अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस काठमाडौँमा भव्यतापूर्वक संयुक्त रूपमा मनाइयो

Political

काठमाडौँ, फागुन २५ गते । नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीसहित राष्ट्रियताको आन्दोलनमा संयुक्त रूपमा सङ्घर्ष गरिरहेका ६ दल आबद्ध क्रान्तिकारी महिला सङ्गठनहरूको साझा मोर्चा ‘संयुक्त महिला सङ्घर्ष समिति’ ले स्वतन्त्रता, समानता र स्वाधीनताका लागि सशक्त संघर्ष गरौँ! ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाऔँ!! भन्ने मूल नाराका साथ मङ्गलबार काठमाडौँमा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) भव्यतापूर्वक मनाएको छ ।
काठमाडौँ रत्नपार्क शान्तिबाटिकाबाट संयुक्त रूपमा सुरु भएको जुलुस भद्रकाली सहिदगेट, सुन्धारा हुँदै पुनः शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै देशभक्त जनवादी मोर्चाका महासचिव परी थापाले महिलाहरू धार्मिक, सांस्कृतिक, राजनीतिक, सामाजिक र आर्थिक रूपमा थिचोमिचोमा परेको बताए । उनले नेपालको अहिलेको राज्यव्यवस्था प्रतिक्रियावादी भएको र सत्ता सञ्चालन गर्ने दलहरू नै विदेशीको दलाल भएको बताए । यस्तो व्यवस्थामा महिलाहरूले कहिल्यै अधिकार पाउन नसक्ने उनले बताए ।

कार्यक्रममा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेलले ११२ वर्षसम्म संसारमा महिला अधिकारका कुराहरू सुन्दासुन्दा कानै थाकिसकेको भए पनि अझै महिलाहरूले समानता प्राप्त गर्न नसकेको बताइन् । ११२ वर्षपहिले महिला अधिकारको जति सान्दर्भिकता थियो त्यो कुरा अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै उनले जनयुद्धले राज्यमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको भए पनि त्यो पूर्ण नरहेको बताइन् ।

नेत्री भुजेलले एमसीसी पारित गरेर नेपालको संसद्बाट देश बेचिएको धारणा व्यक्त गरिन् । नेपालमा रहेको सरकार र राज्यव्यवस्था जनता र राष्ट्रको हितमा नभएको हुनाले जनताको समाजवादी राज्य व्यवस्थाले मात्रै जनता र राष्ट्रको हितमा काम गर्न सक्ने र त्यही राज्य व्यवस्थाले मात्रै महिलालाई पूर्ण अधिकार प्रदान गर्ने उनले बताइन् ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले नेपालको संसद्बाट एमसीसी पास गर्नु देशको हितविपरीतको कार्य भएको बताइन् । देशै नरहे महिलाले अधिकार माग्ने ठाउँ पनि नरहने भन्दै उनले आउने निर्वाचनबाट जनताले राष्ट्रघातीहरूलाई हराउनुपर्ने धारणा व्यक्त गरिन् ।

शान्तिवाटिकामा मङ्गलबार आयोजित कार्यक्रममा नेकपाकी केन्द्रीय सदस्य एवम् अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले अध्यक्षको स्थानबाट महिलाहरूले समानता र स्वाधीनताका लागि सङ्घर्ष जारी राखेको र वैज्ञानिक समाजवाद स्थापनापछि महिलामाथिको शोषण र विभेद अन्त्य हुने बताइन् । नेकपा नेत्री चन्दले देशको स्वाधीनता नै सङ्कटमा परेको बेला महिलाहरू मौन भएर बस्न नसक्ने बताइन् । उनले पितृसत्तात्मक सामन्ती तथा पुँजीवादी उत्पीडन, शोषणका विरुद्ध एकताबद्ध भएर सङ्घर्ष गर्नुपर्ने बताइन् ।

कार्यक्रममा वैज्ञानिक समाजवादी महिला सङ्गठनकी अध्यक्ष धनकुमारी सुनार, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष धनकुमारी मगर, अखिल नेपाल महिला युनियनकी सीता सुवेदी, शारदा श्रेष्ठलगायत नेत्रीहरूले सम्बोधन गरेका थिए ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित उक्त सभा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी नेत्री अम्बिका मुडभरीले गरेकी थिइन् ।

ऋतु केसीले स्वागत मन्तव्य दिएको सभामा सामना परिवारका महिला कलाकारले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विष्णु न्यौपाने, प्रजिना दर्नाल, शोभा दुलाल, फूलमती, यात्री बोगटी, सुशीला बन्जाडेलगायत कविले महिलामुक्तिसम्बन्धी कविता प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *