काठमाडाैँ, माघ ७ गते । लेखक नारायण नेपालको पुस्तक ‘शिवगढीदेखि प्रतिबन्धसम्म’ बजारमा आएको छ । राजनीतिक एवम् समसामयिक विषयमा कलम चलाउने नेपालले तत्कालीन नेकपा–माओवादीबाट अलग भइ नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेर नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन गरेपछिको राजनीतिक घटनाक्रमलाई आलोचनात्मक विश्लेषणसहित पुस्तक प्रकाशन गरेका हुन् ।
विप्लव नेतृत्वको नेकपाभित्रको राजनीतिक घटनाक्रम, राष्ट्रिय राजनीतिमा भूमिका र प्रभाव तथा पछिल्लो समय नेकपाका गतिविधिमाथि लागेको प्रतिबन्धसम्मका घटनाक्रमलाई सिलसिलेवर रूपमा पुस्तकमा समेटिएको छ ।
२०७१ सालमा कपिलवस्तुको शिवगढीमा भएको भेलादेखिको नेकपाभित्रको राजनीतिक उथलपुथल र नेपाली राजनीतिमा देखापरेका राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरुको विश्लेषण नेपालको पुस्तकमा पाइन्छ ।
कम्पन मिडियाले बजारमा ल्याएको पुस्तकको बजार व्यवस्थापन भुँडीपुराण प्रकाशन बागबजारले गरेको छ । पुस्तकमा भूमिका लेख्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वली सुदर्शनले ऐतिहासिक घटनाक्रमको आलोचनात्मक समीक्षा गरेको अनुभूति भएको बताएका छन् ।
‘एउटा प्रत्यक्षदर्शीले सात वर्षका ऐतिहासिक घटनाक्रमको आलोचनात्मक समीक्षा गरेजस्तो अनुभूति हुन्छ,’ उनले भनेका छन् । लेखक नेपालका यसअघि कञ्चना (गीतिकविता संग्रह), कुन्मिङ यात्रा (यात्रा संस्मरण), विद्रोही मनहरु (गजलसंग्रह), विद्यार्थी आन्दोलन र नुवाकोट (इतिहास विविध) र क्रान्तियात्राका भरियाहरु (कविता संग्रह) प्रकाशित छन् ।