पूर्व झन् रातो भयो

Arts-literature Political

पुसको महिना । जाडो घाम । सामान्य अवस्थामा हो भने सिरकभित्र गुट्मुटिएर टाउको मात्र देखाएर सुत्नुपर्ने बेला हो यो । सिरकबाहिर भए न्याना ऊनीका लुगामा बेरिएर स्युःस्युः गर्दै अँगेनाको डिलवरिपरि झुम्मिनुपर्ने बेला हो । हात कठ्याङ्ग्रिएर भुत्भुतेमै छुँदा पनि छाला नपोलुन्जेल घुस्रिइरहनुपर्ने समय । तर कसैको अनुहारमा पनि छैन जाडोको अनुभूति, रत्तिभर छैन । सबैका आँखा कमिसार कमरेड आलोक र कमान्डर कमरेड तीर्थका आँखा र अनुहारमा केन्द्रित छन् ।
चौँरी खोलाबाट उकालो लाग्नुअघि कमिसार कमरेड आलोकले अन्तिम कासन गर्दै भने– कमरेडहरू ! हामी जीवनमरणको लडाइँमा छौँ । तपाईंहरूमध्ये कसैलाई लाग्न सक्छ, हामी पानीघाटको एउटा प्रहरीचौकीमाथिमात्र धावा बोलिरहेका छौँ र यो युद्ध जितियो भने हामीलाई केही आधुनिक राइफलहरू प्राप्त हुनेछन् र अर्को मोर्चा जित्न सजिलो हुनेछ । तर त्यति मात्र होइन कमरेडहरू, हामी संसारकै सबैभन्दा पछिल्लो वर्गसङ्घर्षको उत्कर्ष लडाइँ लडिरहेका छौँ । हाम्रो यो विजयले एन्डिज पर्वत माला उठाउनेछ, दण्डकारण्यलाई झक्झक्याउनेछ । नेपालको सामन्तवादको मुटु त यसले छियाछिया पार्नेछ नै, विस्तारवाद र साम्राज्यवादको जुठोपुरोमा बाँचेको नेपालको सामन्ती सत्ताका नायकहरूलाई कहिल्यै उठ्न नसक्ने गरी थला पार्नेछ । महान् जनयुद्ध आरम्भ भएको २२ महिनासम्म पनि हामीले दुस्मनलाई पराजित गर्न सकेका छैनौँ । झट्ट हेर्दा यो दुस्मनको ११ जना जत्था मात्र हो तर सारमा हजारौँ दुस्मनको गढ हो । सयौँ वर्षदेखि हाम्रा अग्रज किसान, मजदुर, महिला, जनजाति, आदिवासी, विद्यार्थी, शिक्षक, बुद्धिजीवी अर्थात् सबै श्रमजीवी–सर्वहारावर्गको रगत र पसिनामा पौडी खेलेर मैमत्त भइरहेको केन्द्रीय सत्ताको शक्तिशाली अङ्ग हो यो । यसको पराजयले नेपालका अढाइ करोड जनता मात्र होइन, संसारकै पाँच अर्ब श्रमजीवी जनताको विजयको सन्देश दिनेछ । त्यसैले हाम्रो एकमात्र निशाना दुस्मन शक्तिमाथि विजय प्राप्त गर्नु र नेपालको सर्वहारावर्गले सुरु गरेको वर्गसङ्घर्षको उच्च रूप जनयुद्धको सफलताको सन्देश संसारका उत्पीडितहरूलाई प्रवाह गर्नु हुनेछ । मालेमाप्रतिको अगाध विश्वास र प्रतिबद्धता, सर्वहारावर्गप्रतिको इमानदारी, पार्टी हेडक्वार्टरको आदेश र नेपाली जनताको विजयलाई केन्द्रमा राखेर कमरेडहरू एकसाथ विस्फोट हुनुहुनेछ ।

कमिसार कमरेडको कासनपछि सुरु हुन्छ छापामार कमान्डर कमरेड तीर्थको कासन । उनको कासन पनि सङ्क्षिप्त तर विचारोत्तेजक छ । २९ जना छापामारहरूको दस्ताका अगुवा तीर्थ कासन गरिरहेका छन्– कमरेडहरू, तपाईंहरूले कमिसार कमरेडको सम्बोधनबाटै थाहा पाइसक्नुभएको छ यो विजय सर्वहारावर्गको विजय हुनेछ । हामीसँग जम्मा दुईवटा भरुवा बन्दुक र पाँचवटा घरेलु ग्रिनेड मात्र छन् । तर होइन, हामी उन्तीसैजना मालेमाको वैचारिक बारुद कोचिएका बमका बोरा हौँ । जब हामी दुस्मनमाथि एकसाथ जाइलाग्नेछौँ, दुस्मनले चुँसम्म गर्न पाउनेछैन । हुनसक्छ, लड्डालड्दै हामीमध्ये कयौँ नरहन पनि सक्छौँ तर जो कमरेड बच्नेछौँ, हामीसँग विजयको खुसी, उमङ्ग, उत्साह र अथाह शक्ति हुनेछ । हामी बिनाक्षति दुस्मनको कब्जामा रहेका हतियार कब्जा गर्न चाहन्छौँ । दुस्मनसँग सातवटा अत्याधुनिक थ्री नट थ्री राइफल छन् । दुईवटा पेस्तोल छन् । हजारौँ गोली र बारुद छ । केही पोसाक छन् । केही खाद्य सामग्री छ । अझ भन्ने हो भने दुस्मनले त्यही हतियारका भरमा जनतालाई दबाएर राखेको छ । तपाईंहरूलाई थाहै छ, यो युद्ध नेपालको वर्गसङ्घर्षको उच्च रूप हो । हामीले २२ महिनासम्म देशभर लड्दा पनि एउटा हतियारसम्म लिन सकेका छैनौँ । यसको अर्थ दुस्मन र तिनका मतियारले भनेझैँ देश र जनताको भावना र आवश्यकताका विरुद्धको लडाइँ होइन यो ।
कमान्डर तीर्थ भन्दैछन्– सम्झनुहोस्, दुस्मनले यही हतियारका भरमा गोरखा पन्द्रुङका १३ बर्से बालक दिलबहादुर रम्तेलको शरीर ढालेको छ । आफ्ना गुरुलाई आतङ्ककारी भन्दै मार्न लाग्दा कुन स्वाभिमान मन चूप लागेर बस्न सक्थ्यो ? यही हतियारको भरमा उसले मस्त बिष्टको हत्या गरेको छ । गाउँगाउँमा रोमियो र सर्च अपरेसन चलाएर कयौँ निर्दोष जनताको रगतको खोलो बगाएको छ । आज जनताले आफ्नो दुःखसास्ती गरेर खानसमेत पाएको छैन । मुट्ठीभर शोषकहरू सत्तामा रजाइँ गरिरहेका छन् तर लाखौँ युवा बेरोजगार भएर सहरका गल्ली, भारतीय सहरका कुल्ली, बहादुर अनि खाडीको तातो घाममा ऊँट चराउन विवश छन् । नेपालबाट सामन्तवादको अन्त्य नभएसम्म बिदेसिएका युवाले मुलुकमा रोजगारी पाउने छैनन् । जनवाद स्थापना नभएसम्म नेपालले स्वतन्त्र र सार्वभौम भएर विश्वसामु शिर ठाडो पार्न पाउनेछैन । विस्तारवादले तयार पारेका नेपाली चाकरहरूले सुगौलीदेखि १९५०, ६५ का राष्ट्रघाती सन्धिसम्झौता गरिरहेका छन् भने आफूलाई जनताका पार्टी भनाउने काङ्ग्रेस र एमालेका नेताहरूले कोसी र गण्डकको राष्ट्रघात दोहो¥याउँदै महाकाली पनि भारतलाई सुम्पेका छन् । गाउँदेखि सत्ताको केन्द्रीय भागसम्म लूट, भ्रष्टाचार, कमिसनमा देश डुबेको छ । यो मोर्चाको विजयले हाम्रो समग्र विजयअभियानको नेतृत्व गर्नेछ । हामी दुस्मनहरूका सेवक बसेको चौकीको खरानी बोकेर फर्कनेछौँ । हामी आफू सकिएर पनि सर्वहारा वर्गको विजयका लागि दुस्मनलाई हराउनेछौँ र यो लालभूमि अझै रातो बनाएर भए पनि भोलिको सूर्योदयसँगै विजयको पताका फहराउँदै हाम्रो हेडक्वार्टरलाई खुसीको सन्देश सुनाउनेछौँ ।

लेखक : अशोक सुवेदी

कमान्डर तीर्थको कासनपछि सबै उन्तीसैजना छापामारहरू झुरुप्प भएर नारा लगाउँछन् : महान् जनयुद्ध जिन्दावाद ! वीर सहिदहरू अमर हुन् । बेथानको लडाइँ जित्छौँजित्छौँ । दुस्मनका हतियार खोस्छौँखोस्छौँ ।
साँझको चकमन्नता चिर्दै अँध्यारो रात पनि क्रियाशील र तत्पर हुन्छ युद्धका लागि । कमिसार र कमान्डरको कासनपछि चौँरी र बेथानका जनताले विजयको अग्रीम शुभकामना दिँदै निधारमा रातो टीका लगाइदिन्छन् र सँगसँगै नारा लगाउँछन् ।
अब निश्चित ठाउँ आइपुग्न एक घन्टा बाँकी छ । सबैभन्दा अघि लागेका छन् कमिसार र कमान्डर । एउटा बन्दुक छ कमान्डर तीर्थको हातमा, अर्को छ प्लाटुन कमान्डर माइलासँग । दुवै बन्दुक काभ्रेका सामन्त दौलतेको घरबाट कब्जा गरिएको हो । हाते ग्रिनेटहरू छापामारहरू आफैँले बनाएका हुन् । कसैले डोको, कसैले बेल्चा, कसैले खन्ती, कसैले बाँसको स्टे«चर बोकेका छन् र बिरालोको चालमा पानीघाटको लक्ष्य पछ्याइरहेका छन् । बाटो कहिले उकालो, कहिले तप्क्यान, कहिले तेर्सो हुँदै अघि बढिरहेको छ । २९ वटा मुटु एक साथ एक गतिमा धड्किरहेछन् । सारा संसार आफ्नो धुनमा मग्न छ । क्रान्तिकारीहरू एउटा खास उद्देश्य साथ लम्किरहेछन् चकमन्न अँध्यारोमा आफूभन्दा अघि लागेको कमरेडको पदचापको सहारामा । बिरालोको चालमा अघि बढिरहेका छन् संसारका सबैभन्दा सुन्दर मान्छेहरू ।
अब गन्तव्यमा पुग्न आधा घन्टा मात्र बाँकी छ । एउटा सानो डाँडो कटेर दुईटा खोल्सा तरेपछि आइपुग्छ गन्तव्य । यात्रीहरू एउटा खाली गोठको आँगनमा पुगेका छन् । क्षितिज परिवारकी कलाकारसमेत रहेकी छापामार योद्धा कमरेड दिलमाया समयको अनुमति लिएर कमान्डरसँग जिज्ञासा राख्छिन् सुस्त आवाजमा– कमरेड ! मलाई अनुमति दिनुस्, दुस्मनको क्याम्प ध्वस्त बनाएर म प्रथम छापामार महिला सांस्कृतिक सहिद बन्न चाहन्छु ।
कम्पनी कमिसार ध्रुव र विवेकलाई दिलमायाको अनुरोधले भित्रभित्रै ईष्र्या जगाउँछ । छापामार कमरेड फत्त भन्छन्– कमरेड, त्यो अवसरको पर्खाइमा त म थिएँ, कसरी तपाईंले मलाई उछिन्नुभयो … ।
विवेकले दिलमायाको चम्किरहेको अनुहारतिर हेर्दै सोचे– वर्गसङ्घर्षसँग जादुगरी र चामत्कारिक हतियार हुन्छ भनेको हो रहेछ । कक्षामा सधैँ लजालु भएर बस्ने दिलमाया, गायन, वाद्यवादन र नृत्यमा सिङ्गो टिमकै आकर्षणकी केन्द्र बन्ने दिलमाया सहादतको लाममा पनि प्रथम हुन चाहिरहेकी छिन् र त्यो पनि घोषणा गरेरै ।
कमान्डर तीर्थले छापामार र अन्य कमान्डर– कमिसरको भावना बुझिसकेपछि अझ नम्र हुँदै भने– कमरेडहरू ! युद्धको नियम नाप, तौल र जोखेजस्तो एक रूपको हुँदैन । हामी संसार जित्न हिँडेका योद्धाहरू हौँ । बिनाक्षति दुस्मनको हातको हतियार खोस्नु र पार्टी हेडक्वार्टरलाई बुझाउनु हाम्रो प्रमुख लक्ष्य हो । म ठान्छु, बलिदानको कोटा चुक्ता गर्नुप¥यो भने सबैभन्दा पहिलो हकदार मैले बन्न पाउनुपर्छ टिम कमान्डरको नाताले । बलिदानका लागि पनि सर्त छ– दुस्मनको पराजय र क्रान्तिकारीको विजय ।

‘मुट्ठीमा बोकेको ग्रिनेट कतिबेला दुस्मनको क्याम्पमा फ्याँकेर उसको हातको हतियार कब्जा गर्ने होला’, दिलमायाको मनमा झन्झन् हुटहुटी चल्न थाल्छ । उनी केही समयअघि कमिसार आलोक र कमान्डर तीर्थका जोशिला कासनहरू सम्झिन थाल्छिन्– ०५२ साल फागुन १४ गते गोरखाको पन्द्रुङमा १३ वर्षीय दिलबहादुर रम्तेलको बलिदान, १५ गते रुकुमको पीपलमा ६ जना खत्री दाजुभाइको सामूहिक हत्या, सोही दिन जाजरकोटको नलसिंहमा दुईजनाको हत्या, ०५३ वैशाख २५ गते सिन्धुलीको अमलेमा गिरफ्तार भएका दाजुभाइ टीका र ज्ञानेन्द्रको भद्रकाली पु¥याएर हत्या, साउन २६ गते रोल्पा जेलवाङमा ६ जनाको जङ्गलमा पु¥याएर गोली हानी हत्या, मङ्सिर २ गते रोल्पा मिरुलमा बरदान रोकासहित पाँचजनाको हत्या… । आखिर त्यही हतियारको दम्भले मात्तिएको न हो जनविरोधी सरकार ! त्यसलाई निःशस्त्र पार्नैपर्छ । त्यसका लागि जस्तोसुकै त्याग, शौर्य र बलिदानको कोटा चुक्ता गर्न पनि पछि पर्नु हुँदैन मैले…।

अन्तिम ब्रिफिङ र सुझाव सकिएपछि लक्ष्यलाई केन्द्रमा राखेर अघि बढ्छ छापामार टोली । लक्षित स्थान जतिजति नजिक आइपुग्दैछ, जिम्मेवारीबोध, परिणामको परिकल्पना र हुटहुटीले ह्वात्तै बढाइरहेको छ मुटुको गति ! बाँसको झाङमाथि बाटो, बाटोमाथि ढुङ्गाको गारो र त्यही गारोमा भएको गौँडो उक्लिएपछि भेटिन्छ लक्षित स्थान । छापामार कमान्डर तीर्थ विन्यास मिलाउँछन् छापामारको– सङ्केत र इसाराकै भरमा । एसल्ट ग्रुपमा उनीसँगै माइला, दिलमाया, फत्त, विवेक, धु्रवलगायत सातजनाको टिम छ । संयमका साथ भरुवा बन्दुक परीक्षण हुन्छ । सबै आआफ्ना हातका हतियार परीक्षण गर्छन् ।
दुस्मन क्याम्पको सेन्ट्री विरहगीत गाइरहेको छ–
फिरिरी, बाँसुरी बज्यो बनैमा
मनैमा, लौ माया नमारे…
चौकीभित्र भोज छ सायद । नत्र राति ११ बजेसम्म यति हल्ला नहुनुपर्ने हो । रेक्की रिपोर्टमा १० बजेसम्म उनीहरू सुतिसक्ने उल्लेख थियो । चाल मारेर सुन्छन् कमिसार– आज पानीघाटे कान्छो सहरबाट गाउँ फर्किएको उपलक्ष्यमा भोज खाने भन्दै एउटा घच्चीको भाले दाब्न पाएछ चौकीको हबल्दारले । बाटामुनि कान्छीको भट्टीबाट कोदाको तीनपाने मगाएर कुखुरा र ऐराकले पुसको जाडो भगाउने कार्यक्रम रहेछ उनीहरूको । अलिकति पिएको थियो होला सायद सेन्ट्री बसेको पुलिसले आफ्नो पालो आउनुअघि अनि सम्झियो होला घरमा दुःख गर्दै आफूलाई सम्झिरहेकी श्रीमती र छोराछोरीलाई । त्यसैले त गुन्गुनाइरहेको थियो ऊ : फिरिरी….
गौँडाबाट विद्युतीय गतिमा उक्लिन्छन् प्लाटुन कमान्डर माइला र उदास गीत गाइरहेको जवानको हातको थ्री नट थ्री खोसेर पोस्टतिर फायर गर्न भ्याउँछन् । हाते माइकबाट कासन सुरु भइरहेको छ कमिसारको– माओवादी छापामारले चौकी घेराउ गरिसकेका छन् प्रहरी साथीहरू, हतियार बुझाउनुस्….। हातको ग्रिनेट घुमाएर चौकीको ढोकामा फ्याँक्दै बुरुक्क ढुङ्गाको पर्खालबाट उफ्रिएर एकैचोटि ढोकाबाट फायर खोल्दै गरेको जवानको हातको हतियार समाउन पुग्छिन् दिलमाया । उनले हतियार समाउनु र जवानले थ्री नट थ्रीको फायर खोल्नु एकसाथ हुन्छ । ग्रिनेट पड्किएर थलामै सास फेर्न बिर्सिन्छ जवान । दिलमायाको निधारमै लाग्छ गोली । एउटा हातमा बन्दुक आएको छ उनको । उनी बन्दुक हेर्छिन् र एकपटक मुस्कुराउँछिन् अनि अर्को हात आकाशतिर फर्काउँदै नारा लगाउँछिन्– जनयुद्ध जारी छ, महान् सहिद अमर रहून्… । दिलमायाको हातको थ्री नट थ्री अब माइलाको हातमा आइपुगेको छ र त्यसले ढोकामा देखिएको अर्को जवानलाई ढालेको छ । दुस्मनको ढोकाभित्र ग्रिनेट फ्याँकेर गल्छेडो उक्लिँदै गरेका कमरेड फत्तको छातीमै लाग्छ चौकीतिरबाट आएको अर्को गोली । गोली लागेर पनि केही पाइला हिँड्दै उनी पनि ढल्छन्– जनयुद्ध जारी छ भन्दै ।
एसल्टका दुईदुईजना कमरेडहरू आफ्नै आँखाअघिल्तिर ढलेपछि कमान्डर तीर्थको आवेग आक्रोशमा फेरिन्छ । उनी आफ्नो भरुवा बन्दुकका छर्रा आफ्नै कमरेडहरूतिर छरिएपछि भरुवा फालेर उफ्रिन्छन् र गोली लागेर छट्पटाइरहेका दिलमाया र फत्तलाई बाटोतिर पास गर्नतिर लाग्छन् ।

थ्री नट थ्री दिलमायाको हातबाट आफ्नो हातमा लिएपछि माइला एक्लै पेटीको कभर लिएर दुस्मनसँग लडिरहेका हुन्छन् । उनलाई बाटोमुनिबाट अरू छापामारहरूले फालेका ग्रिनेट र ढुङ्गाले साथ दिइरहेको हुन्छ । माइलाले नजिकै राखेको भरुवाको कुन्दाले नै तीनचारजना पुलिस ढाल्छन् तीर्थ । तर युद्धको निर्णय नियम ! एकछिनअघि आफू प्रथम स्थानमा बलिदान दिने कासन गर्दै गरेका कमान्डर तीर्थ दुई छापामार सहयोद्धापछि तेस्रो स्थान लिँदै हुरीबतासले ढालेको विशाल वृक्षझैँ चौकीको ढोकामै ढल्छन् दुस्मनलाई किच्दै ।
त्यसपछि युद्ध धेरै लामो भएन । अधिकांश दुस्मन मारिए र सबै हतियार छापामार योद्धाहरूले कब्जा गरे । हतियार कब्जा गरेपछि छापामार हरूले आगो लगाए चौकीमा । घाइते र बाँचेका दुस्मन सुरक्षाकर्मीलाई जेनेभा महासन्धिअनुसार युद्धबन्दीको व्यवहार गर्दै औषधिउपचार गरियो ।

पुसको चीसो रातमा बाटामाथि बेथान पानीघाटको पुलिसचौकी जलिरहेको छ । वरिपरिबाट बेथानवासी सयौँ जनसमुदाय भेला भइसकेका छन् पानीघाटमा र नारा लगाइरहेको छ– महान् सहिदहरू अमर रहून् । जनयुद्ध जारी छ…।
रामेछापकी छोरी, क्रान्तिकारी योद्धा दिलमायाको धपक्क बल्लाजस्तो अनुहार अझै चम्किलो बनेको छ । निधारैनेरबाट छेडेको छ गोलीले र साँझ जनसमुदायले अबिरले रङ्ग्याइदिएजस्तो रङ्गिएको छ मुहार । मध्यरातमा पनि झलमल्ल उज्यालो देखिएको छ पानीघाट । काभ्रेको छोरा कमान्डर तीर्थको अग्लो, उज्यालो र गम्भीर अनुहार बलिदानपछि पनि दुस्मनलाई ललकार गर्लाजस्तो देखिइरहेछ । सिपाको छोरो फत्तको शरीर अहिल्यै हिँडिहाल्लाजस्तो सुकसुकाउँदो छ । बाँसको झाङमा लस्करै बनाइएको छ तीनवटा खाडल । पार्टीको झन्डा ओढाएर र राताम्मे अबिरले रङ्ग्याउँदै सयौँ जनसमुदायको बीचमा क्रान्तिकारी कमरेडहरूको श्रद्धाञ्जली कार्यक्रम भइरहेको छ । कमरेड दिलमायाको परिवारका सदस्यका तर्फबाट दिदी, पार्टीका तर्फबाट कमिसार कमरेड आलोक, जनसमुदायका तर्फबाट स्थानीय कमरेड पुष्प, छापामार दलका तर्फबाट कमरेड माइला भावपूर्ण शब्दश्रद्धाञ्जली अर्पण गर्दै आफूहरू महान् सहिद तीफदिले देखाएको महान् जनयुद्धको बाटोमा हिँडिरहने प्रतिबद्धता व्यक्त गर्छन् । तीनैजना महान् सहिदहरूलाई एकएकवटा खाडलमा राखेर अन्तिम संस्कार गरिसकेपछि पराजित दुस्मनका रक्षकहरूलाई हतियारबाहेकका युद्धसामग्री बोकाएर एकातिर महान् विजयको खुसीयाली, अर्कातिर कमान्डरसहित तीनजना छापामार योद्धाहरूको बलिदानीको गहिरो पीडा बोकेर नारा लगाउँछ जनसमुदायले– महान् सहिद तीफदि अमर रहून्, जनयुद्ध जारी छ…।

जनसमुदायसँग बिदा भएर टोली सुनकोसी तर्दा पूर्वमा लाली उदाएको छ । विजयको खुसीयालीमा चराहरू पनि आफ्नै शैलीले सुमधुर स्वर उरालिरहेछन् भने बलिदानको पीडा पचाउन नसकेर घर्ती मात्र होइन, आकाशका तारा पनि आँखा चिमचिम पार्दै रोइरहेछन् । छापामार योद्धाहरू भने ठूलो त्याग, शौर्य र बलिदानीबाट प्राप्त हतियार, विजयको सन्देश र कमरेडहरू ढलेको समाचारसहित पार्टी हेडक्वार्टर र अर्को मोर्चातिर लम्किरहेछन्, लम्किरहेछन् । ताराअङ्कित रातो टोपी लगाएका माइलाको स्वर प्रस्ट सुनिइरहेछ :
हजार माइलको लामो बाटो
एक पाइलाबाटै सुरु हुन्छ… ।
(रामप्रसादको सिसमहल, २०७१ बाट)

 

Leave a Reply

Your email address will not be published.