साम्यवादी दल र यसका चुनौतीहरू

Opinion Political

‘…. साम्यवादीहरूले आफ्नो सिद्धान्तलाई केवल एक वाक्यमा यसरी भन्न सक्दछन्– व्यक्तिगत स्वामित्वको उन्मूलन हुनुपर्दछ ।’
– माक्र्स, कम्युनिस्ट पार्टीको घोषणापत्र १८४८, नेपालीमा अनुवादक–गोपीरमण उपाध्याय, जनता प्रसारण तथा प्रकाशन मिलिटेडद्वारा प्रकाशित, पृ. ९३ ।
‘साम्यवाद ल्याटिन भाषाको शब्द Communist बाट आएको हो । ल्याटिन भाषामा साम्यवादको अर्थ सामूहिक भन्ने हुन्छ । साम्यवादी समाज भनेको यस्तो समाज हो जसमा जग्गाजमिन, कलकारखाना आदि सबै कुरा सामूहिक हुन्छन् र सबै मानिस मिलिजुली सामूहिक श्रम गर्दछन् । यो नै साम्यवाद हो ।’
–लेनिन, युवा सङ्घका कार्यहरू, १९२०, भ्ला.इ.लेनिन सङ्कलित रचना, भाग ८, नेपाली अनुवादक– राजेन्द्र मास्के, जनसाहित्य प्रकाशन गृह, बुटवल, पृ.२७ ।

आज हामी एकातिर विश्व–साम्यवादी आन्दोलनका सकारात्मक तथा नकारात्मक प्रचूर अनुभवहरूको रासमा छौँ भने अर्कोतिर गम्भीर चुनौतीको भासमा छौँ । नेपाली साम्यवादी आन्दोलनका हकमा पनि यही कुरा सत्य हो । विश्व–साम्यवादी आन्दोलनमा हामीले १८४८ मा माक्र्स र एङ्गेल्सद्वारा कम्युनिस्ट घोषणापत्र लेखिएपछि १९७६ सम्म आइपुग्दा पृथ्वीको आधाभन्दा बढी भूगोल र जनसङ्ख्यामा विजय हासिल ग¥यौँ । रुसमा जित्यौँ र १५ वटा गणराज्यहरूको सोभियत समाजवादी गणतन्त्र सङ्घ बन्यो । पूर्वीजर्मनी, युगोस्लाभिया, चेकोस्लोभाकिया, रोमानिया, अल्बानिया, बुल्गेरिया, हङ्गेरी, पोल्यान्ड, क्युबा, चीन, मङ्गोलिया, जनगणतन्त्र कोरिया (उत्तरकोरिया), भियतनाम, कम्बोडिया इत्यादि देशहरूमा वैज्ञानिक समाजवादी व्यवस्था लागू भयो । सोभियत सङ्घ र पूर्वी युरोपमा त प्रतिक्रान्ति भइसकेको छ । क्युबा, चीन, जनगणतन्त्र कोरिया (उत्तरकोरिया), भियतनाम र कम्बोडियाले आआफ्नै विशेषताका समाजवादी व्यवस्था चलिरहेको बताएका छन् तर साम्यवादी असलियत (ओरिजिनिलिटी) देखिँदैन । चीन विश्वको दोस्रो अर्थतन्त्र त बन्दैछ तर खुला बजार र सुधारले यसलाई पनि पुँजीवादतिर हिँडाउँदैछ । पहिलो पिँढीका नेताहरू वृद्ध भइसकेपछि दोस्रो पिँढीका नेताहरूले कति धान्न सक्छन् त ! भन्ने प्रश्न उठ्न थालिसकेको छ ।

अर्कोतिर विजयको नजिक–नजिक पुग्न थालेका चिली, निकारागुआ, इन्डोनेशिया, पेरू, टर्की, फिलिपिन्स, नेपाललगायत देशहरूको क्रान्ति असफल भएको छ । विभिन्न देशका साम्यवादी दलहरू किट्कस्सिएका छन् । अर्को शब्दमा उनीहरू फैलँदै छैनन्, बरु साँगुरिँदै गएका छन् । विजयी वैज्ञानिक समाजवादी देशहरूमा किन प्रतिक्रान्ति भयो ? पूरै प्रतिक्रान्ति नभइसकेका र आफ्नै विशेषताको समाजवादी व्यवस्था भनिएका देशहरू किन पुँजीवादतिर अघि बढ्दैछन् ? विजयको सन्निकट पुगेका क्रान्तिहरू किन असफल भए ? जहाँजहाँ साम्यवादी दलहरू छन्, ती किन किट्कसिँदै छन्, साम्यवादी नामधारी, संशोधनवादीहरू पनि किन चुनावबाटै बढारिँदैछन् ? किन ती संशोधनवादीहरू पनि फुटेर टुक्रा–टुक्रा हुँदैछन् । यी सबै प्रश्नहरूको उत्तर खोज्नै पर्दछ । यी प्रश्नहरूको सही जबाफ भेटाउन सक्यौँ भने फेरि कहीँ न कहीँबाट साम्यवादमा पुग्ने बाटो पत्ता लाग्नेछ र साम्यवादी आन्दोलन गतिशील हुनेछ ।

कार्ल माक्र्सले हामीलाई सिकाउनुभएको छ : ‘साम्यवाद भनेको इतिहासको रहस्य समाधान हो र यसले आफ्नो समाधान हुन आफैँ जान्दछ ।’ त्यसकारण साम्यवादलाई आफ्नो लक्ष्य मान्ने साम्यवादी दल स्वयम् समाधान हुनुपर्नेमा समस्या हुने स्थिति बनेको छ । यो स्थितिको अन्त्य गर्नुपर्दछ । अब हामी साँच्चै नै साम्यवादी हौँ भने स्वयम् समस्या होइन, बरु समाधान हुन जान्नुपर्दछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साम्यवादी आन्दोलनका समस्याहरू समाधान गर्नुपर्दछ । मानव जातिको सर्वोत्तम व्यवस्थामा पुग्ने बाटोलाई बन्द हुन दिनु हुँदैन । साम्यवादको लक्ष्य राखेर सङ्गठित हुने श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ताले आफ्नो समयका अन्तरविरोधहरू प्रकाशमा ल्याएर तिनको समाधान गर्दै अघि बढ्नुपर्दछ । माक्र्सले आफ्नो समयको पुँजीवादी व्यवस्थाबारे चिरफार गर्नुभयो र त्यसको वैज्ञानिक विकल्प प्रस्तुत गर्नुभयो । परिस्थितिको द्वन्द्वात्मक तथा ऐतिहासिक तरिकाले व्याख्या मात्र गर्नुभएन, बरु त्यसलाई बदल्ने कार्यक्रम पनि तय गर्नुभयो । लेनिनले माक्र्सकै निर्देशनअनुसार आफ्नो देश, काल र परिस्थितिको व्याख्या गर्नुभयो । उहाँले आफ्नो समयमा पुँजीवाद साम्राज्यवादमा विकास भएकाले साम्राज्यवादको सिक्री जहाँ कमजोर छ त्यहीँबाट समाजवादी क्रान्ति हुन्छ भन्ने कुराको अनुसन्धान गर्नुभएको छ । त्यही वस्तुगत परिस्थितिअनुसारको सशस्त्र जनविद्रोहको कार्यदिशा वैज्ञानिक समाजवादको कार्यक्रम बनाउनुभएको छ । माओले आफ्नो समयको चीन र तेस्रो विश्वका देशहरूको व्याख्या गर्नुभएको छ । तेस्रो विश्वमा चीनलगायत देशहरू अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक अवस्थामा रहेकाले ती देशहरूमा साम्यवादी दलको नेतृत्वमा पुँजीवादी क्रान्ति गरेर मात्र समाजवादमा पुग्न सकिन्छ भन्ने निष्कर्ष निकाल्नुभयो । पश्चिम युरोपलगायत देशहरूमा पुँजीपति वर्गको नेतृत्वमा क्रान्ति भएको थियो जसलाई प्रजातान्त्रिक वा जनवादी क्रान्ति भनिएको थियो । यता चीनमा आइपुग्दा पुँजीपति वर्गले सामन्तवादी वर्गसँग सम्झौता गरिसकेको थियो । पुँजीवादी क्रान्ति पुँजीपति वर्गले अब गर्न नसक्ने भएकाले यो क्रान्ति गर्ने जिम्मेवारी पनि साम्यवादी दलको काँधमा आइपुग्यो । यो क्रान्तिलाई माओले नयाँ जनवादी क्रान्तिको नाम दिनुभयो । यो नयाँ अन्तरविरोधको नयाँ समाधान थियो । त्यसकारण माओले अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक देशमा गरिने क्रान्तिको कार्यदिशा दीर्घकालीन जनयुद्ध बन्यो । अब हामीले के कुरा खोजी गर्ने निष्कर्ष निकाल्नु पर्दछ भने विजयी वैज्ञानिक समाजवादमा किन प्रतिक्रान्ति भयो, विजयको सन्निकट क्रान्तिहरू किन असफल भए ? साम्यवादी दलहरूले यो समस्याको समाधान गर्न चाहन्छन् भने माक्र्स, लेनिन र माओले जस्तै वर्तमान पुँजीवादी विश्व र त्यसले आआफ्नो देशमा पारेको प्रभावबारे अनुसन्धान गर्नैपर्दछ । यसको साथै आफ्नो देशको ऐतिहासिक विकासको बिन्दुलाई पनि ठम्याउन सक्नुपर्दछ ताकि कार्यदिशा सही ढङ्गले निर्धारण गर्न सकियोस् ।

त्यसकारण आज एउटा साम्यवादीले के कुरा राम्रोसँग मनन गर्नुपर्दछ भने सतही अध्ययनले निगम साम्राज्यवादलाई ढाल्ने कार्यदिशा र कार्यक्रम बनाउन सकिँदैन । हामीलाई एकतर्फी होइन, चौतर्फी अध्ययनको आवश्यकता छ । निगम साम्राज्यवाद नयाँ–नयाँ रूपका विचारधारा, राजनीतिक कार्यक्रम, आर्थिक योजनाहरू, सांस्कृतिक विषयहरू, विज्ञान–प्रविधिको उपयोगलाई आफ्नो नियन्त्रणमा राख्दै र धार्मिक रूढिवादलाई नयाँ–नयाँ रूपमा प्रस्तुत गरेर आइपुगेको छ । त्यति मात्र होइन, विज्ञान र प्रविधि जोडेर युद्धका विभिन्न रूपहरू अपनाइरहेको छ । विचारधारात्मक रूपमा निगम साम्राज्यवादीहरूले जतिसुकै भ्रम दिने कोसिस गरे पनि असफल हुँदै गएका छन् । हामीलाई के थाहा छ भने सोभियत सङ्घको विघटनपछि उत्तरआधुनिकतावादी दर्शन ल्याउन खोजे । त्यसका साथै एकध्रुवीय विश्व–राजनीतिक व्यवस्था र नवउदारवादी अर्थव्यवस्थालाई विश्वव्यापी बनाउन खोजे र अझै पनि त्यसलाई अघिअघि बढाइरहेका छन् । उनीहरूले वैज्ञानिक समाजवादी व्यवस्थामा आएको प्रतिक्रान्तिलाई इतिहासको अन्त्य बताएका थिए भने ‘उदारवादी लोकतन्त्र’ लाई सदावहार सामाजिक व्यवस्था बताएका थिए । तर ११ सेप्टेम्बर २००१ मा अमेरिकाको जुम्ल्याहा गगनचम्बी महल भत्किएपछि र चीनले विश्वअर्थतन्त्रमा आफ्नो अग्रता हासिल गर्दै गएपछि उत्तरआधुनिकतावादी दार्शनिकहरूको सपनाको महल त्यही जुम्ल्याहा गगनचुम्बी महलझैँ भत्कियो । आज विज्ञान र प्रविधिमा जुन क्रान्ति भएको छ त्यसलाई फेरि निगम पुँजीपति वर्गले रहस्यमय बनाउँदैछ । विज्ञान र प्रविधिद्वारा तयार भएको कम्प्युटर प्रविधि, त्यसद्वारा तयार भएको रोबट मानव आदिको विकासलाई लिएर यो स्वचालीकरणभन्दा मानवमस्तिष्क पछि परिसकेको होहल्ला गरिरहेका छन् । कम्प्युटर प्रणाली र रोबट मानवलाई सञ्चालन गर्ने मानिसको हात छैन र यो मानिसको नियन्त्रणमा पनि छैन भन्ने हल्ला गरिरहेका छन् । यसबारे आफ्नो पुस्तक ‘कणिकाहरू र दर्शशास्त्र सङ्कटमा’ को एक ठाउँमा आमले राजीमवाले भनेका छन्, ‘मस्तिष्क र सफ्टवेयरबीचको अन्तर र विभाजन रेखा छिट्टै लोप हुँदैछ । त्यसैले निकट भविष्यमै यो दुई बीचको भिन्नता छुट्ट्याउन हामी असमर्थ हुनेछौँ ।’ मैले पूर्वलिखित एउटा आलेखमा यो उद्धरण उद्धृत गर्दै भनिसकेको छु, यो ‘पदार्थ लोप भयो’ भन्ने माक्र्सवादीहरूकै नयाँ संस्करण हो । श्री राजीमवाले जस्ता मानिसहरूले ‘मस्तिष्क र सफ्टवेयरबीचको अन्तर र विभाजनरेखा हटाएर सफ्टवेयरमार्फत हुने स्वचालीकरणको कारक के हो भनी प्रश्न उठाउँदैछन् । निगम साम्राज्यवादीहरूले यसको जबाफमा परमात्मालाई प्रस्तुत गर्नेछन् । आखिर सफ्टवेयरको अन्वेषक र यसको प्रयोगकर्ता त मानिस नै त हो । मानिसको दिमाग पदार्थको उच्चतम् विकास भन्ने कुरा पनि मालेमावादले धेरै पहिले नै पुष्टि गरिसकेको छ ।

लेखक : हेमन्तप्रकाश ओली ‘सुदर्शन’

उत्तरआधुनिकतावाद वास्तवमा सोभियत सङ्घ र पूर्वी युरोपमा विभिन्न रङका संशोधनवादीहरूको साम्यवादविरोधी क्रियाकलापलाई शुन्यवादमा पु¥याउने पुँजीवादी निस्कर्ष थियो । ज्याक डेरिडा ज्याइकेल फूको स्वय भूतपूर्व माक्र्सवादी थिए । तिनको निराशाको अभिव्यक्तिलाई अमेरिकाली पुँजीवादी विद्वान् फ्रान्सिस फुकुयामाले उत्कर्षमा पु¥याइदिए । उनले सोभियत सङ्घको विघटन भएको र पूर्वी युरोपमा प्रतिक्रान्ति भएको कुरालाई इतिहासको अन्त्य भएको र अमेरिकाली उदार लोकतन्त्रको विजय भएको अर्थ लगाए । पछि उनले त्यसमा पश्चाताप गरेको कुरा उनका पछिल्ला लेखोटहरूमा आएको छ । अर्थशास्त्री सामिर अमिनका अनुसार युरोपमा पुनर्जागरण आन्दोलनसँगै जन्मेको उदारवाद दोस्रो विश्वयुद्धपछि पुँजीवादी ‘नयाँ सिद्धान्त’ बन्यो र सोभियत सङ्घको विघटनपछि यसले नवउदारवादी अवतार लियो । यो नवउदारवादले समाजवादी सामूहिकताको स्थानमा व्यक्तिवाद घुसाउने मौका पायो । उदारवादीहरूले के झूटो प्रचार गर्न थाले भने अन्ततः मानिसलाई व्यक्तिगत स्वतन्त्रता चाहिन्छ भन्ने कुरा सोभियत सङ्घ र पूर्वी युरोपका साम्यवादीहरूको समाजवादी सत्ता विघटनले राम्रोसँग देखाएको छ । अन्ततः उदारवादी प्रजातन्त्र नै सही र अजरअमर छ जसले व्यक्तिगत स्वतन्त्रता प्रदान गर्दछ । हामीले सोभियत सङ्घ र पूर्वी युरोपका घटनाहरूबाट के तथ्य भेट्टाएका छौँ भने स्टालिनको मृत्युपछि सोभियत सङ्घ साम्यवादी दलको नेतृत्व र पूर्वी युरोपका नेताहरू व्यक्तिवादी हुँदै गएकाले नै त्यहाँको समाजवादी व्यवस्था विघटन भएको हो । सन् १९५६ देखि नै सोभियत सङ्घ कम्युनिस्ट पार्टी र सोभियत समाजवादको विघटन सुरु भइसकेको थियो । यसको नाङ्गो पतन गोर्भाचोभको ‘ग्लास्नोस्त’ र ‘प्रेस्त्रोइका’ मा गएर भएको थियो । त्यो वास्तवमा साम्यवादी खोलभित्र रहेको पुँजीवादकै विघटन थियो । त्यसपछि सोभियत सङ्घको छायामा रहेका पूर्वी युरोपेली देशहरू समाजवादमा विघटन भएको थियो । त्यसकारण यो समाजवादको विघटन थिएन, बरु साम्यवादमाथि भ्रम छर्ने पुँजीवादी चाल थियो । १९५६ पछि सोभियत सङ्घ र अमेरिकाबीच, पूर्वी जर्मनी र पश्चिम जर्मनीबीच केही फरक थिएन । पहिलोले साम्यवादी दोसल्ला ओढेका थिए र दोस्रोले सीधै पुँजीवादी । सारमा दुवै पुँजीवादी थिए । सारमा दुवै उदार पुँजीवादमै थिए ।

आखिर उदारवाद के हो ? यो प्रश्नको हामीले राम्रोसँग खोजबिन गरेर मात्र हामी आजको पुँजीवाद बुझ्न सक्दछौँ । यो वास्तवमा पुँजीवादी व्यवस्थाको अर्थनीति हो तर यो आज पुँजीपति वर्गको दर्शनशास्त्र भइसकेको छ । यो पुँजीपति वर्गको विधिशास्त्र तब हुन्छ जब यसलाई उदार प्रजातन्त्र भनिन्छ । यसबारे जेरुसेलमको हिबु्र विश्वविद्यालयमा इतिहासका व्याख्याकार रहेका युभल नोह हसरी भन्छन् ः (१) म अविभाज्य छु– अर्थात् मसँग एकल सारतत्व छ जसलाई कुनै पनि अंशहरूमा वा उपप्रणालीहरूमा विभाजन गर्नै सकिँदैन । वास्तवमा यो भित्री केन्द्र कैयौँ बाह्य पत्रहरूले बेरिएको हुन्छ । मैले बाहिरी बोक्राहरू उप्काउने प्रयत्न गर्दछु भने मभित्रैको गहिराइमा स्पष्ट र एकल आवाज पाउनेछु जुन मेरो आधिकारिक निजत्व हो । (२) मेरो आधिकारिक निजत्व पूर्ण रूपले स्वतन्त्र छ । (३) पहिला दुई मान्यताहरूबाट हेर्दा यसले के कुरालाई पछ्याउँछ भने मसम्बन्धी कुराहरू मैले नै जान्न सक्दछु, अरू कसैले जान्न सक्तैन । मेरो स्वतन्त्रताको भित्री स्थानमा मेरा लागि मात्र पहुँच रहेको छ । यसकारण उदारवादले व्यक्तिलाई यति धेरै प्राधिकार प्रदान गर्दछ । मेरो छनोटका लागि म अरू कसैलाई पनि विश्वास गर्न सक्तिनँ किनभने म को हुँ, कसरी अनुभूति गर्दछु र के चाहन्छु भन्ने कुरा अरू कसैलाई थाहा हुन सक्तैन । यसैले गर्दा मतदाताले सर्वोत्तमलाई जान्दछ, ग्राहकले सधैँ सही छान्दछ र हरेक व्यक्तिको आँखामा सुन्दरता भिन्नाभिन्नै हुन्छ ।’
(युब्भल हरारी, भोलिको सङ्क्षिप्त इतिहास, लेखकद्वारा नै अङ्गे्रजीमा अनुदित, २०१६ मा हार्विल सेकर लन्डनद्वारा प्रकाशित, पृ. ३२८, पहिलोपटक इजरायलस्थित हिब्रुमा Kinneret Zemora- Bitan Dvir द्वारा २०१५ मा प्रकाशित)

उल्लिखित उद्धरणको व्याख्या गरिरहनुपर्ने देखिँदैन, बरु माथि उद्धृत उद्धरणको उनी आफँैले कसरी खण्डन गरेका छन्, हेरौँ ः

‘तथापि जीवन विज्ञानले यी तीनवटै मान्यतालाई चुनौती दिन्छ । जीवन विज्ञानका अनुसार ः १) जीवहरू परिकलन प्रक्रिया हुन् र मानवहरू व्यक्तिगत हुँदैनन् ती ‘विभाजन’ हुन्छन्, अर्थात् मानव एकल भित्री आवाज वा एकल निजत्वहीन कैयौँ भिन्न परिकलनहरूको एकत्व हो । (२) परिकलन प्रक्रियाले मानवलाई स्वतन्त्र बन्न दिँदैन । ती वंशाणु र वातावरणीय दबाबबाट बनेका हुन्छन् अनि तिनले कि त सुनिश्चित ढङ्गले वा अन्धाधुन्ध ढङ्गले निर्णयहरू लिन्छन् तर स्वतन्त्र ढङ्गले होइन । (३) यसले के कुरा अनुशरण गर्दछ भने बाह्य परिकलनले सैद्धान्तिक रूपमा मैले स्वयम्लाई जान्न सक्नुभन्दा अझ बढी राम्रोसँग जान्न सक्नेछ । एउटा परिकलन जसले हरेक प्रणालीको के परीक्षण गर्दछ भने मेरो शरीर र मस्तिष्कलाई तुलना गरेर म को हुँ, कसरी अनुभूति गर्दछु र के चाहन्छु भन्ने कुरा ठ्याक्कै जान्न सक्नेछ । यसप्रकारको परिकलन प्रक्रियाले एकपटक विकसित भएपछि मतदाता उपभोक्ता, सौन्दर्यद्र्रष्टालाई प्रतिस्थापन गर्न सक्नेछ । अनि परिकलनले सर्वोत्तम बुझ्नेछ, परिकलन सधैँ सही हुनेछ र सौन्दर्य परिकलनका हिसाबहरूमा हुनेछ ।’ (उही, पृ. ३२९।)

परिकलन प्रक्रिया (बनियचष्तजm) भनेको खास समस्या समाधान गर्ने बेला अपनाइने नियमशृङ्खला हो । परिकलन प्रक्रिया भनेको के हो ? यसबारे स्वयम् हरारी भन्दछन्, ‘परिकलन भनेको तार्किक रूपले हाम्रो संसारमा सबभन्दा महत्वपूर्ण एकल अवधारणा हो । हामी हाम्रो जीवन र भविष्यलाई जोड्न चाहन्छौँ भने परिकलन के हो र यो भावनासँग कसरी जोडिएको छ भन्ने कुरा बुझ्न हरप्रयत्न गर्नुपर्दछ । परिकलन भनेको पाइलाहरूको विधिगत शृङ्खला हो जसलाई हिसाब निकाल्न, समस्याको समाधान गर्न र निर्णयमा पुग्न उपयोग गरिन सक्दछ । परिकलन भनेको ठोस हिसाब होइन, बरु हिसाब गर्दा अनुसरण गरिने विधि हो ।’ (उही, पृ.८३ ।)

साधुवाद छ ! हरारी महोदयलाई जसले उदारवादको सारतत्वका रूपमा रहेको निजत्वलाई उप्काएर सबैले देख्ने गरी राखिदिनुभयो । मेरो धेरै वर्षदेखिको प्रश्नलाई पनि समाधान गरिदिनुभयो । उहाँ साम्यवादी होइन तर हामीले उहाँका कृतिहरू ‘मानव जातिको सङ्क्षिप्त इतिहास’ र ‘भोलिको सङ्क्षिप्त इतिहास’ पढ्नै पर्दछ जसले इतिहासमा भौतिकवादी द्वन्द्ववादको विस्तार गरेर उदारवादी पुँजीवादको चिरफार गर्दै साम्यवादी व्यवस्थामा कुनै गति तीव्र बनाउन सक्दछौँ । पुँजीपति वर्गको उदारवादी र नवउदारवादी प्रजातन्त्र भनेको वैज्ञानिक समाजवाद र साम्यवादका विरुद्ध रहस्यपूर्ण भ्रमको खेती रहेछ । आखिर उदारवादको विश्लेषण गर्दा मभित्र मैले मात्र कुरा गर्न सक्ने अविभाज्य निजत्व छ, त्यो आधिकारिक निजत्व पूर्ण रूपले स्वतन्त्र छ । म को हुँ, कसरी अनुभूति गर्दछु र के चाहन्छु भन्ने कुरा अरू कसैले जान्दैन । मभित्रको त्यो कुरा म मात्र जान्दछु तर जीवन विज्ञानका अनुसार मानव जीवांश र वंशाणुहरूले बनेको हुँदा अविभाज्य होइन, बरु विभाज्य हुन्छ । त्यति मात्र होइन, यो समाज र प्राकृतिक वातावरणमा बस्ने भएकाले समाज र प्रकृतिका नियम उल्लङ्घन गरेर स्वतन्त्र हुँदैन । नदीको नियम नजानेको मानिस नदी तर्छु भनेर मनमौजी ढङ्गले नदीमा पस्यो भने मृत्यु अवश्यम्भाबी छ । त्यसकारण उदारवाद प्रकृति र समाजको नियमविपरीत छ । व्यक्तिको निजत्व अरूले बुझ्न सक्तैन भन्नु स्वयम् धार्मिक रूढिवाद र अधिभूतवादी आदर्शवाद हो । सारमा उदारवाद भनेको वैज्ञानिक समाजवाद र साम्यवादको बाटो छेक्न अघि सारिएको पुँजीवादको व्यक्तिवादी व्यवस्था हो । निजी सम्पत्तिलाई बचाउन ल्याइएको दर्शन, राजनीति र अर्थतन्त्र हो । साम्यवादीहरूले यो कुरा बुझ्न परिकलन प्रक्रियाको हिसाब बुझ्नुपर्दछ । यसले थुप्रै तथ्यहरूको अध्ययन गरेर सत्यमा पुग्न मद्दत गर्नेछ । एउटा मानिसभित्र रहेको निजत्वलाई अरू कसैले नबुझ्ने सिद्धान्तका रूपमा आएको सामूहिक सम्पत्तिको लुटाहा नै उदारवाद वा नवउदारवाद हो । यही सिद्धान्तअन्तर्गत आजको निगम साम्राज्यवाद अति केन्द्रीकृत र अति एकाधिकारवादी भएको छ । यही सिद्धान्तले नै विकेन्द्रित उत्पादन र केन्द्रीकृत वितरण प्रणाली बनेको छ । विज्ञान र प्रविधिको आविष्कारलाई उदारवादी निजत्वले आफ्नो इच्छामुताबिक निजी सम्पत्तिका रूपमा नियन्त्रण गरी उत्पादक शक्तिमा जोडेको छ । यसले गर्दा उत्पादन वृद्धि भएको छ तर निजी नाफाको कारणले भोकानाङ्गा भोकानाङ्गै भइरहने प्रक्रिया झन् बढिरहेको छ । असमानताको खाडल गहिरो हुँदै गएको छ । उदारवादकै कारणले जसको हातमा सम्पत्ति रहेको छ उसको हातमा राजनीति र राज्यसत्ता भइरहेको छ । त्यसकारण पुँजीवादी निरङ्कुश र फासिस्ट निजत्वको विचारधारा उत्तरआधुनिकतावाद र उदारवादको प्रतिस्थापन गर्न हामीले द्वन्द्वात्मक भौतिकवादी दर्शन, समाजवादी राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादी व्यवस्थाको विकास गर्नुपर्दछ । वर्तमान परिस्थितिलाई बुझ्ने र बदल्ने कामद्वारा नै भाबी विचारधारा, अर्थनीति र राजनीतिलाई विकास गर्न सकिनेछ ।

विजयी वैज्ञानिक समाजवादी व्यवस्थामा प्रतिक्रान्ति र विजयको सन्निकट क्रान्तिको असफलताको कारण के हो ? यसबारे थोरै विमर्श गरौँ । निष्कर्ष निकाल्ने प्रयत्न गरौँ । पहिलो कुरा, साम्यवादी पार्टीको सदस्य हुने भनेको व्यक्तिगत सम्पत्ति घटाउँदै लगेर व्यक्तिगत सम्पत्तिको अन्त्य गर्ने र सामूहिक सम्पत्ति बढाउँदै लगेर योग्यताअनुसार समाजलाई दिने र आवश्यकताअनुसार लैजाने हो । यो साम्यवादी पार्टीको सदस्य बन्ने आधारभूत सर्त हो । तर सोभियत सङ्घ, पूर्वी युरोपलगायत साम्यवादीहरूले स्टालिनको मृत्युपछि व्यक्तिगत सम्पत्ति बढाउँदै लगेर सामूहिक सम्पत्ति विघटन गर्दै गए । दोस्रो कुरा, एक साम्यवादी सदस्यले साम्यवाद नआएसम्म वर्गसङ्घर्ष जारी राख्नुपर्छ । माक्र्सले वैज्ञानिक समाजवाद स्थायी क्रान्तिको उद्घोष भन्नुभयो । लेनिनले साम्यवादी त्यसलाई भन्नुभयो जसले वर्गसङ्घर्षलाई सर्वहारा अधिनायकत्वसम्म विस्तार गर्दछ । माओले यसलाई सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति भन्नुभयो । समाजवादी देशको नेतृत्व गरेका कैयौँ देशका नेता तथा कार्यकर्ताले वर्गसङ्घर्ष र निरन्तर क्रान्ति भुसुक्कै बिर्से । व्यक्तिगत सम्पत्तिले गर्दा उनीहरूले वर्गसङ्घर्ष बिर्संदै गए । प्रतिक्रान्ति र असफल क्रान्ति दुवैमा यी कारण स्पष्ट देखिन्छन् । तेस्रो कुरा, साम्यवादी पार्टी निर्माण गर्नु र त्यसको सदस्य हुनुको अर्थ आफ्नो समयको देश, काल र परिस्थितिलाई सही ढङ्गले बुझ््नु र तदनुरूपको कार्यदिशा र कार्यक्रम विकास गर्नु हो । माक्र्सले आफ्नो समय र देशको परिस्थिति बुझ्नुभयो र संसार बदल्ने कार्यदिशा र कार्यक्रम बनाउनुभयो । यसरी नै क्रमशः लेनिन, माओ, हो चि मिन्ह, किम इल सुङ र फिडेल क्यास्ट्रोले । यसका लागि हामी मालेमावादको रक्षाका नाममा जडसूत्रवादी र सिर्जनशीलताका नाममा संशोधनवादी हुनबाट बच्न जरुरी छ । त्यसकारण सम्पन्न क्रान्तिमा प्रतिक्रान्ति र विजयनिकट क्रान्तिमा असफलताको कारण एकातिर मालेमावादको मूलपाठलाई अध्ययन नगर्नु तथा अर्कोतिर समय र परिस्थितिअनुसार यसको विकास नगर्नु हो । चौथो कुरा, साम्यवादी दलका नेता र कार्यकर्ताहरूले आफ्नो पार्टीलाई अटुट प्रेमका साथ माया गर्दै खेतीबालीजस्तै गोडमेल गरिरहनुपर्दछ । साम्यवादी दल भनेको उत्पीडित जनताको अग्रदस्ता हो र जनताको शासक होइन, बरु सेवक बन्नुपर्दछ । हामी त्यसका कार्यकर्ताहरूले पार्टीलाई मैत्रीपूर्ण आलोचना र आत्मालोचनाद्वारा बनेको हुनाले शोषक र शोषित दुवै वर्गका गुण र अवगुण बोकेर उनीहरू आएका हुन्छन् । एकता–सङ्घर्ष–रूपान्तरणको प्रक्रियाबाट मात्र साम्यवादी दल शोषित–उत्पीडित श्रमजीवी वर्गको अग्रदस्ता बन्न सक्छ । पार्टीमा स्पष्ट रूपले विचारधारात्मक तथा राजनीतिक कार्यसूचीमा बहस हुुनु नराम्रो होइन, बरु यो त ‘वादे–वादे जायते तत्व बोधः’ हो । हाम्रो आलोचना र आत्मालोचना पार्टीभित्र रूपान्तरणको उद्देश्यले होइन, बरु व्यक्तिगत स्वार्थ र प्रतिष्ठाका लागि कचिङ्गल भयो भने साम्यवादी दलमा विघटन हुनेछ र वैज्ञानिक समाजवादमा प्रतिक्रान्ति तथा विजयको सन्निकट क्रान्ति असफल हुनेछ । यसकारण साम्यवादी दलरूपी खेतीबालीमा गोडमेल गर्दा मूलबाली नष्ट नहोस् र विषालु झारपात उखेल्ने नाममा मूलबाली नउलेलियोस् भन्ने कुरामा विशेष ध्यान दिनैपर्दछ । पाँचौँ कुरा, यदि साम्यवादी दलमा फलामे अुनशासन भएन भने पनि प्रतिक्रान्ति हुन्छ । हामीले विश्वमा विभिन्न देशका साम्यवादी दल तिनले नेतृत्व गरेको वैज्ञानिक समाजवादी व्यवस्थामा भएको प्रतिक्रान्ति तथा विजयको सन्निकट रहेका देशहरूको असफल क्रान्तिलाई गहिरिएर पढ्यौँ भने तिनको मुख्य कारक साम्यवादी दलभित्रै रहेको छ, बाहिर होइन । लेनिन, स्टालिन, मोलोतोव, कालिनिन, स्वर्दलोव र किरोव इत्यादि साम्यवादी नेताहरू रहेको सोभियत सङ्घ साम्यवादी दल (वोल्शेकि) भित्रैबाट ट्राट्स्की, बुखारिन, कामेनेभ, जिनोवेभ र ख्रुश्चेभहरू जन्मे । पहिले साम्यवादी दलमा प्रतिक्रान्ति भयो र त्यसपछि त्यो राजनीतिक व्यवस्था सोभियत समाजवादी गणतन्त्र सङ्घमा । नेपालमा विजयको सन्निकट पुगेको क्रान्ति असफल हुनुको कारण मूल नेता प्रचण्डको साम्यवादी सिद्धान्तबाट विचलन भइ पुँजीवादी पुष्पकमल दाहालमा पतन हुनु हो । अनुशासन भनेको आखिर धैर्यता पनि हो । अप्ठ्यारोमा आत्तिनु र सजिलोमा मात्तिनु निम्न पुँजीवादी अधैर्यता हो । निम्न पुँजीवादी अधैर्यताले नै अनुशासन र नैतिकताका मान्यताहरू उल्लङ्घन हुन्छन् । वर्गीय अनुशासन भएन भने पुँजीवादी तथा निगम पुँजीवादी सङ्घातीपत्यवादी अराजकतावादले हालीमुहाली कायम गर्दछ । अनुशासन विहीन साम्यवादी दलभित्र नै दुश्मनका गुप्तचरहरू घुस्न सक्दछन् । साम्यवादी अनुशासन कसैद्वारा लादिने कुरा होइन, बरू एउटा साम्यवादी सदस्यको आत्म अनुशासन हो । आत्मानुशासन नभएको उत्पीडित वर्गबाट आएको व्यक्ति साम्यवादी हुनै सक्तैन । आत्मानुशासित हुने भनेको दब्बू दास हुने भनेको पनि होइन । साम्यवादी पार्टीमा आफ्ना विचारहरू खुलस्त राख्नु र राख्ने वातावरण तयार पार्नु तथ्यबाट सत्य पत्ता लगाउनु, जनताबाट लिएर जनतालाई नै दिने जनसेवक नै आत्मानुशासित साम्यवादी नेता र कार्यकर्ता हो ।

अब हामीले साम्यवादी र साम्यवादी भनिएका पार्टीहरूभित्र रहेका गुट–उपगुट र विचार समूहहरूको समस्या कसरी समाधान गर्ने ? यो नेपाली साम्यवादी आन्दोलन र विश्व साम्यवादी आन्दोलनमा रहेको अत्यन्त गहिरो प्रश्न हो । हरेक देशमा स्थापना काललाई हेर्दा एउटै साम्यवादी दल हुन्छ । विभिन्न आन्दोलन र घटनाक्रमहरूलाई लिएर वादविवाद हुन्छ । त्यो विवाद चुलिएर यति उचाइमा पुग्दछ कि साम्यवादी दलभित्र अनेक समूह बन्न थाल्दछन् र अन्ततः विभिन्न समूहमा विभाजन हुन्छन् । विभाजित समूहहरूमध्ये एकले अर्कालाई विभिन्न दोषारोपण गर्दछन् । आफू खाँट्टी क्रान्तिकारी भएको र अर्कोचाहिँ दक्षिणपन्थी वा वामपन्थी अवसरवादी भएको आरोप लगाउँछन् । कालान्तरमा क्रान्तिकारी भनिएका भित्रबाट पनि दक्षिणपन्थी अवसरवादी निस्कन्छन् र दक्षिणपन्थी अवसरवादी भनिएकाहरूबाट पनि वामपन्थी क्रान्तिकारी निस्कन्छन् । वामपन्थी क्रान्तिकारी भनिएकाहरूले मार्गनिर्देशक सिद्धान्त मालेमावाद, पार्टी सञ्चालनको विधि जनवादी केन्द्रीयता, कार्यदिशा र कार्यक्रम मिल्यो भनेर एकता गर्दछन् भने दक्षिणपन्थी अवसरवादी भनिएकाहरू यसरी नै अर्को दलमा एकीकृत हुन्छन् । जुनजुन समूहहरू, जुनजुन प्रवृत्तिमा मिलेर एकताको घोषणा कार्यक्रम राख्दछन् उनीहरूले टेलिभिजनका क्यामेराहरू अगाडि अत्यन्त गर्वका साथ एउटा नेताले अर्को नेताको कुनै कसर बाँकी नराखेर प्रशंसा गर्दछन् र एकअर्कालाई न्यानो अँगालोमा कस्दछन् तर केही महिनापछि त्यो एकता भएको पार्टीभित्र जुनजुन समूहबाट आएका नेता तथा कार्यकर्ता हुन्, तिनको आआफ्नै समूहको अलग बैठक बसेर मात्र मूल बैठकमा जान्छन् । मूल बैठकमा विचारधारा, राजनीतिक कार्यदिशा र कार्यक्रममा होइन, आआफ्नो स्वार्थ र पदप्रतिष्ठाका लागि खिचातानी, भनाभन र गलफत्ती हुन्छ । पुरानो गुटीय संस्कृति यथावत् रहिरहेको हुन्छ । वास्तविक एकता भएको हुँदैन किनभने एकता गर्ने प्रक्रियामा उनीहरूले कुनै मुद्दागत सम्झौता गरेका हुन्छन्, न त विचारधारा, राजनीतिक कार्यदिशा र कार्यक्रममा एकता भएको होस् । हामी उदाहरणका लागि नेकपा (एमाले) र नेकपा (माके) का बीच २०७५ जेठ ३ गते भएको कथित साम्यवादी दल एकतालाई लिन सक्दछौँ । त्यो एकता दर्शन, राजनीति, कार्यदिशा र कार्यक्रममा एकता भएको होइन, बरु संसदीय चुनावमा ठूलो दल बनाएर सरकार बनाउनलाई भएको थियो । अहिले आएर फेरि तीन टुक्रा भएको छ । क्रान्तिकारी साम्यवादी दलमा यसका अवशेषहरू रहेका हुन्छन् । विभिन्न समूहहरूबाट विद्रोह गरेका इमानदार क्रान्तिकारीहरू र क्रान्तिकारी समूहहरूबीच पार्टी एकता हुन्छ । उनीहरूमध्ये सङ्ख्या र गुणमा जुन समूह ठूलो थियो त्यसले त्यहाँ संस्थापन पक्ष बनेर नेतृत्व गरिरहेको हुन्छ । त्योचाहिँ शासकजस्तो र ससाना विचार समूहहरू शासितजस्ता बन्न पुग्छन् । लामो समयसम्म पनि ती कुनकुन समूहबाट आएका हुन्, तिनको चिन्तन विधि, चालचलन र संस्कार त्यहीत्यही समूहको जस्तो रहिरहेको हुन्छ । संस्थापन भनिएको समूहले तिनलाई आफ्नो पुरानै तौरतरिकाले चलाउन खोज्दछ । तर ती हिमनदीका हिमशिलाजस्तै नपग्लिएर रहेका हुन्छन् ।

अब हाम्रो अगाडि प्रश्न उठ्दछ के हिमनदीका हिमशिलाहरू फुटाउनै सकिँदैन ? सकिन्छ तर हिमनदीको मूल प्रवाह पनि रूपान्तरण भएर तातो हुनुप¥यो । नत्र भने हिमशिलाहरूले हिमनदीको प्रवाहको आफूले आफैँलाई तापक्रममा बदल्नु पर्दछ तब मात्र नदीको बहाव सजिलै अघि बढ्दछ । हिमनदीचाहिँ चीसै रहने तर हिमशिला मात्र पग्लियोस् भनेर कामना गर्नु द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी चिन्तन होइन, बरु त्यो अधिभूतवादी आदर्शवादबाट उत्पन्न हुने चिन्तन हो । यहाँ हामीले प्रतीकात्मक कुरा ग¥यौँ । त्यसकारण विभिन्न क्रान्तिकारी पार्टीहरूका बीच पार्टी एकता गर्नुपूर्व मार्गनिर्देशक सिद्धान्त, देश, काल र परिस्थितिको विश्लेषण, यो विश्लेषणबाट बनेको कार्यदिशा र कार्यनीति क्रान्तिको लक्ष्य र उद्देश्य, एकअर्कालाई पहिले लगाएका आरोप र प्रत्यारोपहरू आआफ्नो समूहको अभ्यासबाट बनेको संस्कार र संस्कृति इत्यादिबारे पर्याप्त बहस र छलफलबाट नयाँ निष्कर्षहरू निकाल्नुपर्दछ । विगतमा भएका कमीकमजोरीप्रति आत्मालोचना गर्ने र एकअर्काको आलोचना गर्ने कार्यबाट दिलदिमागमा रहेका तुषहरू हटाउनुपर्दछ । बरु ढिलै होस् पार्टी एकता बलवान् होस् । हाम्रो पुरानो आदत के छ भने अरूलाई आलोचना गर्दा रमाउने र आफूलाई अरूले आलोचना गर्दा धेरै रिसाउने । आफूमाथिको आलोचना गलतै किन नहोस् धैर्यपूर्वक सुन्नुपर्दछ र त्यसको वैज्ञानिक जबाफ दिनुपर्दछ । सही आलोचनालाई घुमाइफिराइ अस्वीकार गर्ने होइन, बरु आफूलाई सुधार्ने मौका दिएकोमा त्यो कमरेडलाई धन्यवाद दिनैपर्दछ । पार्टीभित्र आलोचना तथा आत्मालोचनाको जनवाद नदिनु भनेको विद्रोहलाई सञ्चय गरेर राख्नु हो र फूटको बीउँ रोप्नु हो । यसले गर्दा नै पार्टीमा पहिले प्रतिक्रान्ति हुन्छ र त्यसपछि विजयी समाजवाद तथा विजयको सन्निकट क्रान्तिमा प्रतिक्रान्ति हुन्छ । हामीले आजैदेखि पार्टी एकता गर्दा र पार्टी एकता भइसकेपछि जनवादी केन्द्रीयता तथा आलोचना आत्मालोचनाको सही प्रयोग गरे नै एकतालाई बलियो बनाउन सक्दछौँ । यसको अर्थ पार्टीमा अन्तरसङ्घर्ष नहोस् भन्ने कुरा पनि अवस्तुवादी र अधिभूतवादी हुन्छ । जनवादको अर्थ अराजकता र केन्द्रीयताको अर्थ नोकरशाही होइन, बरु छलफल र बहसमा स्वतन्त्रता नै जनवादी केन्द्रीयताको सारतत्व हो । छलफलमा स्वतन्त्रतालाई रोक्नु भनेको पनि प्रतिक्रान्तिलाई निम्त्याउनु हो । बहसमा स्वतन्त्रता र कामकारबाहीमा एकरूपताले नै साम्यवादी दललाई हराभरा र क्रान्तिकारी बनाइरहन्छ । त्यसकारण साम्यवादी दलभित्र बनेका पूर्वाग्रह र गुटउपगुटका डल्लाहरू फोर्ने जनवादी वातावरण बनाउन नेतृत्वले हरदम ध्यान पु¥याइरहनुको विकल्प छैन । नेतृत्वले प्रस्ताव पेस गरिसकेपछि त्यसमा विभिन्न कोणबाट बहस भयो भने मात्र हिमनदी प्रवाहको कुन कुनामा हिमशिला पग्लेको छैन भन्ने कुरा थाहा हुन्छ । बहसलाई रोक्यो भने त्यो कुरा थाहा हुँदैन र त्यो कुरा थाहा भएन भने नदी बग्दैन, बरु सम्पूर्ण नदी बरफ बन्दछ । सीधै भन्दा साम्यवादी दलमा प्रतिक्रान्ति हुन्छ र सम्पन्न तथा सन्निकट क्रान्ति असफल हुन्छ ।

यो आलेखको सिरानीमा नै हामीले माक्र्स र लेनिनका भनाइहरू उद्धृत गरेका छौँ । साम्यवादीहरूको सिद्धान्त भनेको व्यक्तिगत स्वामित्वको उन्मूलन गरी उत्पादनका साधनहरूमाथि सामूहिक स्वामित्व स्थापना गर्नु हो । लेनिनका अनुसार उत्पादनका साधनहरू जग्गाजमिन र कलकारखाना साम्यवादी समाजमा सामूहिक हुन्छन् । त्यसमा सबै मानिसले मिलीजुली श्रम गर्दछन् । यो श्रमबाट उत्पादित वस्तु सामूहिक हुन्छ । यसलाई वैज्ञानिक समाजवादमा ‘जसले गर्दछ काम, उसले खान पाउँछ माम’, योग्यताअनुसार काम गर र आवश्यकताअनुसार लैजाऊ भन्ने नीतिअनुसार वितरण गरिन्छ । त्यसकारण एउटा साम्यवादी दल, त्यसको नेतृत्व र कार्यकर्ताले मालेमावादलाई मार्गनिर्देशक मान्दछन् भने ती आजैदेखि साम्यवादी बन्नुपर्छ । आजचाहिँ साम्यवादी पार्टीको सदस्य बनौँ, साम्यवादी त साम्यवाद आएपछि बनौँला भन्नु नै प्रतिक्रान्तिको बीउ रोप्नु हो । माक्र्सले जर्मनेली विचारधारामा के पनि भन्नुभएको छ भने ‘मानिसको चेतनाले सामाजिक अस्तित्व निर्धारण गर्दैन, बरू सामाजिक अस्तित्वले मानिसको चेतना निर्धारण गर्दछ ।’ यसको अर्थ साम्यवादी बन्नलाई साम्यवादी सामाजिक अस्तित्व पनि बनाउँदै जानु हरेक साम्यवादी सदस्यहरूको कर्तव्य हो । उनीहरूले त्यसका लागि आफ्नो परिवार र आफूसम्बद्ध साम्यवादी पार्टी समितिलाई वैकल्पिक सामाजिक अस्तित्व बनाउनुपर्दछ ताकि आफ्नो साम्यवादी विचारको ग्रहणशीलता र प्रगति फैलँदै जाओस् । विश्व–साम्यवादी आन्दोलन र नेपाली साम्यवादी आन्दोलनमा समस्या त के देखिएको छ भने एउटा परिवारमा मातापितापछि छोराछोरीहरू साम्यवादविरोधी हुँदै गएका छन् । पुराना नेताहरूको पिँढी सकिएपछि नयाँ कार्यकर्ताहरूको साम्यवादी विचारधारा घट्दै गएको छ ।

साम्यवादी विचारधारालाई फैलाउने, विकास गर्ने र विजयी गराउने तरिका भनेको हरेक साम्यवादी सदस्यले आफ्नो परिवार र आफू सम्बद्ध दलको तहमा साम्यवादी सिद्धान्त अध्ययन तथा विकासको बलियो जग हाल्नु, त्यो सिद्धान्तअनुरूप आफ्नो आचरणलाई नमुना बनाउनु हो । हरेक घरबाट साम्यवादी क्रान्ति अघि बढायौँ र हरेक दल समितिलाई साम्यवादी व्यवस्थाको एकाइका रूपमा विकास ग¥यौँ भने त्यो चारैतिर फैलन्छ । हामी साम्यवादी दलका नेता र कार्यकर्ताहरूले बत्तीमुनि अँध्यारो फैलिन दिएका छौँ र अमूर्त निशानामा टर्चलाइट घुमाइरहेका छौँ । त्यसकारण हाम्रो पार्टीको आठौँ महाधिवेशनद्वारा पारित राजनीतिक प्रतिवेदनमा एउटा आर्थिक नीति बनाइएको छ जसअनुसार ः

‘समाजवादी सत्ता सञ्चालनका अनुभव, क्रान्ति सञ्चालन गर्दाका अनुभव र शिक्षालाई ग्रहण गर्दा हाम्रो नीति निम्नानुसार हुनुपर्छ ः आमनागरिकका हकमा रोजगारीको सुनिश्चितता गर्दै क्षमताअनुसारको काम र कामअनुसार दामको नीति लागू गर्नुपर्दछ । यो नीतिले नागरिकहरूको निजी जीवन सुखी र समृद्ध हुनेछ । यो कुरा पुँजीवादमा सम्भव नै छैन । उनीहरू क्षमताभन्दा बढी काम गराउँछन् भने तोकिएको दाम दिन्छन् । त्यसैले कम्युनिस्ट समाज र राज्यमा मात्र निजी जीवन सुखमय हुन्छ ।

‘पार्टी कार्यकर्ताको अर्थनीति रोजगारीको अनिवार्य व्यवस्था, क्षमताअनुसारको काम, काम अनि आवश्यकताअनुसारको दाम हुनुपर्दछ । यो नीतिअनुसार कम्युनिस्ट कार्यकर्ताहरूले काम गरेको आधा भाग राज्यका लागि र आधा भाग दाम आफ्नै परिवारका लागि पाउनेछन् जसले गर्दा कार्यकर्ताको निजी जीवन सुखपूर्ण हुनेछ भने उनीहरूको योगदानले राज्यले पनि समृद्धि प्राप्त गर्नेछ । यो नीतिमा रहने कार्यकर्ताको जीवन सरल, अनुशासित र अनुकरणीय हुनेछ । पार्टी नेतृत्वमा बसेका कम्युनिस्ट नेताहरूका लागि क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दाम हुनुपर्दछ । यो नीतिअन्तर्गत नेताहरूले आफ्नो सम्पूर्ण समय राज्य र जनताका लागि लगाउनुपर्नेछ भने नेताहरूको आवश्यकता राज्य वा संस्थाले पूर्ति गर्नुपर्छ । नेतृत्वले निजी सम्पत्ति जम्मा गर्ने स्थिति बन्नु हुँदैन । यसले नेताहरूको जीवन वैभव र विलासीपूर्ण नभएर सरल र आदर्श हुनेछ । यसले नयाँ पिँढीलाई कम्युनिस्ट आदर्शमा डो¥याउन मार्गदर्शन गर्नेछ ।’
(राजनीतिक प्रतिवेदन– २०७३, पृ. ४५–४६)

यो नीतिअन्तर्गतको कार्ययोजनाले नै वैज्ञानिक समाजवादमा नेताहरूबाट साम्यवाद सुरु भएर वैज्ञानिक साम्यवादमा पुग्दा सम्पूर्ण जनतामा लागू हुनेछ । त्यसकारण साम्यवाद वा यात्रा साम्यवादी पार्टीको नेतृत्वमा आजैदेखि सुरु हुनेछ संसारभरी वैज्ञानिक समाजवाद आएपछि वर्गविहीन, राज्यविहीन र दलविहीन साम्यवादी समाज व्यवस्थामा पुगिनेछ ।

अतएव साम्यवादी दलले हाम्रो जमानाको पुँजीवादी चुनौतीहरूको सामना गर्दै पुँजीवादद्वारा फैलाइएका भ्रमहरू र त्यसका गलत विचारहरूको चिरफार गरेर क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद र साम्यवादमा पुग्ने अठोट लिएर अघि बढ्नुपर्नेछ । निश्चय नै बाटो कठिन छ, तर माक्र्सका अनुसार ‘विज्ञानको कुनै सीधा तथा फराकिलो राजमार्ग हुँदैन र त्यसको प्रकाशमान शिखसम्म त्यो नै पुग्न सक्दछ जो उसको अघिल्तिर उभिएको ठाडो उकालोदेखि डराउँदैन ।’
१८ वैशाख, २०७८ तदनुसार (१ मे २०२१) १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । स्राेत: जन बिहानी राष्ट्रिय मासिक – ४ अंक माघ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *