मार्क्सवादी साहित्यमा जनयुद्धको योगदान : अनिल शर्मा

Opinion

 

लेखक : अनिल शर्मा

नेकपाको स्थापना २००६ सालमा भयो । त्यसयतादेखि नै नेपाली क्रान्तिको लागि विभिन्न समय र स्थानमा प्रयासहरू भएका छन् । जनसङ्घर्ष र वर्गसङ्घर्षको लामो इतिहास छ । अनेकौँ जनविद्रोह र बलिदान भएका छन् । नेपालको जनयुद्ध नेपालका सबै जनसङ्घर्ष र वर्गसङ्घर्षको निरन्तरता र उत्कर्ष हो । यो आकस्मिक घटना थिएन । देशीय प्रतिक्रियावाद र साम्राज्यवादको अथाह अपमान, ज्यादती, शोषण, राष्ट्रघात, हत्या र आतङ्कको विरुद्ध योजनाबद्ध र कष्टसाध्य प्रतिरोध युद्ध थियो । त्यही प्रतिरोध युद्धको एक पोयोका रूपमा अर्थात् निश्चित राजनीतिक लक्ष्यको पूर्तिका लागि विचारधारात्मक सङ्घर्षको प्रभावकारी साधनका रूपमा कला, साहित्य र संस्कृतिले ऐतिहासिक भूमिका निर्वाह गरेको छ ।

२०४६ सालमा जनताले गणतन्त्र नेपालको माग गर्दै सडकमा उत्रिए । चैत २४ गते जनता सीधै गणतन्त्रको माग गर्दै राजदरबारको विरुद्ध उत्रिए । राष्ट्रिय जनआन्दोलन संयोजन समितिको आयोजनामा सो दिन नेपाल बन्दको आयोजना गरिएको थियो । त्यस दिन वाममोर्चा र काङ्ग्रेसको कुनै कार्यक्रम थिएन, न त लाखौँ जनता विद्रोहमा उत्रिँदा उनीहरूसँग कुनै दृष्टिकोण र योजना नै थियो । वाममोर्चा र काङ्ग्रेसको कार्यक्रमबाट जनता बाहिर गइसकेको अवस्थामा कफ्र्यू लगाएर राजदरबारमा राजा, काङ्ग्रेस र वाममोर्चाको बीचमा धोकापूर्ण सम्झौता भयो । आन्दोलनकारी शक्तिहरू विभाजित भएको हुनाले जनआन्दोलनको राप सेलाउन गयो । जनआन्दोलनको राय घट्दै सेलाउँदै जाने क्रममा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरू बढ्दै गए । जनआन्दोलनमाथि धोका भएको महसुस हुँदै गयो । माओवादी धाराका पार्टीहरू संगठित भए । आत्मगत तयारीको अभावमा जनआन्दोलन धोकामा टुङ्ग्याउन दलाल पुँजीवाद र संशोधनवाद सफल भएको मर्मबोध गरियो । चारओटा क्रान्तिकारी शक्तिहरूको बीचमा एकीकरण भई नेकपा (एकताकेन्द्र) बन्यो । त्यसको वैधानिक मोर्चा संयुक्त जनमोर्चा, नेपालको आयोजनामा २०४८ सालमा देशव्यापी जनसङ्घर्ष आह्वान गरियो । चैत २४ गते नेपाल बन्दको कार्यक्रम थियो । चैत २३ गते काठमाडौँको राँके जुलुसमा हजारौँ नागरिक उपस्थित भए । सो जुलुसमा सर्वसाधारणको ठूलो संख्यामा उपस्थिति थियो । नेपाल बन्दको अघिल्लो दिन नै सरकारले अनाहकमा गोली चलायो । दर्जनौँ नागरिकको हत्या भयो । सरकारले घटनाको छानबिनसम्म गरेन । २०४६ सालमा धोकापूर्ण सम्झौता गरिनु र २०४८ सालको शान्तिपूर्ण जनसङ्घर्षलाई दमन गरे पनि तत्कालीन नेकपा (एकता केन्द्र) सशस्त्र सङ्घर्षमा जाने निर्णय गर्यो । त्यसपछि सो विचार र राजनीतिसँग सहमत लेखक–कलाकारहरूले जनयुद्धको पक्षमा पैरवी गर्न थाले ।

सशस्त्र युद्धमार्फत क्रान्ति सम्पन्न गर्नुको विकल्प नरहेको धारणाबाट प्रभावित भएर लेखन प्रक्रिया त्यसअघि नै भएको हो । दशकौँ अगाडि क. चैतन्यले ‘लाहुरेको व्यथा’ खण्डकाव्यमा सशस्त्र सङ्घर्षद्वारा जनताको सत्ता निर्माण गर्नुपर्ने कुरामा जोड दिएका थिए । त्यसैगरी जनकवि गोकुल जोशीले लामो अभियान चलाए । आगो ओकल्ने कवि युद्धप्रसाद मिश्रले ‘भोका र नाङ्गा उठ’ ‘रक्तक्रान्तिको ज्वालामुखीमा’ लगायत गीतमा सशस्त्र सङ्घर्षको आह्वान गरेका थिए । त्यसैगरी २०४६ सालपछि जनचाहनामा धोका भएको र शासकहरूलाई हिंसात्मक बलद्वारा फालेर जनताको व्यवस्था ल्याउनुपर्ने आवाज किसानका कवि केवलपुरे किसानले उठाए । ‘ढ्वाङ ढ्वाङी ठोक्नुपर्छ’ जस्ता उनका कविताहरूले जनविद्रोहको पैरवी गरेका छन् । त्यसैगरी कवि तथा लेखक पारिजातको ‘अनिदो पहाड’ (उपन्यास) र अरू कैयौँ कविता र निबन्धहरूले जनसत्ताको जनमत निर्माण गरेका थिए । २०४८ सालअघि नै सत्ताको प्रश्नमा अझ तिखारिएर आहुती देखापरे । उनको उपन्यास ‘नयाँ घर’ र उनकै कवितासङ्ग्रह ‘तपस्वीका गीतहरू’ ले क्रान्तिको आवश्यकतालाई अझ उजिल्याए । ‘गुइँठाको आगो’, ‘कैदी नम्बर १५००’ त्यसका उदाहरण हुन् । त्यसभन्दा अगाडि २०४२ सालमा काङ्ग्रेसी मण्डले गिरोहले विद्यार्थी नेता मित्रमणि आचार्यको हत्या गरेपछि केन्द्रीय कारागारमै कवि कृष्ण सेन ‘इच्छुक’ ले ‘शोकाञ्जली’ खण्डकाव्य लेख्नुभएको थियो जसमा इच्छुकले हत्याको बदला लिने प्रण गर्नुभएको छ ।

जसरी जनयुद्धको तयारीस्वरूप जनसङ्घर्ष र वर्गसङ्घर्ष चल्दै थियो, त्यसैगरी कला–साहित्यको धार पनि तिखारिंदै थियो । त्यसैबेला लोकप्रिय कवि पूर्ण विरामको ‘गोविन्दले ठीक भन्यो’ कवितासङ्ग्रह प्रकाशित भयो । त्यो कवितासङ्ग्रहले क्रान्तिको अपरिहार्यतालाई अझ पुष्टि गर्यो । त्यसबेला क्रान्तिमा बल प्रयोगको औचित्यको विषयमा मार्क्सवाद र संशोधनवादको बीचमा तात्तातो बहस चलिरहेको थियो । ग्रामीण इलाकामा काङ्ग्रेसको सत्ता–उन्माद चरम सीमामा थियो । हत्या, आतंक, लुटपाट, झुट्टा मुद्दा लादिरहेको थियो । सत्ताको भत्ताले मातेका राजधानीका सरकारका बौद्धिक कारिन्दाहरू शान्ति र विकासको वकवास गर्दै थिए । त्यसको विरुद्ध मुखभरिको जवाफमा दाङका कवि यज्ञबहादुर डाँगीले ‘भो शान्तिको कुरै नगर’ कविता लेखे । त्यो कविताले समकालीन प्रवृत्ति र क्रान्तिकारी मनोविज्ञानको राम्रो प्रतिनिधित्व गरायो । गीत, गजल, अपेराको क्षेत्रबाट पनि सशक्त रूपमा सृजनाहरू आइरहेका थिए । धु्रव ज्ञवालीको स्वरमा ‘क्रान्तिकारी नेपाल मुक्त गराइदेऊ’ बोलको गीत अत्यन्त लोकप्रिय भयो । मणि थापा, खुसीराम पाख्रिन, हितमान शाक्य, अञ्जना गुरुङ, कन्हैया, लिला थापा, चुनु गुरुङ, सीता शर्मालगायत कवि–कलाकारको फौजले सिस्नोघारी माड्दै अघि बढे । त्यसैगरी समालोचनाको क्षेत्रमा डा. ऋषिराज बराल, घनश्याम ढकाल, ताराकान्त पाण्डे, गोपीन्द्र पौडेल लागिरहेका थिए ।

२०५२ फागुन १ गतेबाट विश्व सर्वहारावर्गको एउटा टुकुडीका रूपमा नेकपा (माओवादी) को नेतृत्व नेपालमा महान् जनयुद्ध सुरु भयो । त्यसले नेपाली समाजको शक्ति सन्तुलनमा नै परिवर्तन ल्यायो । आम सामाजिक चेतनामा गुणात्मक परिवर्तन ल्यायो । नेपालको प्रतिष्ठा उकासियो । पैतलामुनि दबाइएका दलित, महिला, अबला, सुकुमबासी, हरुवा–चरुवा जागे । गुण र मात्राको दृष्टिले मात्र होइन; साहित्य–कलाका नयाँ विधाहरूले थप प्राण पाए । नयाँ मूल्यहरू स्थापित भए । बिम्ब र प्रतीकहरू बदलिए । संस्कृत भाषा र विदेशी बिम्बको स्थानमा सहिद, बेपत्ता, योद्धा, भरुवा, आँसी–कोदालो, वीरता, शौर्य, बलिदान र पाखा–पखेरा आउन थाले । बदलियो– साँच्चै बदलिन थाल्यो नेपाली साहित्य ।

जनयुद्धको भावभूमिमा सबैभन्दा धेरै मात्रा र गुण दुवैको दृष्टिले कविता अगाडि देखा पर्दछ । कविताको क्षेत्रमा पूर्ण विराम, नन्दीश अधिकारी, अनिल शर्मा, रोहित कोइराला, डी कौडिन्य, रोशन जनकपुरी, चेतकान्त, चुनु गुरुङ, ईश्वरचन्द्र ज्ञवाली, राजबहादुर कुवँर, गङ्गा श्रेष्ठ, सत्य पहाडी, शोभा दुलाल, अशोक सुवेदी, शारदा श्रेष्ठ, अनिल श्रेष्ठ, मोदनाथ मरहट्टा, जगतबहादुर श्रेष्ठ, नमूना यात्री, शिव श्रेष्ठ, खुसीराम पाख्रिन (गीत), नेत्रविक्रम चन्द (गीत), रीतबहादुर खड्का, कान्छा लामा, युद्धप्रसाद रायमाझी, देवीबहादुर थापा ‘मनासलु’ लगायत छन् । तिनीहरूमध्ये पूर्ण विरामको ‘ए, मेरो आदरणीय लेकाली फूल’, कृष्ण सेन ‘इच्छुक’ को ‘बन्दी र चन्द्रागिरि’ र चुनु गुरुङको ‘बेलिसरा’ उल्लेख्य छन् । यी कवितासङ्ग्रहले समकालीन नेपाली मार्क्सवादी कविताको मानककै रूपमा उपस्थिति जनाएका छन् । इच्छुक प्रतिष्ठानद्वारा प्रकाशित ‘जनयुद्धका कविताहरू’ उक्त पङ्क्तिको महत्वपूर्ण उपस्थिति हो । योद्धा र सहिदहरूका छानिएका रचनाहरूको यो सङ्ग्रह नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित भएको छ । कविताकै उप–विधाका रूपमा आएको गीत तथा गजलको उपस्थिति पनि कमजोर छैन । क्षितिज परिवार, सामना परिवार, चुनु–शिल्पा परिवारलगायत सांस्कृतिक परिवारहरूले जनचेतना, भावना र जनमत निर्माणका क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गरेका छन् । आततायी सत्ताले कृष्ण सेन, शिव श्रेष्ठ, डी कौडिन्य, रोहित कोइराला, कान्छा लामा, भगत राय, नमुना यात्री, चुनु गुरुङ, शारदा श्रेष्ठ, रीतबहादुर खड्कालगायतको हत्या गर्यो । प्रतिक्रियावादी सत्ताले अनेकोट, भाबाङलगायत दर्जनौँ स्थानमा सामूहिक हत्या गरेको छ ।

नेपालका कवि लेखकहरू लु सुन र गोर्कीकालीन युगभन्दा अगाडि बढेर सोनी सहिद फेदरियो मारिया लोर्काको उत्तराधिकारी बने । कवि–लेखकहरू वैचारिक–साङ्गठनिक रूपले प्रतिबद्ध हुन् कि स्वतन्त्र ? भन्ने बहस चलिरहेको बेला नेपालका कवि–कलाकारहरूले सिर्जना र वर्गसङ्घर्ष दुवैको नेतृत्व गरेर देखाए । प्रतिध्रुवीय धारालाई तिनले निस्तेज पारे । जनयुद्धको समयमा कवितापछि मात्रा र गुण दुवै दृष्टिले सबैभन्दा धेरै लेखिएको विधा संस्मरण हो । जनयुद्धको कारण यो विधाले अलग, स्वतन्त्र विधाको माग गर्ने स्तरमा आकार ग्रहण गरेको छ । निबन्ध विधाकै उप–विधाका रूपमा मानिने संस्मरण–अनुभूति विधालाई अब त्यहीं छोडिराख्नु उचित देखिन्न । आत्मकथा र संस्मरणलाई उस्तै मान्नेहरूको पनि कमी छैन । तर यी दुईमा ठूलो अन्तर छ । आत्मकथा आत्मपरक र स्मृतिपरकता प्राधान्य हुन्छ । संस्मरणमा आत्मपरकताभन्दा समसामयिकता र समकालीनता प्रधान्य हुन्छ । जनयुद्धमा लेखिएका संस्मरणले सामूहिकता त्यसको मर्मका रूपमा पस्किएका छन् । यो अनुभूति प्रधान हुने भएका कारण नियात्राभन्दा मौलिक रूपले भिन्न रहेको छ ।

जनयुद्धका संस्मरणहरूमा अनिल शर्माको ‘सम्झनामा भारतीय जेल’, उमा भुजेलको ‘बन्द पर्खालदेखि खुला आकाशसम्म’, शोभा कट्टेलको ‘समरका स्मृतिहरू’, गङ्गा श्रेष्ठको ‘गढीदरबारदेखि सिंहदरबारसम्म’ लगायत छन् । संस्मरण विधामा फुटकर रूपमा छरिएर रहेका रचनाहरू अनगिन्ती छन् । तिनमा कृष्ण सेन ‘इच्छुक’, रीतबहादुर खड्का, शिव श्रेष्ठ, चुनु गुरुङ, राजकुमार कुवँर, मोदनाथ मरहट्टा, पोषराज पौडेल, पूर्णबहादुर अधिकारी, गङ्गा लामा, प्रकाश खनाल, बलराम तिमल्सिना, खुसीराम पाख्रिन, नेत्रविक्रम चन्द, दीनानाथ शर्मा, सिपी गजुरेल, ईश्वर रिजाल, अनिल श्रेष्ठ, खिमा रिजाल, माइला लामा, झङ्कार मगर, हेमन्तप्रकाश ओली, शिव श्रेष्ठ, नमुना यात्री, एकराज भण्डारी, अशोक सुवेदीलगायत छन् । इच्छुक प्रतिष्ठानद्वारा जनयुद्धको भावभूमिमा लेखिएका संस्मरणहरूको सङ्ग्रह ‘जनयुद्धका संस्मरणहरू’ प्रकाशित भएको छ । एउटा सानो सङ्ग्रहमा जनयुद्धको समयमा अथवा जनयुद्धको भावभूमिमा लेखिएका प्रतिनिधि सिर्जनाहरू समेट्न सम्भव थिएन । सो सङ्ग्रहले विषयको साङ्गोपाङ्गो चित्र मात्र दिएको छ ।

जनयुद्धको समय वा जनयुद्धलाई विषयीका रूपमा लेखिएको अर्को विधा हो निबन्ध । विचारप्रधान निबन्धलाई ‘लेख’ भन्ने गरिएको छ । जनयुद्धको इतिहासलाई आधार बनाएर डा. ऋषिराज बरालको ‘प्रियजनहरूको सम्झनामा’ प्रकाशित छ । त्यसैगरी अनिल शर्माको ‘रसुवामा दुखिरहेको कर्णाली, जगतबहादुर श्रेष्ठको ‘जगतबहादुर श्रेष्ठका निबन्धहरू’ लगायत छन् । साथै, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, दीनानाथ शर्मा, देवेन्द्र पौडेल, गोपाल किराती, गङ्गानारायण श्रेष्ठ, मौहन वैद्य, धर्मेन्द्र बास्तोला, नेत्रविक्रम चन्द, खड्गबहादुर विश्वकर्मा, नारायण शर्मालगायतका विचारप्रधान सामग्री पनि यथेष्ट छन् ।

जनयुद्धमा सबैभन्दा कम लेखिएको विधा उपन्यास हो । जनयुद्धको भावभूमिमा लेखिएका उपन्यासमध्ये डा.ऋषिराज बरालको ‘समरगाथा’, घनश्याम ढकालको ‘रातो आकाश’, गङ्गा श्रेष्ठको ‘ज्वालामुखीमाथिको यात्रा’, कमल निओलको ‘मुक्तिमार्ग हुन् । कुनै पनि उपन्यासहरू अपेक्षाकृत गुणात्मक छैनन् । मात्रा र गुण दुवै दृष्टिले यो विधा कमजोर रहेको छ । चीन, रुसलगायतका अनुभव हेर्दा क्रान्तिकाल समाप्त भएपछिको शान्ति र पुनर्निर्माणकालमा गृहयुद्धकालको भावभूमिमा गुणात्मक प्रकृतिको सिर्जना भएको देखिन्छ । नेपालको सन्दर्भमा त्यस्तो चित्र अझैसम्म पनि देखिएको छैन ।

जनयुद्धको भावभूमिमा कवितापछि मात्रा र गुणमा प्रगति भएको विधा कथा हो । यो क्षेत्रमा सीपी गजुरेल, डा. ऋषिराज बराल, गङ्गा श्रेष्ठ, दीनानाथ शर्मा, रविकिरण निर्जीव, पूर्णबहादुर अधिकारी, अशोक सुवेदीलगायत छन् । यस विधामा फुटकर रचनाहरू प्रशस्त लेखिएका छन् । लघुकथाहरू भने कमै लेखिएको देखिन्छ भने ‘विज्ञान कथा’ झनै कमजोर छ । कथा विधा एउटा लोकप्रिय विधा हो । यसका प्रशस्त पाठकहरू छन् । तर मात्रा र कोण दुवै कोणबाट हेर्दा जुनस्तरमा कथा विधाको समृद्धिको अपेक्षा गरिएको हुन्छ, त्यो स्तरमा उपस्थिति भएको छैन । प्रतिध्रुबीय चुनौतीको सामना गर्न सक्नेगरी कथा विधाले आकार ग्रहण गरेको छैन; न त त्यसको कारणले विषयमा आवश्यक चर्चा नै भएको छ ।
जनयुद्धले प्रगति गरेको अर्को विधा शब्द–चित्र तथा रिपोर्ताज हो । यो क्षेत्रमा डा. ऋषिराज बरालको महत्वपूर्ण योगदान छ । ‘सलाम रोल्पा’ र ‘फेरि लाल भञ्ज्याङमा उभिएर’ महत्वपूर्ण रचना हुन् । ‘सेनजी, एउटा कथा भन्छु है’ उनको लोकप्रिय शब्दचित्र हो । यो क्षेत्रमा सिपी गजुरेल, अनिल शर्मा, गङ्गा श्रेष्ठ, हेमन्तप्रकाश ओली, अम्बिका चन्द, अनिल श्रेष्ठलगायतका रचनाहरू प्रकाशित छन् । यो क्षेत्रमा सहिदहरू रीतबहादुर खड्का र इच्छुकका केही रचनाहरू फुटकर प्रकाशित भएका छन् । त्यसैगरी कतिपय संस्मरण अनुभूतिका रचनाहरू शब्दचित्र हुन् कि संस्मरण विधागत मूल्यको दृष्टिले पर्गेल्नै गाह्रो हुने खालका देखिन्छन् ।

जनयुद्धको आवश्यकताको कारण कम चर्चा भएको तर नेपालको मार्क्सवादी साहित्यलाई समृद्ध पार्न सहयोग गरेको क्षेत्र अनुवाद साहित्य हो । चीन सोभियत सङ्घ र जनवादी जनगणतन्त्र कोरियाले नेपाली भाषामा रचना तथा कृतिहरू प्रकाशित गर्दै आएका छन् । वामपन्थी बुद्धिजीवी र प्रकाशकले पनि त्यसमा योगदान गरेका छन् । जनयुद्धको आवश्यकता र त्यसको भावभूमिमा विदेशी भाषाका रचनाहरू अनुवाद भएका छन् । ती शोधपूर्वक र साहित्यपरक दुवै मूल्य भएका छन् । त्यस क्षेत्रमा धर्मेन्द्र बास्तोला, इन्द्रमोहन सिग्देल, हेमन्तप्रकाश ओली, डा. ऋषिराज बराल, अनिल शर्मा, तिलक केसी, देवेन्द्र तिम्लालगायत छन् । अनुवाद साहित्यमा अङ्ग्रेजी र हिन्दी भाषाका रचनाहरू नेपाली भाषामा भाषान्तर गरेर माक्र्सवादी साहित्यलाई समृद्ध पार्ने कार्य भएको छ । भाकपा माओवादी र आरसीपी अमेरिकाका वैचारिक रचनाहरू, पत्राचारहरू, विश्वका विभिन्न पार्टीका रचना र दस्तावेजहरूको खोजी गर्नु, भाषान्तरण गर्नु र नेपाली पाठकका लागि पस्कनु सजिलो काम होइन । तर पनि यो क्षेत्रमा जे जति काम भएको छ, जनयुद्धको ऊर्जा र आवश्यकताको कारण महत्वपूर्ण कामहरू भएका छन् ।

जनयुद्धको कारण जातीय, क्षेत्रीय, समुदायगत जागरण भएको छ । विभिन्न स्थानीय भाषामा विभिन्न विधा, शैली, बिम्ब र प्रतीकहरू अगाडि आएका छन् । थारु, मगर, मैथिली, तामाङ, राई, लिम्बु, गुरुङजस्ता स्थानीय देउडासम्मका गीत र नृत्यहरू सिर्जना भएका छन् । बुर्जुवावर्गले अपहरण गरेको कला–साहित्यको कुनै पनि विधा र क्षेत्र जनयुद्धले नखोसेको, हकदावी नगरेको र हस्तक्षेप नगरेको छैन । माक्र्सवादी साहित्यको लागि यो गौरवको विषय हो ।

मार्क्सवादी साहित्यमा जनयुद्धले पुर्याएको महत्वपूर्ण पाटो समालोचनाको पाटो हो । यो क्षेत्रमा मोहन वैद्य, डा. ऋषिराज बराल, घनश्याम ढकाल, ताराकान्त पाण्डे, गोपीन्द्र पौडेललगायत छन् । समीक्षात्मक पाटोमा पनि अनेकौँ नयाँ तथा युवा लेखकहरूले कलम चलाएका छन् । जसमा अनिल शर्मा, अशोक सुवेदी, मोदनाथ मरहट्टा, नारायण शर्मालगायत छन् । जनयुद्ध र त्यसको भावभूमिमा लेखिएका रचनाहरूको समालोचना समेटिएको कृति ‘मार्क्सवादी साहित्य र जनयुद्धको सौन्दर्य’ प्रकाशित भएको छ । त्यो सबल पक्ष हो । तर सो कृतिमा जनयुद्धसँग कुनै साइनो नभएका र कतिपय जनयुद्धका विपक्षमा उभिएका पात्रहरूका रचनालाई पनि जनयुद्धको साहित्य भनेर जनयुद्धका रचनाहरूको विदू्रपीकरण गरिएको छ । राजनीतिक विचारधारात्मक रूपमा प्रकट भएको सुधारवाद, विसर्जनवाद र वर्गसमन्वयवाद सो कृतिमा पनि प्रकट भएको छ । यस्ता थुप्रै सीमाहरूको साथमा समालोचनाको क्षेत्रमा पनि जनयुद्धको उपस्थिति प्रतिध्रुवीय उपस्थितिभन्दा कमजोर छैन । यद्यपि संख्यात्मक रूपमा प्रश्न रहला । नाटकमा भने खेम थपलिया मात्र क्रियाशील देखिन्छन् ।

जनयुद्धभन्दा अगाडि चलचित्र तथा श्रव्यदृश्यको क्षेत्रमा ‘बलिदान’ र ‘ठूली’ (नाटक) मात्र थिए भन्दा हुन्छ । यस अवधिमा कमजोर नै भए पनि चलचित्र तथा श्रव्यदृश्य निर्माण भएका छन् । चलचित्रकला क्षेत्रमा ‘आगो’, ‘लाल सलाम’, ‘सहिद’, ‘जनयुद्ध’ आदिको महत्वपूर्ण उपस्थिति छ । जे होस्, नेपाली माक्र्सवादी साहित्यमा जनयुद्धको यथेष्ट योगदान रहेको कुरामा दुईमत छैन ।

(शर्माको २०७४ सालमा लिखित सामग्रीमा सामान्य परिमार्जनसहित प्रकाशन गरिएको हो– सम्पादक ।)

 

Leave a Reply

Your email address will not be published.