राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध दाङमा नेकपासहित संयुक्त दलद्वारा सिडियो कार्यालय घेराउ

News

हेमन्तप्रकाश वली। फागुन १३, घोराही। राष्ट्रघाती एमसिसी सम्झौताविरुद्ध दाङमा जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ ।

विप्लव नेतृत्वको नेकपासहित दाङमा क्रियाशील कम्युनिस्ट पार्टीहरू नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माले र दुई मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा जिल्ला प्रशासन घेराउ गरिएको हो । घोराहीको ट्राफिक चोकबाट बिरोध र्याली सुरु भएर बजारका विभिन्न चोकहरू परिक्रमा गर्दै बिरोध प्रदर्शन प्रशासन कार्यालय पुगेर बिरोध सभामा परिणत भएको थियो ।

बिरोध सभालाई सम्बोधन गर्दै नेकपा बिशेष कमिटी सदस्य सम्झनाले राष्ट्रघाती एमसिसी सम्झौताका विरुद्ध सम्पूर्ण नेपाली जनता सडकमा उत्रनुपर्ने आवश्यकता रहेको उद्घोष गरिन् । उनले एमसीसी नेपाली जनताका लागि विकास होइन, विनाश गर्ने रणनीतिसहित आएकाले खारेजीको विकल्प नरहेको समेत बताइन् । नेतृ सम्झनाले अमेरिकी साम्राज्यवादका नेपाली दलालहरूले जबर्जस्त नेपाली जनताको थाप्लोमा एमसीसी लाद्छु भन्ने सोच्नु दिवा सपना मात्रै हुने जिकिरसमेत गरिन् ।

उनले भने, “शासकहरूले हिजोको इतिहास पल्टाएर हेर्दा हुन्छ जताततै बिरता र बहादुरिपूर्ण इतिहास बोकेको देशमा एमसीसी लाद्छु भन्ने नसोचे हुन्छ, खरानी हुन्छौँ तर, पास हुन दिन्नौँ ।” संंसद भवन बाहिर तारबार गरेर दलालहरू सुरक्षीत नहुने नेतृ सम्झनाको चेतावनी थियो ।

एमसीसी हिन्द प्रशान्त रणनीतिको अभिन्न अङ्ग भएकाले तत्काल खारेज हुनुपर्ने नेतृ सम्झनाले बताइन् । उनले एसियामा आफ्नो सुरक्षा प्रभाव बिस्तार गर्ने, छिमेकी मुलुक चीनमाथि नेपाली भूमि प्रयोग गरि आक्रमण गर्ने, नेपालमा रहेका बहुमूल्य खनिज पदार्थको दोहन गर्ने रणनीतिसहित अमेरिकाले हरियो डलर देखाएर नेपाली मातृभूमिमाथि गिद्देदृष्टि लगाएको समेत बताइन् ।

बिरोध सभालाई राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य कमला जिसि, नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य रामजित चौधरी, नेकपा माले लुम्बिनी प्रदेश कमिटी सदस्य कपिल पोख्रेलले सम्बोधन गरेका थिए । बिरोध सभाको सहजीकरण अखिल छैठौँका केन्द्रीय समिति सदस्य लक्ष्मण बिकले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *