कैलालीमा विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश

Political

पुष्पा साउँद/धनगढी, फागुन २२ गते । नेपाल कम्युनिस्ट पार्टी धनगढी नगर कमिटीको आयोजनामा फागुन २१ गते सहिद सप्ताह कार्यक्रमको समापनसहित पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र र काँङ्ग्रेस पार्टी परित्याग गरी नेताहरू शनिबार नेकपामा ध्रुवीकृत भएका हुन् ।

पार्टी धुर्वीकृत हुनेहरूमा माओवादी केन्द्रबाट पार्टी परित्याग गरि आउने जनयुद्धको प्रारम्भिक कालका योद्धा खेमप्रसाद चौधरी, देबिलाल चौधरी, मंगल निशानी, जंगबहादुर चौधरी, चन्द्रलाल चौधरी, कृष्ण सार्की, गोमती चौधरी, नन्दा चौधरी, सुरेन्द्र कुवर, हरि बिक, सुष्मा सार्की र नेपाली काँङ्ग्रेसका कुलप्रसाद आचार्य लगातका नेताहरू नेकपा पार्टीमा प्रबेश गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ओमप्रकाश पुनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहिद परिवार सम्मान लगायत नेपाली काँङ्ग्रेस र माओवादी केन्द्र परित्याग गरि नेकपामा ध्रुर्वीकरण हुनेहरूलाई दोसल्ला ओढाएर स्वागत एवम् सम्मान गरिएको थियो । पार्टीका जिल्ला सचिवालय सदस्य अर्जुन कठरियाको सञ्चालन, धनगढी नगर सचिव सरोज चौधरीको अध्यक्षता र नगर इन्चार्ज रमेश साउँदको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा सहिद दीपा निशानी र भारती निशानीका परिवार लगायत धेरै सहिद परिवारलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुनले दलाल पुँजीवादी सत्ताका कारण देश र जनतालाई यावत खालका समस्या भोग्नु परेकाले यसलाई फालेर समाजवादी सत्ता ल्याउन सबै सहिद परिवार र क्रान्तिकारीहरू एकीकृत जनक्रान्तिको बाटोमा अघि बढ्नुपर्ने कुरामा जोड दिएका थिए । दलाल सत्ता र त्यसका हिमायतीहरूले यहीँ फागुन १५ गते संसदबाट षड्यन्त्र पूर्वक राष्ट्रघाती एमसीसी सम्झौता पास गरेर देशलाई बैदेशिक हस्तक्षेप सहितको गृहयुद्धमा धकेलेको कुरामा जोड दिँदै त्यसको प्रारम्भिक असर देउवा सरकारले युक्रेनको मामिलामा अमेरिकाको पक्षमा मत हालेको लगत्तै भारतीय पुर्व सैनिक अधिकारी बिश्वम्भर दयालले आजतकसँग कुरा गर्दै चीनको समर्थनमा गए नेपाल र भुटानलाई युक्रेन बनाई दिने धम्की दिएको र यसले नेपाललाई साम्राज्यवादी युद्ध मैदानमा परिणत गर्ने षड्यन्त्र भएको कुरामा जोड दिँदै अब राष्ट्रवादी र क्रान्तिकारी जनताले राष्ट्रिय स्वाधीनताको लडाइँमा अघि बढ्न अपिल गरेका थिए । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलदेखि झापा बिद्रोहका सुखानी सहिदको सपना क्रान्तिमार्फत मात्रै पूरा गर्न सकिने कुरामा जोड दिँदै प्रमुख अतिथि पुनले आफ्नो पार्टी महासचिव विप्लवको नेतृत्वमा सहिद अभियानमा निरन्तर अघि बढेको बताए ।

स्थानीय जनताको उत्साहजनक उपस्थितिमा सम्पन्न भएको कार्यक्रमका अन्य अतिथिहरूमा बिशेष कमिटी सदस्यहरू, अक्ष्य, एलवी कुवर, बिरु तिरुवा, जिल्ला कार्यालय सचिव प्रकाश रावल, जिल्ला सदस्य अडान, डम्बर बिक, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुवास जोशी, सहिद परिवार सदस्य हरिराम निशानी लगायत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *