जनतालाई आफ्नो सत्ता आफैँ चुन्ने अधिकार देऊ : नेता ओमप्रकाश पुन

Political

पुष्पा साउँद/कैलाली, पुस  २६  गते । नेकपा निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) कैलालीको चौथो जिल्ला सम्मेलन आइतबार उदयराम थापाको अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिति गठन गर्दै कैलालीको घोडाघोडी नपा साँढेपानीमा सम्पन्न भएको छ ।

उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुनले देशलाई कृषिद्वारा आत्मनिर्भर र उद्योगद्वारा समृद्धिको बाटोमा लैजान पार्टीले अघि सारेको वैज्ञानिक समाजवादी बाटोमा अघि बढ्न र जनमतसङ्ग्रहमार्फत जनतालाई आफ्नो सत्ता आफैँ चुन्ने अधिकार प्रदान गर्न जनमत सिर्जना गर्न किसान सङ्घलाई निर्देशन दिएका थिए । वास्तविक जोताहा किसानको हातमा जमिन दिन, वास्तविक किसानले अनुदान पाउन, किसानले आफ्नो उत्पादनको मूल्य आफैँ तोक्न र कृषि क्रान्तिमार्फत देशलाई समृद्ध गर्न वैज्ञानिक समाजवाद आवश्यक रहेकोमा जोड दिँदै नेता पुनले किसानहरूलाई दलाल पुँजीवादी संसदीय व्यवस्थाका विरुद्ध एकीकृत जनक्रान्तिमा लामबद्ध हुन आग्रह गरेका थिए ।

कार्यक्रमको अध्यक्षता सङ्घका जिल्ला संयोजक मधुसूदनले गरेका थिए भने अतिथिहरूमा अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष कालीबहादुर शाही, नेकपा कैलाली जिल्ला सचिव दीपेन्द्र चलाउने, जवस र पार्टी जिल्लाका नेताहरू सहभागी थिए । कार्यक्रमको सञ्चालन उदयराम थापाले गरेका थिए ।

सम्मेलनले उपाध्यक्षमा खेम भण्डारी, सचिवमा हरिराम चौधरी, सहसचिवमा उत्सव बखरेल, कोषाध्यक्षमा हरिलाल राना थारूलगायत २३ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

उद्घाटन समारोहमा सङ्घका केन्द्रीय उपाध्यक्ष कालीबहादुर शाही, केन्द्रीय सदस्य रामबहादुर सिह, नेकपाका कैलाली जिल्ला सचिव दीपेन्द्र चलाउने, अनेमसङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य सुनीता बुढा, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष महेश पातली, श्रमिक समुदाय मोर्चा नेपालका जिल्ला अध्यक्ष भानु परियार, जनसांस्कृतिक महासङ्घका गोविन्द विकलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *