समाजवादी आन्दोलनमा हिडेका योद्धाको सपना पूरा गरिन्छ : सुदर्शन

News Political

हेमन्तप्रकाश वली/दाङ,  माघ १६ गते । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले समाजवादी आन्दोलनमा हिडेका योद्धाको सपना पूरा गर्ने बताएका छन् । बिहीबार दाङको घोराहीमा सडक दुर्घटनाबाट मृत्यु भएका नेकपा दाङ जिल्ला बिशेष कमिटी सदस्य नरबहादुर घर्ती ‘सुदिप’ को अन्तिम श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै उक्त कुरा बताए हुन् ।

उक्त सभामा नेता सुदर्शनले सुदिपको स्मरण गर्दै भने, “उनी युवा विद्यार्थी अवस्थाबाटै माओवादी जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिसम्म आइपुगेका होनहार युवा योद्धा थिए । उनीसँग मैले रोल्पादेखि गण्डक अभियानसम्म जनयुद्ध समयमा पनि मसँगै काम गरेका थिए । आज यस्तो योद्धा गुमाउँदा सिङ्गो पार्टी र क्रान्तिलाई अपुरणीय क्षति पुगेको छ । साथै हामी सुदिप गुमाउँदा भावविह्वल भएका छौँ ।”

माघ ११ गते तुलसीपुर उप–महानगरपालिका वडा नं. ३ अन्तर्गत राप्ती राजमार्गको तुलसीपुर–सल्यान सडक खण्डमा बाटो निर्माण हुँदै गरेको र सहायक बाटोबाट तुलसीपुरतर्फ आउँदै गर्दा बाटो माथिबाट पहिरो झरिरहेको र उक्त पहिरोमा परेर पार्टी जिल्ला बिशेष कमिटी सदस्य एवम् जनमुक्ति सेना नेपालका प्लाटुन भाइस कमाण्डर सुदिपको दुःखद् निधन भएको थियो ।

मृतक सुदिपको घोराहीको सेवार खोला घाटमा मृत्यु भएको तीन दिन पछि आज बिहीबार नै अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि कार्यक्रममा नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर ‘विषम’, नेकपाका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज शितल, पार्टी केन्द्रीय सदस्यहरू शुबास, बिश्व, सबिन, नेकपा दाङका सेक्रेटरी प्रदिप, बिशेष कमिटीका सेक्रेटरी सुन्दर, नेकपा निकट युवा सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष पाटन, सचिव तिलक, लुम्बिनी प्रदेश संयोजक हरि बस्नेत, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज दिपक, जनपत्रकार सङ्गठन नेपाल लुम्बिनी प्रदेशका कोषाध्यक्ष मुक्ति गैरेलगायत नेकपा दाङका नेता–कार्यकर्ता, पार्टीका समर्थक शुभचिन्तक र सयौँ जनताको उपस्थितिमा श्रद्धाञ्जली सभासहित अन्त्येष्टि कार्यक्रम सम्पन्न भएको हो ।

अन्त्येष्टि कार्यक्रम स्थलमा पार्टीको झण्डासमेत गाडिएको छ । श्रद्धाञ्जली सभाको सहजीकरण नेकपा दाङका कार्यालय सदस्य एवम् घोराही उप–महानगरपालिका इन्चार्ज निर्मलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *