नेपाल बन्दको प्रभाव देशैभर, युवा सङ्गठनका नेता सागर र हिम्मत काठमाडौँबाट गिरफ्तार

News Political

काठमाडौँ : राष्ट्रघाती एमसीसी सम्झाैताविरुद्ध नेकपासहित ६ दल र २ मोर्चाले आह्वान गरेको आजको नेपाल बन्दको असर देशभर परेका समाचारहरू प्राप्त भएका छन् । देशका विभिन्न जिल्लाबाट प्राप्त समाचारअनुसार बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने विद्यालय र बजार पनि खुलेका छैनन् । बन्दको आह्वान गर्दै ६ राजनीतिक पार्टी, २ मोर्चाका नेता–कार्यकर्ता र देशभक्त जनसमुदाय बिहानैदेखि सडकमा उत्रिएका छन् । बन्दकर्ताहरूले एम्बुलेन्स, पानी र दूध बोक्ने गाडी, प्रेस, कूटनीतिक नियोगका गाडी चल्न दिएका छन् भने अरू प्रायः सबै बन्द छन् । बन्दमा जनसमुदायको व्यापक समर्थन देखिएको छ ।

राष्ट्रघाती एमसीसी सदनबाट पारित गर्ने पाँचदलीय गठबन्धन सरकारको षड्यन्त्रविरुद्ध सशक्त नेपाल बन्दमा उत्रिएका ६ राजनीतिक दल र दुई मोर्चाका नेता–कार्यकर्तामाथि सरकारले बिहानैदेखि धरपकड र गिरफ्तारी सुरु गरेको छ । प्राप्त समाचारअनुसार काठमाडौँबाट प्रहरीले बिहानै युवा सङ्गठन नेपाल नवलपुरका अध्यक्ष सागर र सङ्गठनकै हुम्ला उपाध्यक्ष हिम्मत विकलाई काठमाडौँबाट गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएका युवा नेताहरूलाई कहाँ लगिएको छ र कस्तो व्यवहार गरिएको छ भन्ने कुनै थाहा नदिइएको भन्दै युवा सङ्गठन नेपालले आक्रोश व्यक्त गरेको छ ।

बन्दमा राजनीतिक पार्टीको मात्र नभएर जनसमुदायको पनि उल्लेख्य र प्रभावकारी उपस्थिति रहेको बताइएको छ । काठमाडौँका चाबहिल स्वयम्भू, कलङ्कीलगायत क्षेत्रमा स्थानीय जनसमुदायले बन्दको अवज्ञा गर्न खोज्ने दर्जनौँ यातायातका साधनमाथि कारबाही गरेको जनाइएको छ ।

राष्ट्रघाती एमसीसीविरुद्ध सडक सङ्घर्षमा होमिएका नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले आइतबार साँझ विज्ञप्ति जारी गरी १६ गते सशक्त नेपाल बन्दको घोषणा गरेका थिए । नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ६ दल र दुई मोर्चाको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रूपमा अस्वीकृत, विरोध र देशव्यापी जनसङ्घर्ष गर्दागर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मूर्खता गरिरहेको र यसका विरुद्ध राष्ट्रिय रूपमा प्रतिवाद सङ्घर्ष सञ्चालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले भोलि १६ गतेका लागि सशक्त नेपाल बन्द घोषणा गरिएको उल्लेख छ ।

नेपाल बन्दको घोषणासहित संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेहरूमा नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुती छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *