्चिमा देशलाई आफ्नो हातमा प्रयोग गर्नुले सबै विश्व मेरै साथमा रहन्छ भनेर मान्न सकिँदैन । विश्वकै शक्ति सम्पन्न र नयाँ मोडेलको समाजवादको अभ्यास गर्दै अगाडि बढिरहेको चीन, रुसलगायत देशहरू अमेरिकी वर्चस्व र साम्राज्यका विपक्षमा रहेको प्रस्ट भैसकेको छ । यसले के देखाउँछ भने आजको युगमा विश्वव्यवस्था अमेरिकी वा युरोपेलीहरूको हातबाट खोसिँदै गएको छ भने श्रमिक जनता र उत्पीडित राष्ट्रहरू नयाँ व्यवस्थाको खोजीका निम्ति लडिरहेका छन् । आज पश्चिमाहरूले खडा गरेको तथाकथित उदार लोकतन्त्र वा संसदीय पुँजीवाद विश्वका जनताले अस्वीकार गर्दै गएका छन् । त्यही संसदीय पुँजीवादले नै आज विश्वभर युद्ध निम्त्याएको छ । क. माओ त्सेतुङले साम्राज्यवाद भनेको कागजी बाघ हो भनेझैँ आज वास्तविकतामा त्यो साबित हुँदै गएको छ । पश्चिमा र युरोपका केही देशहरूलाई साथमा लिएर विश्व व्यवस्था सञ्चालन गरिरहने पश्चिमाहरूको सपनामा अँध्यारो छाउँदै गएको छ ।

रसिया र युक्रेनबीचको युद्ध अमेरिकाले इरान र अफगानिस्तानमा गरेको आक्रमणजस्तो हो भन्न सकिने आधारहरू छैनन् । अमेरिकाले स्वाधीन देशहरूमाथि आक्रमण गरेको थियो र विाश्व नै रमिते बनेर बसेको थियो । एकलौटी आक्रमण गरेर तहसनहस बनाएको थियो तर भर्खर अफगानिस्तानबाट अमेरिकी सेनालाई त्यहाँका जनताले लखेटिसकेका छन् । तर युक्रेणमाथिको रुसी आक्रमण पश्चिमाहरूले युक्रेनलाई युद्धका निम्ति उचाल्दा भएको हो । आफ्नै छिमेकीलाई खोसिदिँदा स्वाभाविक रूपमा युद्धकै परिणाम भोग्नुपथ्र्यो । यो युद्धमा युक्रेन पश्चिमाहरूको मोहोरा बन्दा ठूलै क्षति भोगेको स्थिति छ । युक्रेनलाई खोस्ने दिवासपना देखेको पश्चिमा शक्ति जिल्लिएर बसेको छ । न युक्रेनको सहयोगी बनेर प्रत्यक्ष युद्धमा भाग लिन सक्छ, न त पछि हट्ने नैतिक धरातल बाँकी रहेको छ ।

युक्रेनको लडाइँबाट नेपालले लिनुपर्ने शिक्षा

नेपालको देउवा सरकारले उत्ताउलो ढङ्गले अमेरिकालाई खुसी पार्न युक्रेनको समर्थन गरेको देखियो । यो एकदमै अपरिपक्व र कमजोर मानसिकताको उपज हो । छिमेकी ठूला मुलुकहरू र दक्षिणएसियाका प्रायः सबै छिमेकीहरू कसैका पक्षमा नबोलेको अवस्था र असंलग्न परराष्टनीति अङ्गीकार गरेको सन्दर्भमा कसैका पक्षमा नबोल्नु नै बेस हुन्थ्यो । बोल्नैपर्ने स्थितिमा साम्राज्यवादी अमेरिकाका विरुद्ध बोल्नुपथ्र्यो तर यो कुरा भर्खर एमसीसी पास गरेर अमेरिकी पक्षमा गएको नेपालको सरकारका सन्दर्भमा असम्भव नै थियो । कसैलाई खुसी पार्नुभन्दा पनि आफ्नो देशलाई बलियो बनाउनु नेपालको हितअनुकूल रहन्छ । नेपाली दलाल संसदीय सत्ताबाट यो कुरा सम्भव देखिँदैन । अरूको दलाली गर्दा युक्रेन युद्धको भुमरीमा ध्वस्त हुँदैछ भन्ने कुरा नेपालले गम्भीरतापूर्वक लिनुपर्छ ।

अन्त्यमा, जेलेन्स्की वा अमेरिका पक्षधर युक्रेनी राष्ट्रप्रमुखका अगाडि दुईवटा विकल्प छन् : कि आत्मसमर्पण गर्न तयार हुने कि सहज बलिदान गर्ने । आत्मसमर्पण भनेको अमेरिकी शक्तिको पोल्टाबाट रसियन शक्तिमा केन्द्रित हुनु, रसियाको सहयोगी बनेर पश्चिमाविरुद्धको मोर्चामा सहभागी हुनु । यही विकल्प नै युक्रेनी जनता र देशको हितमा हुने गर्दछ । दोस्रो विकल्पमा जाने हो भने देश र जनताको क्षति बेहोर्नुपर्ने देखिन्छ । रसियालाई युद्ध लडेर जित्न सक्ने कुनै सम्भावना देखिँदैन । रसियाले युक्रेनसँग लड्न मात्र तयारी गरेर लडेको देखिँदैन । पश्चिमा र नेटो आएमा ऊसँगसमेत लड्ने तयारीसहित लडेको रसियाको अगाडि केवल युक्रेन लडेर जित्न वा कमजोर तुल्याउने भन्ने प्रश्न हुँदैन । अमेरिकी साम्राज्यवादीहरूसँग लड्न तयार भएर गरेको तयारी र शक्तिलाई साम्राज्यवादी दाना खाएर लड्नसक्ने हैसियत राख्ने सम्भव कुरा हैन पनि । अन्यथा अमेरिकी साम्राज्यवादी कुचक्रमा जेलेन्स्की नष्ट हुनेछन् भने युक्रेन विश्व–मानचित्रबाट समाप्त हुनसक्छ ।

source: https://eratokhabar.com/archives/59255

 

Leave a Reply

Your email address will not be published.