मन्थली : नेकपा रामेछापले राष्ट्रघाती एमसीसी सम्झौता संसद्मा टेबुल गरिएको विरोधमा बिहीबार जिल्ला प्रशासन कार्यालय रामेछाप घेराउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालयअगाडि आयोजित घेराउ र प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा रामेछापका सेक्रेटरी इन्द्र श्रेष्ठले केही दलालहरूले एमसीसी राष्ट्रहितमा छ भनेर जनतालाई दिग्भ्रमित पारिरहे पनि यसको राष्ट्रघाती चरित्र र असरका विरुद्ध सिङ्गो देशभक्त र क्रान्तिकारी जनमतको आवाज सडकमा अभिव्यक्त भइरहेको बताए ।
नेपाली काङ्ग्रेस, नेकपा एमाले (विशेष गरेर केपी वली समूह) र बाबुराम भट्टराईहरूले खुलेरै अमेरिकी साम्राज्यवाको दलाली गरिरहेको, माके, एकीकृत समाजवादी, मधेसी दलभित्रको उपेन्द्र यादव समूह केही परिमार्जनसहित एमसीसी पारित गर्ने बहानामा एमसीसीकै पक्षमा रहेको र नेकपाको नेतृत्वमा ६ दल र २ मोर्चाले सञ्चालन गरेको एमसीसीविरोधी आन्दोलनले निर्णायक मोड लिइरहेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिवसमेत रहेका रातो खबर प्रकाशन गृहका सम्पादक अशोक सुवेदीले सुगौली सन्धिदेखि एमसीसी सम्झौतासम्म आउँदा देशले धेरै लेन्डुप दोर्जेहरूका विरुद्ध धेरै भक्ति–भीमसेन र अमरसिंह थापाहरू जन्माइसकेको भन्दै राष्ट्रघाती एमसीसीविरुद्ध देशव्यापी उठेको आन्दोलनले जनविद्रोहको स्वरू लिँदै गएको बताए । दलाल पुँजीवादको अन्त्य र एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादको स्थापनाले मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितता हुने भन्दै उनले राष्ट्रियताको रक्षाका लागि घरघरबाट विद्रोहमा सामेल हुन आह्वान गरे ।
एमसीसीविरुद्ध र जनक्रान्तिका पक्षमा नारा लगाउँदै नेकपा रामेछापको कार्यालयबाट सुरु भएको र्याली प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष अगाडि पुगी घेराउ र कोणसभामा परिणत भएको थियो । कार्यक्रममा नेृकपा रामेछापका नेता–कार्यकर्ता, जिल्लाका विपिभन्न जवस र मोर्चाका नेता–कार्यकर्ता, नेकपा (क्रान्तिकारी माओवादी) का कार्यकर्ता र जनसमुदायको सहभागिता थियो ।