जन्मदिनको प्रतिगामी उत्सव

Arts-literature

खोमा तरामुमगर

देश मरुभूमिमा कम्पास हराएको मान्छेजस्तै अन्धाधुन्ध छ । चिसोको स्याँठसँगै फेरि कोरोनाको डर मन्दमन्द वरिपरि घुमिरहेको छ । डर नमानेर के गर्नु ? महामारीसित जुध्ने सरकारी तयारी अझै पनि निम्छरो छ । मेडिकल सामग्रीमा भ्रष्टाचारको अघिल्लो समाचार स्मृतिको शीर्षस्थानमा आलै छ । डर गजबको अनुभूति हो । मान्छे कहिले छातीमा गोली थाप्न तयार हुन्छ, कहिले हल्लैहल्लाले तर्सिएर थरथर काँप्छ । डरको गुरुत्व कति बलशाली हुन्छ भने सबै ध्यान आफूतिर खिचिदिन्छ । डरको गुरुत्वजस्तै यतिखेर जन्मोत्सवको नोटिफिकेसनले मेरो ध्यान खिचिरहेको छ । बूढो गोरुले गह्रुङ्गो गाडा तानेजस्तै यसले मेरो निस्पृहतालाई तानिरहेको छ । म्यासेज बक्समा जन्मदिनका शुभकामना सन्देशहरू खसेका खस्यै छन् । म फेसबुकको पर्दा जति उघार्दै जान्छु ‘ह्याप्पी बर्थ डे टु यु’ लेखिएका लक्करहरू देख्छु । प्रियजनहरूको लाइक, कमेन्ट, रियाक्ट चलिरहेको छ ।

यतिखेर वैचारिक प्रतिक्रान्तिको शीतलहरमा आगोको गीत ओकल्नुपर्ने बेला ‘ह्याप्पी बर्थ डे टु यु’ का प्रेमिल र समवयी गीत बजाएर मान्छेहरू व्यर्थको समय बर्बाद गरिरहेका छन् । मलाई थाहा छ, फेसबुकका सारा भर्चुअल मान्छेहरू आफूजस्तै हुनुपर्ने कामनाको भ्रममा बाँचिरहेको छु । तर हामीले बाँचिरहेको समय र समाजको यथार्थ चित्र त्यस्तो छैन । पश्चिमा रङ्गीचङ्गी हाम्रा झ्यालढोकाहरू फोडेर घरभित्रै पसिसकेका छन् । बहुराष्ट्रिय कम्पनी घरघरमा पसेर सुन्दरी प्रतियोगिताका लागि छोरीचेलीहरूको छाती नापिरहेको छ । ‘आइडियल’ प्रतियोगिताले मान्छेलाई बजारको बिकाउ माल बनाएको छ । पछिल्लोपटक टिकटक संस्कृतिले परिवार बिथोलेको छ । उत्तरआधुनिकतावादको चकचकी बढिरहेकै छ । अहिलेको समाजको सांस्कृतिक ऐना हेर्न फेसबुक, टुइटर र टिकटक हेरे पुग्छ । सामाजिक सञ्जाल नयाँ केही सिक्ने गजबको अवसर हो । मुलुकको सांस्कृतिक पर्यावरण धमिलिएको बेला ‘ह्याप्पी बर्थ डे’ संस्कृतिबारे सङ्क्षिप्त छलफलमा भाग लिँदैछु ।

जन्मोत्सवको जग

मान्छेको जीवन उसले बाँच्ने समय हो । समय उसको जीवनलाई नाप्ने गणितीय औजार हो । वर्ष यस्तो बिन्दु हो, जहाँदेखि जीवनको विगत र आगतको दूरी नापिन्छ । जन्मदिन सत्य हो तर जन्मोत्सवप्रति मलाई किञ्चित विश्वास छैन । अर्थात् जन्मोत्सव पूर्ण भ्रम हो । जन्मोत्सव गरेर मान्छे दीर्घायु हुँदैन । न त वेद, गरुडपुराण, उपनिषद्, मनुस्मृति, रामायण, महाभारत, गीता, बाइबल पढेर वा धार्मिक कर्मकाण्ड गरेर मान्छे दीर्घायु हुन्छ । न त ‘बर्थ डे’ केक सेलिब्रेसन गरेर । जन्मोत्सवको भ्रमबाट मुक्त हुनैपर्छ हामी । इतिहास दोहोरिँदैन तर उस्तै प्रकारका घटनाहरू समाजमा दोहोरिरहन्छन् । अर्थात् मान्छे एकपटक जन्मिएपछि उही मान्छे हरेक वर्ष जन्मिँदैन तर नयाँ मान्छे जन्मिने प्रक्रिया चलिरहन्छ । हरेक वस्तुको जन्म, विकास र मृत्यु हुन्छ, मान्छे पनि यो नियमभन्दा बाहिर छैन ।

त्यसो त जन्मदिनबारे थुप्रै अद्भुत कथाहरू कथिएका छन् । यसबारे थुप्रै अवतारको सूची पढ्न पाइन्छ । दुनियाँमा हरेक दिन अनगिन्ती दीप बल्छन् जन्मदिनका नाममा । असङ्ख्य मैनबत्ती निभ्छन् । अनेक प्रिय वचन र कामनाहरू लेनदेन हुन्छन् । सामाजिक सञ्जाल शुभकामनाका प्रेमिल शब्दहरूले पोतिन्छन् । आज जन्मोत्सवको बजार हस्तक्षेपले चारैतिर गिजोलिरहेको छ । तर यी थुप्रैथुप्रै सूचीबीच म जन्मोत्सवको सांस्कृतिक चरित्रबारे सोचमग्न छु ।

बाह्रौँँ शताब्दीमा जन्मदिन मनाउने प्रचलन इजिप्टको रोमनबाट सुरु भएको थियो । रोमनका पुरुषले जन्मदिन मनाउँथे तर महिलालाई यो अधिकारसमेत थिएन । जन्मदिनसँगै जोडिएर अङ्ग्रेजी भाषामा ‘ह्याप्पी बर्थ डे टु यु’ गीत रचना भएको थियो । यो गीत विश्वमा यति चर्चित बन्यो कि सन् १९९८ को गिनिज बुक अफ वल्र्ड रेकर्ड नै कायम गर्यो । यो गीत विश्वमा दुई दर्जनभन्दा बढी भाषामा अनुवाद भयो । आज यो गीत हरेक जन्मदिनका अवसरमा विश्वभर गाइन्छ ।

सन् १८९३ मा पहिलोपटक गाइएको यो गीतको रचना र सङ्गीत दुईजना दिदीबहिनी मिल्ड्रिड जे हिल र पाटी स्मिथ हिलले गरेका थिए । ‘गुड मर्निङ टु अल’ बोलको स्कुलको गीतबाट परिमार्जन गरी ‘ह्याप्पी बर्थ डे टु यु’ बोलको गीत बनेको थियो । सुरुमा रोमनका कुलीन वर्गले मिथहरूको कल्पना गरेर जन्मोत्सव मनाउन थालेका थिए । उनीहरूले जन्मोत्सव मनाउनु सोखको विषय थियो । देवी आर्टेमिसलाई युनानीहरूले चन्द्रमाको उपमा दिएका थिए । कुमारी देवीका रूपमा उनको पूजा हुन्थ्यो । देवी आर्टेमिस आफ्नो जन्मदिन सधैँ विशेष होस् भन्ने चाहन्थिन् । त्यसैले आकाशीय पिण्डाकार शैलीको केक लिएर समर्थकहरू उनलाई भेट्न जान्थे । यसक्रममा केक काट्ने र मैनबत्ती निभाउने परम्परा सुरु भएको थियो । प्राचीन रोममा जन्मदिन मनाउनु कुलीनहरूको विशेषाधिकार थियो । रोमन समाजमा ५० वर्ष भएपछि उनीहरूको जीवनको ‘माइलस्टोन’ पार गरेको मानिन्थ्यो । यसरी माइलस्टोन पार गरेका कुलीनहरूले साथीहरू र परिवारका साथ जन्मदिन मनाउँथे । १५ औँ शताब्दीसम्म ‘केक कल्चर’ बच्चाहरूको जन्मदिनमा मात्रै सीमित थियो तर १८ औँ शताब्दीमा जर्मनका बेकर्सले जन्मदिनको केक बेच्न सुरु गरेपछि यो संस्कारका रूपमा सर्वत्र फैलियो ।

जन्मोत्सवको नकारात्मक असर

नेपालमा पञ्चायत कालदेखि राजाको जन्मदिन मनाउन थालियो । हामी स्कुल पढ्दा राजाको जन्मदिनमा सार्वजनिक बिदा दिइन्थ्यो । स्कुलले सूचना जारी गथ्र्यो, सबैजना हाजिर हुनू भनेर । पञ्चायती कालमा स्थानीय पञ्चनेतालाई राजाका जन्मदिन विशेष उल्लेखनीय हुन्थे । जजसले बढी तामझामपूर्ण राजाका जन्मदिन मनाउँथे, उनीहरूले स्तरअनुसारका पदक पाउँथे । राजसंस्थालाई रिझाउन यो नै उपयुक्त माध्यम थियो । राजाको भक्तिगान गरेर आफ्नो निहित स्वार्थ पूरा गर्न पञ्चहरूले कुनै कसर बाँकी राखेनन् । राजाको जन्मदिन पोसाक पहिर्याउन तँछाडमछाड हुन्थ्यो । राजा महेन्द्रकै पालाबाट स्कुलहरूमा पाठ्यक्रममार्फत पढाउन सुरु गरियो– शासकहरूको एकपक्षीय भक्तिगान । ती महेन्द्रपथीय ज्ञान कलिला बालबालिकाको मस्तिष्कसम्म ‘महेन्द्रमाला’ किताबमार्फत वितरण गरियो । बिहान प्रार्थना गर्दा ‘श्रीमान् गम्भीर नेपाली..!’ गीतबाट राजाको स्तुतिगान सुरु गरी दिनभर कक्षाकोठामा राजाकै भजनमण्डली पढाइन्थ्यो । त्यही ‘महेन्द्रमाला’ ले घोकाएको ज्ञानको पञ्चायती ‘साइड इफेक्ट’ अझै सकिएको छैन । पश्चिमा संस्कृति नेपालमा राणाकालीन समयमा नै आए पनि केक काटेर जन्मदिन मनाउने संस्कृति पञ्चायतमा भित्रियो । यसको सुरुआत राजा महेन्द्रले महेन्द्र पुलिस क्लबमा गएर केक काटेर गरेका थिए ।

जन्मदिनको प्रतिगामी उत्सव

‘बर्थ डे कल्चर’ को यो पश्चगामी हुरीमा कतिपय क्रान्तिकारीहरूसमेत धागो चुँडिएको चङ्गाजस्तै उडेका छन् । कुहिरोमा हराएको कागजस्तै भएका छन् । अर्थात् निसास्सिएका छन् पुँजीवादको विकृत संस्कृतिको धुवाँभित्र । त्यसो त माओवादको सार परित्याग गरेको तर त्यो पदावलीको बदनाम गर्दै आएको ‘माओवादी केन्द्र’ का अध्यक्ष प्रचण्डले बर्थ डेको नक्कल ४ बर्षअगाडि पेरिसडाँडामा २३ औँ जनयुद्ध दिवसका सन्दर्भमा १० किलोको केक काटेर गरेका थिए । उनले केक मात्र काटेनन्, जनयुद्धका महान् सहिद एवम् बेपत्ता योद्धाहरू र उनका परिवारजनको मुटुमा अन्तिम छुरा चलाएका थिए । त्यो दिन प्रचण्डलाई शुभकामना दिन पेरिसडाँडाको चौरमा थुप्रै ‘कमरेडहरू’ हातमा पुष्पगुच्छा लिएर लामबद्ध उभिएका थिए । तत्कालीन प्रम केपी वलीले नेपालको नक्सा आकारको १५ किलोको केकमा छुरा चलाएर ‘बर्थ डे सेलिब्रेसन’ गरेका थिए । यो घटनालाई नयाँ पत्रिकाले ‘कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव’ शीर्षकमा ब्यानर न्युज बनाएको थियो । वलीले ६ हजारभन्दा बढीलाई भोज खुवाई सात लाखभन्दा बढी खर्चको भुक्तानी नेपाल सरकारको ढुकुटीबाट गरेका थिए । तेह्रथुममा वलीको जन्मोत्सव मनाउन आठराई गाउँपालिकाले सार्वजनिक बिदा नै दिएको थियो । यो आधुनिकताका नाउँमा भित्रिएको पश्चिमा संस्कृतिको प्रतिगामी उत्सव थियो ।

वैकल्पिक संस्कृतिको निर्माण

कम्युनिस्ट संस्कृति सिद्धान्ततः ती पुरातन संस्कृतिविरुद्ध लक्षित छ । अर्थात् यसको उद्देश्य पुरानो रूढिवादी चिन्तन र व्यवहारलाई परित्याग गर्दै नयाँ र उन्नत जनसंस्कृतिको निर्माण गर्ने रहेको छ । हामीलाई मालेमावादले हिन्दुवर्णाश्रम वा कुनै धार्मिक अन्धविश्वास र संस्कारबाट निर्देशित पुराना चिन्तन र संस्कृतिको परित्याग गर्न सिकाएको छ । विचारलाई जीवनव्यवहारमा प्रयोग गर्दै जाँदा वैकल्पिक संस्कृतिको निर्माण भएका छन् । २०११ सालमा लमजुङको दुराडाँडामा पण्डितहरूले ‘हलो क्रान्ति’ गरेपछि अन्य ब्राह्मणहरूले पनि हलो जोत्न सुरु गरेका थिए । हाम्रा लागि जनयुद्ध दिवस, सहिद सप्ताह, सांस्कृतिक बलिदान र प्रतिरोध दिवस, वीरता र बलिदानको रातो मसीले लेखिएका नेपाली पर्व हुन् । यी पर्वहरूमा धेरै रगत, आँसु र पसिना पोखिएका छन् । यहाँ वेगवान् संवेदना, भावना र विचारको सङ्गम छ । यी महान् पर्वहरू नयाँ सांस्कृतिक मूल्यबोधका उज्ज्वल विचार र प्रतीक हुन् । अहिले यसको संस्थागत विकास र विस्तार गर्दै जानु मालेमावादीहरूको दायित्व हो ।

पार्टीभित्र ‘लुकेका दुस्मन’

जन्मोत्सवको संस्कृति कम्युनिस्ट संस्कृति नै होइन अर्थात् श्रमिक वर्गको संस्कृति होइन । यो आधुनिकताका नाउँमा भित्रिएको विकृत, उपभोक्तावादी र पुँजीवादी संस्कृति हो । गरिब वर्गलाई यो संस्कृतिसित कुनै सरोकार छैन । उनीहरूलाई ‘बर्थ डे’ सेलिब्रेसनको इन्जोयसित के मतलब ? मतलब छ त साँझबिहानको छाकसित छ । जीवनको गुजारासित मतलब छ । यो सांस्कृतिक भूमण्डलीकरणका नाउँमा साम्राज्यवादको गरिबमारा संस्कृति हो । अर्थात् गरिब वर्गको मुक्तिसङ्घर्षलाई विषयान्तर गर्नका लागि साम्राज्यवादको वर्गस्वार्थद्वारा नियन्त्रित संस्कृति हो । त्यसैले कमरेड माओले कार्यकर्तालाई निर्देशन दिँदै भन्नुभयो, ‘जन्मोत्सव नमनाउनू । जन्मोत्सव मनाएर दीर्घ जीवन हुने होइन । मुख्य कुरा आफ्नो वर्गनिष्ठामा प्रतिबद्ध रहनु र उनीहरूका पक्षमा जीवनपर्यन्त काम गर्नु हो ।’ कम्युनिस्ट पार्टीभित्र पैदा हुने गलत संस्कृतिविरुद्ध माओले ‘बुर्जुवा हेडक्वार्टरमा बम बर्साऊ’ को नारासहित महान् सर्वहारा सांस्कृतिक अभियान चलाउनुभएको थियो । यसका ४ उद्देश्य थिए– विचार, संस्कृति, रीति र बानीबेहोरा बदल्नु । उहाँले पार्टीभित्र हुर्किएको गलत संस्कृतिलाई ‘लुकेका दुस्मन’ भन्नुभएको थियो । ती ‘लुकेका दुस्मन’ माथि प्रहार गर्नु नै महान् सर्वहारा सांस्कृतिक क्रान्तिको उद्देश्य थियो ।

धर्म व्यक्तिगत मामिला होइन

यहाँ अर्को पनि तर्क छ, मार्क्स, एङ्गेल्स, लेनिन, माओ, पुष्पलालका जन्मदिन मनाउन हुने तर हामीले किन मनाउन नहुने ? आफूलाई उहाँहरूकै स्तरमा राखेर जन्मोत्सव मनाउन पाउने तर्कबारे थप बहस जरुरी छैन । यति मात्रै भनौँ, स्वयम माओले आफूलाई चिनियाँ कार्यकर्ताबीच माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिनबराबर राख्न प्रतिबन्ध लगाउनुभएको थियो र माओले उहाँहरूसितको आफ्नो सम्बन्ध ‘गुरुचेलाको सम्बन्ध हो’ भन्नुभएको थियो । नेपालमा त यो अझ हिन्दु धर्मसित जोडिएको छ । हिन्दु धर्मअनुसार जन्मोत्सवका दिन पितृलाई स्मरण गरेर पूजा गर्ने, पुराणमा वर्णित अष्ट चिरञ्जीवीहरूको पूजा गर्ने, नयाँ लुगा लगाउने, भोज खुवाउने, उपहार दिने, सम्भोग नगर्ने प्रचलनसमेत रहेको छ ।

कार्ल मार्क्सले धर्म गरिब वर्गलाई शोषण गर्ने सत्ताको हतियार भएको भन्दै यसलाई संस्कृतिबाट अलग गर्नुपर्ने बताउनुभएको थियो । उहाँले भन्नुभएको छ, ‘धर्म उत्पीडित मानिसको सुस्केरा हो, हृदयविहीन संसारको हृदय हो, त्यसरी नै यो आत्मविहीन विश्वको आत्मा हो । यो जनताका लागि अफिम हो ।’ (हेगेलको कानुन दर्शनको आलोचनामाथि योगदान, १८४४, दार्शनिक रचनाहरू, अनु. सुदर्शन, पृष्ठ ३४)

हिन्दु धर्म र संस्कृतिसित जोडिएको ‘बर्थ डे’ संस्कृति गलत संस्कृति हो । पार्टीभित्र धर्म र संस्कृतिलाई व्यक्तिगत मामिला मान्ने र त्यसको यान्त्रिक ढङ्गले विरोध गर्ने प्रवृत्तिविरुद्ध लेनिनले भन्नुभएको छ, ‘कम्युनिस्ट पार्टीको सदस्यका लागि धर्म व्यक्तिगत मामिला होइन । …हरेक किसिमका धार्मिक शोषणका विरुद्ध मजदुर वर्गले सङ्घर्ष गर्नुपर्छ र हाम्रो पार्टीका निम्ति वैचारिक सङ्घर्ष खालि एउटा व्यक्तिगत सवाल होइन, सम्पूर्ण पार्टीको, समस्त सर्वहारा वर्गको सवाल हो ।’ (लेनिन, समाजवाद र धर्म, १९०५)

पुछारमा

म फेरि पनि दोहोर्याउँछु– जन्मदिन सत्य हो तर जन्मोत्सव पूर्ण भ्रम हो । जन्मोत्सव गरेर कोही मान्छेको दीर्घायु हुँदैन । जन्मोत्सव संस्कृति कम्युनिस्ट संस्कृति होइन । जन्मोत्सव मनाएर सर्वहारा, श्रमजीवी वर्गको हित हुँदैन । जन्मोत्सव संस्कृतिले क्रान्तिको सेवा गर्दैन । जीवन मूल्यहरूमा परिवर्तन नगरी क्रान्ति हुँदैन । जन्मोत्सव संस्कृति पुँजीपति वर्गको सेवा गर्ने र श्रमिक वर्गको मुक्तिको उद्दाम सपनामाथि धावा बोल्ने परम्परा हो ।

Leave a Reply

Your email address will not be published.