कृषि सामग्री कम्पनी लिमिटेड केन्द्रीय कार्यालयबाटै मल खरिदमा चरम भ्रष्टाचार

Political

प्रबन्धनिर्देशक भण्डारी, प्रबन्धक पोखरेल, सहायक प्रबन्धक पाण्डे, उपप्रबन्धक बुढालगायतलाई कारबाही नगरिए सडकबाटै कारबाही गर्ने किसान महासङ्घ (क्रान्तिकारी) को चेतावनी

काठमाडौँ,  पुस २१ गते । नेकपा निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले विज्ञप्ति जारी गरी नेपाल सरकारले मल खरिद गर्न दिएको मान्यता प्राप्त कृषि सामग्री कम्पनी लिमिटेड केन्द्रीय कार्यालयबाट नै चरम भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । महासङ्घका अध्यक्ष हरि श्रेष्ठले विज्ञप्ति जारी गरी उक्त कम्पनीका प्रबन्धनिर्देशक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णु पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पुष्करदीप बुढालगायत दर्जनौँ कर्मचारी अर्बौं रुपैयाँ हिनामिना गरी खुलेआम हिँडिरहेको पाइए पनि सरकारले कारबाही नगरेको र अब पनि किसानका लागि समयमै सुपथ मूल्यमा मल आपूर्ति गरी भ्रष्टहरुलाई कारबाही नगरिए सडकबाटै कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) नेपाली किसानको समस्याप्रति सधैँ क्रियाशील रहेको छ । हामीले विगतदेखि नै कृषि क्षेत्रमा भएको अनियमितता र कमिसनको खेलमा बारम्बार सम्बन्धित निकायको ध्यान तानिरहेकै छौंँ तर पनि राज्य कानमा तेल हालेर बसेको छ । दलाल संसदीय व्यवस्था नेपाली किसानहरूको आवश्यक कच्चा पदार्थलाई कृत्रिम अभाव बनाएर कमिसन र भ्रष्टाचारमा लिप्त भएको छ । मल–बिउ नपाएर किसानले बाली लगाउन पाएका छैनन् । अर्कातिर राजनीतिको आडमा भ्रष्टाचारमा मुछिएका कर्मचारीलाई अवकाश भएपछि संस्थामा नियुक्त गर्दा भ्रष्टाचार मौलाएको छ । यसमा व्यक्ति कर्मचारीको दोष त छँदैछ त्यसमाथि वर्तमान दलाल संसदीय पुँजीवादी राज्यव्यवस्था रहुन्जेल त्यसप्रकारको भ्रष्टाचारी खेल निरन्तर हुर्कने र बढ्ने काम भइरहेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै सिलसिलामा नेपाल सरकारले मल खरिद गर्न दिइएको मान्यता प्राप्त कृषि सामग्री कम्पनी लिमिटेड केन्द्रीय कार्यालयबाट नै चरम भ्रष्टाचार भएको पाइएको छ । उक्त कम्पनीका प्रबन्धनिर्देशक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णु पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पुष्करदीप बुढालगायत दर्जनौँ कर्मचारी अर्बौं रुपैयाँ हिनामिना गरी खुलेआम हिँडिरहेका छन् । यी कर्मचारीहरूको फाइल अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले मुद्दा दायर गर्दा पनि राज्यले कारबाही अगाडि बढाएको छैन । यसमा पनि कर्मचारीलाई मात्र अख्तियारमा तान्नुले त्यसमा संलग्न राजनीतिक नेतृत्व बचाउने षड्यन्त्र देखिन्छ । त्यसप्रति हामी खबरदारी गर्दछौँ । साथै राजनीतिक नेतृत्व र दोषी कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन हाम्रो सङ्गठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) गम्भीर ध्यानाकर्षण गराउँछ । यस्ता भ्रष्ट कर्मचारी र राजनीतिक नेतृत्वलाई तुरुन्त कारबाही गरियोस् । किसानका लागि समयमै सुपथ मूल्यमा मल आपूर्ति गर्न माग गर्दछौँ अन्यथा सडकबाट कारबाही गर्ने चेतावनीसहित यो विज्ञप्ति जारी गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *