माओवादीभित्र विचलनको भ्रूण

Arts-literature

संस्मरण

माओवादी पार्टीले जनयुद्धको नेतृत्व गरिरहेको थियो । त्यसको निश्चित राजनीतिक उद्देश्य थियो । त्यसको रक्षा र विकास गर्नुपर्ने आवश्यकता थियो । त्यसो त माओवादी नामै काफी थियो । उसले गर्नु–गराउनुपर्ने काम, कर्तव्य र अधिकारका विषयहरू त्यस पार्टीको सदस्य हुनु नै त्यसको उद्देश्यका लागि मर्नु परे पनि मर्ने तर धोका–घात नगर्ने प्रतिबद्धता हुनु अनिवार्य हुने नै भयो । तर नयाँ कार्यकर्ता जो भर्खर पार्टीमा भर्ती भएका हुन्थे उनीहरूलाई तालिमको आवश्यकता हुन्थ्यो । तालिम भनेर निश्चित कोर्स नै बनाएर प्रशिक्षण, तालिम लिने–दिने व्यवस्था खासै हुने थिएन । तर भेला–बैठकहरू अनि ठूलो परिणाममा नयाँ पुराना सबै खालका नेता–कार्यकर्ताका लागि प्रशिक्षणहरू आयोजना हुने गर्थे । त्यो सबै एउटा औपचारिकतामा हुन्थे भने अनौपचारिक रूपमा प्रत्येक पल, प्रत्येक पाइलामा हामी तालिम, प्रशिक्षण लिने–दिने गरिरहेका हुन्थ्यौँ । जस्तै हामीले आफ्ना कमरेडहरूका बीचमा कस्तो व्यवहार गर्ने ? जनताका बीचमा कस्तो व्यवहार गर्ने ? उनीहरूका रूढिवादी र पश्चगामी चिन्तन, परम्परा, अन्धविश्वासहरूलाई कसरी आधुनिक, अग्रगामी, वैज्ञानिक, व्यावहारिक अनि जनजीवनलाई फाइदा हुने परम्परा बचाउने, विकास गर्ने र जनजीवनलाई बेफाइदा वा अप्ठ्यारो पर्नेखालका परम्पराहरूलाई छोड्दै जानुपर्ने कुराहरू उनीहरूकै सजिलोका लागि बुझ्ने गरी बुझाएर छोडाउनुपर्ने थियो । कतिपय परम्पराहरू जबरजस्ती छोड्न कर लगाउनु पनि पर्ने हुन्थ्यो । तामाङ बस्तीमा उनीहरूको ढिँडो पकाउन ठूलो भुजुङ्गो जसलाई उनीहरू झ्याँगा भन्थे त्यो माझ्यो भने दशा लाग्छ, परिवार बिरामी पर्छन्, अनिष्ट हुन्छ भन्ने मान्यता चलिआएको थियो । त्यसमा पकायो, खायो अनि सफा नगरी फेरि भोलि त्यसमै पकाउने चलन रहेछ । त्यसो गर्दा त्यसमा रहेका कीटाणुहरूले कति बिरामी परे होलान् ? त्यसलाई उनीहरू केही मान्दैनथे । तर झ्याँगा भने माझ्न मान्दैनथे । त्यो हामीले बुझाएर मात्र नमान्दा अलिदिन बसेको घरमा हामी आफैँले माझिदिएपछि कसैलाई केही नभएको प्रमाणित गरेपछि उनीहरू आफैँले माझ्न थालेका थिए । तर पहिलोपटक माझिदिँदा भने झन्डै मारौँलाझैँ गरी रिसाएका थिए ।

नेताहरू जसले कम्युन, विचार, व्यवहार पाइलैपिच्छे कार्यकर्ता र जनतालाई समेत बुझाउने जिम्मा लिएर मृत्यु कि मुक्ति भनेर लागेका थिए । तिनीहरूमा श्रमप्रति विभेद गर्ने बोली–व्यवहार थिए । त्यसलाई हटाउनका लागि उनीहरू खासै प्रयत्न गर्दैनथे । एकपटक भान्छामा खाना खाँदा मीठोमसिनो पाकेको छ भने त्यस टोलीमा सामेल सबैभन्दा ठूला नेताहरूलाई अरूभन्दा धेरै दिने, पाकिनसक्दै उनीहरू बसेर छलफल वा लेखपढ गरिरहेको ठाउँमा पुर्याइदिने गर्थे । कार्यकर्ताले त्यसो गर्नु समानताको आचरणभित्र पटक्कै पर्दैनथ्यो तर ती नेताहरूले त्यसको कहिल्यै विरोध गर्दैनथे । सबैलाई एक डाडु मासु भागमा परेको छ भने नेताको भागमा तीन वा चार डाडुसम्म राख्दा पनि नेताले अरू सबैलाई जति पुग्छ मलाई पनि त्यति नै ल्याउनुहोस्, मैले बढी खानु भनेको हामी हामीमै विभेद गर्नु हो भन्नु त कता–कता अझ दिए पनि हुनेथ्योझैँ गरी लोभी आँखाले भान्सेको अनुहार नियाल्थे । कोही भने मुखैले अझ दिन मिल्दैन भन्नसमेत पछि पर्दैनथे । कतिपय नेता भने भान्छाको काममा सघाउन आफू सानो भएको सम्झन्थे भने के पाकेको छ ? मीठो छ कि छैन ? के तरकारी पाकेको छ ? अचार बन्छ कि बन्दैन ? भनेर बेला–बेला ‘मेस’ मा पुगिरहन्थे । धेरैजसो अचारको व्यवस्था गर्न नसकेको दिनमा उनीहरू ‘आज भात पनि कसरी निल्नु, तरकारी मीठो छैन, अचार झन् छँदै छैन’ भन्दै भान्छामा काम गर्ने कमरेडहरूदेखि भान्छा व्यवस्थापनमा खट्ने कमरेडहरूलाई समेत भनसुन अझ हकारपकार गर्नसमेत पछि पदैनथे । यसरी खाने कुरामा विभेद दर्साउँथे भने बस्ने घर पनि नेताहरूका लागि सकेसम्म राम्रो सुविधायुक्त छनोट गरिएको हुन्थ्यो । त्यही पनि व्यवस्था गर्ने कमरेडलाई यो पुगेन, त्यो पुगेन भनी गुनासो गरिबस्थे । जब सुत्ने बेला हुन्थ्यो, विशेषगरी जाडो महिनामा टोलीले कमसलै भए पनि कम्बल बोकेर हिँड्थे । दिनभरि भारी बनाएर बोकिन्थ्यो रातमा सुत्ने बेला दुईजनालाई एउटाको दरले बाँडिन्थ्यो । जतिलाई पुग्थ्यो पुग्थ्यो, नपुगेकालाई आफ्नो लगाएको एकसरो लुगामै काँप्दै रात काट्न बाध्य हुनुको विकल्प थिएन । त्यतिखेर बाँड्ने बेला नै ढाँटेर ‘मलाई पुगेन’ भन्दै दोहोर्याएर, तेहेर्याएर लिई त्यसलाई पट्याएर सिरानी बनाएर सुत्ने नेता पनि भेटिन्थे । तिनलाई आफूले मात्र लिन पाए, त्यो पनि दुईतीनवटा भन्ने हुन्थ्यो । अरूलाई नपुगेकोमा कुनै मतलब राख्दैनथे । बेलुकी त कसैलाई थाहै हुँदैनथ्यो । जब बिहानमा ओछ्यानहरू उठाउने बेला हुन्छ, ती नेताहरू आफैँ उठाउँदैनथे । कार्यकर्ताले सिरानीमा कम्बल पट्याएको भेट्थे । जो रातभर एउटा पनि कम्बल नपाएर चिसोले निदाउन सकेको हुँदैनथ्यो । ऊ त्यो देखेर आक्रोशित हुँदै नेताको व्यवहार नेताको जस्तो नभएर एउटा डाहाडे सामान्य मान्छेको जस्तो भएकोमा नेतालाई सराप्दै बस्थ्यो र ‘यस्ताले के क्रान्ति गर्लान् र ! आफैँ खाऊँ, आफैँ लाऊँ, आफैँ गरूँ मोज भन्ने प्रवृत्तिकाले सत्तामा पुगे पनि आजको आदर्शलाई के पूर्ति गर्लान् खै !’ भन्दै सुस्केरा हाली शङ्का व्यक्त गर्दथ्यो । फेरि कमीकमजोरी हुँदाहुँदै पनि यो युद्धको बेला छ, यहाँ सबैखाले राम्रा, नराम्रा, असल, खराब मान्छेहरू समावेश भएका हुन्छन् । जब जित भइसक्छ खराब, नराम्रा प्रवृत्तिहरूलाई छान्दै सुधार्ने, राम्रो बनाउन कोसिस गर्ने, नसके त्यसलाई फालिदिने वा कारबाही गरेर त्यसलाई सुध्रिन बाध्य पार्ने काम भइहाल्छ भन्ने आशा गर्दै काममा लाग्थे ।

लेखक: शोभा दुलाल

खाना वा कपडा कसैलाई पुग्ने, कसैलाई नपुग्ने अवस्था उत्पन्न हुन्थ्यो । त्यस्तो बेला पनि प्राथमिकताका आधारमा दामाशाहीमा बाँड्ने भन्दा पनि आफ्नो मिल्ने साथी, नजिकका, आफूलाई मन पर्नेलाई छानेर बाँड्ने गरिन्थ्यो । यी सबै व्यवहारहरू हामीले पुरानो समाज, पुरानो चलन, परम्पराबाटै विरासतका रूपमा लिएर आएका थियौँ । त्यसलाई हाम्रो आदर्श, हाम्रो उद्देश्य, कामजस्तै नयाँमा बदल्न जरुरी थियो । तर बदल्न नसक्ने, नचाहनेहरूको सङ्ख्या उल्लेख्य थियो । कतिपय कुरालाई सामान्य रूपमा लिने चलन थियो । सामान्य गल्तीले नै असामान्य गल्तीलाई निम्त्याइरहेको हुन्छ भन्ने कुराको सधैँजसो नजरअन्दाज हुने गथ्र्यो । जस्तै श्रम गर्नेहरूलाई सम्मानको दृष्टिले नहेर्ने, नेता वा नेताका पत्नीहरूले श्रममा भाग नलिने, आफ्नो झोलासमेत अरूलाई बोक्न लगाउने, आफ्नो सुविधा मात्र प्रमुख मान्ने, अरूका सुविधा–असुविधाको मतलबै नराख्नेजस्ता समस्याहरू जहिल्यै हुने गर्थे । ती सबै कुराहरू जनताबाटै आएका थिए ।

एक दिन हामी एउटा हुनेखाने बस्तीमा पुग्यौँ । हाम्रो टोली ७–८ जनाको थियो । त्यो ठाउँमा अरू बेला ठूला नेताहरूसहित पुग्दा भाले काट्ने, मीठो–मीठो तरकारी खोजखाज गरेर पकाएर खुवाउने, अझ दही–दूधको समेत व्यवस्था गर्ने गर्थे । तर जब एउटा सामान्य कार्यकर्ताको टोली मात्र त्यहाँ पुग्यो, उनीहरूले भात मात्र खान दिन पनि अस्वीकार गरे । हामीले धेरै प्रयत्न गर्यौँ तर उनीहरू खाना दिन राजी भएनन् । त्यसपछि हामी त्यो दिनभरि नै भोकै प¥यौँ किनभने हामीले छुट्टै पकाएर खाने होइन, घरैपिच्छे उनीहरूकै परिवारलाई पकाएको खानाबाट कसैकोमा पुगे दुईजनालाई नत्र एकजनालाई दिनू भनेर भनेका थियौँ । किनभने हामी सानो टोलीमा हिँड्दा रासनका लागि हामीसँग खर्च हुँदैनथ्यो । एकै घरमा ८–९ जनाले खाना खाइदिँदा उनीहरूलाई पनि समस्या पर्न सक्थ्यो । त्यसैले हामी जुन गाउँ, टोलमा पुग्दा पनि घरैपिच्छे बाँडिएर खाना मागेर खाँदै साङ्गठनिक काममा खट्थ्यौँ । यसरी नेताको चाकरी चाप्लुसी गर्ने, नेताको आँखामा राम्रो देखिने तर सामान्य कार्यकर्तालाई घृणा गर्ने, अपमान गर्ने कार्यहरू फटाहा, शोसक वर्गका मान्छेले हामीलाई गरिरहन्थे । उनीहरूको भनाइ हुन्थ्यो, ‘तिमीहरू मर्न हिँडेका मरे भो, किन चाहियो खानेकुरा ?’ यसरी अपमान गर्न पछि पर्दैनथे । त्यस दिन हामीले आफ्नो घर–परिवार, आफन्त, साथीभाई सम्झ्यौँ । आफ्नो घरको साह्रै सम्झना आयो । खान नपाएको भन्दा पनि नेता र कार्यकर्तालाई हेर्ने, बुझ्ने जनताको दृष्टिकोण देखेर उदास भयौँ । नेतालाई मात्र मानसम्मान, खाना दिने जनता भए भने भोलि सत्ता प्राप्तिपछि विभेद कायमै रहनेछ । हाम्रो पार्टीको जनयुद्धको उद्देश्य पूरा हुन यस्तै क्रियाकलापहरूले बाधा उत्पन्न गर्ने हुन् कि भन्ने शङ्का लाग्यो । हाम्रो टोली यसै विषयलाई छलफल, बहस गर्दै अर्को क्षेत्रतिर लाग्यो । आज सम्झँदा प्रतिगमन, प्रतिक्रान्तिका भ्रुणहरू क्रान्ति कालमै जत्ति पनि थिए । तिनले सधैँ आफ्नो अनुहार अनेक क्रिमपाउडरले लिपपोत गरी लुुकाउँथे । जब यस्तो खालको समय र परिस्थिति उनीहरूको अनुकूल छ भन्ने तिनीहरू अनुभव गर्थे त्यतिखेर आफ्नो असली रूप उदाङ्ग पार्थे । यी कुराहरूका विषयमा नेताहरूसँग बहस गर्न खोज्यो भने ‘त्यस्तो गरे र त्यहाँका मान्छेहरूले ? अस्ती हामी जाँदा कति माया गरेर बसालेका थिए’ भनेर उल्टै हामीमाथि नै आशङ्का जनाउने कार्य भएको थियो किनभने नेताहरू पुग्दा जुन व्यवहार उनीहरूले देखाएका थिए, त्यसको रिस पो हामीले गरेर त्यस्तो भन्यौँ कि भन्ने आशय नेताहरूबाट पाइसकेपछि हामीले फेरि–फेरि त्यस्ता विषयमा बहस गर्नु अनि नेताहरूले त्यसको समाधानमा कुनै उपाय दिन्छन् कि भन्ने आशा मार्यौँ । आफैँ यो युद्धरत समय भएर केही गलत भ्रम हुन सक्छ । जब युद्ध सकिन्छ सबै चीजहरू आफ्नो लयमा फर्कलान् अनि विधिविधान, नियमकानुनका हिसाबले नै सबै ठीक हुनेछ । त्यसको विरुद्धमा कोही जान सक्नेछैनन् । गएछन् भने ती सजायँको भागीदार हुने नै छन् भन्ने विश्वास गर्दै दिनरात काममा लाग्यौँ । कहिले भोकै, कहिले अनिदै, कहिले धेरै अप्ठ्यारोमा, कहिले केही सजिलोमा अनि सामान्य न सजिलो न अप्ठ्यारोमा । त्यस्तैत्यस्तै गर्दै हामी जनताका घरदैलोमा जनताका समस्यासँग एकाकार हुँदै उनीहरूलाई सघाउँदै उनीहरूबाट सहयोग लिँदै निरन्तर जनताका बीचमा खटिरह्यौँ ।

जब माओवादी शान्तिप्रक्रियामा आयो, त्यसपछि जाली, फटाहा, शोषक, सामन्तहरू चलमलाउन पुगे । पार्टी शान्तिप्रक्रियामा आउनासाथ उनीहरूप्रति जुन जनकारबाहीहरू हुँदै आएको थियो ती सबै स्थगित गर्ने घोषणा भएको थियो । ७ दल र सरकारले गर्ने कारबाहीहरू पनि स्थगित भएका थिए । अब सुरु भयो देशमा उही जाली, फटाहा, शोषक, सामन्तहरू नै साखुल्ले पल्टँदै माओवादी पार्टीमा प्रवेश गर्ने लहरै चल्यो । त्यसमा जो युद्धकालमा सुराकी गर्ने, पार्टीका नेता–कार्यकर्तालाई दुःख दिने काममा अग्रपङ्क्तिमा थिए तिनीहरू सबैका सबैजसो दिन दुई गुणा, रात चौगुणा माओवादीका साथी, हितैषी अनि नजिकका सहयोगी भए । बिस्तारै युद्धभूमिमा ज्यानको बाजी राखेर लडेका योद्धाहरू ओझेल पर्ने प्रक्रिया सुरु भयो । त्यसप्रकारको स्थितिलाई सुन्दर ढङ्गले अभिव्यक्ति दिँदै कवि पूर्ण विरामले ‘बेबिलोनका ऊँटहरूलाई बिदा गर’ कविता लेखेका थिए ।

(अखिल नेपाल जनसांस्कृतिक महासङ्घकी उपाध्यक्ष एवम् अखिल नेपाल लेखक सङ्घकी अध्यक्ष शोभा दुलालको हालै प्रकाशित ‘धूमिल स्मृति’ संस्मरणसङ्ग्रहबाट उद्धृत)

Leave a Reply

Your email address will not be published. Required fields are marked *