जनयुद्ध दिवसबारे दुईचार शब्द

National Political

सीता विक ‘सम्झना’ ।

२०५२ फागुन १ नेपाली भूमिमा सर्वहारा वर्गको सपनाको उद्घाटन भएको दिन, सशस्त्र युद्धको सुरुआत भएको क्षण, एउटा वर्गको विद्रोह थियो भने एउटा वर्गको आतङ्कवाद । जनयुद्धको आँधीले दुनियाँ थर्कमान भएको थियो । तत्कालीन राज्यव्यवस्थाका विरुद्ध जनताले चालेको त्यो कदम वर्गसङ्घर्षको थियो । त्यो राजनीतिक–वैचारिक युद्ध थियो जसले नेपाली समाज र व्यवस्थाको कायापलट गर्ने सपना बोकेको थियो । २०५२ साल फागुन १ देखि दस वर्ष नेपालमा वर्गसङ्घर्षको भूकम्प नै आयो । संस्कार–संस्कृति र चालचलनमा परिवर्तनहरू आए यो कालखण्डमा जनताको सक्रिय सहभागिता रह्यो । ८० प्रतिशत भूभाग तत्कालीन नेकपा (माओवादी) को नियन्त्रणमा थियो । निमुखा जनताका बस्तीहरू आधारइलाकामा परिणत भए । जनयुद्धमा जनताका छोराछोरीको सहभागिताको तीव्रता बढ्यो । जनमुक्ति सेनाको निर्माण भयो । जनकलाकारहरू मुक्तिका गीतहरू गाउँदै जनताको घरआँगनमा पुगे । सहिद गेटहरू निर्माण भए । कार्यकर्ताहरू अहोरात्र खटे । सहिदमार्ग निर्माण भयो । कम्युन, सहकारी, नमुना स्कुल, नमुना अस्पताल, उद्योग, बैङ्कहरू जनताको सक्रियतामा सञ्चालन भएका थिए । जनसरकारले जनताको हितमा काम ग¥यो । त्यो समय जनताका लागि सुनौलो थियो भने जनविरोधीहरू मुटुको काँडा साबित अपराधी र फटाहाहरू जनताको जेलमा रहँदै जनश्रम गर्दथे । २०६३ सम्म जनयुद्धको उभार थियो ।

जब १२ बुँदे सहमति हुँदै समय अगाडि बढ्यो, बिस्तारै जनयुद्धको ओजमा गिरावट आउन थाल्यो । अन्तरिम संविधान हुँदै संविधानसभाको चुनाव भयो । जनयुद्ध ओझेलमा पर्दै गयो । विडम्बना ! जनयुद्ध भन्ने शब्दसम्म संविधानमा कतै उल्लेख भएन । माओवादी नेतृत्व चुक्दै गयो । हजारौँको बलिदान, त्याग, तपस्या र वीरताको इतिहास जनयुद्ध हो ।

आज २५ औँ जनयुद्ध दिवस आउँदै गर्दा जनयुद्धको आडमा स्थापना भएको गणतन्त्रकै व्यवस्थाका मालिक बनेका माओवादी नेताहरूले जनयुद्धको ‘ज’ बोल्न सक्ने हैसियतसम्म गुमाएका छ्न् । सहिदका आफन्तहरू सम्झनामै तड्पिँदै छन्, घाइतेहरू निको हुन थालेको हिजोका घाउ चर्केको महसुस गर्दैछन् । बेपत्ता योद्धाका परिवारहरू आफन्तको पर्खाइमा छट्पटाइरहेका छन् । यो दर्दनाक स्थिति आजको वास्तविकता हो ।

अर्काेतिर एउटा जनयुद्धको ठूलो हिस्सा जनयुद्ध पूरा नभएको, राज्यले जनयुद्धप्रति नजरअन्दाज गरेको जनयुद्धका मुख्य नेताहरूले आत्मसमर्पण गरेको भन्दै एकीकृत क्रान्तिको कार्यदिशा अवलम्बन गर्दै अघि बढेको छ । आजको परिदृश्यले पनि पुष्टि गरिसक्यो– जनयुद्ध अधुरै छ किनकि नेकपामाथि फरक कार्यदिशाकै आधारमा प्रतिबन्ध लगाउनु राजनीतिक स्वतन्त्रतामाथि बन्देज गर्दै सङ्कटकालको झल्को दिने गरी गैरन्यायिक हत्या, हिंसा, गिरफ्तार, धरपकड यी र यस्ता जनविरोधी कार्यहरू आज माओवादी संलग्न व्यवस्थाले गरिरहेको छ । यो एउटा प्रमाण हो । जनयुद्ध सिध्याउने खेलको पद, प्रतिष्ठा, प्रलोभनका लागि के गरेन माओवादी मुख्य नेतृत्वले ? यो छर्लङ्ग छ भनिरहनु नपर्ला तर यो इमानको खडेरी परेको अवस्थामा दलाल, भूमाफिया, भ्रष्टाचार, करछली गर्ने ठगहरूका विरुद्ध राज्यलाई चुनौती दिँदै जनताको आवाज ओकल्ने एउटा उदीयमान शक्तिका रूपमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्थापित हुँदैछ । जनयुद्धलाई समय अनुकूल एकीकृत जनक्रान्तिको कार्यदिशामा ढाल्दै अगाडि बढ्नु यो कदम देशका लागि ऐतिहासिक महत्वको छ । विप्लव नेकपामाथिको प्रतिबन्ध फिर्ता लिएर राजनीतिक प्रतिस्पर्धा गर्न दिनुपर्छ सरकारले ।

यता कमरेड मोहन वैद्यको क्रान्तिकारी माओवादीले पनि राष्ट्रियताको पक्ष र राष्ट्रघातका विरुद्ध अडिग हुँदै जनयुद्धको लाइन नछोड्नु सराहनीय पाटो छ । त्यसैगरी गोपाल किराँतीको माओवादी, लोकेन्द्र बिष्टहरूको जनयुद्धप्रतिको लगाव र वर्गप्रेमको वकालत महत्वपूर्ण छ । यो शक्ति सिद्धान्त र कार्यदिशामा बहस गर्दै मिल्न सक्ने कुरामा मिल्दै एक ठाउँमा गोलबन्द हुँदै एकाकार भएर जनयुद्धका उपलब्धिको रक्षा गर्दै जनयुद्धको विकास गरेर अगाडि बढ्नुपर्ने समयको माग देखिन्छ । जनयुद्ध बलिदानको इतिहास हो । परिवर्तनको महाअभियान हो । कसैले पनि कमजोर ठानेर हाटहुटमा ठीक पारिन्छ भन्ने कल्पना नगरे हुन्छ । जनयुद्ध दिवस श्रमिकहरूको चाडका रूपमा हर्ष र उल्लासका साथ मनाऔँ ! जनयुद्धको अधुरो सपना परिवर्तनकारी सचेत योद्धाहरूले पूरा गर्ने कर्तव्यबोध गरौँ ! सम्पूर्ण न्यायप्रेमी, वामपन्थी, बुद्धिजीवी, कलाकार, लेखक, साहित्यकार, न्यायका लागि बोलौँ । जनयुद्धका बेपत्ता योद्धाको स्थिति तुरुन्तै सार्वजनिक हुनुपर्छ । जनयुद्ध घाइतेको उपचार र व्यवस्थापनको जिम्मा राज्यले लिनुपर्छ, सहिद परिवारको स्वास्थ्य, शिक्षाको जिम्मा लिनुपर्छ । निर्मलाहरूले न्याय पाउनुपर्छ । वाइडबडी, सुनकाण्ड, जग्गाकाण्ड, करछली, भ्रष्टाचारी कानुनको दायरामा आउनुपर्छ । गणतन्त्रमा सानालाई ऐन ठूलालाई चैन हुनु हुँदैन । गणतन्त्रको खोल ओडेर जनतालाई भ्रममा पार्न पाइँदैन । अर्को हिन्द–प्यासिफिक रणनीतिअन्तर्गत साम्राज्यवादको योजना एमसीसी सबैले बहिष्कार गरौँ । जनयुद्धको मूल्यमान्यतालाई आआफ्नो ठाउँबाट लागू गरौँ । जनयुद्ध दिवसका अवसरमा सम्पूर्ण न्यायप्रेमीमा शुभकामना भन्दै र सम्झना गर्दै विशेषगरी गैरन्यायिक तरिकाबाट कम्युनिस्ट नाउँको सरकारको जेल–हिरासतमा रहेका, कानुनले मुक्त गरेका निर्दोषहरूलाई अदालतको ढोकाबाट मानवअधिकार हनन गर्दै एक ठाउँबाट अर्को ठाउँ घिसार्दै हिँडालिएको छ । कष्टकर जीवन बिताइरहनुभएका आस्थाका बन्दी, राज्यको आँखामा आतङ्ककारी, जनताको दृष्टिमा जनताको सेवक, सच्चा कम्युनिस्टहरू, आदरणीय कमरेड सुदर्शनलगायत सयौँ साथीहरूमा शुभकामना छ ! तपाईंहरूको महान् आस्था नडग्मगाओस् । तपाईंहरूका जनयुद्धका सहयात्रीले दिएको यो सजाय र हत्कडी र नेलहरू इनाम सम्झिएर स्वीकार्दै बन्द पर्खालभित्र पनि जेल–हिरासतमा हाम्रो महान् दिन, जनयुद्ध दिवस स्मरण गर्दै मनाउनुहोला । भौतिक शरीर बन्दक भए पनि विचारको प्रवाह छाल भएर कुदिरहनेछ । समयको सुनामीले निर्लज्ज पर्खालहरू भत्काउनेछ र युगले कोल्टो फेर्नेछ ।  स्राेत ; राताेखबर

Leave a Reply

Your email address will not be published.