नेपाली जनता युक्रेन अथवा अमेरिकी साम्राज्यवादका पक्षमा छैनन्, शान्तिका पक्षमा छन्

International

काठमाडौँ, फागुन २७ गते । नेपालस्थित अमेरिकी दूतावास रुस–युक्रेन युद्धमा निकै उत्ताउलो भएर युक्रेनका पक्षमा प्रचारमा जुटेको पाइएको छ । अमेरिकालाई नेपालको भूमि रुस वा अरू कुनै पनि देशको पक्ष वा विपक्षमा दुरुपयोग गर्ने अधिकार छैन । अमेरिकी दूतावासले कार्यालयको भित्तामा युक्रेनको पक्ष अर्थात् रुसका विरुद्ध नारा, ब्यानर वा तुल टाँग्नु कूटनीतिक मर्यादाविपरीत कार्य हो ।

नेपाल सरकारले संसद्बाट राष्ट्रघाती एमसीसी पारित गर्नासाथ नेपाल सरकार राष्ट्रसङ्घमा अमेरिकी पक्षधरता लिएर युक्रेनका विपक्षमा बोलेको थियो । त्यसको रहस्योद्घाटन गर्दै नेपाली भूमिमा रहेको अमेरिकी दूतावासको भित्तामा नेपाली भाषामै लेखिएको छ, ‘हामी युक्रेनको साथमा छौँ ।’

अमेरिकी दूतावासले नेपाली भाषामा युक्रेनका पक्षमा दलाली गरेर अमेरिका युक्रेनका पक्षमा छ भनेको हो कि नेपाल युक्रेनका पक्षमा छ भनेको हो, उक्त सूचनाले अन्योल मात्र उत्पन्न गरेको छैन, अमेरिकी साम्राज्यवाद नेपालको भूमि दुरुपयोग गरेर रुसका विरुद्ध निकृष्ट राजनीति गरिरहेको छ भन्ने सीधै बुझिन्छ । आमनेपाली जनता र विशेषगरी साम्राज्यवादविरोधी देशभक्त तथा क्रान्तिकारी जनता युक्रेन वा अमेरिकाका पक्षमा छैनन्, शान्तिका पक्षमा छन् किनकि रुसको युक्रेनमाथिको आक्रमण वा रुस–युक्रेन युद्धको अन्तर्यमा युक्रेनलाई रुसविरुद्ध दुरुपयोग गरेर, युक्रेनलाई नेटो र ईयूको सदस्य बनाएर रुस घेर्ने र उसको सेखी झार्ने अमेरिकी साम्राज्यवादी षड्यन्त्रको दुष्परिणाम हो । त्यसैले असंलग्न परराष्ट्रनीति अङ्गिकार गरेको नेपालले कुनै पनि शक्तिराष्ट्रका पक्षमा उभिन मिल्दैन ।

नेपाल कम्युनिस्ट पार्टीले संयुक्त राष्ट्रसङ्घको आपत्कालीन विशेष महाधिवेशन र मानवअधिकार कमिसनमा अमेरिकी पक्षधरता हुने गरी नेपालले संयुक्त राष्ट्रसङ्घको प्रस्तावमा मतदान गर्नु नेपालको असंलग्न परराष्ट्र नीतिविपरीतको काम र अमेरिकी कठपुतली बनेको प्रमाण रहेको पनि बताएको थियो । नेकपाका केन्द्रीय सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभागका इन्चार्ज कञ्चनले विज्ञप्ति जारी गर्दै एमसीसी पारित गरेलगत्तै परराष्ट्रनीति नै परिवर्तन गरेर नेपाल सरकारले अमेरिकी कठपुतली बनेको प्रमाणित गरेको र नेकपाले सरकारको उक्त जनविरोधी नीतिको विरोध गरेको प्रस्ट पारेका थिए । नेकपाले आफ्नो धारणा सार्वजनिक गरेको केही समयमै अमेरिकी दूतावासले रुसविरुद्ध अर्थात् युक्रेनका पक्षमा तुल–ब्यानर टाँगेको हो ।

यसै क्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य असल क्षेत्रीले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘नेपालस्थित अमेरिकी दूतावासमा टाँसिएको ब्यानरमा लेखिएको छ– हामी युक्रेनको पक्षमा छौँ । को हामी भनेको ? हामी नेपाली अमेरिकी साम्राज्यवादको विरुद्धमा छौँ ।’
क्षेत्रीको स्टाटसमा टिप्पणी गर्दै वीरेन्द विकले लेखेका छन्– नेपाली अनुहार नामका विदेशी दलालहरू भएपछि देशको हालत यस्तै हुन्छ । दलालहरू हो, हामी अमेरिकी साम्राज्यवादको विरुद्धमा छौँ ।

यसैगरी उक्त स्टाटसमा नेपाल कम्युस्टि पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीको टिप्पणी छ– युक्रेनका पक्षमा हामी छौँ भनेर उचाल्ने नेटोले त साथ दिएन र विचरा भ्लोदेमिर जेलेन्स्की रोइरहेका छन् । अमेरिकी राजदूतावासमा उसका दलालहरूले टाँसेका होलान् ।

उक्त स्टाटसका बारेमा पूर्णबहादुर विश्वकर्मा भन्छन्– हामी सम्पूर्ण नेपालीहरू अमेरिकी साम्राज्यवादको विरुद्धमा छौँ । त्यस्तै रमेश साउद ‘अमेरिकी आतङ्ककारीका एजेन्ट नेपाली काङ्ग्रेस र शेरे’ भनेर टिप्पणी गर्छन् भने रामकृष्ण शर्मा प्रभात ‘हामी भनेको सीआईका नेपाली एजेन्ट, दलाल, चोरहरू होलान् नि कमरेड ।’ त्यस्तै टिप्पणी गर्दै बबरजङ्ग सिंहले ‘दलालीको अर्को रूप हो भ्रष्ट सरकारको दाइ’ भन्ने टिप्पणी गरेका छन् भने प्रकाश जप्रेलले ‘साम्राज्यवादका तलुवा चाट्नेहरूका हातमा सत्ता गएपछि यस्तो हुने रे’छ’, चित्र बीएमले ‘दलाल सरकारलाई एउटा मिसाइल रसियाले नेपालको दलालको संसद् भवनमा खसाल्नुपर्ने हो’ र भक्तबहादुर थापाले ‘दलालहरू, भरौटे, भिखारीहरूले पश्चिमाहरूलाई खुसी पार्ने प्रयत्न गर्दैछन्’ भन्ने टिप्पणी गरेका छन् । उक्त स्टाटसमा अधिकांशले अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्ने टिप्पणी गरेर नेपाली जनता सदैव साम्राज्यवादका विरुद्ध छन् भन्ने प्रमाणित गरेका छन् ।

source: https://eratokhabar.com/archives/59197

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *