संसद्‌वादी नेताहरू साम्राज्यवादका दलाल साबित, एमसीसी लागू हुन नदिन जुटौँ : लोहनी

National
काठमाडौँ : राष्ट्रिय जागरण मञ्च नेपालका अध्यक्ष गुणराज लोहनीले नेपालका संसद्‌वादी दलहरू अमेरिकी साम्राज्यवादका दलाल भएको कुरा राष्ट्रघाती एमसीसी पारित गर्नुले प्रमणित गरेको भन्दै एमसीसी लागू हुन दिन निरन्तर सङ्घर्षमा जुट्न देशभक्त जनसमुदायलाई हार्दिक आह्वान गरेका छन् ।

लोहनीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै कार्यकर्ताको आँखामा धुलो फाल्न ‘व्याख्यात्मक प्रस्ताव’ को हास्यास्पद नाटक मञ्चन गरी रात पारेर गरिएको एमसीसी सम्झौताप्रति घोर आपत्ति पनि व्यक्त गरेका छन् । लोहनीले नेपालको राष्ट्रियता, अखण्डता, स्वाधीनता र सार्वभौमिकता धरापमा पर्ने, यहाँको प्राकृतिक साधन–स्रोतमा अमेरिकी साम्राज्यवादको एकाधिकार कायम हुने भएकाले मञ्चले निरन्तर एमसीसीविरुद्ध आन्दोलनमा ऐक्यबद्धता व्यक्त गरेको र अब पनि व्यक्त गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लोहनीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको व्यापक विरोध र सशक्त आन्दोलनका बाबजुद पनि हिजो संसद्मा नेपालका सरकारधारी र सरकारबाहिरका संसदीय पार्टीहरूले ध्वनिमतले राष्ट्रघाती एमसीसी सम्झौता पारित गरेका छन् । नेपालका क्रान्तिकारी, देशभक्त शक्तिको विरोधका कारण आजभन्दा ४ वर्षअघि नै गर्नुपर्ने उक्त सम्झौता पुलिस लगाएर भीषण दमन गर्दै सरकारमा रहेका पार्टीका केही देशभक्तजस्ता देखिएका कार्यकर्ताको आँखामा धुलो फाल्न ‘व्याख्यात्मक प्रस्ताव’ को हास्यास्पद नाटक मञ्चन गरी रात पारेर गरिएको एमसीसी सम्झौताको हाम्रो मञ्च घोर आपत्ति व्यक्त गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपालको राष्ट्रियता, अखण्डता, स्वाधीनता र सार्वभौमिकता धरापमा पर्ने, यहाँको प्राकृतिक साधन–स्रोतमा अमेरिकी साम्राज्यवादको एकाधिकार कायम हुने भएकाले हामीले मञ्च स्थापना भएदेखि नै र एमसीसी सम्झौता पारित गर्ने योजनामा रहेको तत्कालीन केपी—प्रचण्डको सरकारकालमा नै विरोध गर्दै आउनेक्रममा मञ्चका संयोजक र सचिवलाई तत्कालीन सरकारले गिरफ्तार गरी लामो समय पुलिस हिरासतमा राखेको कुरा सर्वविदितै छ । पछिल्लो क्रममा, नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टी, देशभक्त सङ्घ/सङ्गठनहरूले संयुक्त भएर राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध योजनाबद्ध आन्दोलन गरेका थिए । ती आन्दोलनहरूमा हाम्रो मञ्च सहभागी हुँदै आएको छ ।’

लोहनीले विज्ञप्तिमा भनेका छन्, ‘संसदीय पार्टीहरूले भन्दै आएको संसदीय सर्वोच्चताको खिल्ली उडाउँदै उक्त सम्झौता पारित गर्नुले एकातिर संसदीय व्यवस्थामा जनताको सर्वोच्चता नरहेको पुष्टि हुनुका साथै अर्कोतिर यी पार्टीका मुख्य नेताहरू अमेरिकी साम्राज्यवादका दलाल हुन् भन्ने पुष्टि भएको छ । विश्वका शक्तिशाली राष्ट्रहरू तीव्र रूपमा ध्रुवीकृत भैरहेको र शीतयुद्धले चरम रूप लिएको अवस्थामा साम्राज्यवादको नाइके अमेरिकालाई अनुदानका नाममा भूराजनीतिक अवस्थितिलाई ध्यानमा राखेर नेपाली भूमिलाई सैन्य अखडा बनाउन दिनु सरासर सामरिक क्षेत्र बनाउन दिनु हो । हामी सम्पूर्ण नेपाली जनतालाई उक्त सम्झौता पारित भए पनि कार्यान्वयन हुन नदिनका लागि सङ्घर्षरत भैराख्न अनुरोध गर्दछौँ । साथै नेपालको राष्ट्रियता, जनजीविका र जनतन्त्रका पक्षमा हुने सबै आन्दोलन र सङ्घर्षमा मञ्च सदैव अग्रमोर्चामा रहरिहनेछ ।’ प्रेस विज्ञप्तिको पूर्णपाठ…

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *