काठमाडौं, पुस ३० गते । काठमाडौं मेडिकल कलेज (केएमसी)का कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् ।
कलेजले अतिरिक्त शुल्क लिएकोबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सर्बपक्षीय छलफलबाट निस्कने क्रममा मन्त्रालयभित्रै विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् ।
शुक्रबार मन्त्रालयमा विद्यार्थी, अभिभावक, काठमाडौं विश्वविद्यालयका प्रतिनिधि, केएमसी कलेजका प्रतिनिधि, चिकित्सा शिक्षा आयोगका पदाधिकारीबीच छलफल थियो । शर्मालाई कालोमोसो दलेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले अनरास्ववियुका उपमहासचिव महेश श्रेष्ठ, केन्द्रीय सदस्य अमर पुनलगायतलाई नियन्त्रणमा लिएको हो । काठमाडौं मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा ६ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थी आन्दोलनमा छन् । उनीहरुको आन्दोलनलाई विभिन्न दल निकट विद्यार्थी संगठनहरुले साथ दिएका छन् ।
विप्लव नेतृत्वकाे नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाहीले शर्मामाथि कालोमोसो दलेको बताएका छन् ।