नेपाली क्रान्तिको कार्यभार पूरा गर्न नेता प्रकाण्डको निर्देशन

Political

वसन्त विक/सुर्खेत, पुस १४  गते ।  नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेपालमा क्रान्ति जित्न कार्यकर्तालाई कार्यक्षमता बढाएर डबल बनाउन आग्रह गरेका छन् । उनले नेपालको क्रान्ति, आन्दोलन र समाजले मागेको कुरा पूरा गर्न कार्यकर्तालाई आफ्नो कार्यक्षमता बढाउन र नेपाली क्रान्तिको कार्यभार पूरा गर्न निर्देशन दिए ।

नेकपा जिल्ला समिति सुर्खेतको संयुक्त राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई मंगलबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै उनले आफ्नो पार्टी क्रान्तिकारी र जनताको लोकप्रिय पार्टी बन्दै गएकाले संसदवादीहरुमा जलन पैदा भएको बताए । उनले क्रान्ति जित्नका लागि क्रान्तिकारी विचार, राजनीति र नेतृत्वको टिम इमान्दार श्रमजीवी वर्गप्रति प्रतिबद्ध हुनुपर्ने बताए । त्यो टिम अहिले नेकपामा देखिकाले संसदवादीहरु आत्तिएको उनले टिप्पणी गरे ।

प्रवक्ता प्रकाण्डले भने, “प्रचण्डले विचार र राजनीतिमा कमजोरी गरेकाले, वर्ग बिर्सिएकाले र जनताप्रति इमान्दार नभएकाले जितिसकेको १० वर्षिय जनयुद्ध प्रतिक्रान्तिमा पुग्यो । क्रान्ति भनेको दुई वटा वर्ग बिचको लडाई हो । दुई वटा वर्गका नेता बिचको लडाई हो । जनताको नेता आफ्नो वर्गप्रति इमान्दार हुनुपर्छ ।”
उनले प्रचण्ड जस्तो अन्टसन्ट गर्ने व्यक्ति नेपालमा अर्को कोही नभएको भन्दै उनको बेइमानीका कारण र गद्धारीका कारण नेपालमा माओवादी आन्दोलनमा प्रतिक्रान्ति भएको खुलासा गरे ।

नेपालमा दलाल संसदीय व्यवस्था पूर्ण असफल भएको भन्दै प्रवक्ता प्रकाण्डले त्यसको ठाउँमा वैज्ञानिक समाजवाद अनिवार्य भएको बताए । उनले त्यसका लागि तत्काल पार्टीेले जनमतसंग्रहको चुनावको विकल्प आगाडि सारेको बताए ।
प्रवक्ता प्रकाण्डले पार्टीले एमसीसीविरुद्ध देशभर ठूलो आन्दोलन गरेको र त्यो देशभर सकरात्मक प्रभाव परेको जिकिर गरे ।
एमसीसी सम्झौता नेपालको हितमा नभएको र लागु गर्न सकिदैन भनेर नेपालका कोही पनि प्रमुख संसदवादी नेताहरुले भन्न नसकेको भन्दै उनीहरु विदेशीको गुलाम भन्दा बाहिर जान नचाहेको टिप्पणी गरे ।
उनले भने,“प्रचण्डले जनतालाई भ्रम छर्न एमसीसीकोबारे बोल्दा तीन वटा कुरा बोल्ने गरेका छन् । आफ्नो पार्टीमा संसोधन गरेर पास गर्न सकिन्छ , अमेरिकासँग बोल्दा जसरी पनि पास गर्छौ भन्छन् र अनि जनतासँग बोल्दा राष्ट्रिय सहमति चाहिन्छ भन्छन् ।”
उनले प्रचण्ड आफ्नो पार्टी भित्रको संकट टार्न पार्टी एकताको हल्ला फैलाएको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *